सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ—भाग १: किताब पढ्‌ने कि भिडियो हेर्ने?

छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ—भाग १: किताब पढ्‌ने कि भिडियो हेर्ने?

 तपाईँको छोराछोरी फुर्सतमा के गर्न मन पराउँछन्‌: भिडियो हेर्न वा पढ्‌न? मोबाइल हेर्न रुचाउँछन्‌ कि किताब पढ्‌न?

 दशकौँको दौडान टिभी र इन्टरनेटले गर्दा मानिसहरूको पढ्‌ने बानी झन्‌झनै कम हुँदै गइरहेको छ। जेन हिलीले सन्‌ १९९० मा लेखेको किताबमा a यसो भनेकी छिन्‌: “समयको अन्तरालमा मानिसहरूको पढ्‌ने बानी पूरै हराउँछ होला।”

 यो किताब प्रकाशित भएको बेला मानिसहरूलाई हिलीले एकदमै बढाइचढाइ लेखेको जस्तो लागेको हुन सक्छ। तर अहिले दशकौँपछि प्रविधिको धेरै प्रयोग हुने देशहरूका केही शिक्षकले थुप्रै युवामा राम्ररी पढ्‌ने क्षमता कम हुँदै गएको याद गरेका छन्‌।

यस लेखमा

 छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ?

  •   पढाइले कल्पनाशक्‍ति बढाउँछ। उदाहरणको लागि, कुनै कथा पढ्‌दा हामी त्यसका पात्रहरूको आवाज, तिनीहरूको बाहिरी रूप अनि दृश्‍य कल्पना गर्छौँ। ती कुराहरूबारे लेखकले केही कुरा त बताएका हुन्छन्‌ तर कल्पनाशक्‍तिले ती कुराहरूलाई अझै रोचक बनाइदिन्छ।

     लौरा नाम गरेकी आमा यसो भन्छिन्‌: “हामीले भिडियोहरू हेर्दा अरूको कल्पना हेरिरहेका हुन्छौँ। त्यो रमाइलो पनि हुन सक्छ। तर लेखिएका कुराहरू पढ्‌दा र त्यसलाई कल्पना गर्दै दृश्‍यमा उतार्दा अझै रमाइलो हुन्छ।”

  •   पढाइले असल गुणहरू विकास गर्न मदत गर्छ। साना केटाकेटीले पढ्‌दा कुनै समस्या किन भइरहेको छ अनि ती कसरी समाधान गर्ने भनी बुझ्न सक्छन्‌। साथै पढ्‌दा केटाकेटीले कुनै कुरामा ध्यान केन्द्रित गर्न पनि सिक्छन्‌। यसले गर्दा तिनीहरूले धैर्य, आत्मसंयम, समानुभूतिजस्ता गुणहरू विकास गर्न सक्छन्‌।

     पढाइले समानुभूति विकास गर्न कसरी मदत गर्छ? केही अनुसन्धानकर्ताअनुसार केटाकेटीले बिस्तारै अनि ध्यान दिएर कुनै कथा पढ्‌दा त्यसका पात्रहरूको भावना बुझ्न सक्छन्‌। यसले तिनीहरूलाई दैनिक जीवनमा समानुभूति देखाउन मदत गर्न सक्छ।

  •   पढाइले गहिरिएर सोच्न मदत गर्छ। ध्यान दिएर पढ्‌ने व्यक्‍तिहरूले हतार नगरी पढ्‌छन्‌। आवश्‍यक परेमा फेरि दोहोऱ्‍याएर पढ्‌छन्‌। यसो गर्दा तिनीहरूले लेखकले भन्‍न खोजेको कुरा बुझ्छन्‌। साथै पढेको कुरा सम्झिन सक्छन्‌ र लाभ पनि उठाउन सक्छन्‌।—१ तिमोथि ४:१५.

