पहिलो कोरिन्थी १२:१-३१

  • पवित्र शक्‍तिका वरदान (१-११)

  • एउटा शरीर, धेरै अङ्‌ग (१२-३१)

१२  अब हे भाइ हो, आध्यात्मिक वरदानहरूका*+ विषयमा तिमीहरू अनजान रहो भन्‍ने म चाहन्‍नँ। २  तिमीहरूलाई थाहै छ, पहिले तिमीहरूको आस्था बेग्लै हुँदा* तिमीहरू बहकिएका थियौ र बोल्न नसक्ने ती मूर्तिहरूको उपासना गर्थ्यौ+ अनि तिनीहरूले जहाँ लैजान्थे, तिमीहरू त्यतै जान्थ्यौ। ३  अब तिमीहरूले यो थाह पाओ भन्‍ने म चाहन्छु कि परमेश्‍वरको पवित्र शक्‍ति पाएर कसैले “येसु श्रापित हो!” भन्दैन अनि पवित्र शक्‍तिविना कसैले “येसु प्रभु हुनुहुन्छ!” भन्‍न सक्दैन।+ ४  वरदान विभिन्‍न छन्‌ तर पवित्र शक्‍ति भने एउटै छ;+ ५  सेवाको काम विभिन्‍न छन्‌+ तर प्रभु भने एउटै हुनुहुन्छ ६  अनि कामहरू विभिन्‍न छन्‌ तर सबै मानिसमा ती कामहरू गराउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ।+ ७  तर हरेक मानिसमा पवित्र शक्‍तिको काम जे-जसरी प्रकट हुन्छ, त्यो सबैको फाइदाको लागि हो।+ ८  उदाहरणका लागि, कसैले पवित्र शक्‍तिले गर्दा बुद्धिको कुरा गर्ने* वरदान पाएको हुन्छ, कसैले त्यही पवित्र शक्‍तिअनुसार ज्ञानको कुरा गर्ने वरदान पाएको हुन्छ, ९  कसैले त्यही पवित्र शक्‍तिबाट विश्‍वासको वरदान पाएको हुन्छ,+ कसैले त्यही शक्‍तिबाट निको पार्ने वरदान पाएको हुन्छ+ १०  अनि कसैले शक्‍तिशाली कामहरू गर्ने,+ कसैले भविष्यवाणी गर्ने, कसैले प्रेरित वचनको अर्थ बुझ्ने,+ कसैले विभिन्‍न भाषा बोल्ने+ अनि कसैले विभिन्‍न भाषाको उल्था गर्ने वरदान पाएको हुन्छ।+ ११  तर यी सबै काम एउटै पवित्र शक्‍तिद्वारा हुन्छ अनि त्यसले आफ्नो इच्छाबमोजिम प्रत्येकलाई ती वरदानहरू बाँडिदिन्छ। १२  किनकि जसरी शरीर एउटै छ तर यसका अङ्‌गहरू धेरै छन्‌ अनि शरीरका अङ्‌गहरू धेरै भए तापनि शरीर एउटै हो,+ ख्रिष्ट पनि त्यस्तै हुनुहुन्छ। १३  किनकि चाहे यहुदी हौँ वा ग्रीक, दास हौँ वा स्वतन्त्र, हामी सबैको एउटै पवित्र शक्‍तिद्वारा एउटै शरीरमा बप्तिस्मा भयो र हामी सबैले एउटै पवित्र शक्‍ति पायौँ। १४  वास्तवमा शरीर एउटा अङ्‌ग मात्र होइन बरु धेरै अङ्‌ग मिलेर बनेको हुन्छ।