लुकाका अनुसार २२:१-७१

  • पुजारीहरू येसुलाई मार्न मतो गर्छन्‌ (१-६)

  • अन्तिम निस्तार चाडको तयारी (७-१३)

  • प्रभुको साँझको भोजको स्थापना (१४-२०)

  • “मलाई धोका दिने मसँगै टेबुलमा छ” (२१-२३)

  • को ठूलो भन्‍नेबारे चर्को बहस (२४-२७)

  • येसु राज्य दिने करार गर्नुहुन्छ (२८-३०)

  • पत्रुसले तिरस्कार गर्नेछन्‌ भन्‍ने भविष्यवाणी (३१-३४)

  • तयार रहनुपर्ने आवश्‍यकता; दुई वटा तरबार (३५-३८)

  • जैतुन डाँडामा येसुको प्रार्थना (३९-४६)

  • येसुलाई पक्रिइन्छ (४७-५३)

  • पत्रुस येसुलाई तिरस्कार गर्छन्‌ (५४-६२)

  • येसुको गिल्ला गरिन्छ (६३-६५)

  • न्यायपरिषद्‌मा पुर्पक्ष (६६-७१)

२२  निस्तार चाड* पनि भनिने अखमिरा रोटीको चाड*+ नजिक आउँदै थियो।+ २  मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई मार्ने राम्रो मौका खोजिरहेका थिए+ किनकि तिनीहरू मानिसहरूसित डराउँथे।+ ३  तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोतको मनभित्र सैतान पस्यो।+ ४  अनि तिनी मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका नाइकेहरूकहाँ गए र कसरी उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिने भनेर तिनीहरूसित कुरा गरे।+ ५  तिनीहरू खुसी भए र तिनलाई चाँदीको पैसा दिन राजी भए।+ ६  त्यसैले यहुदा तिनीहरूको कुरा मान्‍न तयार भए अनि वरपर भीड नभएको बेला उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिदिने मौका खोज्न थाले। ७  अखमिरा रोटीको चाडको पहिलो दिन आयो, जुन दिन निस्तार चाडको बलि चढाउनुपर्थ्यो।+ ८  तब येसुले पत्रुस र युहन्‍नालाई यसो भनेर पठाउनुभयो: “जाओ र हाम्रो लागि निस्तार चाडको भोज तयार पार।”+ ९  तिनीहरूले उहाँलाई भने: “हामीले कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ?” १०  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “हेर, जब तिमीहरू सहरभित्र पस्छौ, तब घैँटोमा पानी बोकेको एक जना मानिससित तिमीहरूको भेट हुनेछ। उसको पछिपछि लाग र ऊ जुन घरभित्र जान्छ, त्यसैभित्र पस।+ ११  अनि तिमीहरूले त्यस घरको मालिकलाई यसो भन्‍नू: ‘गुरुज्यूले सोध्नुभएको छ: “मैले आफ्ना चेलाहरूसित निस्तार चाडको भोज खाने पाहुना-कोठा कहाँ छ?”’ १२  तब उसले तिमीहरूलाई माथिल्लो तलामा तयार पारेर राखिएको एउटा ठूलो कोठा देखाउनेछ। तिमीहरूले त्यहीँ तयारी गर।” १३  त्यसैले तिनीहरू गए र उहाँले जस्तो भन्‍नुभएको थियो, त्यस्तै पाए। अनि तिनीहरूले निस्तार चाडको लागि तयारी गरे। १४  जब बेला भयो, तब उहाँ प्रेषितहरूसँगै खान टेबुलमा बस्नुभयो।+ १५  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले दुःख भोग्नुअघि तिमीहरूसित निस्तार चाडको यो भोज खाने अति इच्छा गरेको थिएँ। १६  किनकि म तिमीहरूलाई भन्छु, यस चाडसित सम्बन्धित हरेक कुरा परमेश्‍वरको राज्यमा पूरा नभएसम्म म यो फेरि खानेछैनँ।” १७  अनि उहाँले कचौरा लिएर धन्यवाद चढाउनुभयो र भन्‍नुभयो: “यो लेओ र पालैसित यसबाट पिओ। १८  किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्य नआएसम्म अबदेखि म दाखमद्य* पिउँदिनँ।” १९  उहाँले एउटा रोटी पनि लिनुभयो+ र धन्यवाद चढाएपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “यो तिमीहरूका लागि दिइने+ मेरो शरीरको प्रतीक हो।+ मेरो सम्झनामा यो गर्ने गर।”+ २०  साँझको खाना खाइसकेपछि उहाँले कचौरा पनि लिएर त्यसै गर्नुभयो र भन्‍नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको+ आधारमा+ बाँधिनेछ। २१  “तर हेर, मलाई धोका दिने मसँगै टेबुलमा छ।