दोस्रो राजा २१:१-२६

  • यहुदाका राजा मनस्से; तिनले मच्चाएको रक्‍तपात (१-१८)

    • यरुसलेम नाश हुनेछ (१२-१५)

  • यहुदाका राजा अमोन (१९-२६)

२१  राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो। २  तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे। यहोवा परमेश्‍वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामुन्‍नेबाट निकालिदिनुभएको थियो,+ ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू तिनले गरे।+ ३  तिनले आफ्ना बुबा हिजकियाहले नष्ट गरेका+ अग्ला थानहरू* फेरि बनाए। तिनले इस्राएलका राजा आहाबले जस्तै पवित्र खामो*+ ठड्‌याए र बाआलका निम्ति वेदीहरू बनाए।+ तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+ ४  तिनले यहोवा परमेश्‍वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “म यरुसलेमसित आफ्नो नाम जोड्‌नेछु।”+ ५  तिनले यहोवा परमेश्‍वरको भवनको दुवै चोकमा+ आकाशका सारा सेनाको+ निम्ति वेदीहरू बनाए। ६  तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए अनि जादु गर्ने, शकुन-अपशकुन हेर्नेजस्ता कामहरू गरे।+ साथै तिनले भूतप्रेत खेलाउने र भावी बताउने मानिसहरू नियुक्‍त गरे।+ तिनले यहोवा परमेश्‍वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए। ७  तिनले पवित्र खामो कुँदेर बनाउन लगाए+ र त्यसलाई यहोवा परमेश्‍वरको भवनमा लगेर राखे, जुन भवनको विषयमा परमेश्‍वरले दाउद र उनको छोरा सुलेमानलाई यसो भन्‍नुभएको थियो: “म यो भवनसित र इस्राएलका सबै कुलमध्येबाट मैले रोजेको सहर यरुसलेमसित आफ्नो नाम सधैँका लागि जोड्‌नेछु।+ ८  इस्राएलीहरूले मेरा सबै आज्ञा र मेरा सेवक मोसाले दिएको सम्पूर्ण व्यवस्था होसियारीसाथ पालन गरे भने+ मैले उनीहरूका पितापुर्खालाई दिएको देशबाट म उनीहरूलाई कहिल्यै निकाल्नेछैनँ;+ उनीहरूलाई भौँतारिन लगाउनेछैनँ।” ९  तर उनीहरूले परमेश्‍वरको आज्ञा पालन गरेनन्‌ अनि मनस्सेले उनीहरूलाई भड्‌काएर गलत बाटोमा लैजान छोडेनन्‌। तिनले इस्राएलीहरूलाई यहोवा परमेश्‍वरले उनीहरूको सामुन्‍नेबाट नाश गरिदिनुभएको जातिहरूले भन्दा दुष्ट काम गर्न लगाए।+ १०  यहोवा परमेश्‍वरले बारम्बार आफ्ना भविष्यवक्‍ताहरूमार्फत+ उनीहरूलाई यसो भन्‍नुभयो: ११  “यहुदाका राजा मनस्सेले यी सबै घृणित काम गरेका छन्‌; तिनले अघिअघिका+ सबै एमोरीले+ भन्दा दुष्ट कामहरू गरेका छन्‌ अनि घिनलाग्दा मूर्तिहरू * बनाएर यहुदालाई पाप गर्न लगाएका छन्‌। १२  त्यसकारण इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘म यरुसलेम र यहुदामाथि यस्तो विपत्ति ल्याउँदै छु,+ जसबारे सुन्‍ने सबैको दुवै कान बज्नेछ।*+ १३  मैले जुन डोरीले सामरियालाई+ नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु+ र जुन साहुलले* आहाबको+ घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु। जसरी कसैले कचौरा माझेर सफा गर्छ र त्यसलाई घोप्ट्‌याएर राख्छ, त्यसरी नै म यरुसलेमलाई सफा गर्नेछु।+ १४  बाँकी रहेको मेरो प्रजालाई* समेत म त्याग्नेछु+ र तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पिनेछु। उनीहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्‌ र तिनीहरूको सरसम्पत्ति लुट्‌नेछन्‌।+ १५  किनभने तिनीहरूले मेरो नजरमा जे खराब छ, त्यही गरे। मैले तिनीहरूका पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि आजसम्मै तिनीहरूले मलाई घरीघरी रिस उठाइरहेका छन्‌।’”+ १६  मनस्सेले यहुदालाई यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गर्न लगाएर पाप गरे। त्यति मात्र नभई तिनले यरुसलेमको एक छेउदेखि अर्को छेउसम्मै निर्दोष मानिसहरूको रगत बगाए।+ १७  मनस्सेको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका सबै काम र तिनका पापहरूबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। १८  मनस्से आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनको महलको बगैँचा—उज्जाको+ बगैँचामा गाडियो। तिनीपछि तिनका छोरा अमोन राजा भए। १९  राजा हुँदा अमोन+ २२ वर्षका थिए र उनले यरुसलेममा दुई वर्ष शासन गरे।+ उनकी आमाको नाम मेसुलेमेथ थियो। तिनी योत्बाहमा बस्ने हारुसकी छोरी थिइन्‌। २०  अमोनले आफ्ना बुबा मनस्सेले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ २१  उनी आफ्ना बुबाकै चालमा हिँडिरहे। उनले आफ्ना बुबाले पुजेका घिनलाग्दा मूर्तिहरूलाई पुज्न र दण्डवत्‌ गर्न छोडेनन्‌।+ २२  उनले आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवालाई त्यागे। उनी यहोवा परमेश्‍वरको मार्गमा हिँडेनन्‌।+ २३  पछि अमोनका सेवकहरूले उनीविरुद्ध षड्‌यन्त्र रचे र उनकै महलमा उनको हत्या गरे। २४  तर देशका मानिसहरूले राजा अमोनविरुद्ध षड्‌यन्त्र रच्ने सबैलाई मारे। त्यसपछि तिनीहरूले उनका छोरा योसियाहलाई राजा बनाए।+ २५  अमोनको जीवनकालका बाँकी घटनाहरू र उनले गरेका कामहरू यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। २६  उनलाई उज्जाको बगैँचामा+ उनको लागि बनाइएको चिहानमा गाडियो। उनीपछि उनका छोरा योसियाह+ राजा भए।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।
वा “होस उड्‌नेछ।”
डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।
शा., “उत्तराधिकारलाई।”