प्रस्थान ८:१-३२

  • दोस्रो विपत्ति: भ्यागुता (१-१५)

  • तेस्रो विपत्ति: भुसुना (१६-१९)

  • चौथो विपत्ति: झिँगा (२०-३२)

८  तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोकहाँ गएर यसो भन, ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌।+ २  तिमीले उनीहरूलाई अझै पनि जान दिएनौ भने म तिम्रो देशभरि भ्यागुता पठाएर सताउनेछु।+ ३  अनि नाइल नदीभरि भ्यागुतै भ्यागुता हुनेछ र भ्यागुताहरू तिम्रो घरमा, तिम्रो सुत्ने कोठामा, तिम्रो ओछ्यानमा, तिम्रा चाकरहरू र तिम्रा सारा प्रजाको घरमा, तिम्रो चुलोमा र पीठो मुछ्‌ने भाँडोमा आउनेछन्‌।+ ४  ती भ्यागुताहरूले तिमीलाई, तिम्रा प्रजालाई र तिम्रा सारा चाकरहरूलाई सताउनेछन्‌।”’” ५  यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई यसो भन, ‘तपाईँको लौरोलाई नदीनाला, नाइल नदीका नहर र तलाउहरूतर्फ पसार्नुहोस्‌ अनि पानीबाट भ्यागुता निस्केर पूरै मिश्र भरिऊन्‌।’” ६  तब हारुनले आफ्नो लौरोलाई मिश्रका सबै पानीतर्फ पसारे र पानीबाट निस्केका भ्यागुताले पूरै मिश्र भरियो। ७  अनि जादुगरहरूले पनि त्यस्तै चमत्कार गरे र मिश्रभरि भ्यागुताहरू निकाले।+ ८  तब फारोले मोसा र हारुनलाई बोलाएर भने: “म र मेरो प्रजाबाट भ्यागुता हटाइदिन यहोवालाई बिन्ती गरिदेओ।+ म तिम्रा मानिसहरूलाई यहाँबाट पठाउन तयार छु ताकि तिनीहरूले यहोवाको निम्ति बलि चढाउन सकून्‌।” ९  यो सुनेपछि मोसाले फारोलाई भने: “यी भ्यागुताहरू हजुरको सामनेबाट अनि हजुरका चाकरहरू, हजुरका प्रजा र हजुरका घरहरूबाट हटून्‌ भनेर म परमेश्‍वरलाई कहिले बिन्ती गरूँ, हजुरबाटै हुकुम होस्‌! त्यसपछि भ्यागुताहरू नाइल नदीमा मात्र रहनेछन्‌।” १०  अनि फारोले भने: “भोलि।” तब मोसाले भने: “हजुरले हुकुम गर्नुभएबमोजिमै हुनेछ र हाम्रा परमेश्‍वर यहोवाजस्तो अरू कोही छैन भनेर हजुरले थाह पाउनुहुनेछ।+ ११  हजुरको सामनेबाट अनि हजुरका घरहरू, हजुरका चाकरहरू र हजुरका प्रजाबाट भ्यागुताहरू हट्‌नेछन्‌। तिनीहरू नाइल नदीमा मात्र हुनेछन्‌।”+ १२  तब मोसा र हारुन फारोकहाँबाट निस्के र फारोमाथि आएको भ्यागुताको विपत्ति हटाइदिन मोसाले यहोवा परमेश्‍वरलाई बिन्ती गरे।+ १३  यहोवा परमेश्‍वरले मोसाको बिन्ती पूरा गरिदिनुभयो अनि घर, आँगन र खेतमा भ्यागुताहरू भकाभक मर्न थाले। १४  मानिसहरूले ठाउँठाउँमा ती भ्यागुताहरूको थुप्रो लगाए र पूरै देश डुङडुङ्‌ती गन्हाउन थाल्यो। १५  यो विपत्ति हटेको देखेपछि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोले आफ्नो हृदय फेरि कठोर बनाए;+ उनले मोसा र हारुनको कुरा सुनेनन्‌। १६  फेरि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई भन, ‘तपाईँको लौरो उठाएर जमिनको धुलोमा हिर्काउनुहोस्‌ र त्यो भुसुना बनेर मिश्रभरि फैलियोस्‌।’” १७  मोसा र हारुनले त्यसै गरे। हारुनले आफ्नो लौरो उठाएर जमिनको धुलोमा हिर्काए अनि मानिसहरू र पशुहरूलाई भुसुनाले हैरान पाऱ्‍यो। जमिनको सबै धुलो भुसुना बनेर मिश्रभरि फैलियो।