+ २२  वास्तवमा मानिसको छोरा त उसको लागि जे तय भइसकेको थियो, त्यसअनुसारै जाँदै छ।+ तर धिक्कार छ त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ!”+ २३  त्यसैले यस्तो काम गर्ने मानिस आफूहरूमध्ये कोचाहिँ होला भनेर तिनीहरू आपसमा कुरा गर्न थाले।+ २४  तिनीहरूमध्ये सबैभन्दा ठूलो कसलाई मान्‍ने भनेर तिनीहरूबीच चर्को बहस पनि चल्यो।+ २५  तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिँ परोपकारी भनिन्छ।+ २६  तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन।+ तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ सबैभन्दा सानोजस्तो बनोस्‌+ अनि अगुवाको काम गर्नेचाहिँ सेवा गर्नेजस्तो होस्‌। २७  कोचाहिँ ठूलो हो, खान बस्ने कि सेवा गर्ने? खान बस्नेचाहिँ होइन र? तर म त तिमीहरूबीच सेवकजस्तै छु।+ २८  “तर मेरा परीक्षाहरूमा+ मसितै रहने तिमीहरू नै हौ।+ २९  अनि मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु,+ ३०  तिमीहरू मेरो राज्यमा मेरो टेबुलमा बसेर खानेछौ र पिउनेछौ+ अनि इस्राएलका १२ कुलको इन्साफ गर्न सिंहासनहरूमा बस्नेछौ।+ ३१  “सिमोन, ए सिमोन, हेर, सैतानले तिमीहरू सबैलाई गहुँलाई जस्तै निफन्‍ने माग गरेको छ।+ ३२  तर तिम्रो विश्‍वास नडगमगाओस्‌ भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु+ र तिमी पश्‍चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।”+ ३३  तब तिनले उहाँलाई भने: “प्रभु, म तपाईँसँगै झ्यालखानामा जान अनि मर्नसमेत तयार छु।”+ ३४  तर उहाँले भन्‍नुभयो: “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्‍न तीन पटक इन्कार नगरेसम्म आज भाले बास्नेछैन।”+ ३५  उहाँले तिनीहरूलाई यसो पनि भन्‍नुभयो: “मैले तिमीहरूलाई पैसाको थैली, खाजाको पोको र जुत्ताविना पठाउँदा+ के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने: “अहँ, भएन!” ३६  तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तर अब थैली हुनेले त्यो बोकोस्‌, त्यसैगरि खाजाको पोको पनि। अनि तरबार नहुनेले आफ्नो लुगा बेचेर भए पनि एउटा तरबार किनोस्‌। ३७  किनकि म तिमीहरूलाई भन्छु, लेखिएको यो कुरा ममा पूरा हुनै पर्छ: ‘ऊ कुकर्मीहरूको साथमा गनियो।’+ त्यसैले मेरो विषयमा जे भनिएको थियो, त्यो पूरा हुँदै छ।”+ ३८  तब तिनीहरूले भने: “प्रभु, हेर्नुहोस्‌ त! यहाँ दुई वटा तरबार छन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यति भए पुग्छ।” ३९  बाहिर निस्केपछि उहाँ आफ्नो बानीअनुसार जैतुन डाँडामा जानुभयो अनि चेलाहरू पनि उहाँको पछिपछि लागे।+ ४०  त्यहाँ पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+ ४१  अनि तिनीहरूलाई छोडेर उहाँ दुई-चार पाइला पर जानुभयो। त्यसपछि घुँडा टेकेर यसो भन्दै प्रार्थना गर्न थाल्नुभयो: ४२  “हे बुबा, यदि तपाईँ चाहनुहुन्छ भने यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तैपनि मेरो होइन तर तपाईँको इच्छाबमोजिम होस्‌।”+ ४३  तब स्वर्गबाट एउटा दूत उहाँकहाँ देखा परेर उहाँलाई हौसला दिए।+ ४४  तर उहाँ असह्‍य वेदनामा पर्नुभएकोले झन्‌ व्यग्रतासाथ प्रार्थना गरिरहनुभयो+ अनि उहाँको पसिना रगतको थोपासरी भुईँमा खसिरहेको थियो। ४५  प्रार्थना गरिसकेपछि उहाँ उठेर चेलाहरूकहाँ जानुभयो र तिनीहरू सुर्ताले क्लान्त भई निदाइरहेको भेट्टाउनुभयो।