इजकिएल २४:१-२७

  • यरुसलेम खिया लागेको खड्‌कुँलोजस्तै (१-१४)

  • इजकिएलकी पत्नीको मृत्यु एउटा चिन्ह (१५-२७)

२४  नवौँ वर्षको १० औँ महिनाको १० औँ दिनमा यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २  “हे मानिसको छोरा, आजको दिन याद गर, यसलाई लेखेरै राख। आजकै दिन बेबिलोनका राजाले यरुसलेममाथि हमला गर्न सुरु गरेका छन्‌।+ ३  तिमीले विद्रोही घरानाबारे एउटा दृष्टान्त* सुनाउनू र यसो भन्‍नू: “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “आगो बालेर खड्‌कुँलो बसाल र त्यसमा पानी हाल।+  ४  त्यसमा मासुका टुक्राहरू हाल;+ राम्रा-राम्रा भागहरू छानेर हाल। साँप्रा अनि असल-असल हड्डीहरू पनि त्यसमा हाल।  ५  बगालबाट राम्रा-राम्रा भेडा छान;+ खड्‌कुँलोमुनि चारैतिर दाउरा राख। त्यसमा भएको मासु र हड्डीसमेत पाक्नेगरि उमाल।”’ ६  “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘धिक्कार छ! त्यो हत्यारा सहर,+ त्यो कस लागेको खड्‌कुँलोलाई! त्यसको कस त्यसबाट हटाइएको छैन। खड्‌कुँलोबाट एक-एक गरी सबै मासु निकाल;+ मासुको लागि गोला नहाल।  ७  किनकि त्यसले बगाएको रगत त्यसभित्रै छ;+ त्यसले नाङ्‌गो चट्टानमा रगत खन्याएर त्यसै छोडी। त्यसले त्यो जमिनमा खन्याएर माटोले पुरिन।+  ८  त्यसले चिल्लो र नाङ्‌गो चट्टानमा खन्याएको रगत मैले त्यतिकै छोडिदिएको छु ताकि मेरो क्रोध जगाएर त्यससित बदला लिन सकूँ। मैले त्यो पुरेको छैनँ।’+ ९  “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘धिक्कार छ त्यो हत्यारा सहरलाई!+ म दाउराको थुप्रो लगाउनेछु। १०  ठूलठूला मुढा थुपार र आगो सल्काऊ, मासु पाक्नेगरि उमाल अनि झोल पोखाइदेऊ र त्यसको हड्डी डढोस्‌। ११  त्यो रित्तो खड्‌कुँलोलाई तताउन भुङ्‌ग्रोमाथि राख र त्यसको तामा रातो हुनेगरि बेसरी तताऊ; त्यसको फोहोर त्यसभित्रै गलोस्‌+ र कस पनि डढेर जाओस्‌। १२  त्यसलाई सफा गर्नु बेकार छ; जत्ति सफा गरे पनि त्यसको कस हट्‌दैन।+ त्यसैले त्यो भाँडोलाई आगोमा हुर्ऱ्याइदेऊ!’ १३  “‘तेरो छाडा आचरणले गर्दा तँ अशुद्ध भएकी होस्‌।+ मैले तँलाई शुद्ध पार्न खोजेँ तर तँ शुद्ध भइनस्‌। अब तँविरुद्ध मेरो रिस नमरुन्जेल तँ शुद्ध हुनेछैनस्‌।+ १४  म यहोवाले नै यो कुरा भनेको हुँ। यो पूरा भएरै छोड्‌नेछ। म सजाय दिनदेखि पछि हट्‌नेछैनँ, दया देखाउनेछैनँ र पछुतो मान्‍नेछैनँ।+ तिनीहरूले तेरो काम र व्यवहारअनुसारै तेरो न्याय गर्नेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।” १५  यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १६  “हे मानिसको छोरा, म तिम्री प्रिय पत्नीलाई तिमीबाट एक्कासि खोसेर लैजाँदै छु।+ तिमीले शोक नमनाउनू* न त रुनू वा आँसु नै झार्नू। १७  भित्रभित्रै शोक गर्नू। मृतसंस्कार पनि नगर्नू।+ पगरी गुथ्नू+ र जुत्ता लगाउनू।+ अनि आफ्नो जुँगा नछोप्नू+ र अरूले ल्याइदिएको रोटी नखानू।+ १८  मैले बिहान मानिसहरूलाई परमेश्‍वरको सन्देश सुनाएँ र त्यही बेलुकी मेरी पत्नी मरिन्‌। भोलिपल्ट बिहान मैले परमेश्‍वरले भन्‍नुभएअनुसारै गरेँ। १९  अनि मानिसहरूले मलाई सोधे: “हामीलाई भन, तिमी यो सब किन गर्दै छौ? यसको अर्थ के हो?” २०  मैले जवाफ दिएँ: “यहोवाको यो वचन मकहाँ आयो, २१  ‘इस्राएलको घरानालाई यसो भन: “ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ, ‘मेरो मन्दिर, जसमा तिमीहरू घमन्ड गर्छौ, जसको तिमीहरू चाह गर्छौ र जसलाई तिमीहरू प्यारो ठान्छौ, त्यसलाई म त्याग्नेछु।+ तिमीहरूले छोडेर आएका तिमीहरूका छोराछोरी तरबारले काटिनेछन्‌।+ २२  त्यसपछि मैले* जसो गरेँ, तिमीहरूले पनि त्यसै गर्नेछौ; तिमीहरूले जुँगा छोप्नेछैनौ र अरूले ल्याइदिएको रोटी खानेछैनौ।+ २३  पगरी उतार्नेछैनौ र जुत्ता फुकाल्नेछैनौ। तिमीहरूले शोक गर्नेछैनौ र आँसु पनि झार्नेछैनौ। आफ्नै कुकर्मले तिमीहरू गल्नेछौ+ र एकअर्काको अनुहार हेर्दै सुस्केरा हाल्नेछौ। २४  इजकिएल तिमीहरूको लागि चिन्ह भएका छन्‌।+ तिनले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यी सबै तिमीहरूमाथि आइपर्नेछ, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”’” २५  “हे मानिसको छोरा, म तिनीहरूको शरणस्थान खोस्नेछु। तिनीहरू त्यसलाई निकै प्यारो ठान्छन्‌, त्यसको चाह गर्छन्‌, त्यसमै गर्व गर्छन्‌। हो, तिनीहरूको त्यही शरणस्थान र तिनीहरूका छोराछोरी म खोस्नेछु।+ जुन दिन म त्यसो गर्नेछु, २६  त्यही दिन त्यस विपत्तिबाट उम्केको मानिसले तिमीलाई खबर दिनेछ।+ २७  तब त्यही दिनदेखि मात्र तिमीले आफ्नो मुख खोल्नू र विपत्तिबाट उम्केको त्यस मानिससित बोल्नू। त्यस दिनदेखि तिमी चुप लाग्नेछैनौ।+ तिनीहरूको लागि तिमी चिन्ह हुनेछौ र म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।”

फुटनोटहरू

वा “नीतिकथा।”
वा “छाती नपिट्‌नू।”
वा “इजकिएलले।”