यर्मिया २०:१-१८
२० इम्मेरका छोरा पासुहरले यर्मियाको भविष्यवाणी सुनिरहेका थिए। उनी पुजारी र यहोवाको भवनको नाइके पनि थिए।
२ भविष्यवक्ता यर्मियाको कुरा सुनेपछि पासुहरले तिनलाई पिटे र यहोवाको भवनमा भएको ‘बिन्यामिनको माथिल्लो ढोका’-नजिकै ठिँगुरोमा हाले।+
३ अनि भोलिपल्ट पासुहरले यर्मियालाई ठिँगुरोबाट निकालेपछि यर्मियाले उनलाई यसो भने:
“यहोवाले तपाईँको नाम पासुहर होइन, ‘चारैतिरको आतङ्क’ राख्नुभएको छ।+
४ किनकि यहोवा यसो भन्नुहुन्छ: ‘तिम्रो कारणले तिम्रा साथीहरू आतङ्कित हुनेछन् र तिमी आफै पनि आतङ्कित हुनेछौ। तिम्रा साथीहरू तिम्रै आँखाअगाडि शत्रुहरूको तरबारले काटिनेछन्।+ म यहुदाका मानिसहरूलाई बेबिलोनका राजाको हातमा सुम्पनेछु। तिनले उनीहरूलाई कैदी बनाएर बेबिलोन लैजानेछन् र तरबारले काटेर मार्नेछन्।+
५ अनि म यस सहरका सबै धनसम्पत्ति, सबै बहुमूल्य कुरा र यहुदाका राजाहरूका सबै खजाना तिनीहरूका शत्रुहरूलाई दिनेछु।+ उनीहरूले ती सबै लुट्नेछन्, आफ्नो बनाउनेछन् र बेबिलोनमा लैजानेछन्।+
६ अनि ए पासुहर, तिमी र तिम्रो घरमा बस्नेहरूजति सबै कैदमा पर्नेछौ। तिमी बेबिलोनमा लगिनेछौ र त्यहीँ मर्नेछौ। तिमी त्यहाँ आफ्ना साथीहरूसितै गाडिनेछौ किनकि तिमीले तिनीहरूलाई झूटो भविष्यवाणी सुनायौ।’”+
७ हे यहोवा, तपाईँले मलाई झुक्क्याउनुभयो र म झुक्किएँ।
तपाईँले मलाई जित्नुभयो र मभन्दा बलियो साबित हुनुभयो।+
दिनभरि सबैले मेरो खिल्ली उडाउँछन्
र म हाँसोको पात्र भएको छु।+
८ मैले बोलेपिच्छे यस्तो घोषणा गर्नुपरेको छ:
“मारकाट र सर्वनाश हुनेछ!”
यहोवाको वचन सुनाएकोले मैले दिनभर अपमान र ठट्टा सहनुपरेको छ।+
९ त्यसैले मैले यस्तो विचार गरेँ: “म अब उहाँबारे एक शब्द बोल्दिनँ,
म उहाँको नाममा केही भन्दिनँ।”+
तर मलाई साह्रै छटपटी भयो, मेरो हड्डीभित्र आगो थुनिएझैँ भयो।
त्यसलाई गुम्साएर राख्दा-राख्दा म थकित भएँ,
म नबोली बस्नै सकिनँ।+
१० किनकि मानिसहरूले झूटो हल्ला फैलाएको मैले सुनेँ।
मलाई त्रासले छोप्यो।+
तिनीहरू यसो भन्दै चिच्याउँदै थिए: “त्यो दोषी हो! त्यसलाई नछोड्!”
मेरो लागि शान्तिको कामना गर्ने प्रत्येक मानिस
“त्यसले कहिले गल्ती गर्ला+ र त्यसलाई दोषी ठहराएर त्यससित बदला लिऊँला” भन्दै
मेरो विनाश कुरिरहेको छ।
११ तर यहोवा परमेश्वर वीर योद्धाझैँ मेरो साथमा खडा हुनुभयो।+
त्यसैले मलाई सताउनेहरूले ठेस खानेछन्, तिनीहरू टिक्नेछैनन्।+
तिनीहरूले सोचेको कुरा पूरा हुनेछैन, तिनीहरू लाजमा पर्नेछन्।
तिनीहरू सधैँका लागि अपमानित हुनेछन् र तिनीहरूको अपमान कहिल्यै बिर्सिइनेछैन।+
१२ तर हे सेनाहरूका यहोवा, धर्मी मानिसलाई तपाईँ जाँच्नुहुन्छ;
तपाईँ मानिसको भित्री विचार* र हृदयसमेत नियाल्न सक्नुहुन्छ।+
तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ+
किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।+
१३ यहोवाको निम्ति गीत गाऊ! यहोवाको प्रशंसा गर!
उहाँले असहायलाई दुष्टहरूको हातबाट छुटाउनुभएको छ।
१४ धिक्कार छ म जन्मेको त्यो दिनलाई!
श्रापित होस् त्यो दिन, जुन दिन मेरी आमाले मलाई जन्माएकी थिइन्।+
१५ “तिम्रो एउटा छोरो जन्मियो” भन्ने खबर दिएर
मेरो बुबालाई साह्रै खुसी पार्ने त्यो मानिस श्रापित होस्।
१६ त्यसको हालत पनि यहोवाले पछुतो नमानी नाश गर्नुभएका सहरहरूको जस्तै होस्।
त्यसले बिहान-बिहानै रुवाबासी सुन्नुपरोस् र दिउँसोचाहिँ युद्धको बिगुल फुकेको सुन्नुपरोस्।
१७ मलाई किन गर्भमै नाश गरिएन?
मेरी आमाको गर्भ नै मेरो चिहान हुने थियो।
अनि म सधैँ आमाकै गर्भमा रहने थिएँ।+
१८ दुःख र पीडा भोग्नलाई
अनि अन्तमा लज्जित भएर मर्नलाई+
म किन आमाको गर्भबाट निस्केँ?
फुटनोटहरू
^ शा., “मिर्गौलाहरू।”