सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ७८

विश्‍वासी भण्डारे हो, तयार रहो!

विश्‍वासी भण्डारे हो, तयार रहो!

लुका १२:३५-५९

  • विश्‍वासी भण्डारे तयार रहनुपर्छ

  • येसु फूट गराउन आउनुहुन्छ

स्वर्गको राज्यमा “सानो बगाल”-ले मात्र ठाउँ पाउनेछ भनेर येसुले बताउनुभएको छ। (लुका १२:३२) तर यस्तो अद्‌भुत इनाम पाउने कुरालाई हल्कासित लिन मिल्दैन। वास्तवमा यदि कसैले परमेश्‍वरको राज्यको भाग हुने सुअवसर पाउँछ भने उसले त्यसप्रति सही मनोवृत्ति राख्नु महत्त्वपूर्ण छ भनेर येसु जोड दिनुहुन्छ।

त्यसैगरि येसु चेलाहरूलाई आफू फर्केर आउँदा तयार रहन सल्लाह दिनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “तिमीहरू कम्मर कसेर बस अनि तिमीहरूको दियो बलिरहोस्‌। तिमीहरू ती मानिसहरूजस्तो होओ, जो आफ्ना मालिक विवाह-भोजबाट फर्केर तिनले ढोका ढकढक्याउँदा तुरुन्तै खोल्न सकियोस्‌ भनेर कुरिरहेका हुन्छन्‌। आनन्दित हुन्‌ ती दासहरू, जसलाई मालिकले जागा बसिरहेको पाउँछन्‌!”—लुका १२:३५-३७.

येसु कस्तो मनोवृत्तिबारे कुरा गर्दै हुनुहुन्छ भनेर चेलाहरू सजिलै बुझ्न सक्छन्‌। उहाँले भन्‍नुभएका दासहरू तयार छन्‌, तिनीहरू मालिक फर्कने समय कुरिरहेका छन्‌। येसु यसो भन्‍नुहुन्छ: “तिनी [मालिक] दोस्रो प्रहरमा [राती ९ बजेदेखि मध्यरातसम्म] वा तेस्रो प्रहरमै [मध्यरातदेखि बिहानको ३ बजेसम्म] आउँदा पनि तिनीहरूलाई जागै पाउँछन्‌ भने तिनीहरू आनन्दित हुन्‌!”—लुका १२:३८.

यो सल्लाह घरका दासहरू लगनशील हुनुपर्छ भन्‍नेबारे मात्र त पक्कै होइन। येसुले अर्थात्‌ मानिसको छोराले यस उदाहरणमा आफूलाई पनि समावेश गर्नुभएको कुराबाट यो प्रस्ट हुन्छ। उहाँ चेलाहरूलाई भन्‍नुहुन्छ: “त्यसैगरि तिमीहरू पनि तयार रहो किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउनेछ।” (लुका १२:४०) त्यसैले भविष्यमा कुनै एउटा समयमा येसु आउनुहुनेछ। अनि उहाँ आफ्ना अनुयायीहरू, अझ विशेषगरि “सानो बगाल”-का सदस्यहरू तयार रहेको चाहनुहुन्छ।

पत्रुस येसुले भन्‍न खोज्नुभएको कुरा प्रस्टसित बुझ्न चाहन्छन्‌। त्यसैले तिनी यस्तो प्रश्‍न गर्छन्‌: “प्रभु, तपाईँले यो उदाहरण हाम्रो लागि मात्र बताउनुभएको हो कि सबैका लागि?” पत्रुसलाई सीधै जवाफ दिनुको सट्टा येसु अर्को एउटा उदाहरण बताउनुहुन्छ: “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ भण्डारे को हो, जसलाई उसको मालिकले आफ्ना सेवकहरूको दललाई ठीक समयमा र ठीक मात्रामा भोजन दिइरहोस्‌ भनेर तिनीहरूमाथि नियुक्‍त गर्नेछन्‌? आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌! म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्‍त गर्नेछन्‌।”—लुका १२:४१-४४.

