सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १९

“यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌”

“यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌”

इजकिएल ४७:९

मुख्य कुरा: मन्दिरबाट बगिरहेको नदीको दर्शनको पुरातन समयमा, वर्तमान समयमा र भविष्यमा हुने पूर्ति

१, २. इजकिएल ४७:१-१२ मा बताइएअनुसार इजकिएल के देख्छन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

 इजकिएल मन्दिरको दर्शनमा अर्को अचम्मलाग्दो कुरा पनि देख्छन्‌: त्यो पवित्र मन्दिरबाट नदी बगिरहेको छ! इजकिएलले त्यो कन्चन पानी कतातिर बग्छ भनेर नियालिरहेको कल्पना गर्नुहोस्‌। (इजकिएल ४७:१-१२ पढ्‌नुहोस्‌) त्यो पानी मन्दिरको सँघारबाट बगिरहेको छ; त्यसपछि त्यो पानी मन्दिर परिसरको पूर्वपट्टिको प्रवेशद्वारको छेउबाट बग्छ। स्वर्गदूतले इजकिएललाई डुलाउँदै मन्दिरबाहिर लैजान्छन्‌ र हिँड्‌दै दूरी पनि नाप्दै जान्छन्‌। ती स्वर्गदूतले इजकिएललाई पानीमा हिँडाउँदै लैजान्छन्‌ अनि इजकिएलले नदीको गहिराइ झन्‌झन्‌ बढ्‌दै गएको याद गर्छन्‌। पछि त नदी यत्ति गहिरो हुन्छ कि नदी तर्ने हो भने पौडनै पर्ने हुन्छ!

ती स्वर्गदूतले इजकिएललाई यो नदी मृतसागरमा गएर मिसिने, त्यसपछि त्यहाँको नुनिलो पानी मीठो हुने र यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ प्रशस्त माछा पाइने कुरा बताउँछन्‌। इजकिएलले नदीका दुवै किनारमा हरकिसिमका फल लाग्ने रूखहरू पनि देख्छन्‌। महिनैपिच्छे ती रूखहरूमा पोसिलो फल लाग्छ र त्यसका पातहरूले रोगबिमार निको पार्छ। यी सबै कुरा देख्दा इजकिएलले मनमा शान्ति महसुस गर्नुका साथै आशा पनि पाएको हुनुपर्छ। तर मन्दिरको दर्शनको यो भाग तिनी र तिनीसँगै निर्वासनमा रहेकाहरूका लागि किन अर्थपूर्ण थियो? अनि यो अहिले हाम्रो लागि किन अर्थपूर्ण छ?

दर्शनको नदी निर्वासनमा रहेकाहरूका लागि किन अर्थपूर्ण थियो?

३. पुरातन समयका यहुदीहरूले दर्शनको नदीलाई शाब्दिक रूपमा लिएनन्‌ भनेर किन भन्‍न सक्छौँ?

पुरातन समयका यहुदीहरूले दर्शनको नदीलाई पक्कै पनि शाब्दिक रूपमा लिएनन्‌। बरु यस दर्शनले तिनीहरूलाई २०० वर्षअघि योएलले पुनर्स्थापनासम्बन्धी गरेको भविष्यवाणी सम्झाएको हुनुपर्छ। (योएल ३:१८ पढ्‌नुहोस्‌) निर्वासित यहुदीहरूले योएलले लेखेका शब्दहरू पढ्‌दा तिनीहरूले पहाडहरूबाट साँच्चैको “नयाँ मद्य तपतप चुहिने,” डाँडाहरूबाट “दूधको खोला बग्ने” अनि यहोवाको भवनबाट “मूल फुट्‌ने” आशा गरेका थिएनन्‌। त्यसैगरि भविष्यवक्‍ता इजकिएलले दर्शनमा देखेको नदीलाई पनि ती यहुदीहरूले साँच्चैको नदी भन्ठानेका थिएनन्‌। * त्यसोभए यहोवा परमेश्‍वरले त्यस दर्शनमार्फत कस्तो सन्देश दिन खोजिरहनुभएको थियो? बाइबलले हामीलाई त्यस दर्शनको केही भागको अर्थ राम्ररी बुझ्न मदत गर्छ। यस भविष्यसूचक विवरणमा पाइने तीन वटा स्पष्ट र मायालु आश्‍वासन अब हामी छलफल गर्नेछौँ।

