गन्ती ३५:१-३४

  • लेवीहरूका लागि सहरहरू (१-८)

  • शरणनगरहरू (९-३४)

३५  यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा+ यहोवा परमेश्‍वरले मोसालाई अझ यसो भन्‍नुभयो: २  “आफूले पैतृक सम्पत्तिको रूपमा पाउने भागबाट लेवीहरूको लागि केही सहरहरू छुट्ट्याउनू+ र सहरको वरपर भएको चरन पनि उनीहरूलाई दिनू भनी इस्राएलीहरूलाई आज्ञा देऊ।+ ३  ती सहरहरूमा लेवीहरू बसोबास गरून्‌ र वरपरको चरनचाहिँ उनीहरूले आफ्ना वस्तुभाउ र अरू जनावरका लागि अनि ती पशुहरूको निम्ति चाहिने सरसामान राख्नका लागि प्रयोग गरून्‌। ४  इस्राएलीहरूले लेवीहरूलाई दिने चरन सहरको चारैतिरको पर्खालदेखि १ हजार हात* फैलिएको होस्‌। ५  तिमीहरूले सहरको पर्खालबाहिर पूर्वतिर २ हजार हात, दक्षिणतिर २ हजार हात, पश्‍चिमतिर २ हजार हात र उत्तरतिर २ हजार हात नाप्नू। लेवीहरूले पाउने चरनको नाप यस्तै होस्‌ र त्यसको बीचमा चाहिँ सहर होस्‌। ६  तिमीहरूले लेवीहरूलाई छ वटा सहर शरणनगरको रूपमा दिनू।+ कसैलाई मार्ने व्यक्‍तिले त्यहाँ गएर शरण लिन सक्नेछ।+ त्यसबाहेक लेवीहरूलाई अरू ४२ वटा सहर पनि दिनू। ७  यसरी तिमीहरूले लेवीहरूलाई जम्मा ४८ वटा सहर र त्यहाँका चरनहरू पनि दिनू।+ ८  आफूले पाउने भागबाट छुट्ट्याएर तिमीहरूले लेवीहरूलाई यी सहरहरू दिनू।+ जसको समूह ठूलो छ, त्यसबाट धेरै र जसको समूह सानो छ, त्यसबाट थोरै सहर छुट्ट्याउनू।+ आफूले पैतृक सम्पत्तिको रूपमा पाउने भागअनुसारै प्रत्येक कुलले लेवीहरूलाई दिनको लागि केही सहरहरू छुट्ट्याऊन्‌।” ९  यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १०  “इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरू यर्दन नदी पार गरेर कनान देश जानेछौ।+ ११  तिमीहरूले शरणनगरहरू रोज्दा अनजानमा कसैलाई मार्ने व्यक्‍ति भागेर जान सजिलो हुने सहरहरू रोज्नू।+ १२  ती सहरहरू रगतको साटो फेर्ने व्यक्‍तिबाट शरण लिने ठाउँ होस्‌+ ताकि हत्याको आरोप लागेको व्यक्‍तिबारे समुदायसामु फैसला नहोउन्जेल उसलाई कसैले नमारोस्‌।+ १३  तिमीहरूले दिने ती छ वटा शरणनगर यसैको निम्ति प्रयोग गरिनेछ। १४  छ वटा शरणनगरमध्ये तीन वटा यर्दन नदीको वारिपट्टि+ र तीन वटा पारिपट्टि अर्थात्‌ कनान देशमा होस्‌।+ १५  इस्राएलीहरू, विदेशीहरू वा तिनीहरूमाझ बसोबास गर्ने जो कोहीले पनि अनजानमा कसैलाई मारेमा+ ती छमध्ये कुनै एउटा सहरमा भागेर शरण लिन सक्नेछ।+ १६  “‘तर यदि कसैले फलामको कुनै चिजले हिर्काएर कसैलाई माऱ्‍यो भने ऊ हत्यारा हो। उसलाई मार्नै पर्छ।