सुरुको उदाहरणका “मालिक”-ले मानिसको छोरा येसुलाई बुझाउँछ भन्‍ने कुरा स्पष्ट छ। त्यसैले ‘विश्‍वासी भण्डारेमा’ ती पुरुषहरू समावेश छन्‌, जो “सानो बगाल”-का भाग हुन्‌ र जसलाई स्वर्गको राज्यमा शासन गर्ने अधिकार दिइनेछ। (लुका १२:३२) यहाँ येसु यस बगालका केही सदस्यले उहाँका “सेवकहरूको दल”-को जीवन धान्‍न “ठीक समयमा र ठीक मात्रामा भोजन” दिनेछन्‌ भनेर बताउँदै हुनुहुन्छ। त्यसैले पत्रुस र अरू चेलाहरू, जसलाई येसुले सिकाइरहनुभएको छ र आध्यात्मिक रूपमा खुवाइरहनुभएको छ, तिनीहरू मानिसको छोरा भविष्यमा कुनै समयमा आउनुहुनेछ भन्‍ने निष्कर्षमा पुग्न सक्छन्‌। अनि त्यतिबेला मालिकका “सेवकहरूको दल” अर्थात्‌ येसुका अनुयायीहरूलाई आध्यात्मिक रूपमा खुवाउन प्रबन्ध मिलाइएको हुनेछ।

आफ्ना चेलाहरू जागा रहनुपर्ने र तिनीहरूले आफ्नो मनोवृत्ति केलाउनुपर्ने कारणबारे येसु अर्को तरिकामा पनि जोड दिनुहुन्छ। किनकि तिनीहरू सुस्ताउन सक्छन्‌ र सङ्‌गी विश्‍वासीहरूको विरोध गर्ने हदसम्म पुग्न सक्छन्‌। उहाँ तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “तर यदि त्यो दासले ‘मेरो मालिक बियाँलो गर्नुहुन्छ’ भनी मनमनै भन्यो र आफ्ना सङ्‌गी दास-दासीलाई पिट्‌न थाल्यो अनि खान, पिउन र मात्तिन थाल्यो भने त्यस दासको मालिक उसले आसै नगरेको दिनमा र उसलाई थाहै नभएको समयमा आउनेछन्‌। अनि उसलाई असाध्यै कठोर दण्ड दिनेछन्‌ र विश्‍वासघातीहरू भएको ठाउँमा फ्याँकिदिनेछन्‌।”—लुका १२:४५, ४६.

येसुले आफू “पृथ्वीमा आगो सल्काउन” आएको हुँ भन्‍नुहुन्छ। हुन पनि यस्तै हुन्छ। उहाँले भन्‍नुभएका र गर्नुभएका कुराहरूले गर्दा चर्को विवाद सुरु हुन्छ, जसको परिणामस्वरूप झूटा शिक्षा र परम्पराहरू उदाङ्‌ग हुन्छन्‌। यसले सँगै मिलेर बस्नुपर्ने मानिसहरूबीच समेत फूट ल्याउँछ; ‘बुबा छोराविरुद्ध, छोरा बुबाविरुद्ध, आमा छोरीविरुद्ध, छोरी आमाविरुद्ध, सासू बुहारीविरुद्ध अनि बुहारी सासूविरुद्ध उठ्‌छन्‌ र तिनीहरूबीच फूट हुन्छ।’—लुका १२:४९, ५३.

यी कुराहरू विशेषगरि उहाँका चेलाहरूमा लागू हुन्छ। त्यसपछि उहाँ भीडलाई हेर्नुहुन्छ। तीमध्ये अधिकांश मानिसहरूले येसु नै मसीह हुनुहुन्छ भन्‍ने कुराको सुस्पष्ट प्रमाणलाई इन्कार गरेका छन्‌। त्यसैले उहाँ तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “पश्‍चिमतिर बादल मडारिएको देख्नेबित्तिकै तिमीहरू भन्छौ: ‘आँधी आउँदै छ’ अनि ठीक त्यस्तै हुन्छ। दक्षिणबाट बतास चलेको देखेपछि तिमीहरू भन्छौ: ‘लू चल्नेछ’ अनि त्यस्तै हुन्छ। ए कपटीहरू हो, तिमीहरू मौसम हेरेर त्यसको अर्थ लगाउन जान्दछौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको अर्थ लगाउन भने किन जान्दैनौ?” (लुका १२:५४-५६) स्पष्ट छ, तिनीहरू तयार छैनन्‌।