४. (क) इजकिएलले दर्शनमा देखेको नदीले यहुदीहरूलाई यहोवा परमेश्‍वरबाट कस्ता आशिष्‌हरू पाउने आशा दिने थियो? (ख) बाइबलमा प्रयोग गरिएका “नदी” र “पानी” भन्‍ने शब्दहरूले यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा हामीलाई कसरी विश्‍वस्त बनाउँछ? (“यहोवा परमेश्‍वरबाट पाइने आशिष्‌हरूको नदी” भन्‍ने पेटी हेर्नुहोस्‌)

आशिष्‌हरू दिने नदी। बाइबलमा नदी र पानीले अक्सर यहोवा परमेश्‍वरले प्रशस्त मात्रामा दिनुहुने आशिष्‌हरूलाई बुझाएको छ। इजकिएलले यस्तो आशिष्‌ दिने नदी मन्दिरबाट बगेको देख्छन्‌। त्यसैले यो दर्शनले परमेश्‍वरका मानिसहरूलाई उहाँबाट आध्यात्मिक आशिष्‌हरू पाउने आशा दिने थियो। तर यसको लागि तिनीहरूले शुद्ध उपासना चढाइरहनुपर्ने थियो। तिनीहरूले कस्ता आशिष्‌हरू पाउने थिए? तिनीहरूले पुजारीहरूबाट फेरि आध्यात्मिक निर्देशन पाउने थिए। अनि मन्दिरमा अर्पण गरिने बलिदानहरूले गर्दा तिनीहरू आफ्ना पापहरूको प्रायश्‍चित हुने कुरामा फेरि ढुक्क हुन सक्ने थिए। (इज. ४४:१५, २३; ४५:१७) त्यसैले तिनीहरू फेरि सफा हुने थिए, भनौँ भने तिनीहरू मन्दिरबाट बगिरहेको शुद्ध पानीद्वारा पखालिने थिए।

५. आशिष्‌हरू सबैले सधैँभरि प्रशस्तगरि पाउने हो कि होइन भन्‍ने चिन्तालाई दर्शनको नदीले कसरी हटायो?

के ती आशिष्‌हरू सबैले सधैँभरि प्रशस्तगरि पाउने थिए? दर्शनमा पानीको मात्रा बढ्‌दै गएको कुरा विचार गर्दा यस्तो चिन्ता गर्नु आवश्‍यक थिएन भनेर बुझ्न सक्छौँ। मन्दिरबाट बगिरहेको पानीको सानो धारा लगभग दुई किलोमिटरको दूरीमै ठूलो भेल भइसकेको थियो! (इज. ४७:३-५) यहुदीहरूको पुनर्स्थापित मातृभूमिमा जनसङ्‌ख्या बढ्‌दै जान सक्थ्यो तर यहोवाले आशिष्‌हरू पनि त्यसैअनुसार बढाउँदै लैजानुहुने थियो। त्यस नदीले प्रशस्ततालाई सङ्‌केत गर्थ्यो!

६. (क) भविष्यसूचक दर्शनको यस भागमा कस्तो आश्‍वासनदायी प्रतिज्ञा थियो? (ख) यस दर्शनले कस्तो चेतावनी पनि दियो? (फुटनोट हेर्नुहोस्‌)

जीवन दिने पानी। इजकिएलको दर्शनको यो नदी मृतसागरमा गएर मिसियो र त्यो सागर अनगिन्ती जीवहरूले भरियो। त्यस पानीले गर्दा महासागर अर्थात्‌ भूमध्यसागरमा जस्तै मृतसागरमा पनि थरीथरीका माछाहरू पाइन थाल्यो। त्यति मात्र होइन, मृतसागरको किनारको दुई वटा सहरको बीचतिर माछा व्यवसाय पनि फस्टायो। ती सहरहरू एकअर्काबाट धेरै टाढा थिए जस्तो देखिन्छ। स्वर्गदूतले यसो भने: “यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌।” तर के यसको मतलब यहोवाको भवनबाट निस्केको पानी मृतसागरभरि फैलियो? फैलिएन। यस सागरका दलदले ठाउँहरूमा जीवन दिने पानी पुगेन भनेर स्वर्गदूतले भने। त्यहाँको पानी “नुनिलो” नै रह्‍यो। * (इज. ४७:८-११) भविष्यसूचक दर्शनको यस भागमा शुद्ध उपासनाले मानिसहरूलाई जीवन दिने र उनीहरू फस्टाउने आश्‍वासनदायी प्रतिज्ञा थियो। तर एउटा चेतावनीमूलक कुरा पनि थियो: सबैले यहोवा परमेश्‍वरको आशिष्‌ स्विकार्ने थिएनन्‌ अनि सबै जना निको पनि हुने थिएनन्‌।