+ १५  खुट्टाले “म हात होइनँ, त्यसैले म यो शरीरको भाग होइनँ” भन्दैमा के त्यो शरीरको भाग हुँदैन? १६  अनि कानले “म आँखा होइनँ, त्यसैले म यो शरीरको भाग होइनँ” भन्दैमा के त्यो शरीरको भाग हुँदैन? १७  यदि सिङ्‌गै शरीर आँखा हुँदो हो त केले सुन्‍ने? अनि सिङ्‌गै शरीर कान हुँदो हो त केले सुँघ्ने? १८  तर परमेश्‍वरले आफ्नो इच्छाअनुसार शरीरका प्रत्येक अङ्‌गलाई आ-आफ्नो ठाउँमा राख्नुभएको छ। १९  तिनीहरू सबै एउटै अङ्‌ग हुँदा हुन्‌ त त्यो शरीर हुन्थ्यो र? २०  अब अङ्‌गहरू धेरै छन्‌ तर शरीर भने एउटै छ। २१  आँखाले हातलाई यसो भन्‍न सक्दैन: “मलाई तिम्रो खाँचो छैन” अथवा टाउकोले खुट्टाहरूलाई यसो भन्‍न सक्दैन: “मलाई तिमीहरूको खाँचो छैन।” २२  बरु शरीरका कमजोर देखिने अङ्‌गहरू नै झन्‌ नभई हुँदैन २३  अनि शरीरका जुन अङ्‌गहरूलाई हामी त्यति आदरयोग्य ठान्दैनौँ, त्यसैलाई झन्‌ बढी आदर दिन्छौँ + अनि अशोभनीय ठानेका अङ्‌गहरूलाई हामी झन्‌ बढी शोभा दिन्छौँ २४  जबकि हाम्रा आकर्षक अङ्‌गहरूलाई त्यत्ति ख्यालै गर्नुपर्दैन। तर परमेश्‍वरले शरीरलाई यसरी मिलाउनुभएको छ कि थोरै आदर पाएको अङ्‌गले धेरै आदर पाओस्‌ २५  ताकि शरीरमा कुनै फूट नहोस्‌ बरु यसका अङ्‌गहरूले एकअर्काको ख्याल गरून्‌।+ २६  एउटा अङ्‌गले दुःख पायो भने अरू सबै अङ्‌गले सँगसँगै दुःख भोग्छन्‌+ वा एउटा अङ्‌गले इज्जत पायो भने अरू सबै अङ्‌ग पनि सँगसँगै खुसी हुन्छन्‌।+ २७  अब तिमीहरू ख्रिष्टको शरीर हौ+ अनि तिमीहरू प्रत्येकचाहिँ त्यसका विभिन्‍न अङ्‌ग हौ।+ २८  अनि परमेश्‍वरले मण्डलीमा प्रत्येकलाई आ-आफ्नो ठाउँमा राख्नुभएको छ: पहिलो, प्रेषितहरू;+ दोस्रो, भविष्यवक्‍ताहरू;+ तेस्रो, शिक्षकहरू;+ त्यसपछि शक्‍तिशाली काम गर्नेहरू;+ निको पार्ने वरदान पाएकाहरू;+ मदत गर्नेहरू; नेतृत्व लिने क्षमता भएकाहरू+ अनि विभिन्‍न भाषा बोल्नेहरू।+ २९  सबै जना प्रेषित हुन्‌ र? सबै जना भविष्यवक्‍ता हुन्‌ र? सबै जना शिक्षक हुन्‌ र? सबै जनाले शक्‍तिशाली कामहरू गर्छन्‌ र? ३०  सबै जनाले निको पार्ने वरदान पाएका छन्‌ र? सबै जना विभिन्‍न भाषा बोल्छन्‌ र?+ सबै जनाले उल्था* गर्छन्‌ र?+ ३१  तर तिमीहरू अझ ठूलठूला वरदान पाउन कोसिस गरिरहो।*+ अनि म तिमीहरूलाई सबैभन्दा उत्तम मार्ग देखाउनेछु।+

फुटनोटहरू

वा “परमेश्‍वरले दिनुहुने वरदानहरूका।”
शा., “तिमीहरू अन्यजातिका मानिसहरू हुँदा।”
वा “बुद्धिको सन्देश सुनाउने।”
वा “अनुवाद।”
वा “जोसका साथ खोजिरहो।”