यर्मिया ३३:१-२६

  • इस्राएलीहरूलाई फर्काएर ल्याउने प्रतिज्ञा (१-१३)

  • ‘दाउदका उत्तराधिकारीको’ शासनमा सुरक्षा (१४-१६)

  • दाउद र पुजारीहरूसित करार (१७-२६)

    • दिन र रातसित करार (२०)

३३  यर्मिया पहरेदार-चोकमा थुनिएकै बेला दोस्रो पटक यहोवाको वचन यर्मियाकहाँ आयो।+ उहाँले यसो भन्‍नुभयो: २  “पृथ्वी सृष्टि गर्नुहुने यहोवा, पृथ्वीलाई बनाउनुहुने र स्थिर पार्नुहुने यहोवा; उहाँको नाम यहोवा हो। उहाँ यसो भन्‍नुहुन्छ: ३  ‘मलाई पुकार अनि म तिमीहरूलाई जवाफ दिनेछु र तिमीहरूले कहिल्यै नबुझेका र तिमीहरूको समझबाहिरका अचम्मलाग्दा कुराहरू बताउनेछु।’”+ ४  “किनकि म इस्राएलका परमेश्‍वर यहोवा घेरा-मचान* अनि तरबारले गर्दा ढालिएका यस सहरका घरहरूबारे र यहुदाका राजाका महलहरूबारे+ ५  अनि कल्दियालीहरूसित लड्‌न आएका ती मानिसहरू, जसलाई मैले आफ्नो बल्दो रिसले प्रहार गरेर तिनीहरूको लासले यी ठाउँहरू भरिदिएँ र जसका खराब कामहरूले गर्दा मैले आफ्नो अनुहार यस सहरदेखि अन्तै फर्काएँ, तिनीहरूबारे यसो भन्छु: ६  ‘म यस सहरलाई निको पारेर स्वस्थ बनाउनेछु।+ म यसका बासिन्दाहरूको चोट निको पार्नेछु, तिनीहरूलाई प्रशस्त शान्ति दिनेछु र सत्य कुरा प्रकट गर्नेछु।+ ७  अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+ ८  म तिनीहरूलाई शुद्ध पार्नेछु।+ तिनीहरूले मविरुद्ध गरेका सबै पाप र तिनीहरूका सबै अपराध म क्षमा गरिदिनेछु।+ ९  अनि यस सहरका बासिन्दाहरूका लागि मैले गरेका असल कामहरूबारे सुनेर देश-देशका मानिसहरूले मेरो महिमा गर्नेछन्‌ र मेरो प्रशंसा गर्नेछन्‌। अनि मानिसहरूको नजरमा यो एउटा सुन्दर सहर हुनेछ।+ यस सहरमा मैले गर्ने असल कामहरूबारे र मैले यसलाई दिने शान्तिबारे सुनेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।’”+ १०  “यहोवा यसो भन्‍नुहुन्छ: ‘कुनै मानिस वा वस्तुभाउसमेत नरहनेगरि उजाड हुनेछ भनेर तिमीले घोषणा गरेको यो ठाउँ अर्थात्‌ यहुदाका सहरहरू र यरुसलेमका बाटोहरू, जुन अहिले कुनै मानिस अनि कुनै वस्तुभाउ नभएकोले उजाड भएको छ, ११  यहाँ फेरि खुसीयाली र रमाहटको आवाज सुनिनेछ,+ दुलहा र दुलहीको आवाज सुनिनेछ अनि मानिसहरूले यसो भन्‍नेछन्‌: “सेनाहरूका यहोवालाई धन्यवाद चढाओ किनकि यहोवा भला हुनुहुन्छ।+ उहाँको अटल प्रेम कहिल्यै टल्दैन!”’+ “‘तिनीहरूले यहोवाको भवनमा धन्यवादका भेटीहरू ल्याउनेछन्‌+ किनकि म तिनीहरूलाई फेरि यस देशमा फिर्ता ल्याउनेछु र तिनीहरूलाई पहिलेजस्तै बलियो पार्नेछु,’ यहोवा भन्‍नुहुन्छ।” १२  “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: ‘कुनै मानिस अनि कुनै वस्तुभाउ नभएको यो उजाड ठाउँ र यसका सबै सहरमा फेरि घाँसे मैदानहरू हुनेछन्‌ र त्यहाँ गोठालाहरूले आफ्नो बगाल चराउनेछन्‌।’