७. नदीको दुवै किनारामा भएका रूखहरूबाट निर्वासनमा रहेका यहुदीहरूले कस्तो आश्‍वासन पाए?

फल दिने र रोगबिमार निको पार्ने रूखहरू। नदीको दुवै किनारामा भएका रूखहरूबारे चाहिँ के भन्‍न सकिन्छ? ती रूखहरूले दर्शनलाई अझ सुन्दर बनाएको छ नि, होइन र? तर ती रूखहरूको अर्थ पनि छ। इजकिएल र तिनका देशवासीहरूले महिनैपिच्छे ती रूखहरूमा फल्ने फलहरू कत्ति स्वादिष्ठ होलान्‌ भनेर पक्कै पनि कल्पना गरे होलान्‌! यो दर्शनले गर्दा यहोवा परमेश्‍वरले आध्यात्मिक रूपमा खुवाउनुहुन्छ भन्‍ने कुराको थप आश्‍वासन तिनीहरूले पाए। ती रूखहरूका पातहरूबारे चाहिँ के भन्‍न सकिन्छ? याद गर्नुहोस्‌, ती रूखहरूका पातहरूले ‘रोगबिमार निको पार्ने थियो।’ (इज. ४७:१२) निर्वासनबाट फर्कने मानिसहरूलाई चाहिने मुख्य कुरा भनेको तिनीहरूलाई आध्यात्मिक रूपमा निको पार्नु हो भनेर यहोवालाई थाह थियो र उहाँले ठीक त्यसै गर्ने प्रतिज्ञा गर्नुभयो। उहाँले कसरी त्यसो गर्नुभयो, पुनर्स्थापनासम्बन्धी अन्य भविष्यवाणीहरूमा प्रकाश पारिएको थियो, जसबारे हामीले यस प्रकाशनको अध्याय ९ मा छलफल गरेका थियौँ।

८. इजकिएलको दर्शनको व्यापक पूर्ति हुने थियो भनेर कुन कुराले देखाउँछ?

तर हामीले अध्याय ९ मा पनि छलफल गरेझैँ निर्वासनबाट फर्केका मानिसहरूले यस्ता भविष्यवाणीहरूको पूर्ति पूरै अनुभव गर्न पाएनन्‌ र यसको कारण तिनीहरू आफै थिए। तिनीहरू बारम्बार खराब मार्गमा लागे, अनाज्ञाकारी भए र तिनीहरूले शुद्ध उपासनाको अवहेलना गरे। यस्ता कुराहरू देख्दादेख्दै यहोवा परमेश्‍वरले तिनीहरूलाई कसरी पूर्ण रूपमा आशिष्‌ दिन सक्नुहुन्थ्यो र? सङ्‌गी यहुदीहरूको यस्तो व्यवहार देखेर वफादार यहुदीहरू असाध्यै दुःखित र निराश भएका थिए। तर यहोवाका वफादार उपासकहरूलाई उहाँका प्रतिज्ञाहरू सबै पूरा हुन्छन्‌, ती कहिल्यै फेल खाँदैनन्‌ भनेर थाह थियो। (यहोसु २३:१४ पढ्‌नुहोस्‌) त्यसैले इजकिएलको यस दर्शनको व्यापक पूर्ति हुने थियो। तर कहिले?

नदी आज पनि बगिरहेको छ!

९. मन्दिरको दर्शनको व्यापक पूर्ति कहिले हुने थियो?

