पहिलो कोरिन्थी ९:१-२७

  • पावलले प्रेषितको रूपमा बसालेको उदाहरण (१-२७)

    • “गोरुलाई मोहोलो नलगाउनू” ()

    • “सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!” (१६)

    • सबै किसिमका मानिसका लागि सबै कुरा हुने (१९-२३)

    • जीवनको दौडमा आत्मसंयम (२४-२७)

९  के म स्वतन्त्र छैनँ? के म प्रेषित होइनँ? के मैले हाम्रा प्रभु येसुलाई देखेको छैनँ?+ के तिमीहरू प्रभुमा मेरो काम होइनौ? २  म अरूका लागि प्रेषित नभए तापनि तिमीहरूका लागि त पक्कै हुँ! किनकि प्रभुमा मैले पाएको प्रेषितको जिम्मेवारीको पुष्टि गर्ने छाप तिमीहरू नै हौ। ३  मेरो आलोचना गर्नेहरूलाई म यस्तो सफाइ दिन्छु: ४  हामीसित खाने र पिउने अधिकार छैन र? ५  हामीसित बाँकी प्रेषितहरू र प्रभुका भाइहरू+ अनि केफासले*+ जस्तै ख्रिष्टियन बहिनीलाई विवाह गरेर+ आफूसँगै यात्रामा लैजाने अधिकार छैन र? ६  वा बर्णाबास+ र मसित चाहिँ काम नगरी जीविका चलाउने अधिकार छैन र? ७  कुनचाहिँ सैनिकले आफ्नै खर्च बेहोरेर सेवा गर्छ र? त्यस्तो को छ, जसले अङ्‌गुर बगान लगाएर त्यसको फल खाँदैन?+ वा त्यस्तो को छ, जसले बगालको हेरचाह गर्छ तर त्यसको दूध भने पिउँदैन? ८  के म यी कुराहरू मानिसको दृष्टिकोणबाट भन्दै छु? मोसाको व्यवस्थाले पनि यी कुराहरू बताउँदैन र? ९  किनकि मोसाको व्यवस्थामा यस्तो लेखिएको छ: “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।”+ के परमेश्‍वरले गोरुहरूको फिक्री गरेर यसो भन्‍नुभएको हो? १०  वा हाम्रै लागि उहाँले यसो भन्‍नुभएको हो? वास्तवमा हाम्रै लागि यो लेखिएको थियो किनभने हलो जोत्ने मानिसले केही अनाज पाउने आशामा हलो जोत्नुपर्छ अनि दाइँ गर्ने मानिसले केही अनाज पाउने आशामा दाइँ गर्नुपर्छ। ११  यदि हामीले तिमीहरूमाझ आध्यात्मिक कुराहरू* छरेका छौँ भने के तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्नु गलत हुनेछ?+ १२  यदि अरू मानिसहरूसित तिमीहरूमाथि यस्तो हक जमाउने अधिकार छ भने हामीसित अझ धेरै अधिकार छैन र? तैपनि हामीले यस्तो हक जमाएका छैनौँ + बरु ख्रिष्टको विषयमा सुसमाचार फैलाउन कुनै बाधा नपुगोस्‌ भनेर सबै कुरा सहिरहेका छौँ।+ १३  मन्दिरमा पवित्र सेवा चढाउनेहरूले मन्दिरकै कुराहरू खान्छन्‌ अनि वेदीमा निरन्तर सेवा गर्नेहरूले वेदीमै चढाइएका कुराहरूको भाग पाउँछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ १४  यसरी प्रभुले सुसमाचार घोषणा गर्नेहरूलाई सुसमाचारद्वारै जीविका चलाउन आज्ञा दिनुभएको छ।+ १५  तर मैले यी प्रबन्धहरूमध्ये एउटैको पनि उपभोग गरेको छैनँ।+ वास्तवमा मेरो लागि पनि यस्तै प्रबन्ध गरियोस्‌ भनेर मैले यी कुराहरू लेखेको होइनँ किनकि त्योभन्दा त म मर्नु नै बेस—अहँ, मेरो घमन्ड गर्ने आधार म कसैलाई खोस्न दिन्‍नँ!+ १६  यदि म अहिले सुसमाचार घोषणा गर्दै छु भने त्यो मेरो लागि घमन्ड गर्ने कुनै कारण होइन किनकि यो त मेरो दायित्व नै हो। बरु मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!+ १७  यदि मैले यो काम राजीखुसीले गरेँ भने मलाई इनाम छ। तर नचाहँदा-नचाहँदै मैले यो काम गरेँ भने पनि मैले आफूलाई सुम्पिइएको भण्डारेको काम गरिरहेको हुन्छु।+ १८  त्यसोभए मेरो इनाम के हो? यही कि सुसमाचार सुनाउँदा मैले शुल्क नलिई सुनाउन सकूँ अनि सुसमाचार सुनाउने सन्दर्भमा आफूले पाएको अधिकारको दुरुपयोग नगरूँ। १९  हुनत म सबै मानिसबाट स्वतन्त्र छु तर सकेसम्म धेरैलाई हासिल गर्न सकूँ भनेर मैले आफूलाई सबैको दास बनाएको छु। २०  त्यसैले यहुदीहरूलाई हासिल गर्न म यहुदीहरूका लागि यहुदीजस्तै भएँ+ अनि व्यवस्थाको अधीनमा भएकाहरूलाई हासिल गर्न म व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएजस्तै भएँ।+ २१  परमेश्‍वरसामु म व्यवस्था नभएको मानिस होइनँ किनकि म ख्रिष्टको व्यवस्थाको अधीनमा छु+ तैपनि व्यवस्था नभएकाहरूलाई हासिल गर्न व्यवस्था नभएकाहरूको लागि म व्यवस्था नभएजस्तै भएँ। २२  कमजोरहरूलाई हासिल गर्न म कमजोरहरूका लागि कमजोरै भएँ।+ सम्भव भएसम्म केहीलाई बचाउन सकूँ भनेर म सबै किसिमका मानिसका लागि सबै कुरा भएको छु। २३  अरूलाई सुसमाचार बाँड्‌न म यसको निम्ति सबथोक गर्छु।+ २४  दौडमा भाग लिने सबै धावक दौडन्छन्‌ तर पुरस्कार भने एक जनाले मात्र पाउँछ भनेर के तिमीहरूलाई थाह छैन? यसैले तिमीहरू पुरस्कार पाउन सक्नेगरि दौड।+ २५  प्रतियोगितामा भाग लिने हरेक मानिसले* सबै कुरामा आत्मसंयम गर्छ। तिनीहरू विनाशी मुकुट पाउनलाई त्यसो गर्छन्‌+ तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई।+ २६  त्यसैले म अन्धाधुन्ध दौडिन्‍नँ+ अनि जथाभाबी हावामा मुक्का हान्दिनँ। २७  तर म आफ्नो शरीरलाई कुट्‌छु अनि पिट्‌छु*+ र त्यसलाई दास बनाएर राख्छु ताकि अरूलाई प्रचार गरिसकेपछि म आफैचाहिँ कसै गरी अयोग्य नठहरिऊँ।

फुटनोटहरू

तिनलाई पत्रुस पनि भनिन्छ।
वा “परमेश्‍वरका कुराहरू।”
वा “हरेक खेलाडीले।”
वा “सजाय दिन्छु; कडा अनुशासनमा राख्छु।”