आणविक युद्ध—यसबारे बाइबल के भन्छ?
शक्तिशाली राष्ट्रहरूले आणविक हातहतियारहरू बढाउँदै गइरहेकोले आणविक युद्धको डर पनि बढ्दै गइरहेको छ। हातहतियारको सङ्ख्या जति धेरै हुन्छ, आणविक युद्ध हुने सम्भावना पनि त्यति नै बढ्नेछ भनेर मानिसहरू चिन्ता गर्छन्। कुनै देशले एउटा सानो आणविक बम मात्र विस्फोट गऱ्यो भने पनि आणविक युद्ध सुरु हुन सक्छ। अनि यसले गर्दा पूरै विश्व नै ध्वस्त हुन सक्छ भनेर मानिसहरू त्रसित छन्। बुलेटिन अफ एटोमिक साइन्टिस्ट्स्-अनुसार हामी “आणविक युद्ध जतिबेला पनि सुरु हुन सक्ने” समयमा बाँचिरहेका छौँ।
के आणविक युद्ध हुने सम्भावना छ? यदि छ भने के यो पृथ्वी रहिरहला? अनि आणविक युद्ध होला कि भन्ने चिन्ताको हामी कसरी सामना गर्न सक्छौँ? यसबारे बाइबल के भन्छ?
यस लेखमा
के बाइबलमा आणविक युद्धबारे भविष्यवाणी गरिएको छ?
बाइबलमा आणविक युद्धबारे तोकेरै बताइएको छैन। तर बाइबलमा भविष्यवाणी गरिएअनुसारै मानिसहरूको स्वभावमा आएको परिवर्तन र विश्व घटनाहरूले गर्दा आणविक युद्धको खतरा निम्तिएको हो।
बाइबलका निम्न पदहरूमा गरिएका भविष्यवाणीहरू र अहिले संसारमा भइरहेका घटनाहरू तुलना गरेर हेर्नुहोस्:
बाइबल पद: येसुका चेलाहरूले सोधे: “तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” येसुले जवाफ दिनुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।”—मत्ति २४:३, ७.
विश्व घटना: आणविक हातहतियारहरू भएका वा त्यस्ता हातहतियारहरू बनाउने देशहरूले नै प्रायः युद्ध गरिरहेका छन्।
“हालसालैका वर्षमा युद्धहरू झन्झनै बढिरहेकोले हिंसा पनि मच्चिरहेको छ।”—द आर्म्ड कन्फ्लिक्ट लोकेसन एण्ड इभेन्ट डाटा प्रोजेक्ट।
बाइबल पद: “अन्तको समयमा दक्षिणका राजा [उत्तरका राजासित] भिड्नेछन्।”—दानिएल ११:४०.
विश्व घटना: बाइबलमा भविष्यवाणी गरिएझैँ शत्रु राष्ट्रहरू र त्यसका समर्थकहरू शक्तिशाली हुन चाहेकोले अरू राष्ट्रहरूसित प्रतिस्पर्धा गर्दै छन्। आणविक हातहतियार भएका देशहरूले सीधै एकअर्कालाई आक्रमण गरिरहेका त छैनन्। तर तिनीहरू आफ्नो आणविक हातहतियारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउन भने लागिपरेका छन्।
“विगत दस वर्षमा थुप्रै देशहरूबीच द्वन्द्व मच्चिएको छ। यस्ता द्वन्द्वहरूमा शक्तिशाली राष्ट्रहरूले अक्सर फरक-फरक पक्षलाई समर्थन गरेको देखिन्छ।”—द उप्साला कन्फ्लिक्ट डाटा प्रोग्राम।
बाइबल पद: ‘अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर हुनेछन्।’—२ तिमोथि ३:१-३.