हामीले यस प्रकाशनको अध्याय १४ मा छलफल गरेझैँ “आखिरी समयमा” इजकिएलको मन्दिरको दर्शनको व्यापक पूर्ति हुने थियो, जुन समयमा शुद्ध उपासना पहिलाभन्दा उच्च पारिने थियो। (यसै. २:२) त्यसोभए इजकिएलको दर्शनको यो भाग अहिले कसरी पूरा भइरहेको छ?

१०, ११. (क) आज कस्ता आशिष्‌हरू नदीजस्तै बगिरहेको छ? (ख) यस अन्तको दिनमा बढ्‌दो आवश्‍यकता पूरा गर्न यहोवाले कसरी अझ धेरै आशिष्‌ दिइरहनुभएको छ?

१० आशिष्‌हरू दिने नदी। यहोवाको भवनबाट बगिरहेको पानीले आज हामीलाई कस्ता आशिष्‌हरूको सम्झना गराउँछ? त्यसले हाम्रो आध्यात्मिक स्वास्थ्य र पोषणको लागि यहोवाले गर्नुभएका सबै प्रबन्धको सम्झना गराउँछ। तीमध्ये सबैभन्दा मुख्यचाहिँ येसुको फिरौतीको बलिदानको शुद्ध पार्ने शक्‍ति हो, जुन बलिदानले गर्दा हामीले आफ्ना पापहरूको क्षमा पाउन सम्भव भएको छ। परमेश्‍वरको वचनमा पाइने सत्यलाई पनि शुद्ध पार्ने र जीवन दिने पानीसित तुलना गरिएको छ। (एफि. ५:२५-२७) आज हाम्रो समयमा त्यस्ता आशिष्‌हरू कसरी बगिरहेको छ?

११ इस्वी संवत्‌ १९१९ मा यहोवाका सेवकहरू केही हजार मात्र थिए र आवश्‍यक आध्यात्मिक भोजन पाउँदा तिनीहरू औधी खुसी थिए। त्यसपछिका दशकहरूमा तिनीहरूको सङ्‌ख्या बढ्‌दै गयो। आज परमेश्‍वरका सेवकहरू ८० लाखभन्दा धेरै भइसके। त्यसोभए सत्यको शुद्ध पानी के आज पनि त्यही रफ्तारमा बगिरहेको छ? पक्कै पनि छ! आज आध्यात्मिक भोजनको छेलोखेलो नै छ। बितेको सय वर्षमा परमेश्‍वरका सेवकहरूले अरबौँ प्रति बाइबल, किताबहरू, पत्रिकाहरू, पुस्तिकाहरू र पर्चाहरू पाए। आज संसारभर आध्यात्मिक रूपमा तिर्खाएका मानिसहरूको सङ्‌ख्या बढ्‌दै गइरहेको छ र तिनीहरूको तिर्खा मेट्‌न सत्यको नदी पनि इजकिएलको दर्शनको नदीजस्तै बढ्‌दै गइरहेको छ। हाम्रो सङ्‌गठनले बाइबलआधारित प्रकाशनहरू छाप्न थालेको वर्षौँ भइसक्यो। अहिले त हाम्रो वेबसाइट jw.org मा ९०० भन्दा धेरै भाषामा त्यस्ता सामग्रीहरू उपलब्ध छन्‌! सत्यको पानीबाट इमानदार हृदय भएका मानिसहरूले आज कस्तो लाभ उठाइरहेका छन्‌?

१२. (क) सत्यको सन्देशले गर्दा असल हृदय भएका मानिसहरूले जीवन र आध्यात्मिक सुस्वास्थ्य पाएका छन्‌ भनेर तपाईँ किन भन्‍न सक्नुहुन्छ? (ख) यस दर्शनमा हामी होसियार हुनुपर्ने के कुरा पनि पाइन्छ? (फुटनोट पनि हेर्नुहोस्‌)

