अय्युब १:१-२२

  • अय्युबको सत्यनिष्ठा र सम्पन्‍नता (१-५)

  • सैतान अय्युबको नियतमा शङ्‌का गर्छ (६-१२)

  • अय्युब आफ्नो सरसम्पत्ति र छोराछोरी गुमाउँछन्‌ (१३-१९)

  • अय्युब परमेश्‍वरलाई दोष लगाउँदैनन्‌ (२०-२२)

१  उज भन्‍ने देशमा अय्युब*+ नाम गरेका मानिस बस्थे। तिनी निर्दोष र सत्यनिष्ठ थिए।*+ तिनी परमेश्‍वरको डर मान्थे र खराब कुराहरूबाट टाढै बस्थे।+ २  तिनका सात छोरा र तीन छोरी थिए। ३  तिनका ७ हजार भेडा, ३ हजार उँट, १ हजार गाईवस्तु* र ५०० गधैनी थिए। अनि धेरै नोकरचाकर पनि थिए। त्यसैले तिनी पूर्वतिरका* मानिसहरूमध्ये सबैभन्दा धनी थिए। ४  तिनका छोराहरूले पालैपालो* आफ्नो घरमा भोज दिने गर्थे। उनीहरू आफ्ना तीन जना दिदीबहिनीलाई पनि सँगै खानपिन गर्न बोलाउँथे। ५  आफ्ना सबै छोराको भोज दिने पालो सिद्धिएपछि अय्युब आफ्ना छोराछोरीलाई बोलाउँथे र उनीहरूलाई चोख्याउँथे। तिनी बिहान सबेरै उठ्‌थे र प्रत्येक छोराछोरीको लागि अग्निभेटी* चढाउँथे।+ किनभने अय्युब यस्तो सोच्ने गर्थे: “कतै मेरा छोराछोरीले पाप गरे कि वा मनमनै परमेश्‍वरको अपमान पो गरे कि?” तिनी सधैँ यसै गर्थे।+ ६  एकदिन साँचो परमेश्‍वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+ ७  यहोवाले सैतानलाई सोध्नुभयो: “तँ कहाँ पुगेर आइस्‌?” सैतानले यहोवालाई जवाफ दियो: “पृथ्वीको चारैतिर घुमफिर गरेर आएँ।”+ ८  अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्‌? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।” ९  तब सैतानले यहोवालाई जवाफ दियो: “अय्युबले विनास्वार्थ तपाईँको डर मानेको हो र?+ १०  तपाईँले उसलाई, उसको घरपरिवारलाई र ऊसँग भएका सबै कुरालाई चारैतिरबाट रक्षा गर्नुभएको छैन र?+ तपाईँले उसको फलिफाप गराउनुभएको छ+ र उसको वस्तुभाउ बढेर अनगिन्ती भएका छन्‌। ११  तर एक चोटि आफ्नो हात पसारेर ऊसँग भएको सबै कुरा खोसेर त हेर्नुहोस्‌। उसले तपाईँकै मुखको सामुन्‍ने तपाईँलाई सराप्नेछ।” १२  अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “हुन्छ, त्यसोभए अय्युबसँग भएको सबै कुरा तेरै हातमा दिन्छु। केवल उसको शरीरलाई चाहिँ केही हानि नगर्‌।” तब सैतान यहोवाको सामनेबाट गयो।+ १३  एकदिन अय्युबका छोराछोरी आफ्नो जेठो दाइको घरमा भेला भएका थिए। तिनीहरू खाँदै र रक्सी पिउँदै थिए।+ १४  त्यसै दिन एक जना मानिस यस्तो सन्देश लिएर अय्युबकहाँ आयो: “गोरुहरू जोतिरहेका थिए र नजिकै गधाहरू पनि चरिरहेका थिए। १५  अचानक सबाका मानिसहरूले आक्रमण गरे र ती सबै लिएर गए। तिनीहरूले तपाईँका नोकरचाकरलाई तरबारले मारे। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।” १६  ऊ बोल्दाबोल्दै अर्को एक जना अय्युबकहाँ आयो र यसो भन्यो: “आकाशबाट परमेश्‍वरको आगो बर्सियो* अनि त्यसले भेडाको बथान र गोठालाहरूलाई भस्म पाऱ्‍यो। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।” १७  ऊ बोल्दाबोल्दै अर्को एक जना पनि अय्युबकहाँ आयो र यसो भन्यो: “कल्दियालीहरू+ तीन दल बनाएर आक्रमण गर्न आए। तिनीहरूले उँटहरू लगे र तपाईँका नोकरचाकरलाई तरबारले मारे। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।” १८  ऊ बोल्दाबोल्दै फेरि अर्को एक जना अय्युबकहाँ आयो र यसो भन्यो: “तपाईँका छोराछोरी आफ्नो जेठो दाइको घरमा खाँदै र पिउँदै थिए। १९  एक्कासि मरुभूमिबाट ठूलो हुरी आयो र त्यसले घरलाई गर्ल्यामगुर्लुम ढाल्यो अनि तपाईँका सबै छोराछोरी मारिए। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।” २०  यो सुनेर अय्युब उठे। तिनले आफ्नो लुगा च्याते र कपाल खौरे। त्यसपछि भुईँमा घोप्टो परेर २१  यसो भने: “आमाको गर्भबाट म नाङ्‌गै आएँर नाङ्‌गै फर्केर जानेछु।+ यहोवाले दिनुभयो+ र यहोवाले नै लानुभयो। यहोवाको नामको सधैँ प्रशंसा होस्‌।” २२  यी सबै भोगेर पनि अय्युबले परमेश्‍वरविरुद्ध पाप गरेनन्‌ वा आफूले भोगेको अन्यायको दोष परमेश्‍वरलाई लगाएनन्‌।

फुटनोटहरू

यसको अर्थ “घृणाको पात्र” हुन सक्छ।
वा “तिनी निर्दोष र सोझो जीवन बिताउँथे।”
शा., “५०० जोडी गाईवस्तु।”
अर्थात्‌, कनानको उत्तर-पूर्वतिरका।
वा “तोकिएको दिनमा।”
शब्दावली हेर्नुहोस्‌।
वा “स्वर्गदूतहरू।”
वा सम्भवतः “बिजुली चम्कियो।”