जकरिया ५:१-११
५ मैले फेरि माथि हेरेँ र उडिरहेको एउटा मुठा देखेँ।
२ तिनले मलाई सोधे: “तिमीले के देख्यौ?”
तब मैले जवाफ दिएँ: “उडिरहेको एउटा मुठा देखेँ, जसको लम्बाइ २० हात* र चौडाइ १० हात छ।”
३ त्यसपछि तिनले मलाई भने: “यो सराप हो, जुन सारा पृथ्वीमाथि लाग्नेछ। किनकि जसले चोरी गरेको छ,+ त्यसले मुठाको एकापट्टि लेखिएअनुसार सजाय पाउनुपर्ने हो तर पाएको छैन। अनि जसले झूटो कसम खाएको छ,+ त्यसले मुठाको अर्कोपट्टि लेखिएअनुसार सजाय पाउनुपर्ने हो तर पाएको छैन।
४ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘मैले त्यो सराप पठाएको हुँ अनि त्यो चोरको घरमा र मेरो नाममा झूटो कसम खानेको घरमा पस्नेछ। त्यो त्यही घरभित्र रहनेछ अनि घरलाई, त्यसको काठलाई र त्यसको ढुङ्गालाई सखाप पार्नेछ।’”
५ तब मसित कुरा गरिरहेका स्वर्गदूत अगाडि आए र मलाई यस्तो आग्रह गरे: “माथि हेर अनि बाहिर के निस्किरहेको छ, हेर।”
६ अनि मैले सोधेँ: “त्यो के हो?”
तिनले जवाफ दिए: “बाहिर निस्किरहेको त्यो चिज एपाको भाँडो* हो।” तिनले अझै भने: “त्यो सारा पृथ्वीमा भएका मानिसहरूको रूप हो।”
७ अनि मैले त्यस भाँडोको गोलो आकारको सिसाको ढक्कन उठाइएको देखेँ र त्यसभित्र एउटी स्त्री बसिरहेकी थिई।
८ अनि तिनले भने: “त्यस स्त्रीको नाम दुष्टता हो।” अनि तिनले त्यसलाई फेरि एपाको भाँडोभित्र जाकिदिए र सिसाको ढक्कनले त्यस भाँडोको मुख बन्द गरिदिए।
९ तब मैले माथि हेरेँ अनि दुई जना स्त्री आइरहेका देखेँ। तिनीहरू वेगसित मास्तिर उड्दै थिए। तिनीहरूका पखेटाहरू गरुडका पखेटाजस्तै थिए। अनि तिनीहरूले त्यो भाँडो उठाएर पृथ्वी र आकाशको बीचमा लगे।
१० तब मसित कुरा गरिरहेका स्वर्गदूतलाई मैले सोधेँ: “तिनीहरूले त्यो एपाको भाँडो कहाँ लैजाँदै छन्?”
११ तिनले जवाफ दिए: “सिनार देशमा*+ लैजाँदै छन्, जहाँ तिनीहरूले त्यस स्त्रीको लागि एउटा घर बनाउनेछन् अनि घर बनिसकेपछि तिनीहरूले त्यहाँ त्यसको उचित ठाउँमा त्यसलाई राख्नेछन्।”
फुटनोटहरू
^ एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ शा., “एपा।” यहाँ यसले एक एपा नाप्न प्रयोग गरिने भाँडो वा डालोलाई जनाउँछ। एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ अर्थात्, बेबिलोनी साम्राज्यमा।