१२ जीवन दिने पानी। इजकिएललाई यसो भनियो: “यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌।” पुनर्स्थापित आध्यात्मिक भूमिमा आएका नयाँ मानिसहरूलाई आज बगिरहेको सत्यको सन्देशले गर्दा के-कस्तो लाभ भएको छ, विचार गर्नुहोस्‌। बाइबलमा पाइने सत्यले गर्दा असल हृदय भएका लाखौँ मानिसले जीवन र आध्यात्मिक सुस्वास्थ्य पाएका छन्‌। तर यस दर्शनमा हामी होसियार हुनुपर्ने कुरा पनि छ। त्यो हो: सबैले सत्यलाई ग्रहण गर्दैनन्‌। इजकिएलको दर्शनमा देखिएको मृतसागरमा भएका सिमसारहरू र दलदले ठाउँहरूजस्तै केही मानिसहरूको हृदय बोधो भएको छ, तिनीहरू बाइबलको सत्य स्विकार्न र लागू गर्न इन्कार गर्छन्‌। * हामीचाहिँ कहिल्यै त्यस्तो नहोऔँ।व्यवस्था १०:१६-१८ पढ्‌नुहोस्‌।

१३. दर्शनका रूखहरूबाट आज हामी कस्तो प्रोत्साहनदायी कुरा सिक्न सक्छौँ?

१३ फल दिने र रोगबिमार निको पार्ने रूखहरू। नदीको दुवै किनारामा भएका रूखहरूबाट के आज हामी केही प्रोत्साहनदायी कुरा सिक्न सक्छौँ? अवश्‍य सक्छौँ। यो कुरा नबिर्सनुहोस्‌, ती रूखहरूमा महिनैपिच्छे स्वादिष्ठ फलहरू लाग्थ्यो र त्यसका पातहरूले रोगबिमार निको पार्थ्यो। (इज. ४७:१२) यी कुराहरूले हामीले सेवा गर्ने परमेश्‍वर हामीलाई प्रशस्त मात्रामा खुवाउनुहुन्छ र हामीलाई विशेषगरि आध्यात्मिक रूपमा निको पार्नुहुन्छ भन्‍ने कुराको सम्झना गराउँछ। यो संसार आध्यात्मिक रूपमा बिरामी र भोको छ। तर त्यसको ठीक विपरीत यहोवाले हाम्रो लागि प्रशस्त आध्यात्मिक कुराहरू जुटाउनुभएको छ। हाम्रो प्रकाशनको कुनै लेख पढिसकेपछि, सम्मेलन वा अधिवेशनको समापन गीत गाइसकेपछि वा कुनै भिडियो अथवा ब्रोडकास्टिङको कार्यक्रम हेरिसकेपछि के तपाईँले ‘ओहो! यहोवाको कत्ति धेरै आशिष्‌’ भनेर महसुस गर्नुभएको छैन र? हो, यहोवाले हामीलाई पोसिलो खाना दिइरहनुभएको छ। (यसै. ६५:१३, १४) हामीले पाइरहेको आध्यात्मिक भोजनले गर्दा हामीलाई कस्तो फाइदा भइरहेको छ? परमेश्‍वरको वचनमा आधारित सल्लाहहरूले हामीलाई अनैतिकता, लोभ र विश्‍वासको कमीजस्ता कुराहरूसित सङ्‌घर्ष गर्न मदत गर्छ। गम्भीर पापले गर्दा आध्यात्मिक रूपमा बिरामी परेका ख्रिष्टियनहरूलाई मदत गर्न पनि यहोवाले प्रबन्ध मिलाउनुभएको छ। (याकुब ५:१४ पढ्‌नुहोस्‌) इजकिएलको दर्शनका रूखहरूले सङ्‌केत गरेझैँ हामीले साँच्चै धेरै आशिष्‌ पाएका छौँ।

१४, १५. (क) दलदले ठाउँहरूको पानी नुनिलो नै रहेको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (ख) इजकिएलको दर्शनको नदीबाट आज हामी कस्तो लाभ उठाउन सक्छौँ?

१४ दलदले ठाउँहरूको पानी नुनिलो नै रहेको कुराबाट पनि हामी पाठ सिक्न सक्छौँ। हामीले यहोवा परमेश्‍वरका आशिष्‌हरू आफ्नो जीवनमा बगिरहन दिनुपर्छ। यो रोगी संसारका थुप्रै मानिसजस्तै हामी पनि बिरामी अवस्थामै रहिरहनु साँच्चै दुःखको कुरा हुनेछ। (मत्ति १३:१५) बरु आशिष्‌हरू दिने नदीबाट लाभ उठाउन पाउँदा हामी औधी खुसी छौँ! परमेश्‍वरको वचनबाट सत्यको शुद्ध पानी पिउन पाउँदा, प्रचारकार्यमार्फत त्यस्ता सत्य कुराहरू अरूसित बाँड्‌न पाउँदा अनि विश्‍वासी दासद्वारा तालिम पाएका एल्डरहरूबाट मायालु डोऱ्‍याइ, सान्त्वना र मदत पाउँदा हामी इजकिएलको दर्शनको नदीलाई सम्झन्छौँ। त्यो नदीले आफू बग्ने सबै ठाउँका जीवहरूलाई निको पार्छ र जीवन दिन्छ!