विश्व घटना: आजकालका धेरै मानिसजस्तै संसारका नेताहरू पनि एकअर्काको कुरामा सजिलै सहमत हुँदैनन्। शान्तपूर्ण ढङ्गमा विवाद सुल्झाउनुको सट्टा तिनीहरू डरधम्कीको बाटो रोज्छन् अनि यसले गर्दा आणविक युद्धको खतरा बढ्छ।
“एकअर्कासित मिलेर काम नगर्दा विनाशकारी द्वन्द्व हुने सम्भावना अझै बढ्छ।”—समिर सारान र जेन हर्मन, वर्ल्ड इकोनोमिक फोरम।
के ईश्वरले आणविक युद्ध हुन दिनुहोला?
यसबारे बाइबलमा बताइएको छैन। तर हाम्रो समयमा “भयानक दृश्यहरू” देखा पर्नेछन् वा डरलाग्दा घटनाहरू घट्नेछन् भनेर भविष्यवाणी भने गरिएको थियो। (लुका २१:११) उदाहरणको लागि, दोस्रो विश्वयुद्धमा ठाउँ-ठाउँमा आणविक बमहरू खसालिए। ईश्वरले किन युद्धहरू हुन दिनुहुन्छ भनेर बाइबलमा बताइएको छ। यसबारे थप जानकारीको लागि परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भन्ने भिडियो हेर्नुहोस्।
के पृथ्वी विनाश हुनेछ?
हुनेछैन। मानिसहरूले फेरि आणविक हातहतियार प्रयोग गरे भने पनि ईश्वरले पृथ्वीलाई विनाश हुन दिनुहुनेछैन। बरु पृथ्वीको अस्तित्व रहिरहनेछ र मानिसहरू त्यहाँ सधैँभरि बाँच्नेछन् भनेर बाइबलमा बताइएको छ।
केही मानिसहरूको विचारमा पछि पृथ्वीमा थोरै मात्र मानिसहरू बाँकी रहनेछन् अनि आणविक युद्धले गर्दा उजाड भएको पृथ्वीमा जीवन बिताउन तिनीहरूलाई हम्मेहम्मे पर्नेछ। तर बाइबलमा भने युद्धले गर्दा पृथ्वीमा पुगेको हानि पूर्णतया सच्याइनेछ भनेर बताइएको छ।
हाम्रो सृष्टिकर्ताले पृथ्वीलाई अचम्मलाग्दो तरिकामा डिजाइन गर्नुभएको छ। पृथ्वीले त्यसलाई पुगेको हानि आफसेआफ सच्याउन सक्छ। साथै भविष्यमा ईश्वरले आफ्नो शक्ति चलाउनुभएर पृथ्वीलाई पहिलेकै अवस्थामा फर्काउनुहुनेछ र त्यहाँ मानिसजाति सधैँभरि रहनेछ।—भजन ३७:११, २९; प्रकाश २१:५.
आणविक युद्ध होला कि भन्ने चिन्ताको कसरी सामना गर्न सकिन्छ?
कोही-कोही आणविक युद्ध र त्यसले निम्त्याउने नतिजाहरूबारे सोचेर असाध्यै डराउँछन्। बाइबलका प्रतिज्ञाहरू र सल्लाहहरूले तिनीहरूलाई त्यस्तो डर कम गर्न अनि त्यसको सामना गर्न मदत गर्छ। तर कसरी?
बाइबलमा पृथ्वी र त्यहाँ बस्नेहरूको भविष्य उज्ज्वल छ भनेर बताइएको छ। बाइबलमा पाइने आशा “हाम्रो जीवनको लङ्गर” हो। त्यो आशाबारे बुझ्यौँ भने चिन्ताफिक्री कम गर्न मदत पाउँछौँ। (हिब्रू ६:१९) साथै हामीले भविष्यमा हुन सक्ने नराम्रा कुराहरूबारे सोच्नुको सट्टा आजको दिनबारे मात्र सोच्यौँ भने चिन्ताफिक्री कम गर्न सक्छौँ। येसुले पनि यसो भन्नुभयो, “आजको लागि आजकै कष्ट पर्याप्त छ।”—मत्ति ६:३४.
