प्रस्थान २४:१-१८
२४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिमी र हारुन, नादाब र अबिहु+ अनि इस्राएलका ७० जना नाइके डाँडामा उक्लेर मकहाँ आऊ र टाढैबाट मलाई दण्डवत् गर।
२ तिमी मात्र म यहोवा परमेश्वरको नजिक आऊ तर अरूचाहिँ नआऊन्। बाँकी इस्राएली पनि तिमीसित डाँडामा उक्लेर नआऊन्।”+
३ त्यसपछि मोसाले इस्राएलीहरूकहाँ गएर यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा र उहाँका सबै नियम सुनाए+ अनि तिनीहरू सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ।”+
४ तब मोसाले यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा लेखे।+ त्यसपछि तिनी बिहान सबेरै उठे र तिनले डाँडाको फेदमा एउटा वेदी बनाए। साथै तिनले इस्राएलका १२ कुलका लागि ढुङ्गाका १२ वटा खामो ठड्याए।
५ त्यसपछि तिनले केही इस्राएली युवक छाने अनि तिनीहरूले यहोवा परमेश्वरको निम्ति अग्निभेटी चढाए र मेलबलिको रूपमा बहरहरू चढाए।+
६ अनि मोसाले बलि चढाइएको जनावरको आधा रगत कचौराहरूमा हाले र आधा रगतचाहिँ वेदीमा छर्के।
७ त्यसपछि तिनले करारको पुस्तक* लिए र मानिसहरूसामु ठूलो स्वरले पढेर सुनाए।+ यो सुनेर तिनीहरूले यसो भने: “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ र हामी आज्ञाकारी हुनेछौँ।”+
८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+
९ मोसा र हारुन, नादाब र अबिहु अनि इस्राएलका ७० जना नाइके डाँडामा उक्ले।
१० त्यहाँ तिनीहरूले इस्राएलका परमेश्वरलाई देखे।+ उहाँको पाउमुनि नीलम ढुङ्गा बिछ्याइएको पेटीजस्तै केही थियो र त्यो सफा आकाशजस्तै देखिन्थ्यो।+
११ उहाँले इस्राएलका ती गण्यमान्य पुरुषहरूलाई कुनै हानि गर्नुभएन।+ अनि तिनीहरूले साँचो परमेश्वरको दर्शन* देखे र खानपिन गरे।
१२ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “डाँडामा उक्लेर मकहाँ आऊ र यहीँ बस। म तिमीलाई इस्राएलीहरूले पालन गर्नुपर्ने नियम र आज्ञाहरू ढुङ्गाका पाटीमा लेखेर दिनेछु।”+
१३ अनि मोसा र तिनका सेवक यहोसु त्यहाँबाट हिँडे;+ मोसाचाहिँ साँचो परमेश्वरको डाँडासम्मै गए।+
१४ माथि उक्लनुअघि तिनले इस्राएलका नाइकेहरूलाई यसो भनेका थिए: “हामी नफर्केसम्म यहीँ पर्खिरहनुहोस्।+ हारुन र हुर तपाईँहरूसितै हुनुहुन्छ।+ कसैको कुनै मामिला सुल्झाउनुपरेमा उहाँहरूकहाँ जानुहोस्।”+
१५ त्यसपछि मोसा बादलले ढाकेको डाँडामा उक्ले।+
१६ यहोवा परमेश्वरको महिमा+ सिनै डाँडामा रहिरह्यो+ अनि छ दिनसम्म डाँडालाई बादलले ढाक्यो। सातौँ दिनमा बादलको बीचबाट परमेश्वरले मोसालाई बोलाउनुभयो।
१७ तलबाट हेरिरहेका इस्राएलीहरूले डाँडाको टाकुरामा यहोवा परमेश्वरको महिमा दनदनी बलिरहेको आगोजस्तै देखे।
१८ अनि मोसा बादलभित्र छिरेर डाँडामा उक्ले।+ तिनी ४० दिन र ४० रात त्यही डाँडामा बसे।+