     जोसेफ नाम गरेका बुबा यसो भन्छन्‌: “पढ्‌दा हामीले लेखकहरूले भन्‍न खोजेको कुरा सजिलै बुझ्न सक्छौँ अनि अहिले पढेको कुरा आफूलाई पहिले थाह भएको कुरासित कसरी सम्बन्धित छ भनेर विचार गर्न सक्छौँ। साथै यसबाट पाठहरू पनि सिक्न सक्छौँ। भिडियोहरूले अक्सर यसरी गहिरिएर सोच्न मदत गर्दैन।”

 निष्कर्ष: भिडियो र अन्य दृश्‍य सामग्रीहरूको आफ्नै महत्त्व छ। तर तपाईँको छोराछोरीले सानैमा पढ्‌ने बानी बसालेनन्‌ भने तिनीहरूले पढेर हासिल गर्न सक्ने ज्ञान गुमाइरहेका हुन्छन्‌।

 पढ्‌न कसरी प्रोत्साहन दिन सकिन्छ?

  •   सक्दो चाँडो सुरु गर्नुहोस्‌। दुई छोराकी आमा क्लोई यसो भन्छिन्‌: “छोराहरू गर्भमा हुँदादेखि नै हामी उनीहरूलाई पढेर सुनाउँथ्यौँ। उनीहरू जन्मिसकेपछि पनि हामीले यसो गरिनै रह्‍यौँ। उनीहरूलाई पढ्‌ने बानी बसाल्न मदत गरेकोमा हामी निकै खुसी छौँ। पछि उनीहरूको पढ्‌ने बानी बस्यो र पढ्‌दा उनीहरू आनन्दित हुन्थे।”

     बाइबलको सिद्धान्त: “तिमीलाई शैशवकालदेखि नै पवित्र लेखोटहरू पनि थाह छ।”—२ तिमोथि ३:१५.

  •   पढ्‌ने वातावरण बनाउनुहोस्‌। घरमा पुस्तक-पुस्तिकाहरू उपयुक्‍त ठाउँमा राख्नुहोस्‌। ती पुस्तकहरू देख्दा छोराछोरीलाई पढूँ-पढूँ लाग्नेछ। चार छोराछोरीकी आमा तामारा यसो भन्छिन्‌: “आफ्नो बच्चालाई मन पर्ने खालका किताबहरू रोज्नुहोस्‌ र ती तिनीहरूको खाटनजिकै राखिदिनुहोस्‌।”

     बाइबलको सिद्धान्त: “बालकलाई सही बाटोमा लगाऊ; बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।”—हितोपदेश २२:६.

  •   इन्टरनेटको प्रयोग कम गर्नुहोस्‌। ड्यानिएल नाम गरेका बुबा हप्ताको एक साँझ कुनै पनि इलेक्ट्रोनिक डिभाइस नचलाउने सुझाव दिन्छन्‌। तिनी यसो भन्छन्‌: “हप्ताको एक साँझ हामी टिभी हेर्दैनौँ। त्यो शान्त समय हामी सँगै वा छुट्टाछुट्टै पढ्‌न बिताउँछौँ।”

     बाइबलको सिद्धान्त: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलिप्पी १:१०.

  •   उदाहरण बसाल्नुहोस्‌। दुई छोरीकी आमा करिना यसो भन्छिन्‌: “बच्चाहरूलाई जीवन्त ढङ्‌गमा कथाहरू पढेर सुनाउनुहोस्‌। तपाईँलाई पढ्‌न एकदमै मन परेको देख्दा छोराछोरीले तपाईँहरूको सिको गर्न सक्छन्‌।”

     बाइबलको सिद्धान्त: “तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्‌ने ... काममा लागिरह।”—१ तिमोथि ४:१३.

 सबै छोराछोरीले पढ्‌न मन पराउँछन्‌ भन्‍ने छैन। तर तपाईँको प्रोत्साहनले तिनीहरूलाई पढ्‌ने उत्प्रेरणा दिन सक्छ। दुई छोरीका बुबा डेभिडले छोरीहरूलाई पढ्‌न प्रोत्साहन दिन थप प्रयास गरे। त्यसबारे तिनी यसो भन्छन्‌: “छोरीहरूले जे पढ्‌थे, म पनि त्यही पढ्‌थेँ। यसो गर्दा उनीहरूलाई चासो लाग्ने कुरा थाह पाउँथेँ अनि उनीहरूसित कुरा गर्ने विषय पनि पाउँथेँ। हाम्रो आफ्नै एउटा सानो पढाइको ग्रुप थियो। निकै रमाइलो हुन्थ्यो!”

a Endangered Minds