इजकिएल १३:१-२३

  • झूटा भविष्यवक्‍ताहरूविरुद्ध सन्देश (१-१६)

    • चुन पोतिएका भित्ताहरू ढल्नेछन्‌ (१०-१२)

  • झूटा भविष्यवाणी गर्ने स्त्रीहरूविरुद्ध सन्देश (१७-२३)

१३  यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २  “हे मानिसको छोरा, इस्राएलका भविष्यवक्‍ताहरूविरुद्ध भविष्यवाणी गर+ र मनगढन्ते भविष्यवाणी गर्नेहरूलाई यसो भन,+ ‘यहोवाको वचन सुन। ३  ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “धिक्कार! मूर्ख भविष्यवक्‍ताहरू! तिनीहरू कुनै दर्शन नदेखे पनि आफूखुसी भविष्यवाणी गर्छन्‌।+ ४  हे इस्राएल, तिम्रा भविष्यवक्‍ताहरू खण्डहरमा बस्ने फ्याउराहरूजस्ता छन्‌। ५  इस्राएलको घरानाको निम्ति ढुङ्‌गाको पर्खालमा भत्किएका ठाउँहरू बनाउन तिमीहरू फेरि जानेछैनौ+ नत्र त यहोवाको युद्धको दिनमा इस्राएलीहरू खडा भइरहनेछन्‌।”+ ६  “यहोवाले पठाउँदै नपठाए तापनि ‘यहोवा यसो भन्‍नुहुन्छ’ भन्‍नेहरूले झूटो दर्शन* देखेका छन्‌ र झूटो भविष्यवाणी गरेका छन्‌ अनि तिनीहरू त्यो पूरा होस्‌ भनेर आशा गर्छन्‌।+ ७  मैले तिमीहरूलाई केही नभने पनि तिमीहरू ‘यहोवा यसो भन्‍नुहुन्छ’ भन्छौ। के यो झूटो दर्शन अनि झूटो भविष्यवाणी होइन र?”’ ८  “‘त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “‘तिमीहरूले झूटो बोलेकोले र तिमीहरूको दर्शन झूट भएकोले म तिमीहरूविरुद्ध खडा भएको छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”+ ९  झूटा दर्शन देख्नेहरू र झूटा भविष्यवाणी गर्नेहरूमाथि म आफ्नो हात उठाउनेछु।+ तिनीहरू मेरा नजिकका मित्रहरूमध्ये हुन पाउनेछैनन्‌; तिनीहरूको नाम न इस्राएलको घरानाको सूचीमा लेखिनेछ न त तिनीहरू इस्राएलमा फर्कन नै पाउनेछन्‌। तब म नै ब्रह्‍माण्डको मालिक यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+ १०  किनकि तिनीहरूले शान्ति नहुँदा पनि “शान्ति छ” भनेर मेरा मानिसहरूलाई बहकाएका छन्‌।+ कमजोर भित्ता बनाएर तिनीहरू त्यसमा चुन पोत्छन्‌।’*+ ११  “चुन पोत्नेहरूलाई भित्ता भत्किनेछ भनिदेऊ। घनघोर वर्षा हुनेछ, असिना पर्नेछ र ठूलो आँधीले त्यसलाई भत्काउनेछ।+ १२  भित्ता ढलेपछि तिमीहरूलाई यसो भनेर सोधिनेछ, ‘तिमीहरूले पोतेको चुन खोइ कता गयो?’+ १३  “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म तिमीहरूसित असाध्यै रिसाएको छु। त्यसैले ठूलो आँधी चलाएर, घनघोर पानी अनि ठूलठूला असिना बर्साएर म आफ्नो रिस पोख्नेछु। १४  तिमीहरूले चुन पोतेको भित्ता जगसमेत उदाङ्‌ग हुनेगरि म भुईँमा ढालिदिनेछु। सहर ढल्दा तिमीहरू पनि नाश हुनेछौ। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’ १५  “‘पर्खाल र त्यसमा चुन पोत्नेहरूमाथि म आफ्नो भएभरको रिस पोखाउनेछु र म तिमीहरूलाई यसो भन्‍नेछु: “पर्खाल भत्कियो र त्यसमा चुन पोत्नेहरू पनि मरे।+ १६  यरुसलेमबारे भविष्यवाणी गर्ने र शान्ति नहुँदा पनि शान्ति छाएको दर्शन देख्ने इस्राएलका ती भविष्यवक्‍ताहरू अब छैनन्‌,”’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १७  “हे मानिसको छोरा, तिमीचाहिँ मनगढन्ते भविष्यवाणी गर्ने इस्राएलका छोरीहरूतिर हेरेर तिनीहरूविरुद्ध भविष्यवाणी गर। १८  तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “धिक्कार छ ती स्त्रीहरूलाई! तिनीहरू मानिसहरूलाई पासोमा पार्न नाप-नापको जन्तर र शिर ढाक्ने घुम्टो बनाउँछन्‌। के तिमीहरू मेरा मानिसहरूलाई मार्न पासो थापेर आफ्नो ज्यान जोगाउन खोज्दै छौ? १९  मुठीभर जौ र दुई-चार टुक्रा रोटीको लागि+ तिमीहरूले मर्नु नपर्ने मानिसहरूलाई माऱ्‍यौ र मर्नु पर्ने मानिसहरूलाई चाहिँ बचायौ। मेरा मानिसहरूसित झूटो बोलेर तिमीहरूले त्यसो गऱ्‍यौ र तिनीहरूले पनि तिमीहरूको कुरा सुने।+ यस्तो काम गरेर के तिमीहरू मेरा मानिसहरूबीच मेरो अपमान गर्छौ?”’ २०  “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘हे स्त्रीहरू हो, चरा पक्रन पासो थापेझैँ मानिसहरूलाई पासो थाप्न तिमीहरूले चलाउने जन्तरको विरुद्धमा म छु। म त्यो तिमीहरूको पाखुराबाट खोस्नेछु र तिमीहरूले चरालाई झैँ पासोमा पार्न खोजेका मानिसहरूलाई छुटाउनेछु। २१  तिमीहरूले बनाएको शिर ढाक्ने घुम्टो म च्यातिदिनेछु र तिमीहरूको हातबाट मेरा मानिसहरूलाई छुटाउनेछु। अनि तिनीहरू कहिल्यै तिमीहरूको सिकार हुनेछैनन्‌। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+ २२  मैले धर्मी मानिसलाई दुःख नदिँदा पनि तिमीहरूले झूटो बोलेर उसलाई दुःखी बनायौ।*+ अनि दुष्टले आफ्नो खराब मार्ग नत्यागोस्‌ र आफ्नो ज्यान नजोगाओस्‌ भनेर+ तिमीहरूले दुष्टलाई झन्‌ हौसला दियौ।+ २३  त्यसैले ए स्त्रीहरू हो, तिमीहरूले अब फेरि झूटा दर्शनहरू देख्नेछैनौ र जोखना हेर्नेछैनौ।+ म आफ्ना मानिसहरूलाई तिमीहरूको हातबाट छुटाउनेछु। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
अर्थात्‌, भित्रपट्टि कमजोर खालको भित्ता बनाउँछन्‌ र चुन पोतेर बलियो जस्तो देखाउँछन्‌।
वा “पीडा दियौ।”