योएल २:१-३२
२ “सियोनमा सिङ फुक!+
युद्ध हुन लागेको छ भनेर मेरो पवित्र डाँडामा घोषणा गर।
देशका* सबै बासिन्दा थरथर काँपून्
किनकि यहोवाको दिन आउँदै छ!+ त्यो नजिकै छ!
२ त्यो दिन कालो बादल र अन्धकारको दिन हुनेछ,+
बाक्लो बादल र घोर अन्धकारको दिन,+
पहाडहरूमा बिहानीको किरण छरिएझैँ।
एउटा यस्तो जाति छ, जुन असङ्ख्य र शक्तिशाली छ,+
त्योजस्तो जाति अहिलेसम्म कहिल्यै देखा परेको छैन।
अनि पुस्तौँपुस्तासम्म त्योजस्तो जाति
फेरि कहिल्यै देखा पर्नेछैन।
३ त्यसको अघिअघि आगोले सबै कुरा नाश गरिदिन्छ
अनि त्यसको पछिपछि आगोको ज्वालाले सबै कुरा भस्म पारिदिन्छ।+
त्यसको अघिल्तिरको भूमि अदनको बगैँचाजस्तै छ+
त्यसको पछिल्तिरको भूमिचाहिँ मरुभूमिजस्तै छ,
त्यसबाट कोही उम्कन सक्दैन।
४ तिनीहरू घोडाजस्तै देखिन्छन्,
तिनीहरू युद्धका घोडाहरूजस्तै दौडन्छन्।+
५ तिनीहरू पहाडका टाकुराहरूमा दौडँदा रथ कुदेझैँ आवाज आउँछ,+
दन्केको आगोमा ठोसा पटपटी पड्कँदै बलेझैँ सुनिन्छ।
तिनीहरू लडाइँ गर्न दल-दल बनाएर तैनाथ भएको शक्तिशाली जातिजस्तै छन्।+
६ तिनीहरूको कारण जातिजातिका मानिसहरूलाई छटपटी हुन्छ,
सबैको अनुहारमा त्रास छाउँछ।
७ तिनीहरू योद्धाजस्तै जाइलाग्छन्।
सिपाहीले जस्तै पर्खाल नाघ्छन्,
तिनीहरू प्रत्येक आफ्नै पङ्क्तिमा हिँड्छन्,
तिनीहरू आफ्नो बाटोबाट यताउता लाग्दैनन्।
८ तिनीहरू आपसमा घचेटाघचेट गर्दैनन्;
तिनीहरू प्रत्येक आफ्नै पङ्क्तिमा हिँड्छन्।
हतियारको प्रहारले कोही ढल्यो भने पनि
बाँकी रहेकाहरू आफ्नो पङ्क्ति नबिगारी अघि बढ्छन्।
९ तिनीहरू सहरमा कुदेर पस्छन् र पर्खाल माथिमाथि दौडेर जान्छन्।
तिनीहरू घरमाथि चढ्छन् र चोरजस्तै झ्यालबाट भित्र पस्छन्।
१० तिनीहरूको अगाडि जमिन हल्लिन्छ र आकाश थरथराउँछ।
सूर्य र चन्द्रमा अँध्यारो भएका छन्+
अनि ताराहरूको चमक हराएको छ।
११ यहोवा आफ्नो सेनासामु ठूलो स्वरले बोल्नुहुनेछ+ किनकि उहाँको सेना असङ्ख्य छ।+
उहाँको वचन पूरा गर्नेहरू शक्तिशाली छन्;
किनकि यहोवाको दिन महान् र भयानक छ।+
त्यो दिन को टिक्न सक्छ?”+
१२ “तैपनि,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ।+
तिमीहरू उपवास बस्दै+ र रोइकराइ गर्दै मकहाँ फर्क।
१३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+
अनि यहोवा तिमीहरूका परमेश्वरकहाँ फर्क
किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+
अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*
१४ उहाँले आफ्नो निर्णयबारे फेरि विचार गर्नुहुन्छ कि?*+
अनि तिमीहरूलाई आशिष् दिनुहुन्छ कि, कसले जान्दछ र?
तिमीहरूका परमेश्वर यहोवालाई तिमीहरूले फेरि अन्नभेटी र मद्यभेटी चढाउन सक्छौ कि?
१५ सियोनमा सिङ फुक!