हामीले आफ्नो भावनात्मक र मानसिक स्वास्थ्यको ख्याल राख्नु पनि महत्त्वपूर्ण छ। हामीलाई अचाक्ली चिन्तित बनाउने कुनै पनि अनावश्यक जानकारीहरू नसुनेर हामी त्यसो गर्न सक्छौँ। जस्तै, आणविक हातहतियार र युद्धबारे हुने कुराकानी, अनुमान र त्यसबारे मानिसहरूको विचारधारा। तर यसको मतलब हामीले वास्तविकतालाई नै बेवास्ता गर्नुपर्छ भन्ने त होइन। बरु त्यसो गर्दा हामी आफ्नो वशमा नभएको वा सायद कहिल्यै नघट्ने घटनाहरूबारे सोचेर चिन्ता लिनदेखि जोगिनेछौँ।
नराम्रा खबरहरूमा ध्यान दिनुको सट्टा सकारात्मक कुराहरूमा ध्यान केन्द्रित गर्नुहोस्।
परमेश्वरले गर्नुभएका प्रतिज्ञाबारे जति धेरै सिक्नुहुन्छ, तपाईँले त्यति नै आशा, आनन्द र मनोशान्ति पाउनुहुनेछ।
के बाइबलमा आणविक आरमागेडोनबारे भविष्यवाणी गरिएको छ?
कसै-कसैले आरमागेडोन आणविक विश्वयुद्ध हो भन्ने सोचाइ राख्छन्। तिनीहरू त्यतिबेला भयानक नतिजा भोग्नुपर्नेछ भन्छन्।
बाइबलमा प्रयोग गरिएको “आरमागेडोन” शब्दले “पृथ्वीभरिका राजाहरू” अर्थात् मानव सरकार र ईश्वरबीच हुने युद्धलाई सङ्केत गर्छ। a (प्रकाश १६:१४, १६) विगतमा भएको आणविक बम विस्फोटले गर्दा थुप्रैले ज्यान गुमाएका थिए तर आरमागेडोनको युद्ध भने त्यस्तो विध्वंसकारी हुनेछैन। बरु आरमागेडोनको युद्धमा ईश्वरले दुष्टहरूलाई मात्र नाश गर्नुहुनेछ, जसले गर्दा पृथ्वीमा साँचो शान्ति र सुरक्षा छाउनेछ।—भजन ३७:९, १०; यसैया ३२:१७, १८; मत्ति ६:१०.
बाइबलमा युद्ध अन्त हुनेबारे के बताइएको छ?
यहोवा b परमेश्वरले आपसमा युद्ध गरिरहेका राष्ट्रहरूलाई रोकेर अनि तिनीहरूका हातहतियारलाई नाश गरेर आफ्नो शक्ति प्रकट गर्नुहुनेछ। उहाँले आफ्नो राज्यमार्फत यसो गर्नुहुनेछ। यो स्वर्गीय सरकारले पृथ्वीका सबै शासकहरूलाई हटाएर शासन गर्नेछ।—दानिएल २:४४.
परमेश्वरको राज्यले मानिसहरूलाई एकअर्कासित मिलेर बस्न र शान्ति कायम गर्न सिकाउनेछ। पूरै पृथ्वीभरि एउटै मात्र सरकार हुने भएकोले देशहरूबीच मतभेद हुनेछैन। मानिसहरूले युद्ध लड्न सिक्नेछैनन्। (मिका ४:१-३) नतिजा कस्तो हुनेछ? “तिनीहरू प्रत्येक आ-आफ्नो अङ्गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन् अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”—मिका ४:४.
a “आरमागेडोनको युद्ध भनेको के हो?” भन्ने लेख हेर्नुहोस्।
b परमेश्वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्।