१५ तर यो दर्शन भविष्यमा चाहिँ कसरी पूरा हुनेछ? प्रमोदवनमा त्यो नदी कसरी व्यापक रूपमा बग्नेछ, त्यसबारे अब हामी छलफल गर्नेछौँ।

यो दर्शन प्रमोदवनमा कसरी पूरा हुनेछ?

१६, १७. (क) जीवनको पानी प्रमोदवनमा कुन अर्थमा अझ बढ्‌नेछ? (ख) आशिष्‌हरू दिने नदीबाट प्रमोदवनमा हामी कस्तो लाभ उठाउनेछौँ?

१६ के तपाईँ प्रमोदवनमा साथीभाइ र परिवारसित जीवनको पूरापूर आनन्द उठाइरहेको कल्पना गर्नुहुन्छ? इजकिएलको दर्शनको नदीबारे अध्ययन गर्दा तपाईँको त्यो कल्पना अझ जीवन्त हुन सक्छ। कसरी? यस दर्शनको तीन वटा पक्षबारे फेरि विचार गरौँ।

१७ आशिष्‌हरू दिने नदी। त्यो प्रतीकात्मक नदी प्रमोदवनमा झन्‌ ठूलो हुनेछ किनकि त्यतिखेर हामीले आध्यात्मिक रूपमा मात्र होइन, शारीरिक रूपमा पनि त्यसका लाभहरू अनुभव गर्न पाउनेछौँ। येसुको हजार वर्षीय शासनको दौडान परमेश्‍वरको राज्यले वफादार मानिसहरूलाई फिरौतीको बलिदानबाट अझ विस्तृत रूपमा लाभ उठाउन मदत गर्नेछ। तिनीहरू बिस्तारै त्रुटिरहित हुँदै जानेछन्‌! त्यसपछि न कुनै रोगबिमार हुनेछ न त डाक्टर, नर्स, अस्पताल र स्वास्थ्य बिमाको आवश्‍यकता नै पर्नेछ! “महासङ्‌कष्ट” पार गरेर आएको “एउटा ठूलो भीड”-ले जीवनको त्यस पानीबाट लाभ उठाउनेछ। (प्रका. ७:९, १४) हामीले पाउने ती आशिष्‌हरू आकर्षक देखिए तापनि पछि पाइने आशिष्‌हरूको विशाल नदीको तुलनामा त्यो त पानीको सानो धारा मात्रै हो। इजकिएलको दर्शनमा जस्तै त्यो नदी बढ्‌दै जानेछ र सम्पूर्ण मानिसको आवश्‍यकता पूरा गर्नेछ।

आशिष्‌हरू दिने नदीले प्रमोदवनमा सबैलाई जवान र स्वस्थ बनाउनेछ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१८. हजार वर्षीय शासनमा “जीवन दिने पानीको नदी” कुन अर्थमा ठूलो भेल हुनेछ?

१८ जीवन दिने पानी। हजार वर्षीय शासनमा “जीवन दिने पानीको नदी” बढेर ठूलो भेल हुनेछ। (प्रका. २२:१) लाखौँ, अझ भन्‍नुपर्दा अरबौँ मरिसकेका मानिस फेरि जीवित हुनेछन्‌ र तिनीहरूलाई प्रमोदवनमा सधैँभरि बाँच्ने मौका दिइनेछ। साँच्चै, यहोवा परमेश्‍वरले आफ्नो राज्यमार्फत मानिसहरूलाई आशिष्‌ दिनुहुँदा मरिसकेका अनगिन्ती मानिसहरू फेरि जिउँदो हुनेछन्‌। (यसै. २६:१९) तर यसरी जीवित भएका सबै जना के सधैँभरि बाँच्नेछन्‌ त?

