यर्मिया ३१:१-४०

  • बाँकी रहेका इस्राएलीहरू फेरि आफ्नै देशमा फर्कनेछन्‌ (१-३०)

    • राहेल आफ्ना छोराछोरीको निम्ति रुन्छे (१५)

  • नयाँ करार (३१-४०)

३१  यहोवा घोषणा गर्नुहुन्छ, “त्यसबेला म इस्राएलका सबै घरानाको परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+  २  यहोवा यसो भन्‍नुहुन्छ: “इस्राएल आफ्नो विश्रामस्थलमा फर्कन यात्रा गरिरहेको बेला तरबारबाट बचेका मानिसहरूले निर्जनभूमिमा निगाह पाए।”  ३  टाढाबाट यहोवा मकहाँ आउनुभयो र भन्‍नुभयो: “मैले तिमीलाई माया गरेको छु; मेरो माया सधैँभरि रहनेछ। मैले तिमीलाई अटल प्रेम देखाएर आफूतिर खिचेको छु।+  ४  त्यसैले म तिमीलाई फेरि बनाउनेछु; हो, तिमी फेरि बनाइनेछ्यौ।+ ए इस्राएलकी कुमारी केटी, तिमीले फेरि आफ्नो खैँजडी बोक्नेछ्यौ र हर्षले नाच्नेछ्यौ।+  ५  तिमीले सामरियाका डाँडाहरूमा फेरि अङ्‌गुर बगान लगाउनेछ्यौ।+ मानिसहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।+  ६  किनकि यस्तो दिन आउँदै छ, जब एप्रैमका पहाडहरूमा बस्ने पहरेदारहरू यसो भन्दै कराउनेछन्‌: ‘उठ! सियोनमा उक्लौँ र हाम्रा परमेश्‍वर यहोवाकहाँ जाऔँ!’”+  ७  किनकि यहोवा यसो भन्‍नुहुन्छ: “याकुबको निम्ति खुसीले गाओ। चर्को स्वरले जयजयकार गर किनकि तिमी सबै राष्ट्रभन्दा माथि उचालिएका छौ।+ यस कुराको घोषणा गर; परमेश्‍वरको प्रशंसा गर र यसो भन, ‘हे यहोवा! आफ्ना जनहरू, इस्राएलका बाँकी मानिसहरूलाई बचाउनुहोस्‌।’+  ८  म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+ तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+ तिनीहरूमाझ अन्धा र लङ्‌गडाहरू हुनेछन्‌,+ गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्‌। तिनीहरू ठूलो जमातमा फर्कनेछन्‌।+  ९  तिनीहरू रुँदै आउनेछन्‌,+ तिनीहरूले मसित दयाको भीख माग्नेछन्‌ र म तिनीहरूलाई डोऱ्‍याउनेछु। म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+ ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्‍याउनेछु किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+ १०  ए राष्ट्रहरू हो! यहोवाको वचन सुन! टाढा-टाढाका टापुहरूमा यो कुराको घोषणा गर:+ “इस्राएललाई तितरबितर पार्नुहुनेले तिनीहरूलाई फेरि जम्मा गर्नुहुनेछ। गोठालोले आफ्नो बगालको हेरविचार गरेझैँ उहाँले तिनीहरूको हेरविचार गर्नुहुनेछ।+ ११  किनकि यहोवाले याकुबलाई छुटकारा दिनुहुनेछ;+ ऊभन्दा शक्‍तिशालीको हातबाट उसलाई छुटाउनुहुनेछ।+ १२  तिनीहरू आउनेछन्‌ र सियोनको टाकुरामा खुसीले कराउनेछन्‌।+ यहोवाले दिनुभएका असल-असल कुराले तिनीहरूको अनुहार धपक्क बल्नेछ। उहाँले तिनीहरूलाई अन्‍न, नयाँ मद्य+ र तेल दिनुहुनेछ। तिनीहरूका वस्तुभाउ ब्याउनेछन्‌।+ तिनीहरू राम्ररी पानी पाएको बगैँचाजस्तै हराभरा हुनेछन्‌+ र फेरि कहिल्यै कमजोर हुनेछैनन्‌।”