अध्याय ७१
पहिलाको अन्धो मानिसलाई फरिसीहरू प्रश्न गर्छन्
-
फरिसीहरू पहिलाको अन्धो मानिसलाई प्रश्न गर्छन्
-
धर्मगुरुहरू “अन्धो” छन्
जन्मजातै अन्धो मानिसलाई येसुले देख्न सक्ने बनाउनुभयो भन्ने कुरा फरिसीहरू स्विकार्नै सक्दैनन्। त्यसैले तिनीहरू उसको आमाबुबालाई बोलाउँछन्। उसका आमाबुबालाई आफूहरू ‘सभाघरबाट निकालिने’ सम्भावना छ भनेर थाह छ। (युहन्ना ९:२२) त्यसरी यहुदीहरूको समाजबाट निकालिँदा परिवारले सामाजिक र आर्थिक हानि बेहोर्नुपर्ने हुन्छ।
फरिसीहरू दुई वटा प्रश्न सोध्छन्: “के यो तिमीहरूको छोरा हो, जो जन्मैदेखि अन्धो थियो भनी तिमीहरू भन्छौ? त्यसोभए अहिले उसले कसरी देख्न सक्यो त?” उसका आमाबुबा यस्तो जवाफ दिन्छन्: “यो हाम्रो छोरा हो र ऊ जन्मैदेखि अन्धो थियो भनेर हामीलाई थाह छ। तर ऊ अहिले कसरी देख्ने भयो वा कसले उसको आँखा खोलिदियो, त्योचाहिँ हामीलाई थाह छैन।” छोराले आफूहरूलाई सबै कुरा बताइसकेको भए तापनि उनीहरू होसियार भई जवाफ दिन्छन्। उनीहरू यसो भन्छन्: “उसैलाई सोध्नुहोस्। ऊ बच्चा होइन। आफ्नो विषयमा ऊ आफैले बताउनुपर्छ।”—युहन्ना ९:१९-२१.
त्यसैले फरिसीहरू उसलाई फेरि बोलाउँछन् र आफूहरूसित येसुको विरुद्धमा प्रमाण छ भनी धम्काउँछन्। फरिसीहरू भन्छन्: “सत्य बोलेर परमेश्वरको महिमा गर; यो मानिस पापी हो भनेर हामीलाई थाह छ।” तिनीहरूले लगाएको आरोपलाई बेवास्ता गर्दै ऊ यसो भन्छ: “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाह छैन।” ऊ अझै भन्छ: “मलाई यति मात्र थाह छ, म पहिला अन्धो थिएँ तर अहिले देख्ने भएको छु।”—युहन्ना ९:२४, २५.
तर फरिसीहरू कुरा यतिमै टुङ्ग्याउन चाहँदैनन्। त्यसैले अझ यसो भन्छन्: “उसले तिमीलाई के गऱ्यो? उसले तिम्रो आँखा कसरी खोलिदियो?” ऊ साहस जुटाउँदै यस्तो जवाफ दिन्छ: “मैले तपाईँहरूलाई पहिल्यै भनेको थिएँ तर तपाईँहरूले सुन्नुभएन। तपाईँहरू किन फेरि सुन्न चाहनुहुन्छ? कतै तपाईँहरू पनि उहाँको चेला बन्न त चाहनुहुन्न?” फरिसीहरू रिसले चूर हुँदै यसो भन्छन्: “त्यस मानिसको चेला तिमी नै हौ; हामी त मोसाका चेला हौँ। परमेश्वरले मोसासित कुरा गर्नुभएको थियो भनेर हामीलाई थाह छ तर यस मानिसको विषयमा भने ऊ कहाँबाट आएको हो, हामीलाई थाह छैन।”—युहन्ना ९:२६-२९.
फरिसीहरूको कुरा सुनेर त्यो माग्ने यसो भन्छ: “कस्तो अचम्मको कुरा! उहाँले मेरो आँखा खोलिदिनुभयो तैपनि उहाँ कहाँबाट आउनुभएको हो भनेर तपाईँहरूलाई थाह छैन।” त्यसपछि त्यो मानिस परमेश्वर कसको कुरा सुन्नुहुन्छ र उहाँ कसलाई अनुमोदन दिनुहुन्छ भन्नेबारे यस्तो तर्कसङ्गत कुरा बताउँछ: “हामीलाई थाह छ, परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न तर यदि कसैले परमेश्वरको डर मान्छ अनि उहाँको इच्छाअनुसार गर्छ भने उहाँले उसको कुरा सुन्नुहुन्छ। जन्मजात अन्धो मानिसको आँखा कसैले खोलिदियो भनेर आजसम्म सुनिएको छैन।” ऊ यस्तो निष्कर्ष निकाल्छ: “यदि उहाँ परमेश्वरबाट आउनुभएको नहुँदो हो त उहाँले केही पनि गर्न सक्नुहुने थिएन।”—युहन्ना ९:३०-३३.
त्यस माग्नेको कुराको खण्डन गर्न नसकेपछि फरिसीहरू उसलाई हेपेर यसो भन्छन्: “पापैमा जन्मेको मानिस भएर पनि के तिमी हामीलाई सिकाउँदै छौ?” त्यसपछि तिनीहरू उसलाई बाहिर निकालिदिन्छन्।—युहन्ना ९:३४.
यसबारे सुनेपछि येसु उसलाई भेट्नुहुन्छ र सोध्नुहुन्छ: “के तिमी मानिसको छोरामाथि विश्वास गर्छौ?” ऊ यस्तो जवाफ दिन्छ: “उहाँ को हुनुहुन्छ हजुर? मलाई भन्नुहोस् ताकि मैले उहाँमाथि विश्वास गर्न सकूँ।” येसु स्पष्टसँग भन्नुहुन्छ: “तिमीले उसलाई देखेका छौ र वास्तवमा तिमी अहिले उसैसित कुरा गरिरहेका छौ।”—युहन्ना ९:३५-३७.
अनि त्यो मानिस यसो भन्छ: “प्रभु, म उहाँमाथि विश्वास गर्छु।” विश्वास र आदर देखाउँदै त्यस मानिसले येसुलाई दण्डवत् गर्छ र येसु उसलाई एउटा महत्त्वपूर्ण कुरा भन्नुहुन्छ: “म न्याय गर्न संसारमा आएको हुँ ताकि ज-जसले देख्दैनन्, तिनीहरूले देखून् र ज-जसले देख्छन्, तिनीहरू अन्धा होऊन्।”—युहन्ना ९:३८, ३९.
ती फरिसीहरूलाई आफू अन्धो होइन भनेर थाह छ। तर आध्यात्मिक डोऱ्याइ दिने तिनीहरूको भूमिकाबारे चाहिँ के भन्न सकिन्छ? तिनीहरू आफ्नो बचाउ गर्दै यसो भन्छन्: “के हामी पनि अन्धा हौँ त?” येसु तिनीहरूलाई भन्नुहुन्छ: “तिमीहरू अन्धा हुँदा हौ त तिमीहरूमा पाप हुने थिएन। तर अब तिमीहरू भन्छौ: ‘हामी देख्छौँ।’ त्यसैले तिमीहरूको पाप रहिरहन्छ।” (युहन्ना ९:४०, ४१) तिनीहरू इस्राएलको धर्मगुरु नहुँदा हुन् त तिनीहरूले येसुलाई मसीहको रूपमा इन्कार गर्नु अचम्मलाग्दो कुरा हुने थिएन। तर व्यवस्थाको ज्ञान हुँदाहुँदै पनि तिनीहरूले त्यसो गर्नु गम्भीर पाप हो।