सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनसाथीले धोका दिँदा

जीवनसाथीले धोका दिँदा

“मेरो श्रीमान्‌ले एक जना जवान केटीको लागि मलाई धोका दिनुभयो। यो कुरा सुन्दा मलाई मर्न मन लाग्यो। अझ विशेषगरि मैले उहाँको लागि गरेको त्यागहरू सम्झँदा मलाई साह्रै अन्याय भएको जस्तो लाग्यो।”—मारिया, स्पेन

“मेरी श्रीमतीले मलाई अचानक छोडेर जाँदा मैले खोक्रो महसुस गरेँ। हाम्रो सपना, आशा र योजना सबै चकनाचुर भयो। म कहिलेकाहीँ सबै कुरा बिर्सेर खुसी हुन खोज्थेँ तर फेरि त्यो नमीठो यादले मलाई सताउने गर्थ्यो।” —बिल, स्पेन

जीवनसाथीले धोका दिँदा सहनै नसक्ने पीडा हुन्छ। हुनत कसै-कसैले पश्‍चात्ताप गर्ने जीवनसाथीलाई क्षमा दिन्छन्‌ र फेरि मिलेर बस्न थाल्छन्‌। * तर सम्बन्ध सुध्रोस्‌ या नसुध्रोस आफ्नो जीवनसाथीले धोका दिएको थाह पाउँदा असह्‍य पीडा हुन्छ। त्यसोभए यस्तो पीडा कसरी सहन सक्छौँ?

बाइबलमा पाइने मदतकारी सल्लाह

जीवनसाथीबाट धोका खाएकाहरूले बाइबलबाट सान्त्वना पाएका छन्‌। आफ्नो आँसु र पीडा परमेश्‍वरबाट लुकेको छैन भनेर तिनीहरूले बुझेका छन्‌। अनि परमेश्‍वरले आफ्नो भावना बुझ्नुहुन्छ भनेर पनि तिनीहरूलाई थाह छ।—मलाकि २:१३-१६.

“जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।”—भजन ९४:१९.

बिल यसो भन्छन्‌: “यी शब्दहरू पढ्‌दा एक जना मायालु बुबाले जस्तै यहोवाले मेरो घाउमा मलहम लगाइरहनुभएको महसुस हुन्छ।”

“वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ।”—भजन १८:२५.

श्रीमान्‌बाट धोका पाएकी कारमेन यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ मप्रति वफादार हुनुभएन। तर यहोवाको वफादारीप्रति भने म पूर्णतया विश्‍वस्त छु। उहाँले मलाई कहिल्यै त्याग्नुहुनेछैन।”

‘कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्तीका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।’—फिलिप्पी ४:६, ७.

साशा यसो भन्छिन्‌: “मैले बाइबलका यी शब्दहरू बारम्बार पढेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरिरहेँ। अनि मैले परमेश्‍वरले दिनुहुने शान्ति महसुस गर्न सकेँ।”

माथि उल्लेख गरिएका सबैले जीवनको कुनै न कुनै मोडमा हरेस खाएका थिए। तर तिनीहरूले यहोवा परमेश्‍वरमा भरोसा राखे। अनि बाइबल पढेर बल पाए। बिल आफ्नो भावना यसरी बताउँछन्‌: “मलाई मेरो जीवन नै तहसनहस भएजस्तो लाग्यो। तर विश्‍वासले मलाई सहारा दियो। केही समय ‘निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्‌नुपरे पनि’ यहोवा मसँग हुनुहुन्थ्यो।”—भजन २३:४.

^ आफ्नो जीवनसाथीलाई क्षमा दिने कि नदिने भन्‍नेबारे थप जानकारी पाउन अप्रिल २२, १९९९ को ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) “जीवनसाथीले धोका दिँदा” भन्‍ने शृङ्‌खला हेर्नुहोस्‌।