पहिलो राजा २१:१-२९

  • आहाब नाबोथको अङ्‌गुर बगानको लालसा गर्छन्‌ (१-४)

  • ईजेबेल नाबोथलाई मार्ने षड्‌यन्त्र रच्छिन्‌ (५-१६)

  • आहाबविरुद्ध एलियाको सन्देश (१७-२६)

  • आहाब आफूलाई नम्र तुल्याउँछन्‌ (२७-२९)

२१  यी सब भएपछि एउटा घटना घट्‌यो। यिज्रेलमा+ बस्ने नाबोथको एउटा अङ्‌गुर बगान थियो। त्यो बगान सामरियाका राजा आहाबको महलको छेवैमा थियो। २  आहाबले नाबोथलाई भने: “तिम्रो अङ्‌गुर बगान मलाई देऊ किनकि त्यो मेरो महलको छेवैमा छ। म त्यसमा करेसाबारी लगाउन चाहन्छु। बरु त्यसको सट्टा म तिमीलाई त्योभन्दा राम्रो अङ्‌गुर बगान दिन्छु। अथवा तिमी चाहन्छौ भने दाम तिरेर त्यो बगान तिमीबाट किन्छु।” ३  तर नाबोथले आहाबलाई यसो भने: “पितापुर्खाको सम्पत्ति तपाईँलाई दिने कुरा म सोच्न समेत सक्दिनँ।+ किनकि यहोवा परमेश्‍वरले यसो गर्न निषेध गर्नुभएको छ।” ४  यिज्रेलको नाबोथले ‘म तपाईँलाई पितापुर्खाको सम्पत्ति दिन सक्दिनँ’ भनेको हुनाले आहाब उदास भए अनि अँध्यारो मुख लगाएर आफ्नो महल फर्के। तिनी आफ्नो मुख भित्तातिर फर्काएर ओछ्यानमा पल्टिए र तिनले केही खान मानेनन्‌। ५  आहाबकी पत्नी ईजेबेल+ तिनीकहाँ आइन्‌ र सोधिन्‌: “तपाईँ किन यति धेरै उदास हुनुहुन्छ? किन केही नखाई बस्नुहुन्छ?” ६  तिनले जवाफ दिए: “मैले यिज्रेलको नाबोथलाई ‘तिम्रो अङ्‌गुर बगान दाम तिरेर लिन्छु। अथवा तिमी चाहन्छौ भने त्यसको सट्टा म तिमीलाई अर्को अङ्‌गुर बगान दिन्छु’ भनेको थिएँ। तर उसले दिन मानेन।” ७  तिनकी पत्नी ईजेबेलले भनिन्‌: “इस्राएलको राजा त तपाईँ नै होइन र? अब उठेर केही खानुहोस्‌, उदास नहुनुहोस्‌। म तपाईँलाई यिज्रेलको नाबोथको अङ्‌गुर बगान दिनेछु।”+ ८  तब ईजेबेलले आहाबको नाममा पत्रहरू लेखिन्‌ र त्यसमा आहाबको छाप लगाइन्‌।+ अनि नाबोथको सहरका नाइकेहरू र प्रतिष्ठित व्यक्‍तिहरूकहाँ ती पठाइन्‌।+ ९  उनले पत्रहरूमा यस्तो लेखेकी थिइन्‌: “उपवासको घोषणा गर र नाबोथलाई सबैको अगाडि बसाओ। १०  त्यसपछि दुई जना निकम्मा मानिस ल्याएर नाबोथको अगाडि बसाओ र तिनीहरूलाई नाबोथको विरुद्धमा झूटो बयान दिन लगाओ।+ तिनीहरूलाई यसो भन्‍न लगाओ, ‘तिमीले परमेश्‍वर र राजाको निन्दा गरेका छौ!’+ त्यसपछि नाबोथलाई सहरबाहिर लगेर ढुङ्‌गाले हानेर मार।”+ ११  ईजेबेलले पत्रहरूमा जे लेखेर पठाएकी थिइन्‌, नाबोथको सहरका नाइकेहरू र प्रतिष्ठित व्यक्‍तिहरूले त्यही गरे। १२  तिनीहरूले उपवासको घोषणा गरे र नाबोथलाई मानिसहरूको अगाडि बसाए। १३  त्यसपछि दुई जना निकम्मा मानिस आएर नाबोथको अगाडि बसे। अनि तिनीहरूले सबैको अगाडि यस्तो झूटो बयान दिए: “नाबोथले परमेश्‍वर र राजाको निन्दा गरेको छ!”+ तब तिनीहरूले नाबोथलाई सहरबाहिर लगे अनि ढुङ्‌गाले हानेर मारे।+ १४  त्यसपछि ईजेबेललाई यो खबर पठाए: “हामीले नाबोथलाई ढुङ्‌गाले हानेर मारिसक्यौँ।”