+ १७  अनि यदि कसैले ढुङ्‌गाले हिर्काएर कसैलाई माऱ्‍यो भने ऊ हत्यारा हो। उसलाई मार्नै पर्छ। १८  साथै यदि कसैले काठको कुनै चिजले हिर्काएर कसैलाई माऱ्‍यो भने ऊ हत्यारा हो। उसलाई मार्नै पर्छ। १९  “‘रगतको साटो फेर्ने व्यक्‍तिले नै त्यस हत्यारालाई मारोस्‌। त्यसलाई भेट्‌नेबित्तिकै उसले त्यसलाई मारोस्‌। २०  यदि कसैले मनमा घृणाको भाव राखेर कसैलाई धकेल्यो वा खराब मनसायले* कसैमाथि कुनै कुरा फ्याँक्यो र त्यो व्यक्‍ति मऱ्‍यो भने+ २१  अथवा घृणाको भाव राखेर कसैलाई हातले हिर्काउँदा त्यो व्यक्‍ति मऱ्‍यो भने त्यसलाई प्रहार गर्ने व्यक्‍तिलाई मार्नै पर्छ। त्यो हत्यारा हो। रगतको साटो फेर्ने व्यक्‍तिले त्यसलाई भेट्‌नेबित्तिकै मारोस्‌। २२  “‘तर यदि कसैले घृणाको भाव नराखी भुलवश कुनै व्यक्‍तिलाई धकेल्दा त्यो व्यक्‍ति मऱ्‍यो अथवा खराब मनसाय नराखी* त्यसमाथि कुनै कुरा फ्याँक्दा त्यो व्यक्‍ति मऱ्‍यो भने+ २३  अथवा यदि कुनै व्यक्‍तिले कसैलाई देखेको छैन अनि ढुङ्‌गा फ्याँक्दा वा गुल्टाउँदा भुलवश त्यो ढुङ्‌गाले त्यस व्यक्‍तिलाई लाग्यो र त्यो व्यक्‍ति मऱ्‍यो अनि ऊ मर्ने व्यक्‍तिको शत्रु होइन वा उसले मर्ने व्यक्‍तिको कुभलो चिताएको थिएन भने २४  समुदायले यी निर्देशनहरू पछ्याउँदै मान्छे मार्ने व्यक्‍ति र रगतको साटो फेर्ने व्यक्‍तिको बीचमा न्याय गरिदेओस्‌।+ २५  अनजानमा मान्छे मार्ने व्यक्‍तिलाई समुदायले रगतको साटो फेर्ने व्यक्‍तिको हातबाट बचाओस्‌ र ऊ भागेर गएको शरणनगरमै उसलाई फर्काइदेओस्‌। अनि पवित्र तेलले अभिषेक भएका प्रधानपुजारीको मृत्यु नहोउन्जेल ऊ त्यहीँ बसोस्‌।+ २६  “‘तर यदि मान्छे मार्ने व्यक्‍ति आफू भागेर गएको शरणनगरको सिमानाभन्दा बाहिर जान्छ २७  र त्यति नै बेला रगतको साटो फेर्ने व्यक्‍तिले उसलाई भेट्टाउँछ र मार्छ भने रगतको साटो फेर्ने व्यक्‍ति रक्‍तदोषी हुनेछैन। २८  किनभने प्रधानपुजारीको मृत्यु नहोउन्जेल मान्छे मार्ने त्यो व्यक्‍ति त्यस शरणनगरबाहिर निस्कनु हुँदैन थियो। तर प्रधानपुजारीको मृत्यु भइसकेपछि भने ऊ आफ्नो ठाउँमा फर्कन सक्छ।+ २९  तिमीहरू जुन ठाउँमा बसोबास गरे पनि तिमीहरू र तिमीहरूको आउने पुस्ताका लागि यी नियमहरू सधैँ लागू हुनेछन्‌। ३०  “‘यदि कुनै व्यक्‍तिले कसैलाई मारेमा र साक्षीहरूको बयानको आधारमा+ ऊ हत्यारा ठहरिएमा उसलाई मृत्युदण्ड दिनू।+ तर एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई पनि मृत्युदण्ड नदिनू। ३१  मृत्युदण्ड पाउन लायकको हत्यारालाई छुटकाराको मोल लिएर नछोड्‌नू। उसलाई मृत्युदण्ड दिनै पर्छ।+ ३२  अनि शरणनगरमा भागेर गएको व्यक्‍तिलाई पनि छुटकाराको मोल लिएर नछोड्‌नू ताकि प्रधानपुजारीको मृत्यु हुनुअघि नै ऊ आफ्नो ठाउँमा फर्कन नपाओस्‌। ३३  “‘तिमीहरूले आफू बसेको ठाउँलाई दूषित नपार्नू किनभने रक्‍तपातले भूमिलाई दूषित पार्छ।+ हत्याराको रगतले बाहेक अरू कुनै पनि कुराले त्यस भूमिमा बगाइएको रगतको निम्ति प्रायश्‍चित गर्न सकिँदैन।+ ३४  तिमीहरूले आफू बस्ने देशलाई दूषित नपार्नू किनभने तिमीहरू जहाँ बस्छौँ, म त्यहीँ हुन्छु; म यहोवा इस्राएलीहरूको माझमा बास गर्छु।’”+

फुटनोटहरू

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “ढुकेर बसेर।”
शा., “ढुकेर नबसी।”