योएल १:१-२०

  • सलहको महामारी (१-१४)

  • “यहोवाको दिन नजिकै छ” (१५-२०)

    • भविष्यवक्‍ताले यहोवालाई पुकार्छन्‌ (१९, २०)

१  पथुएलका छोरा योएलकहाँ* आएको यहोवाको वचन:  २  “ए नाइकेहरू हो, सुन! ए देशका* बासिन्दाहरू हो, ध्यान दिएर सुन! के तिमीहरूको पालामा यस्तो कुरा कहिल्यै भएको छ? अथवा तिमीहरूका पुर्खाहरूको समयमा कहिल्यै भएको थियो?+  ३  यसबारे आफ्ना छोराहरूलाई बताओ अनि तिमीहरूका छोराहरूले तिनीहरूका छोराहरूलाई बताऊन्‌ अनि तिनीहरूका छोराहरूले पछिका पुस्तालाई बताऊन्‌।  ४  जे कुरा खन्चुवा सलहले बाँकी छोडेको थियो, त्यो बथाने सलहले खाइदियो;+ जे बथाने सलहले बाँकी छोडेको थियो, त्यो पखेटा नभएको सलहले खाइदियो; जे पखेटा नभएको सलहले बाँकी छोडेको थियो, त्यो भोका सलहले खाइदियो।+  ५  ए जँड्‌याहाहरू हो, जाग+ र रोओ! ए मतवालाहरू हो, डाँको छोडेर रोओ! किनकि तिमीहरूको मुखबाट नयाँ मद्य खोसिएको छ।+  ६  किनकि मेरो भूमिविरुद्ध एउटा जाति खडा भएको छ, जो शक्‍तिशाली र असङ्‌ख्य छ।+ त्यसका दाँत सिंहका दाँतजस्तै छन्‌+ र त्यसका बङ्‌गारा सिंहका बङ्‌गाराजस्तै छन्‌।  ७  त्यसले मेरो अङ्‌गुरको बोटलाई लुछलाछ पारिदिएको छ अनि मेरो अन्जिरको रूखलाई ठुटो बनाइदिएको छ, त्यसले तिनीहरूलाई नाङ्‌गो पारिदिएको छ अनि लछारपछार गरिदिएको छ अनि हाँगाहरू सेतै पारेर छोडिदिएको छ।  ८  जसरी एउटी कन्या* आफ्नो दुलहाको* मृत्युमा भाङ्‌ग्रा ओढी डाँको छोडेर रुन्छे, त्यसरी नै तिमीहरू पनि डाँको छोडेर रोओ।  ९  यहोवाको भवनमा अन्‍नभेटी+ र मद्यभेटी*+ चढाउन बन्द भएको छ; यहोवाको सेवा गर्ने पुजारीहरू शोक गर्दै छन्‌। १०  खेत उजाड पारिएको छ, जमिनले शोक गर्दै छ+ किनकि अन्‍न नष्ट भएको छ, नयाँ मद्य सुकेर गएको छ र तेल रित्तिएको छ।+ ११  किसानहरू उदास भएका छन्‌, अङ्‌गुर बगानमा काम गर्नेहरू डाँको छोडेर रुन्छन्‌ किनकि गहुँ र जौ नाश भएको छ; खेतको बाली नष्ट भएको छ। १२  अङ्‌गुरको लहरा सुकिसकेको छ, अन्जिरको रूख ओइलाइसकेको छ। अनार, खजुर र स्याउको रूख अनि बगानका सबै रूख सुकिसकेका छन्‌;+ हो, मानिसहरूको हर्ष लाजमा परिणत भएको छ। १३  ए पुजारीहरू हो, भाङ्‌ग्रा ओढ र विलाप गर;* ए वेदीमा सेवा गर्नेहरू हो,+ डाँको छोडेर रोओ। ए मेरा परमेश्‍वरका सेवकहरू हो, आओ र भाङ्‌ग्रा ओढेर रात बिताओ किनकि तिमीहरूका परमेश्‍वरको भवनमा अन्‍नभेटी+ र मद्यभेटी+ चढाउन बन्द गरिएको छ। १४  उपवासको घोषणा गर; पवित्र सभा बोलाओ।+ नाइकेहरूलाई अनि देशका सबै बासिन्दालाई भेला गराओ, यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा+ भेला गराओ अनि मदतको लागि यहोवालाई पुकार। १५  हाय! त्यो दिन आउँदै छ। यहोवाको दिन नजिकै छ,+ त्यस दिन सर्वशक्‍तिमान्‌ले विनाश ल्याउनुहुनेछ। १६  हाम्रो आँखाकै अगाडिबाट खानेकुरा खोसिएको छैन र? अनि हाम्रा परमेश्‍वरको भवनबाट रमाहट र हर्ष हराएको छैन र? १७  तिनीहरूले साबेलले खनेर हेर्दा बिउ* सुकिसकेको हुन्छ। भण्डारहरू रित्तिएका छन्‌। भकारीहरू भत्काइएका छन्‌ किनकि अन्‍न सुकेर गएको छ। १८  वस्तुभाउले समेत सुस्केरा हालिरहेका छन्‌! चर्ने ठाउँ कतै नपाएर गाईवस्तु भौँतारिरहेका छन्‌! अनि भेडाको बगालले सास्ती खेपिरहेको छ। १९  हे यहोवा, म तपाईँलाई पुकार्छु;+ किनकि आगोले एकलासे चरनमा डढेलो लगाइदिएको छ अनि ज्वालाले बगानका सबै रूखलाई भस्म पारिदिएको छ। २०  जङ्‌गली जनावरहरूले समेत तपाईँलाई गुहार्छन्‌ किनकि खोलाको पानी सुकेको छ अनि आगोले एकलासे चरनमा डढेलो लगाइदिएको छ।”

फुटनोटहरू

यसको अर्थ हो, “यहोवा नै परमेश्‍वर हुनुहुन्छ।”
वा “पृथ्वीका।”
वा “युवती।”
वा “पति।”
शब्दावली हेर्नुहोस्‌।
वा “छाती पिट।”
वा सम्भवतः “सुकेको अन्जिर।”