के यो संसारको अन्त हुँदै छ? के बाइबलले पूरै पृथ्वीको विनाश हुनेछ भन्छ?
कहिलेकाहीँ मानिसहरूले पृथ्वीको विनाशबारे कुरा गरेको हामी सुन्छौँ। पृथ्वीको विनाश भयो भने कुनै जीवजीवात बाँकी रहने छैनन् भन्ने सोचाइ तिनीहरू राख्छन्। सायद विभिन्न समाचारहरू पढ्दा तिनीहरू त्यस्तो निष्कर्षमा पुगेका हुन सक्छन्। जस्तै:
“आणविक युद्ध हुने सम्भावना धेरै छ। यस्तो युद्ध नियोजित ढङ्गमा, दुर्घटनावश वा गलतफहमीको कारणले गर्दा मात्रै पनि सुरु हुन सक्छ।”—बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्।
“गत १० वर्षमा संसारभरि आँधीहुरी, डढेलो, खडेरी, . . . अत्यधिक गर्मी, अनि बाढीजस्ता घटनाहरू एकदमै बढेको पाइन्छ।”—नेसनल जियोग्राफिक।
“अफ्रिकामा सलहले अहिले जत्तिको विनाश पहिला कहिल्यै गरेको थिएन।”—द एसोसिएटेड प्रेस।
के पृथ्वीको विनाश हुनेछ? यसबारे बाइबल के भन्छ?
के पृथ्वीको विनाश हुनेछ?
अहँ, हुनेछैन। किनभने बाइबलमा पृथ्वी सधैँभरि रहिरहन्छ भनेर बताइएको छ। (उपदेशक १:४) त्यसैले परमेश्वरले पृथ्वीलाई होइन “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ।—प्रकाश ११:१८.
बाइबलमा यस संसारको अन्त हुनेछ भन्नुको अर्थ के हो?
बाइबलमा चलाइएको “संसार” शब्दले परमेश्वरको डोऱ्याइ नखोज्ने र आफ्नै स्वार्थी इच्छा पूरा गर्ने मानिसहरूलाई बुझाउँछ। त्यसैले परमेश्वरले पुरातन समयमा जस्तै भविष्यमा पनि “भक्तिहीन मानिसहरूको संसार”-लाई नाश गर्नुहुनेछ।—२ पत्रुस २:५; ३:७.
पहिलो युहन्ना २:१७ अनुसार ‘संसार र त्यसको अभिलाषा बितेर जाँदैछ।’ यस पदले बताएअनुसार परमेश्वरले पृथ्वीलाई होइन बरु परमेश्वरलाई वास्ता नगर्ने अनि आफ्नो स्वार्थी इच्छा पूरा गर्ने मानिसहरूलाई नाश गर्नुहुनेछ।
यस संसारको अन्त कहिले हुनेछ?
बाइबलमा यस संसारको अन्त कहिले हुनेछ भनेर तोकेरै बताइएको छैन। (मत्ति २४:३६) तर त्यो समय नजिकै छ भन्ने कुराको सङ्केत भने हामी पाउन सक्छौँ। किनभने बाइबलमा यस्ता भविष्यवाणीहरू गरिएका छन्:
“ठाउँठाउँमा” युद्ध, अनिकाल, महामारी, अनि ठूलठूला भूकम्पहरू हुनेछन्।—मत्ति २४:३, ७, १४; लुका २१:१०, ११; प्रकाश ६:१-८.
धेरैजसो मानिसहरू स्वार्थी हुनेछन्। तिनीहरू “पैसालाई प्रेम गर्ने”, “कृतघ्न” अनि “असंयमित” हुनेछन्।—२ तिमोथि ३:१-५.
सन् १९१४ देखि संसारमा भइरहेका घटनाहरू बाइबलका भविष्यवाणीहरूसित मेल खान्छ भनेर थुप्रै मानिसहरू मानिलिन्छन्। त्यसैले अन्त नजिकै छ भनेर तिनीहरू विश्वास गर्छन्। थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको नोट २२ “इस्वी संवत् १९१४ किन महत्त्वपूर्ण वर्ष हो?” र “‘अन्तको दिन’ वा ‘अन्तको समय’-को चिन्ह के हो?” लेख हेर्नुहोस्।
के बाइबलको अन्तिम किताबले पृथ्वीको विनाशबारे भविष्यवाणी गरेको हो?
बाइबलको अन्तिम किताबमा “येसु ख्रिष्ट प्रकट” हुने समयबारे बताइएको पाउँछौँ। त्यतिबेला उहाँ दुष्ट मानिसहरूलाई यस पृथ्वीबाट हटाउन र परमेश्वरको उपासना गर्नेहरूलाई इनाम दिन आउनुहुनेछ।—२ थिस्सलोनिकी १:६, ७; १ पत्रुस १:७, १३.
बाइबलको अन्तिम किताबमा भविष्यमा हुने घटनाहरूबारे प्रकट गरिएको छ। (प्रकाश १:१) यस किताबमा हामी आशाको सन्देश पाउँछौँ। (प्रकाश १:३) परमेश्वरले अन्यायलाई हटाउनुहुनेछ र पृथ्वीलाई सुन्दर बगैँचा बनाउनुहुनेछ भनेर यसमा बताइएको छ। त्यतिबेला दुःख, पीडा र मृत्युसमेत हुनेछैन।—प्रकाश २१:३, ४.
के तपाईँ बाइबलका सुन्दर प्रतिज्ञाहरूबारे अझ थाह पाउन चाहनुहुन्छ? यहोवाका साक्षीहरू तपाईँलाई निश्शुल्क बाइबल अध्ययन गराउन खुसी हुनेछन्। उनीहरूसित अध्ययन गरेर हेर्नुभए कसो होला?