+ १८  जादुगरहरूले पनि जादु गरेर भुसुना ल्याउन खोजे+ तर सकेनन्‌। ती भुसुनाहरूले मानिस र पशुलाई सताउन छोडेनन्‌। १९  त्यसैले जादुगरहरूले फारोलाई भने: “यसमा परमेश्‍वरकै हात* छ!”+ तर यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय अझै पनि कठोर भइरह्‍यो; उनले मोसा र हारुनको कुरा सुनेनन्‌। २०  अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “बिहान सबेरै उठ अनि फारोसामु हाजिर होऊ। हेर, उनी नदीतिर आउनेछन्‌! तिमीले उनलाई यसो भन्‍नू, ‘यहोवा यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌। २१  तर तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने तिमी, तिम्रा चाकर, तिम्रा प्रजा र तिम्रा घरहरूमा हुलका हुल झिँगा* पठाउनेछु; मिश्रीहरूका घर र तिनीहरूको पूरै इलाकासमेत झिँगैझिँगाले भरिनेछ। २२  मेरा प्रजाहरू बसोबास गरिरहेको गोसेनलाई चाहिँ म त्यो दिन सुरक्षित राख्नेछु; त्यहाँ एउटै झिँगा हुनेछैन।+ म यहोवा हुँ र पूरै पृथ्वीमाथि मेरो अधिकार छ भनेर तिमीहरूले यसबाटै थाह पाउनेछौ।+ २३  म मेरा प्रजा र तिम्रा प्रजाबीचको भिन्‍नता देखाउनेछु। भोलि तिमीले यसको प्रमाण देख्नेछौ।”’” २४  यहोवा परमेश्‍वरले त्यसै गर्नुभयो अनि हुलका हुल झिँगा फारोको घर, उनका चाकरहरूको घर र सारा मिश्रभरि फैलिन थाल्यो।+ झिँगाले गर्दा मिश्रीहरूको बेहाल भयो।+ २५  केही सीप नलागेपछि फारोले मोसा र हारुनलाई बोलाएर भने: “जाओ र मिश्रकै कुनै ठाउँमा गएर तिमीहरूका परमेश्‍वरको निम्ति बलि चढाओ।” २६  तर मोसाले भने: “त्यसो गर्नु ठीक हुँदैन हजुर! किनभने हामीले आफ्ना परमेश्‍वर यहोवालाई चढाएको बलिदेखि मिश्रीहरू घिन मान्छन्‌।+ अनि मिश्रीहरूले घिन मान्‍ने कुरा हामीले तिनीहरूकै अगाडि चढायौँ भने के तिनीहरूले हामीलाई ढुङ्‌गाले नहान्लान्‌ र? २७  हामी तीन दिन हिँडेर निर्जनभूमिमा जानेछौँ र हाम्रा परमेश्‍वर यहोवाले भन्‍नुभएझैँ त्यहीँ उहाँको निम्ति बलि चढाउनेछौँ।”+ २८  तब फारोले भने: “हुन्छ, म तिमीहरूलाई तिमीहरूका परमेश्‍वर यहोवाको निम्ति बलि चढाउन निर्जनभूमिमा जान दिन्छु। तर धेरै टाढाचाहिँ नजाओ। अनि जानुअघि झिँगाहरू हटून्‌ भनेर मेरो लागि परमेश्‍वरलाई बिन्ती चढाइदेओ।”+ २९  अनि मोसाले भने: “अब म यहाँबाट जान्छु र यहोवा परमेश्‍वरलाई बिन्ती चढाउँछु। त्यसपछि हजुर, हजुरका चाकरहरू र हजुरका प्रजाबाट यी झिँगाहरू भोलि नै हट्‌नेछन्‌। तर यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन जान नदिएर फेरि छलचाहिँ नगर्नुहोला।”+ ३०  अनि मोसा फारोकहाँबाट निस्के र यहोवा परमेश्‍वरलाई बिन्ती चढाए।+ ३१  यहोवा परमेश्‍वरले मोसाको बिन्ती सुन्‍नुभयो; उहाँले फारो, उनका चाकरहरू र उनका प्रजाकहाँबाट ती झिँगाहरू हटाइदिनुभयो। त्यहाँ एउटै झिँगा बाँकी रहेन। ३२  तर फारोले आफ्नो हृदय फेरि कठोर बनाए; उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

फुटनोटहरू

शा., “औँला।”
वा “रगत चुस्ने झिँगा।”