प्रस्थान ३२:१-३५
३२ मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि+ इस्राएलीहरूले हारुनकहाँ भेला भएर यसो भने: “हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्+ किनकि हामीलाई मिश्रबाट डोऱ्याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।”
२ तब हारुनले तिनीहरूलाई यसो भने: “तिमीहरूका पत्नी अनि छोराछोरीले कानमा लगाइराखेका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।”+
३ अनि सबैले आफ्नो कानमा लगाएका कुण्डल फुकालेर हारुनकहाँ ल्याए।
४ त्यसपछि हारुनले तिनीहरूले ल्याएका सुनका गहनाहरू गाले अनि औजारले खोपेर बाछोको मूर्ति बनाए।+ अनि तिनीहरू यसो भनेर कराउन थाले: “हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।”+
५ यो देखेपछि हारुनले त्यस मूर्तिको अगाडि एउटा वेदी बनाए र भने: “भोलि यहोवा परमेश्वरको निम्ति एउटा चाड मनाइनेछ।”
६ त्यसैले तिनीहरू भोलिपल्ट बिहानै उठेर अग्निभेटी र मेलबलि चढाउन थाले। त्यसपछि तिनीहरू खान र पिउनलाई बसे अनि रमाइलो गर्नलाई उठे।+
७ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तल जाऊ किनभने तिमीले मिश्रबाट छुटाएर ल्याएका तिम्रा मानिसहरू भ्रष्ट भएका छन्।+
८ मैले देखाएको मार्गबाट तर्कन तिनीहरूलाई एकछिन पनि लागेन।+ तिनीहरूले बाछोको मूर्ति बनाएका छन् अनि त्यसलाई ढोग्दै र त्यसको लागि बलि चढाउँदै यसो भन्दै छन्, ‘हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।’”
९ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: “यी मानिसहरू साँच्चै हठी मानिसहरू हुन्।+
१० त्यसैले अब मलाई नरोक। म यिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु अनि तिमीबाटै एउटा ठूलो जाति बनाउनेछु।”+
११ तब मोसाले यहोवा परमेश्वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+
१२ मिश्रीहरूलाई यसो भन्ने मौका किन दिने: ‘इस्राएलीहरूलाई दुःख दिन पो उहाँले तिनीहरूलाई यहाँबाट निकाल्नुभएको रहेछ! तिनीहरूलाई डाँडामै मार्न अनि पृथ्वीबाट नामेट पार्न उहाँले यसो गर्नुभएको रहेछ!’+ त्यसैले हे परमेश्वर, आफ्नो रिस थाम्नुहोस् अनि आफ्नो प्रजामाथि यस्तो विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुहोस्।*
१३ आफ्ना सेवकहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस्, जससित तपाईँले यस्तो शपथ खानुभएको थियो: ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु।+ अनि मैले तिनीहरूको निम्ति तयार पारेको यो देश म तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यहाँ अनन्तसम्म अधिकार गर्नेछन्।’”+
१४ मोसाका यी सब कुरा सुनेपछि यहोवा परमेश्वरले आफ्नो प्रजामाथि विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुभयो।*+
१५ त्यसपछि मोसा ढुङ्गाका दुई वटा साक्षीपाटी*+ हातमा लिएर डाँडाबाट ओर्ले।+ ती साक्षीपाटीहरूको अगाडिपछाडि दुवैतिर अक्षरहरू कुँदिएका थिए।
१६ ती साक्षीपाटीहरू परमेश्वर आफैले बनाउनुभएको थियो। अनि त्यसमा कुँदिएका अक्षरहरू परमेश्वर स्वयम्ले लेख्नुभएको थियो।+
१७ मानिसहरूको हल्लाखल्ला सुनेपछि यहोसुले मोसालाई भने: “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ।”
१८ तर मोसाले भने:
“यो विजयगान होइन,*हार्नेहरूको बिलौना पनि होइन;म त अर्कै किसिमको गीत सुन्दै छु।”
१९ छाउनीनजिकै पुगेपछि मोसाले बाछोको मूर्ति+ र त्यसको अगाडि मानिसहरू नाचिरहेको देखे। यो देखेर तिनी रिसले आगो भए र आफ्ना हातमा भएका ढुङ्गाका पाटीहरू भुईँमा बजारे अनि डाँडाको फेदमा ती टुक्राटुक्रा भए।+
२० इस्राएलीहरूले बनाएको बाछो तिनले आगोमा हालिदिए अनि त्यसलाई धुलोपिठो पारेर+ पानीमा छरिदिए र इस्राएलीहरूलाई त्यो पानी पिउन लगाए।+
२१ अनि मोसाले हारुनलाई सोधे: “तिनीहरूले तपाईँलाई त्यस्तो के गरे, जसले गर्दा तपाईँले तिनीहरूलाई यस्तो घोर पाप गर्न लगाउनुभयो?”
