एस्तर २:१-२३
२ यी सबै घटना घटेपछि जब राजा आहासुरसको+ रिस शान्त भयो, तब तिनले वस्तीले के अपराध गरेकी थिइन्+ र उनलाई कस्तो कारबाही गर्ने निर्णय भएको थियो, त्यो सम्झे।+
२ तब राजाका खास सेवकहरूले तिनलाई भने: “राजाको लागि सुन्दरी कन्याहरू खोजेर ल्याइयोस्।
३ हे महाराज! यस कामको लागि हजुरको साम्राज्यमा भएका सबै प्रान्तमा अधिकृतहरू नियुक्त गर्नुहोस्+ र उनीहरूलाई सबै ठाउँबाट सुन्दरी कन्ये केटीहरू खोजेर सुसन* किल्लामा* स्त्रीहरूको भवनमा ल्याउने आदेश दिनुहोस्। ती केटीहरूलाई राजाका नपुंसक* तथा स्त्रीहरूका रखवाला हेगेको निगरानीमा राख्नुहोस्।+ अनि उनीहरूको सौन्दर्यमा निखार ल्याउन जे-जे गर्नुपर्ने हो, ती सबै गर्न लगाउनुहोस्।*
४ अनि राजालाई उनीहरूमध्ये जो सबैभन्दा धेरै मन पर्छ, उनी नै वस्तीको सट्टा रानी हुनेछिन्।”+ तिनीहरूको यो सुझाव राजालाई मन पऱ्यो र तिनले त्यसै गरे।
५ त्यही समयमा सुसन+ किल्लामा मोर्दकै+ नाम गरेका एक यहुदी थिए। तिनी याइरका छोरा थिए। याइर सिमिका छोरा थिए। सिमि किसका छोरा थिए र किसचाहिँ बिन्यामिन कुलका थिए।+
६ तिनी* यहुदाका राजा येकोनियाको* साथमा यरुसलेमबाट बन्दी बनाएर लगिएका मानिसहरूमध्ये एक थिए।+ तिनीहरूलाई बेबिलोनका राजा नबुकद्नेजरले बन्दी बनाएर लगेका थिए।
७ मोर्दकै हदस्साह* अर्थात् एस्तरका अभिभावक थिए। एस्तर तिनको काकाकी छोरी थिइन्+ र एस्तरका बुबाआमा थिएनन्। ती युवती सुन्दरी थिइन्; उनको रूपरङ्ग असाध्यै राम्रो थियो। उनको बुबाआमाको मृत्युपछि मोर्दकैले आफ्नी छोरी बनाएर उनको पालनपोषण गरेका थिए।
८ राजाको उर्दी सबैतिर घोषणा गरियो र सुसन किल्लामा चारैतिरबाट थुप्रै केटी ल्याइए। अनि उनीहरूलाई हेगेको+ निगरानीमा राखियो। महलमा ल्याइएका ती केटीहरूमध्ये एस्तर पनि थिइन्। उनलाई पनि हेगेको निगरानीमा राखियो, जो स्त्रीहरूका रखवाला थिए।
९ एस्तरले हेगेको मन जितिन् र उनले तिनको निगाह* पाइन्। तिनले तुरुन्तै एस्तरलाई अझ सुन्दर बनाउन जे-जे चाहिन्छ, ती सबैको प्रबन्ध गरिदिए+ र उनको खानपानमा पनि विशेष ध्यान दिए। अनि तिनले महलका सात जना सेविकालाई एस्तरको सेवामा खटाए। तिनले एस्तर र उनका सेविकाहरूलाई स्त्रीहरूको भवनको सबैभन्दा राम्रो ठाउँमा सारे।
१० एस्तरले आफ्ना मानिसहरू+ वा आफ्ना नातेदारहरूबारे कसैलाई केही भनिनन् किनकि मोर्दकैले+ उनलाई त्यसबारे कसैलाई नभन्नू भनी आज्ञा दिएका थिए।+
११ एस्तरको हालखबर कस्तो छ र उनलाई के भइरहेको छ भनी जान्न मोर्दकै हरेक दिन स्त्रीहरूको भवनको चोकनिर टहल्ने गर्थे।
१२ ती केटीहरू सबै पालैपालो राजा आहासुरससामु हाजिर हुनुपर्ने थियो। तर राजासामु जानुअघि १२ महिनासम्म उनीहरूलाई अझ सुन्दर बनाउने काम गरिन्थ्यो। छ महिना मर्रको* तेलले+ अनि अर्को छ महिना बाल्सम तेल*+ र किसिम-किसिमका सुगन्धित तेलले उनीहरूको मालिस गरिन्थ्यो।