+ १३  “त्यसबेला कुमारी केटीहरू रमाई-रमाई नाच्नेछन्‌, तन्‍नेरीहरू र बूढापाकाहरू पनि सँगै नाच्नेछन्‌।+ म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु।+ म तिनीहरूलाई सान्त्वना दिनेछु र पीडाको सट्टा खुसी दिनेछु।+ १४  म पुजारीहरूलाई प्रशस्त खानेकुरा दिएर तृप्त पार्नेछु। मैले दिएका असल-असल कुराले मेरा मानिसहरू सन्तुष्ट हुनेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ। १५  “यहोवा यसो भन्‍नुहुन्छ: ‘रामामा+ एउटा स्वर सुनियो, रोदन र क्रन्दनको; राहेल आफ्ना छोराहरूको* निम्ति विलाप गर्दै थिई;+ जति नै सान्त्वना दिए पनि ऊ शान्त हुन मानिन किनकि तिनीहरू अब रहेनन्‌।’”+ १६  यहोवा यसो भन्‍नुहुन्छ: “‘नरोऊ, आँसु झार्न बन्द गर। किनकि म तिमीलाई तिम्रा कामहरूको इनाम दिनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ। ‘तिनीहरू आफ्नो शत्रुको देशबाट फर्कनेछन्‌।’+ १७  ‘तिम्रो लागि एउटा आशा छ,’+ यहोवा घोषणा गर्नुहुन्छ। ‘तिम्रा छोराहरू आफ्नै भूमिमा फर्कनेछन्‌।’”+ १८  “एप्रैमले यसो भन्दै सुस्केरा हालेको मैले सुनेको छु, ‘म त हलो जोत्ने तालिम नपाएको बाछोजस्तै थिएँ। तपाईँले मलाई सुधार्नुभयो र म सुध्रिएँ। मलाई फर्काउनुहोस्‌ र म खुसी-खुसी फर्कनेछु किनकि तपाईँ मेरा परमेश्‍वर यहोवा हुनुहुन्छ। १९  फर्केर आएपछि मलाई ग्लानि भयो।+ तपाईँले मलाई सम्झाउनुभएपछि मैले शोकमा आफ्नो तिघ्रा ठटाएँ।* जवान छँदा आफूले गरेका कामहरूले गर्दा मैले लज्जित र अपमानित महसुस गरेँ।’”+ २०  यहोवा घोषणा गर्नुहुन्छ, “एप्रैम मेरो लागि अनमोल छैन र? ऊ मेरो प्यारो छोरो होइन र?+ किनकि उसलाई जति हप्काए पनि म उसलाई बिर्सन सक्दिनँ। उसलाई सम्झेर मेरा भावनाहरू उर्लेर आउँछन्‌।+ त्यसैले म उसलाई पक्कै दया देखाउनेछु।+ २१  आफ्नो लागि सडकमा चिन्हहरू ठड्‌याऊ अनि खम्बाहरू खडा गर।+ तिमी हिँड्‌नुपर्ने मूलबाटोतिर नजर लगाऊ।+ फर्किआऊ, ए इस्राएलकी कुमारी केटी, आफ्ना यी सहरहरूमा फर्केर आऊ। २२  ए विश्‍वासघाती छोरी, तिमी कहिलेसम्म यताउता बरालिन्छ्यौ? किनकि यहोवाले पृथ्वीमा एउटा नयाँ कुरा बनाउनुभएको छ: एउटी स्त्री मरिहत्ते गरेर पुरुषको पछि लाग्छे।” २३  सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “कैदमा लगिएकाहरूलाई फर्काएर ल्याएपछि तिनीहरूले यहुदा र यसका सहरहरूमा फेरि यसो भन्‍नेछन्‌: ‘ए धर्मी घर!+ ए पवित्र डाँडा!+ यहोवाले तिमीलाई आशिष्‌ देऊन्‌।’ २४  अनि त्यसमै यहुदा र यसका सारा सहर सँगै बसोबास गर्नेछन्‌। किसानहरू र बगाललाई डोऱ्‍याउने गोठालाहरू पनि सँगै बस्नेछन्‌।+ २५  अनि थाकेकाहरूलाई म तृप्त पार्नेछु र दुर्बलहरूलाई बल दिनेछु।”+ २६  यसपछि म ब्युँझिएँ र मैले आफ्नो आँखा खोलेँ। मलाई मीठो निद्रा लागेको थियो। २७  यहोवा घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब म इस्राएलको घराना र याकुबको घरानामा मानिसहरूको र वस्तुभाउको सङ्‌ख्या बढाइदिनेछु।”