दोस्रो समुएल २४:१-२५

  • मानिसहरूको गणना लिएर दाउद पाप गर्छन्‌ (१-१४)

  • महामारीले गर्दा ७० हजार मानिस मर्छन्‌ (१५-१७)

  • दाउद एउटा वेदी बनाउँछन्‌ (१८-२५)

    • बलिदान चढाउन दाम तिर्नुपर्छ (२४)

२४  यहोवा परमेश्‍वरको क्रोध फेरि एक पटक इस्राएलीहरूमाथि दन्कियो,+ जब कसैले दाउदलाई यसो भनेर उक्सायो: “जाऊ, इस्राएल र यहुदाका मानिसहरूको+ गन्ती गर।”+ २  त्यसैले राजाले आफूसँगै भएका सेनापति योआबलाई भने:+ “मानिसहरूको सङ्‌ख्या कति छ, म जान्‍न चाहन्छु। त्यसैले दानदेखि बेर्सेबासम्म+ इस्राएलका सबै कुलको इलाकामा जाऊ र मानिसहरूको नाम दर्ता गर।” ३  तर योआबले राजालाई भने: “हे मेरा प्रभु! मेरा महाराज! तपाईँका परमेश्‍वर यहोवाले तपाईँका प्रजाको सङ्‌ख्या १०० गुणा बढाइदेऊन्‌ र तपाईँको आफ्नै आँखाले त्यो देख्न पाओस्‌। तर हे महाराज! तपाईँ किन यसो गर्न चाहनुहुन्छ?” ४  तर राजाले योआब र सेनाका अरू अफिसरहरूको कुरा सुनेनन्‌ अनि राजाको वचनसामु योआब र सेनाका अफिसरहरूको केही सीप लागेन। त्यसैले योआब र सेनाका अफिसरहरू इस्राएलका मानिसहरूको नाम दर्ता गर्न राजाको सामुन्‍नेबाट गए।+ ५  तिनीहरूले यर्दन तरे अनि अरोएरमा पाल टाँगे।+ तिनीहरूले बेँसीको* बीचमा भएको सहरको दायाँतिर* पाल टाँगे। त्यसपछि तिनीहरू गादीहरूको इलाकामा गए र त्यहाँबाट याजेर गए।+ ६  त्यसपछि तिनीहरू गिलाद र तहतिम-होदसीको इलाकामा गए।+ त्यहाँबाट तिनीहरू दान-यान गए र घुमेर सिदोन पुगे।+ ७  त्यसपछि तिनीहरू टायरको किल्लामा गए।+ त्यहाँबाट तिनीहरू हिव्वीहरूको+ र कनानीहरूको सबै सहरमा गए अनि अन्तमा यहुदाको नेगेबमा+ पर्ने बेर्सेबा आइपुगे।+ ८  यसरी तिनीहरू पूरै देश घुमे अनि नौ महिना, २० दिनपछि यरुसलेम आइपुगे। ९  तब योआबले राजालाई नाम दर्ता गरिएका मानिसहरूको सङ्‌ख्या बताइदिए। इस्राएलमा तरबार भिरेका ८ लाख योद्धा थिए भने यहुदामा ५ लाख योद्धा थिए।+ १०  तर मानिसहरूको गन्ती गरिसकेपछि दाउदको अन्तस्करणले* तिनलाई साह्रै घोच्न थाल्यो।+ त्यसपछि तिनले यहोवा परमेश्‍वरलाई यसो भने: “मैले यो काम गरेर असाध्यै ठूलो पाप गरेँ।+ त्यसैले हे यहोवा! बिन्ती छ, आफ्नो यो सेवकलाई क्षमा दिनुहोस्‌।+ मैले साह्रै मूर्ख काम गरेँ।”+ ११  जब दाउद बिहान उठे, तब यहोवा परमेश्‍वरको वचन भविष्यवक्‍ता गादकहाँ आयो,+ जो दाउदका दर्शी थिए। परमेश्‍वरले गादलाई भन्‍नुभयो: १२  “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”+ १३  त्यसैले गाद दाउदकहाँ आएर यसो भने, “तपाईँ के चाहनुहुन्छ: सात वर्षसम्म देशमा अनिकाल परोस्‌?+ अथवा तीन महिनासम्म तपाईँका शत्रुहरूले तपाईँलाई खेदून्‌ र तपाईँ तिनीहरूबाट भाग्नु परोस्‌?+ अथवा देशमा तीन दिनसम्म महामारी फैलियोस्‌?+ अब राम्ररी सोचविचार गर्नुहोस्‌ र जसले मलाई पठाउनुभयो, उहाँलाई म के जवाफ दिऊँ, त्यो बताउनुहोस्‌।” १४  तब दाउदले गादलाई भने: “म त साह्रै सङ्‌कटमा परेँ। बिन्ती छ, हामीलाई यहोवा परमेश्‍वरकै हातमा पर्न दिनुहोस्‌+ किनकि उहाँ असाध्यै कृपालु हुनुहुन्छ।+ तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्‌।”+ १५  त्यसपछि यहोवा परमेश्‍वरले इस्राएलमा महामारी पठाउनुभयो+ र त्यो महामारी बिहानदेखि तोकिएको समयसम्मै फैलिरह्‍यो। त्यस महामारीले गर्दा दानदेखि बेर्सेबासम्म+ ७० हजार मानिस मरे।+ १६  जब स्वर्गदूतले यरुसलेमका मानिसहरूलाई नाश गर्न त्यसतर्फ आफ्नो हात बढाए, तब यहोवा परमेश्‍वर त्यो विपत्ति पठाएकोमा पछुताउनुभयो।*+ मानिसहरूलाई नाश गर्ने त्यस स्वर्गदूतलाई उहाँले भन्‍नुभयो: “बस्‌ भयो! अब आफ्नो हात बिसाऊ।” त्यसबेला यहोवा परमेश्‍वरका स्वर्गदूत यबुसी+ अरौनाको खलानजिकै थिए।+ १७  जब दाउदले मानिसहरूलाई नाश गरिरहेका त्यस स्वर्गदूतलाई देखे, तब तिनले यहोवा परमेश्‍वरलाई यसो भने: “पाप गर्ने त म हुँ, मैले पो गल्ती गरेको थिएँ। बिचरा यी मानिसहरूको*+ के दोष छ र? बिन्ती छ, तपाईँको हात म र मेरो बुबाको घरानामाथि नै परोस्‌।”+ १८  त्यसैले त्यो दिन गाद दाउदकहाँ आए र यसो भने: “जानुहोस्‌, यबुसी अरौनाको खलामा यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाउनुहोस्‌।”+ १९  तब यहोवा परमेश्‍वरले गादमार्फत आदेश दिनुभएअनुसारै दाउद त्यहाँ उक्लिए। २०  जब अरौनाले राजा र तिनका सेवकहरूलाई आफूतिर आइरहेको देखे, तब उनी तुरुन्तै गए र भुईँमा घोप्टो परेर राजालाई दण्डवत्‌ गरे। २१  अरौनाले भने: “हे मेरा प्रभु! मेरा महाराज! यस दासले हजुरको निम्ति के गरिदिएको चाहनुहुन्छ?” दाउदले भने: “मानिसहरूमाथि आइपरेको विपत्ति रोकियोस्‌ भनेर म तिम्रो खलामा यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाउन चाहन्छु।+ त्यसैले तिमीसँग त्यो खला किन्‍न म यहाँ आएको हुँ।” २२  तर अरौनाले दाउदलाई भने: “हे मेरा प्रभु! मेरा महाराज! म हजुरलाई त्यो खला दिन्छु। अनि बलिदान चढाउन हजुरलाई जे चाहिन्छ, त्यो पनि लिनुहोस्‌। अग्निभेटी चढाउनका लागि यहाँ गाईवस्तु छन्‌ अनि दाउराको लागि दाइँ गर्ने दाँदे र जुवा पनि छ। २३  म यी सब कुरा राजालाई दिन चाहन्छु।” अरौनाले राजालाई अझै यसो भने: “हजुरका परमेश्‍वर यहोवाले हजुरलाई आशिष्‌ देऊन्‌।” २४  तर राजाले अरौनालाई भने: “होइन, म दाम तिरेर तिमीबाट यी कुराहरू किन्‍नेछु। म यहोवा मेरा परमेश्‍वरलाई सित्तैँमा पाएको कुराको अग्निभेटी चढाउनेछैनँ।” त्यसैले दाउदले ५० शेकेल* चाँदी तिरेर खला र गाईवस्तु किने।+ २५  तब दाउदले त्यहाँ यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाए+ अनि अग्निभेटी र मेलबलि चढाए। त्यसपछि यहोवा परमेश्‍वरले देशको खातिर गरिएको बिन्ती सुन्‍नुभयो+ र इस्राएलमा आइपरेको विपत्ति रोकियो।

फुटनोटहरू

वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।
वा “दक्षिणतिर।”
वा “विवेकले।” शा., “हृदयले।”
वा “दुःखित हुनुभयो।”
शा., “भेडाहरूको।”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।