१३ ती केटीहरूमध्ये जसको राजासामु हाजिर हुने पालो आउँथ्यो, उसले जे मागे पनि उसलाई दिइन्थ्यो र ऊ स्त्रीहरूको भवनबाट महलमा जान्थी।
१४ ऊ साँझमा राजाकहाँ जान्थी र बिहान उसलाई स्त्रीहरूको दोस्रो भवनमा पठाइन्थ्यो। राजाका नपुंसक साआसगजले+ त्यस भवनको रेखदेख गर्थे, जो राजाका उपपत्नीहरूका रखवाला थिए। अनि ऊ राजासामु तबसम्म जान पाउँदिनथी, जबसम्म राजा ऊदेखि प्रसन्न भएर आफैले उसलाई बोलाउँदैनथे।+
१५ मोर्दकैका काका अबिहेलकी छोरी एस्तर, जसलाई मोर्दकैले आफ्नी छोरी बनाएर पालनपोषण गरेका थिए,+ उनको राजासामु हाजिर हुने पालो आयो। उनले राजाका नपुंसक तथा स्त्रीहरूका रखवाला हेगेले उनलाई जे-जति दिएका थिए, त्यसबाहेक अरू केही पनि मागिनन्। (एस्तरले आफूलाई देख्नेजति सबैको मन जित्दै गइन्।)
१६ राजा आहासुरसको शासनकालको सातौँ वर्षको+ दसौँ महिनामा अर्थात् तेबेत* महिनामा एस्तरलाई राजाकहाँ तिनको महलमा लगियो।
१७ राजाले अरू स्त्रीलाई भन्दा एस्तरलाई धेरै माया गर्न थाले र उनले अरू सबै कन्याले भन्दा राजाको निगाह र अनुमोदन* धेरै पाइन्। राजाले उनको शिरमा शाही शिरपोस लगाइदिए र वस्तीको ठाउँमा+ उनलाई रानी बनाए।+
१८ त्यसपछि राजाले एस्तरको सम्मानमा आफ्ना भारदारहरू र सेवकहरूलाई एउटा भव्य भोज दिए। यस अवसरमा तिनले सबै प्रान्तका कैदीहरूलाई मुक्त गरिदिने* घोषणा पनि गरे। तिनले आफ्नो राजकीय हैसियतअनुसार थुप्रै उपहार पनि बाँडे।
१९ कन्ये केटीहरूलाई+ दोस्रो पटक भेला गरिँदा मोर्दकै राजमहलको ढोकामा बसिरहेका थिए।
२० मोर्दकैको आज्ञाअनुसारै एस्तरले आफ्ना नातेदारहरू र आफ्ना मानिसहरूबारे कसैलाई केही भनिनन्।+ एस्तरले मोर्दकैको आज्ञा पालन गरिरहिन्, जसरी उनले मोर्दकैसँग रहँदा तिनको आज्ञा पालन गर्ने गर्थिन्।+
२१ ती दिनहरूमा जब मोर्दकै राजमहलको ढोकामा बसिरहेका थिए, तब दुई जना अफिसर,* जो ढोके थिए, तिनीहरू राजासित रिसाए र राजालाई मार्ने षड्यन्त्र रचे।
२२ तर जब मोर्दकैले त्यो कुरा थाह पाए, तब तिनले त्यसबारे रानी एस्तरलाई बताइदिए। अनि एस्तरले मोर्दकैको तर्फबाट* त्यस विषयमा राजासित कुरा गरिन्।
२३ तब त्यस विषयमा छानबिन गरियो र रानीले दिएको खबर सही रहेछ भनी प्रमाणित भयो। त्यसैले ती दुवै पुरुषलाई खम्बामा झुन्ड्याएर मारियो। अनि यी सबै घटनाको विवरण राजाको सामने त्यस समयको इतिहासको पुस्तकमा लेखियो।+
फुटनोटहरू
^ वा “सुसा।”
^ वा “महलमा।”
^ वा “मालिस गर्न लगाउनुहोस्।”
^ यसले किसलाई वा मोर्दकैलाई जनाएको हुन सक्छ।
^ यसको अर्थ हो, “मेहदी।”
^ वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्।
^ कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
^ अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
^ वा “अटल प्रेम।”
^ वा “सबै प्रान्तको तिरो माफी गरिदिने।” यहाँ चलाइएको अभिव्यक्तिले ठ्याक्कै के भन्न खोजेको हो, त्यो पक्का छैन।
^ वा “दरबारका अफिसर।”
^ शा., “मोर्दकैको नाममा।”