+ १३  “‘पहाडी भेगका सहरहरू, बेँसीका सहरहरू, दक्षिणतिरका सहरहरू, बिन्यामिनको इलाका, यरुसलेमवरपरको इलाका+ र यहुदाका सहरहरूमा+ गोठालाहरूले फेरि आफ्ना भेडाहरूको गन्ती गर्नेछन्‌,’ यहोवा भन्‍नुहुन्छ।” १४  “यहोवा घोषणा गर्नुहुन्छ, ‘हेर, यस्तो दिन आउँदै छ, जब म इस्राएल र यहुदाको घरानासित मैले गरेका सबै असल प्रतिज्ञा पूरा गर्नेछु।+ १५  त्यसबेला म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु+ अनि तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन्‌।+ १६  ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+ १७  “किनकि यहोवा यसो भन्‍नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्नलाई दाउदको सन्तानको कहिल्यै कमी हुनेछैन।+ १८  मलाई अग्निभेटी, अन्‍नभेटी र बलिदानहरू चढाउने लेवी पुजारीहरूको पनि कहिल्यै कमी हुनेछैन।’” १९  अनि यहोवाको यो वचन फेरि यर्मियाकहाँ आयो: २०  “यहोवा यसो भन्‍नुहुन्छ, ‘दिन र रातसित मैले गरेको करारलाई के तिमीहरू तोड्‌न सक्छौ? अनि दिन र रातलाई त्यसको आफ्नो समयमा देखा पर्नदेखि रोक्न सक्छौ?+ २१  सक्छौ भने मात्र मेरो दास दाउदसित मैले गरेको करार तोडिनेछ+ र तिनको सिंहासनमा बसेर राजाको रूपमा शासन गर्ने उत्तराधिकारीको कमी हुनेछ।+ अनि मेरा सेवकहरू अर्थात्‌ लेवी पुजारीहरूसित मैले गरेको करार तोडिनेछ।+ २२  जसरी आकाशका ताराहरू गन्‍न सकिँदैन अनि समुद्रको बालुवा जोख्न सकिँदैन, त्यसैगरि मेरो दास दाउदको सन्तानलाई र मेरो सेवा गर्ने लेवीहरूलाई कसैले गन्‍न सक्नेछैन किनकि म तिनीहरूको सङ्‌ख्यालाई बढाउनेछु।’” २३  अनि यहोवाको यो वचन फेरि यर्मियाकहाँ आयो: २४  “‘आफूले रोजेका दुई परिवारलाई यहोवाले तिरस्कार गर्नुहुनेछ’ भनेर यी मानिसहरूले भनेको के तिमीले याद गरेका छैनौ? तिनीहरू मेरा मानिसहरूलाई हेला गर्दै छन्‌ र तिनीहरूले उनीहरूलाई एउटा राष्ट्रको दर्जासमेत दिन छोडिसकेका छन्‌। २५  “यहोवा यसो भन्‍नुहुन्छ: ‘जसरी मैले आकाश र पृथ्वीको निम्ति तोकेको+ नियम अनि दिन र रातसित गरेको करार पक्का छ,+ २६  त्यसैगरि म याकुबका सन्तान अनि मेरो दास दाउदको सन्तानलाई कहिल्यै त्याग्नेछैनँ भन्‍ने कुरा पनि पक्का छ। अब्राहाम, इसहाक र याकुबका सन्तानमाथि शासन गर्नलाई दाउदको सन्तानमा शासकको कमी हुनेछैन। किनकि म कैदमा परेकाहरूलाई फेरि जम्मा गर्नेछु+ र तिनीहरूमाथि दया देखाउनेछु।’”+

फुटनोटहरू

शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।
शा., “टुसा।”