प्रस्थान १८:१-२७

  • यिथ्रो र सिप्पोरा आउँछन्‌ (१-१२)

  • यिथ्रो नाइके नियुक्‍त गर्ने सल्लाह दिन्छन्‌ (१३-२७)

१८  मोसाका ससुरा यिथ्रो मिद्यानका पुजारी थिए।+ तिनले मोसा र इस्राएलीहरूको निम्ति यहोवा परमेश्‍वरले के-के गर्नुभयो अनि उहाँले तिनीहरूलाई मिश्रबाट कसरी ल्याउनुभयो भनेर सुने।+ २  मोसाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएकोले यिथ्रोले आफ्नी छोरीलाई आफूसँगै राखेका थिए। ३  मोसाले दुई जना छोरालाई पनि सिप्पोरासँगै पठाएका थिए।+ तिनले जेठोको नाम गेर्सोम* राखेका थिए+ किनभने तिनले यसो भनेका थिए, “म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।” ४  अनि तिनले कान्छोको नाम एलिएजर* राखेका थिए किनभने तिनले यसो भनेका थिए, “मेरा पुर्खाका परमेश्‍वर मेरा मदतगार हुनुहुन्छ। उहाँले मलाई फारोको तरबारबाट बचाउनुभयो।”+ ५  यिथ्रो मोसालाई भेट्‌न निर्जनभूमि गए। तिनले सिप्पोरा र उनका छोराहरूलाई पनि आफूसँगै लगे। त्यतिबेला मोसा साँचो परमेश्‍वरको डाँडामा पाल टाँगेर बसेका थिए।+ ६  यिथ्रोले तिनीकहाँ यस्तो खबर पठाए: “म तपाईँको ससुरा यिथ्रो,+ मेरी छोरी र दुई नाति लिएर तपाईँकहाँ आउँदै छु।” ७  यो खबर पाउनेबित्तिकै मोसा आफ्नो ससुरालाई भेट्‌न गए। तिनले यिथ्रोलाई ढोगे र म्वाइँ खाए।* तिनीहरूले भलाकुसारी गरे। त्यसपछि सबै जना पालभित्र पसे। ८  यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई बचाउन फारो र मिश्रीहरूलाई के-के गर्नुभयो,+ यात्राको दौडान तिनीहरूले के-कस्ता दुःख भोग्नुपऱ्‍यो+ र यहोवा परमेश्‍वरले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो, ती सबै मोसाले आफ्नो ससुरालाई बेलीबिस्तार लगाए। ९  इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट छुटाउन यहोवा परमेश्‍वरले गर्नुभएका असल कामहरूबारे सुनेपछि यिथ्रो असाध्यै खुसी भए। १०  त्यसपछि यिथ्रोले यसो भने: “यहोवा परमेश्‍वरको जय होस्‌, जसले तपाईँलाई मिश्र र फारोबाट बचाउनुभयो अनि इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट मुक्‍त गर्नुभयो। ११  अब मैले बुझेँ, यहोवा परमेश्‍वर अरू सबै देवीदेवताभन्दा महान्‌ हुनुहुन्छ+ किनभने आफ्ना जनहरूमाथि घोर अत्याचार गर्नेहरूलाई उहाँले बाँकी राख्नुभएन।” १२  त्यसपछि मोसाको ससुरा यिथ्रोले परमेश्‍वरको निम्ति अग्निभेटी र पशुबलि ल्याए। अनि हारुन र इस्राएलका सबै नाइके मोसाका ससुरा यिथ्रोकहाँ गए र साँचो परमेश्‍वरसामु भोजन गरे। १३  सदाझैँ भोलिपल्ट मोसा मानिसहरूको निसाफ गर्न बसे। बिहानदेखि बेलुकीसम्म मोसाकहाँ मानिसहरू आइरहे। १४  मोसाले मानिसहरूको निम्ति गरिरहेको सबै काम देखेपछि तिनका ससुरा यिथ्रोले भने: “तपाईँ एक्लैले किन यो सब गर्दै हुनुहुन्छ? बिहानदेखि बेलुकीसम्म मानिसहरू आएको आएकै छन्‌।” १५  मोसाले आफ्ना ससुरालाई भने: “मानिसहरू परमेश्‍वरको डोऱ्‍याइ खोज्न मकहाँ आउँछन्‌। १६  साथै कुनै मुद्दामामिला सुल्झाउनुपऱ्‍यो भने पनि तिनीहरू मकहाँ आउँछन्‌ र मैले तिनीहरूको निसाफ गरिदिनुपर्छ। अनि म तिनीहरूलाई साँचो परमेश्‍वरको फैसला र उहाँका नियमहरू बताउँछु।”+ १७  मोसाका ससुराले तिनलाई भने: “तपाईँको यो तरिका ठीक भएन। १८  यसो गर्नुभयो भने त तपाईँ पक्कै थाक्नुहुनेछ। तपाईँ मात्र होइन, यी मानिसहरू पनि थाक्नेछन्‌। किनकि यो तपाईँ एक्लैले बोक्न सक्ने बोझ होइन। १९  अब मेरो कुरा सुन्‍नुहोस्‌! म तपाईँलाई एउटा सल्लाह दिन्छु र यो कुरामा परमेश्‍वरले पनि तपाईँलाई साथ दिनुहुनेछ।+ तपाईँ अहिलेजस्तै मानिसहरूको प्रतिनिधि भएर साँचो परमेश्‍वरसामु जानुहोस्‌+ र तिनीहरूका समस्या उहाँकहाँ लैजानुहोस्‌।+ २०  तिनीहरूलाई अहिलेजस्तै सबै नीतिनियम बताउनुहोस्‌+ अनि तिनीहरू कुन बाटोमा हिँड्‌नुपर्ने हो अनि तिनीहरूले के-के गर्नुपर्ने हो, त्यो पनि सिकाउनुहोस्‌। २१  साथै इस्राएलीहरूमाझबाट परमेश्‍वरको डर राख्ने, भरोसायोग्य र बेइमानी गरेर केही पाउन लोभ नगर्ने+ योग्य पुरुषहरू छान्‍नुहोस्‌।+ तपाईँले तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गर्नुहोस्‌।+ २२  त्यसपछि तिनीहरूले नै हरेक पटक मानिसहरूको मुद्दामामिला सुल्झाऊन्‌। ससाना मामिला तिनीहरू आफैले सुल्झाऊन्‌ तर गम्भीर मामिलाहरू भने तपाईँकहाँ ल्याऊन्‌।+ यसरी तिनीहरूसित काम बाँडेर आफ्नो बोझ हल्का बनाउनुहोस्‌।+ २३  यदि तपाईँले यसो गर्नुभयो र परमेश्‍वर पनि यही चाहनुहुन्छ भने तपाईँलाई आफ्नो भार उठाउन सजिलो हुनेछ र निसाफ पाउन आएकाहरू पनि खुसी हुँदै फर्कनेछन्‌।” २४  मोसाले तुरुन्तै आफ्नो ससुराको सल्लाह स्विकारे; ससुराले भनेको सबै कुरा तिनले माने। २५  मोसाले इस्राएलीहरूमाझबाट योग्य पुरुषहरू छाने अनि तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरे। २६  तिनीहरूले नै मानिसहरूको मामिला सुल्झाउँथे। ससाना मामिला तिनीहरू आफैले सुल्झाउँथे तर गम्भीर मामिलाहरू भने मोसाकहाँ लैजान्थे।+ २७  त्यसपछि मोसाले आफ्नो ससुरालाई बिदाबारी गरे+ र यिथ्रो आफ्नो देश फर्के।

फुटनोटहरू

यसको अर्थ हो, “त्यहाँ बस्ने प्रवासी।”
यसको अर्थ हो, “मेरा परमेश्‍वर मेरो मदतगार हुनुहुन्छ।”
त्यतिबेला अभिवादन गर्दा म्वाइँ खाने (जस्तै: गालामा) चलन थियो।