२२ हारुनले भने: “हे प्रभु, मसित नरिसाउनुहोस्। यी मानिसहरू खराब काम गर्न कत्ति आतुर छन्, तपाईँलाई थाहै छ।+
२३ तिनीहरूले मलाई यसो भने, ‘हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस् किनकि हामीलाई मिश्र देशबाट डोऱ्याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।’+
२४ अनि मैले तिनीहरूलाई भनेँ, ‘जो-जोसित सुनका गहना छन्, ती फुकालेर मकहाँ ल्याओ।’ अनि मैले ती गहना आगोमा फालेँ र यो बाछो निस्क्यो।”
२५ हारुनले मानिसहरूलाई छाडा छोडेकोले तिनीहरूले मनपरी गरिरहेको मोसाले देखे। यसले गर्दा तिनीहरू शत्रुहरूको अगाडि हाँसोको पात्र भइरहेका थिए।
२६ त्यसपछि मोसाले छाउनीको प्रवेशद्वारमा उभिएर यसो भने: “यहोवा परमेश्वरको पक्षमा को-को छौ? यता मकहाँ आओ!”+ अनि लेविको कुलका सबै जना तिनी उभिएको ठाउँमा गए।
२७ त्यसपछि मोसाले तिनीहरूलाई भने: “इस्राएलका परमेश्वर यहोवाले यसो भन्नुभएको छ, ‘तिमीहरू सबैले आ-आफ्नो तरबार भिर अनि छाउनीको चारैतिर गएर हरेक ढोकाभित्र छिर अनि आफ्नो दाजुभाइ, छिमेकी, मिल्ने साथी कसैलाई बाँकी नराख।’”+
२८ लेवीहरूले मोसाले भनेअनुसारै गरे। त्यो दिन ३ हजारजति पुरुष मारिए।
२९ अनि मोसाले तिनीहरूलाई भने: “आजदेखि तिमीहरूले आफूलाई यहोवा परमेश्वरको निम्ति अलग पार किनभने तिमीहरू आफ्नै छोरा अनि दाजुभाइलाई नाश गर्न समेत पछि हटेनौ।+ आज तिमीहरूले जे गऱ्यौ, त्यसको लागि उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।”+
३० भोलिपल्टै मोसाले मानिसहरूलाई यसो भने: “तिमीहरूले घोर पाप गऱ्यौ। तिमीहरूको पाप क्षमा हुन सक्छ कि भनेर बुझ्न अब म यहोवा परमेश्वरकहाँ बिन्ती चढाउन जाँदै छु।”+
३१ अनि यहोवा परमेश्वरकहाँ गएर मोसाले यसो भने: “यी मानिसहरूले घोर पाप गरे! तिनीहरूले आफ्नो निम्ति सुनको देवता बनाएर त्यसको पूजा गरे!+
३२ यदि तपाईँ चाहनुहुन्छ भने यिनीहरूको पाप क्षमा गरिदिनुहोस्;+ होइन भने बिन्ती छ, तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाम मेटाइदिनुहोस्।”+
३३ तर यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “जसले मेरो विरुद्धमा पाप गरेको छ, म उसकै नाम मेरो पुस्तकबाट मेटाउनेछु।
३४ अब यी मानिसहरूलाई मैले भनेको देशमा लिएर जाऊ। हेर, मेरो स्वर्गदूतले तिमीलाई अघिअघि डोऱ्याउनेछन्!+ जुन दिन म इन्साफ गर्छु, त्यसै दिन म यिनीहरूलाई पापको सजाय दिनेछु।”
३५ तिनीहरूले हारुनलाई बाछोको मूर्ति बनाउन लगाएकोले यहोवा परमेश्वरले तिनीहरूमाथि विपत्ति ल्याएर सजाय दिनुभयो।
फुटनोटहरू
^ वा “निर्णय गरेकोमा पछुतो मान्नुहोस्।”
^ वा “निर्णय गरेकोमा पछुतो मान्नुभयो।”
^ वा “पराक्रमी कार्य गरेको खुसीयालीमा गाइने गीत होइन।”