+ १५  नाबोथलाई ढुङ्‌गाले हानेर मारियो भनेर सुन्‍नेबित्तिकै ईजेबेलले आहाबलाई यसो भनिन्‌: “अब उठ्‌नुहोस्‌। यिज्रेलको नाबोथले बेच्न नमानेको अङ्‌गुर बगान लिनुहोस्‌+ किनकि ऊ मरिसक्यो।” १६  यिज्रेलको नाबोथ मरिसक्यो भनेर सुन्‍नेबित्तिकै आहाब नाबोथको अङ्‌गुर बगान लिन त्यहाँ गए। १७  तब यहोवा परमेश्‍वरको यो वचन तिस्बेली एलियाकहाँ आयो:+ १८  “सामरिया गएर इस्राएलका राजा आहाबलाई भेट।+ ऊ नाबोथको अङ्‌गुर बगान लिन त्यहाँ गएको छ। १९  तिमीले उसलाई यसो भन्‍नू, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीले किन एक जना मानिसको हत्या गऱ्‍यौ+ र उसको सरसम्पत्तिसमेत खोस्यौ?”’+ त्यसपछि आहाबलाई यसो भन्‍नू, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “जुन ठाउँमा कुकुरहरूले नाबोथको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तिम्रो रगत पनि चाट्‌नेछन्‌।”’”+ २०  आहाबले एलियालाई भने: “ए मेरो शत्रु! आखिर तिमीले मलाई भेट्टायौ, होइन?”+ एलियाले भने: “हो, मैले तपाईँलाई भेट्टाएँ। परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीले यहोवाको नजरमा जे खराब छ, त्यही गर्ने हठ गऱ्‍यौ।+ २१  त्यसैले म तिमीमाथि विपत्ति ल्याउनेछु। म तिम्रो घरानालाई सखाप पार्नेछु र तिम्रो घरानाका सबै पुरुषलाई नाश गर्नेछु।+ इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत म छोड्‌नेछैनँ।+ २२  म तिम्रो घरानाको हालत नबातका छोरा यरोबामको घरानाको+ र अहियाहका छोरा बासाको घरानाको+ जस्तै बनाइदिनेछु किनकि तिमीले मलाई रिस उठायौ र इस्राएलीहरूलाई पाप गर्न लगायौ।’ २३  अनि ईजेबेलबारे यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘यिज्रेलको यसै जमिनमा कुकुरहरूले ईजेबेलको लास खानेछन्‌।+ २४  आहाबको घरानाका जो-जो सहरमा मर्छन्‌, उनीहरूलाई कुकुरहरूले खानेछन्‌ अनि जो-जो मैदानमा मर्छन्‌, उनीहरूलाई चाहिँ आकाशका चराहरूले खानेछन्‌।+ २५  साँच्चै! आफ्नी पत्नी ईजेबेलको+ लहैलहैमा लागेर आहाबले यहोवा परमेश्‍वरको नजरमा खराब काम गर्न जति हठ गरे, त्यति त यसअघि कसैले गरेको थिएन।+ २६  यहोवा परमेश्‍वरले इस्राएलीहरूको सामनेबाट धपाइदिनुभएको एमोरीहरूजस्तै आहाब घिनलाग्दा मूर्तिहरूको* पछि लागेका छन्‌।+ यसरी तिनले सबैभन्दा घृणित काम गरेका छन्‌।’” २७  यो सुन्‍नेबित्तिकै आहाबले आफ्नो लुगा च्याते अनि भाङ्‌ग्रा लगाएर उपवास बस्न थाले। तिनी भाङ्‌ग्रा लगाएरै सुतिरहे अनि घोसेमुन्टो लगाएर हिँडिरहे। २८  तब यहोवा परमेश्‍वरको यो वचन तिस्बेली एलियाकहाँ आयो: २९  “मेरो वचन सुनेपछि आहाबले कसरी आफैलाई नम्र तुल्याएको छ, तिमीले देख्यौ?+ उसले आफैलाई नम्र तुल्याएको हुनाले म ऊ बाँचुन्जेल विपत्ति ल्याउँदिनँ। बरु उसको छोराको पालामा विपत्ति ल्याउँछु।”+

फुटनोटहरू

यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।