+ २८  “अनि जसरी मैले तिनीहरूलाई उखेल्न, ढाल्न, भत्काउन, नाश गर्न र हानि गर्न+ तिनीहरूमाथि नजर राखेको थिएँ, त्यसरी नै तिनीहरूलाई बनाउन र रोप्न म तिनीहरूमाथि नजर राख्नेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ। २९  “ती दिनहरूमा तिनीहरूले फेरि कहिल्यै यसो भन्‍नेछैनन्‌, ‘अमिलो अङ्‌गुर खाए बुबाले, दाँत कुँडियो छोराको।’+ ३०  तर हरेक मानिस आफ्नै गल्तीले मर्नेछ। त्यसैले जसले अमिलो अङ्‌गुर खान्छ, उसैको दाँत कुँडिनेछ।” ३१  यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँदै छन्‌, जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु।+ ३२  त्यो करार मैले तिनीहरूका पुर्खाहरूलाई हात समाएर मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूसित गरेको करारजस्तो हुनेछैन।+ ‘म तिनीहरूको साँचो मालिक* थिएँ तर तिनीहरूले मेरो करार तोडे,’+ यहोवा घोषणा गर्नुहुन्छ।” ३३  “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+ ३४  “तिनीहरूमध्ये कसैले पनि आफ्नो छिमेकीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: ‘यहोवालाई चिन!’+ किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।”+ ३५  यहोवा, जसले दिनमा उज्यालो होस्‌ भनेर घाम दिनुहुन्छ, रातमा प्रकाश छर्न जूनताराको निम्ति नियम तोक्नुहुन्छ, जसले सागरलाई हल्लाउनुहुन्छ र ठूलठूला छाल उठाउनुहुन्छ, जसको नाम सेनाहरूका यहोवा हो,+ उहाँ यसो भन्‍नुहुन्छ: ३६  “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘जसरी यी नियमहरूले कहिल्यै काम गर्न छोड्‌दैनन्‌, त्यसैगरि इस्राएलका सन्तानलाई म राष्ट्रको रूपमा कहिल्यै नाश हुन दिनेछैनँ।’”+ ३७  यहोवा यसो भन्‍नुहुन्छ: “‘जसरी माथि आकाशलाई नाप्न र तल पृथ्वीको जगसम्म पुग्न असम्भव छ, त्यसरी नै इस्राएलका सन्तानले गरेका गल्तीहरूको निम्ति मैले तिनीहरू सबैलाई त्याग्ने कुरा असम्भव छ,’ यहोवा घोषणा गर्नुहुन्छ।”+ ३८  यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब हननेल धरहरादेखि+ कुना-ढोकासम्म+ यहोवाको निम्ति यो सहर निर्माण गरिनेछ।+ ३९  अनि नाप्ने डोरी+ सोझै गारेबको डाँडासम्म पुग्नेछ र त्यसपछि गोआहतिर मोडिनेछ। ४०  अनि सिनु र खरानीले* भरिएको सम्पूर्ण उपत्यकाका साथै किद्रोन बेँसीसम्म+ फैलिएको सबै खेत र पूर्वमा घोडा-ढोकाको+ कुनासम्म सबै इलाका यहोवाको निम्ति पवित्र हुनेछ।+ त्यो फेरि कहिल्यै उखेलिनेछैन र नाश हुनेछैन।”

फुटनोटहरू

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।
वा “छोराछोरीको।”
इस्राएलमा दुःख, शोक, खेद आदि व्यक्‍त गर्न पनि तिघ्रा ठटाउने चलन थियो।
वा सम्भवतः “तिनीहरूको पति।”
वा “बोसो मिसिएको खरानीले।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।