उपवासको घोषणा गर; पवित्र सभा बोलाओ।+
१६ मानिसहरूलाई भेला गर, समुदायलाई पवित्र तुल्याओ।+
वृद्ध पुरुषहरूलाई* भेला गर; केटाकेटी र दूधे बालकहरूलाई बटुल।+
दुलहा आफ्नो भित्री कोठाबाट बाहिर निस्कोस् अनि दुलही पनि आफ्नो कोठाबाट निस्कोस्।
१७ यहोवाको सेवा गर्ने पुजारीहरू वेदी र दलानको बीचमा+ आऊन्
अनि रुँदै यसो भनून्:
‘हे यहोवा, आफ्ना मानिसहरूमाथि दया गर्नुहोस्।
तपाईँका मानिसहरूलाई* हाँसोको पात्र बन्न नदिनुहोस्।
राष्ट्रहरूलाई तिनीहरूमाथि हैकम जमाउन नदिनुहोस्।
मानिसहरूले यसो भन्ने मौका नपाऊन्, “खोइ तिनीहरूको परमेश्वर?”’+
१८ तब यहोवा आफ्नो भूमिको लागि जुरमुरिनुहुनेछ
अनि आफ्ना मानिसहरूलाई करुणा देखाउनुहुनेछ।+
१९ यहोवाले आफ्ना मानिसहरूलाई यसो भनेर जवाफ दिनुहुनेछ:
‘हेर, म तिमीहरूलाई अन्न, नयाँ मद्य र तेल दिनेछु
अनि तिमीहरू तृप्त हुनेछौ।+
म तिमीहरूलाई फेरि कहिल्यै जातिजातिको बीचमा बदनाम हुन दिनेछैनँ।+
२० उत्तरबाट आउनेलाई म तिमीदेखि टाढा भगाइदिनेछु,
म उसलाई सुक्खा र उजाड भूमिमा तितरबितर पारिदिनेछु।
उसको अघिल्तिरको सेना पूर्वको समुद्रतिर* हुनेछ
र उसको पछिल्तिरको सेना पश्चिमको समुद्रतिर* हुनेछ।
उसको गन्ध माथिमाथि उठ्नेछ;
उसको दुर्गन्ध मास्तिर फैलिरहनेछ+
किनकि परमेश्वरले महान् कामहरू गर्नुहुनेछ।’
२१ ए भूमि, नडराऊ।
खुसी मनाऊ र रमाहट गर किनकि यहोवाले महान् काम गर्नुहुनेछ।
२२ ए जमिनका जनावरहरू हो, तिमीहरू नडराओ
किनकि एकलासे चरनहरू हरिया हुनेछन्+
अनि रूखहरूले फल फलाउनेछन्।+
अन्जिरको रूख र अङ्गुरको बोटले प्रशस्त फल दिनेछन्।+
२३ ए सियोनका छोराहरू हो, खुसी होओ र यहोवा तिमीहरूका परमेश्वरलाई सम्झेर रमाओ।+
किनकि उहाँले तिमीहरूलाई शरद् ऋतुमा प्रशस्त झरी दिनुहुनेछ,
उहाँले तिमीहरूको लागि पानी बर्साउनुहुनेछ,
पहिले जस्तै उहाँले तिमीहरूको लागि शरद् ऋतुमा र वसन्त ऋतुमा पानी बर्साउनुहुनेछ।+
२४ तिमीहरूका खलाहरू अन्नले भरिनेछन्
अनि तिमीहरूका कोलहरूबाट नयाँ मद्य र तेल भरिएर पोखिनेछन्।+
२५ मैले पठाएको विशाल सेनाले+
—बथाने सलह, पखेटा नभएका सलह, भोका सलह र खन्चुवा सलहले जति वर्षसम्म नोक्सानी गरेको थियो,
त्यसको म क्षतिपूर्ति गरिदिनेछु।
२६ तिमीहरू खाएर तृप्त हुनेछौ+
अनि आफ्ना परमेश्वर यहोवाको नामको प्रशंसा गर्नेछौ,+
जसले तिमीहरूको निम्ति आश्चर्यजनक कामहरू गर्नुभएको छ;
मेरा मानिसहरू फेरि कहिल्यै लाजमा पर्नेछैनन्।+
२७ तब तिमीहरूले जान्नेछौ, म इस्राएलको माझमा छु+
अनि म यहोवा तिमीहरूका परमेश्वर हुँ,+ मबाहेक अरू कुनै ईश्वर छैन!
मेरा मानिसहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।
२८ तब म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु,+
तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्,
तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्
अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्।+
२९ अनि ती दिनहरूमा मेरा दासहरू र मेरा दासीहरूमाथि समेत
म आफ्नो पवित्र शक्ति खन्याउनेछु।
३० म आकाश र पृथ्वीमा आश्चर्यजनक कामहरू* देखाउनेछु:
रगत, आगो र धुवाँको मुस्लो।+
३१ यहोवाको महान् र भयानक दिन आउनुअघि+
सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ।+
३२ अनि हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ+
किनकि यहोवाले भन्नुभएझैँ सियोन डाँडामा र यरुसलेममा उम्केर बाँच्नेहरू हुनेछन्;+
ती मानिसहरू, जसलाई यहोवाले बोलाउनुहुन्छ।”
फुटनोटहरू
^ वा “पृथ्वीका।”
^ वा “पछुतो मान्नुहुनेछ।”
^ वा “उहाँले पछुतो मान्नुहुन्छ कि?”
^ वा “नाइकेहरूलाई।”
^ शा., “उत्तराधिकारलाई।”
^ अर्थात्, मृतसागरतिर।
^ अर्थात्, भूमध्यसागरतिर।
^ वा “चिन्हहरू।”