१९. (क) प्रमोदवनमा सत्यका नयाँ पानीहरूको प्रबन्ध गरिनेछ भनेर कुन कुराले सङ्‌केत गर्छ? (ख) भविष्यमा कोही-कोहीलाई कुन अर्थमा ‘नुनिलो नै’ छोडिनेछ?

१९ त्यो कुरा तिनीहरू प्रत्येकले गर्ने निर्णयमा भर पर्छ। किनकि त्यसबेला नयाँ पुस्तकहरू खोलिनेछन्‌। यसप्रकार यहोवा परमेश्‍वरले दिनुहुने स्फूर्तिदायी पानीमा नयाँ सत्यहरू अर्थात्‌ नयाँ आध्यात्मिक निर्देशनहरू समावेश हुनेछ। के तपाईँलाई यो कुरा रोमाञ्चक लागेन र? तर दुःखको कुरा, कसै-कसैले ती नयाँ निर्देशनहरूलाई इन्कार गर्नेछन्‌ र यहोवाप्रति अनाज्ञाकारी हुने छनौट गर्नेछन्‌। हजार वर्षीय शासनको दौडान कोही-कोहीले विद्रोह पनि गर्न सक्छन्‌ तर तिनीहरूलाई प्रमोदवनको शान्ति खलबलाउन दिइनेछैन। (यसै. ६५:२०) त्यतिबेला हामी इजकिएलको दर्शनमा बताइएको ‘पानी नुनिलो नै रहेका’ दलदले ठाउँहरूबारे सम्झन्छौँ होला। जीवन दिने पानी पिउन इन्कार गर्नु कत्ति ठूलो मूर्खता हुनेछ! हजार वर्षीय शासनपछि विद्रोहीहरूको समूहले सैतानको पक्ष लिनेछ। यसरी यहोवा परमेश्‍वरको धार्मिक शासन तिरस्कार गर्नेजति सबैले एउटै दण्ड भोग्नेछन्‌: अनन्त मृत्यु।—प्रका. २०:७-१२.

२०. इजकिएलले देखेका रूखहरूले हजार वर्षीय शासनको दौडान हाम्रो लागि गरिने कस्तो प्रबन्धको सम्झना गराउँछ?

२० फल दिने र रोगबिमार निको पार्ने रूखहरू। यहोवा परमेश्‍वर कसैले पनि अनन्त जीवन गुमाएको चाहनुहुन्‍न। उहाँले हामीलाई दिन चाहनुभएको त्यो विशेष मौकालाई हामीले पक्रिराख्न सकौँ भनेर उहाँले त्यतिबेला पनि इजकिएलको दर्शनका रूखहरूको जस्तै प्रबन्ध मिलाउनुहुनेछ। तर प्रमोदवनमा यहोवाले गर्नुहुने प्रबन्धबाट हामीले शारीरिक मात्र होइन, आध्यात्मिक लाभ पनि उठाउनेछौँ। स्वर्गमा येसु ख्रिष्ट र उहाँका १ लाख ४४ हजार सह-शासकले राजाको रूपमा हजार वर्षसम्म शासन गर्नेछन्‌। पुजारीवर्गको रूपमा १ लाख ४४ हजार जनाले ख्रिष्टको फिरौतीको बलिदानले गर्दा सम्भव भएका सबै असल थोकहरू प्रदान गर्नेछन्‌, जसले वफादार मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुग्न मदत गर्नेछ। (प्रका. २०:६) शारीरिक र आध्यात्मिक रूपमा निको पार्ने यस प्रबन्धले हामीलाई इजकिएलले देखेको नदीको दुवै किनारामा भएका रूखहरूको सम्झना गराउँछ, जुन रूखहरूमा पोसिलो फलहरू लाग्छ र त्यसका पातहरूले रोगबिमार निको पार्छ। इजकिएलको दर्शन प्रेषित युहन्‍नाको एउटा भविष्यसूचक विवरणसित पनि मेल खान्छ। (प्रकाश २२:१, २ पढ्‌नुहोस्‌) युहन्‍नाले देखेका रूखहरूका पातहरू “जातिजातिका मानिसहरूलाई निको पार्नका लागि थिए।” लाखौँ वफादार मानिसले १ लाख ४४ हजार अभिषिक्‍त जनहरूले पुजारीको रूपमा निर्वाह गर्ने भूमिकाबाट लाभ उठाउनेछन्‌।