+ ४६  अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन निदाइरहेका छौ? जाग र प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+ ४७  उहाँ बोल्दै गर्नुहुँदा हेर! एउटा जमात आयो। अनि ती १२ जनामध्ये एक, यहुदा तिनीहरूको अघिअघि थिए। तिनी येसुलाई चुम्बन गर्न उहाँको छेउमा गए।+ ४८  तर येसुले तिनलाई भन्‍नुभयो: “यहुदा, के तिमी मानिसको छोरालाई चुम्बन गरेर उसलाई धोका दिँदै छौ?” ४९  के हुँदै छ भन्‍ने देखेर उहाँको वरपर हुनेहरूले यसो भने: “प्रभु, के हामी तरबारले हानौँ?” ५०  तिनीहरूमध्ये एक जनाले प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको दाहिने कान च्वाट्टै काटिदियो।+ ५१  तर येसुले भन्‍नुभयो: “बस्‌, अब अरू केही नगर।” त्यसपछि उहाँले उसको कान छोएर निको पारिदिनुभयो। ५२  तब उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरको पहरेदारहरूका नाइकेहरू र धर्मगुरुहरूलाई येसुले भन्‍नुभयो: “के तिमीहरू डाँकुलाई पक्रन आएजस्तै गरी तरबार र लाठोहरू लिएर आयौ?+ ५३  म दिनदिनै मन्दिरमा तिमीहरूसितै हुन्थेँ + तैपनि त्यतिबेला तिमीहरूले मलाई पक्रेनौ।+ तर यो तिमीहरूको बेला हो र अन्धकारले शासन गर्ने समय हो।”+ ५४  त्यसपछि तिनीहरूले उहाँलाई गिरफ्तार गरेर लगे+ अनि प्रधानपुजारीको घरमा पुऱ्‍याए तर पत्रुस भने टाढैबाट उहाँको पछिपछि लागिरहेका थिए।+ ५५  मानिसहरू चोकको बीचमा आगो बालेर एकसाथ बसिरहेको बेला पत्रुस पनि तिनीहरूसितै थिए।+ ५६  तिनलाई आगोको छेउमा बसिरहेको देखेपछि एउटी नोकर्नीले तिनलाई राम्ररी हेरिन्‌ र यसो भनिन्‌: “यो मानिस पनि उहाँसँगै थियो।” ५७  तर तिनले नकार्दै यसो भने: “ए नारी, म उहाँलाई चिन्दिनँ।” ५८  यसको केही समयपछि अर्को एक जनाले तिनलाई देखे र यसो भने: “तिमी पनि तिनीहरूमध्येकै हौ।” तर पत्रुसले भने: “म होइनँ।”+ ५९  अनि लगभग एक घण्टा बितेपछि अर्को एक जना मानिसले ठोकुवा गर्दै यसो भन्‍न थाले: “यो मानिस पनि पक्कै उहाँसित थियो किनकि यो गालिली नै हो।” ६०  तर पत्रुसले भने: “ए मानिस, तिमी के भन्दै छौ, म जान्दिनँ।” तिनी बोल्दै गर्दा त्यतिखेरै भाले बास्यो। ६१  तब प्रभुले फर्केर सीधै पत्रुसलाई हेर्नुभयो अनि प्रभुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “आज भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ६२  अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए। ६३  उहाँलाई हिरासतमा लिएका मानिसहरूले उहाँको गिल्ला गर्न+ र उहाँलाई हिर्काउन थाले।+ ६४  उहाँको अनुहार छोपिदिएर तिनीहरूले यसो भन्‍न थाले: “लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?” ६५  अनि तिनीहरूले उहाँको निन्दा गर्दै अरू थुप्रै कुरा भने। ६६  उज्यालो हुनेबित्तिकै धर्मगुरुहरूको सभा बस्यो, जसमा मुख्य पुजारीहरू र शास्त्रीहरू पनि थिए।+ अनि तिनीहरूले उहाँलाई यहुदी न्यायपरिषद्‌को भवनमा लगे र यसो भने: ६७  “तँ ख्रिष्ट होस्‌ भने हामीलाई भन्‌।”+ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले बताएँ भने पनि तपाईँहरूले पटक्कै पत्याउनुहुनेछैन। ६८  अनि मैले प्रश्‍न सोधेँ भने तपाईँहरूले त्यसको पटक्कै जवाफ दिनुहुनेछैन। ६९  तर अबउसो मानिसको छोरा+ परमेश्‍वरको शक्‍तिशाली दाहिने हाततर्फ बसिरहेको हुनेछ।”+ ७०  यो सुनेर तिनीहरू सबैले सोधे: “त्यसोभए के तँ परमेश्‍वरको छोरा होस्‌?” उहाँले तिनीहरूलाई भन्‍नुभयो: “म हुँ भनेर तपाईँहरू आफै भन्दै हुनुहुन्छ।” ७१  तिनीहरूले भने: “हामीलाई अरू साक्षी किन चाहियो र? यसकै मुखबाट हामीले सुनिहाल्यौँ।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
अङ्‌गुरबाट बनेको रक्सी।