२१. इजकिएलको दर्शनको नदीबारे विचार गर्दा तपाईँमा कस्तो असर पर्छ? अब हामी कुन कुरा छलफल गर्नेछौँ? (“बगिरहेको पानीको सानो धारा ठूलो भेल बन्छ!” भन्‍ने पेटी हेर्नुहोस्‌)

२१ इजकिएलको दर्शनको नदीबारे विचार गर्दा के तपाईँले शान्ति महसुस गर्नुहुन्‍न र? अनि के तपाईँको हृदय आशाले भरिँदैन र? हो, हाम्रो भविष्य साँच्चै सुन्दर छ! यहोवा परमेश्‍वरले हजारौँ वर्षअघि नै प्रमोदवनको जीवन्त चित्र कोरिसक्नुभएको थियो अनि उहाँले हामीलाई त्यो चित्र वास्तविकतामा परिणत भएको हेर्ने निम्तो पनि दिनुभएको छ। के त्यतिबेला तपाईँ त्यहाँ हुनुहुनेछ? के तपाईँ यसरी सोच्दै हुनुहुन्छ: ‘प्रमोदवनमा मेरो लागि पनि ठाउँ होला?’ त्यसो हो भने इजकिएलको भविष्यवाणीका अन्तिम अंशहरूबाट हामी कस्तो आश्‍वासन पाउँछौँ, यसपछिको अध्यायमा विचार गरौँ।

^ यसबाहेक आफ्नो मातृभूमिको भौगोलिक बनावट थाह भएका निर्वासित यहुदीहरूलाई दर्शनमा बताइएको यो नदी वास्तविक नदी हुन सक्दैन भनेर थाह भएको हुनुपर्छ । किनकि यो नदी एउटा असाध्यै अग्लो डाँडामा भएको मन्दिरबाट बगेको थियो, जबकि दर्शनमा उल्लेख गरिएको ठाउँमा त्यस्तो कुनै डाँडा थिएन। साथै दर्शनबाट त्यो नदी कुनै अवरोधविना सीधै मृतसागरतर्फ बगेको थियो भन्‍ने बुझिन्छ। तर त्यस ठाउँको भौगोलिक बनावट विचार गर्दा यो असम्भव देखिन्छ।

^ केही टिप्पणीकारहरू यसलाई सकारात्मक अभिव्यक्‍तिको रूपमा लिन्छन्‌। उनीहरूअनुसार नुन सङ्‌कलन गर्ने उद्योग मृतसागर क्षेत्रमा लामो समयदेखि फस्टाइरहेको छ, जसलाई खानेकुरा बिग्रन नदिन प्रयोग गरिन्छ। तर यस विवरणमा दलदले ठाउँहरूका पानी “मीठो हुनेछैन” भनेर तोकेरै बताइएको छ। यहोवा परमेश्‍वरको भवनबाट बगेको पानी त्यहाँसम्म नपुगेकोले ती ठाउँहरू निर्जीव अवस्थामै रहे र त्यहाँको पानी नमीठो अवस्थामै रह्‍यो। त्यसैले यस विवरणमा दलदले ठाउँहरूको पानी नुनिलो नै रहनुलाई नकारात्मक अभिव्यक्‍तिको रूपमा चलाइएको जस्तो देखिन्छ।—भज. १०७:३३, ३४; यर्मि. १७:६.

^ यसै प्रसङ्‌गमा, येसुले बताउनुभएको ठूलो जालको उदाहरण पनि विचार गर्नुहोस्‌। जालमा थुप्रै माछा पर्छन्‌ तर सबै माछा “असल” साबित हुँदैनन्‌। काम नलाग्ने माछाहरू फ्याँकिन्छन्‌। यसरी येसु ख्रिष्टले यहोवाको सङ्‌गठनमा आएकाहरूमध्ये थुप्रै मानिसले समयको दौडान सत्य त्यागेर जान सक्छन्‌ भनेर चेतावनी दिनुभयो।—मत्ति १३:४७-५०; २ तिमो. २:२०, २१.