अध्याय ८९
यहुदिया जाँदै गर्दा पेरियामा शिक्षा दिनुहुन्छ
-
ठेस पुऱ्याउनु गम्भीर कुरा हो
-
क्षमा दिनुहोस् र विश्वास देखाउनुहोस्
केही समयदेखि येसु “यर्दनपारि” पेरिया भन्ने ठाउँमा हुनुहुन्छ। (युहन्ना १०:४०) अब उहाँ दक्षिणमा यरुसलेमतर्फ लाग्नुहुन्छ।
येसु एक्लै हुनुहुन्न। उहाँसित यात्रामा चेलाहरूका साथै एउटा ठूलो “भीड” पनि छ, जुन भीडमा कर उठाउनेहरू र पापीहरू पनि छन्। (लुका १४:२५; १५:१) त्यस भीडमा येसुले भन्नुभएका र गर्नुभएका कामहरूको आलोचना गरिरहेका फरिसीहरू र शास्त्रीहरू पनि छन्। येसुले बताउनुभएको हराएको भेडा, हराएको छोरा अनि धनी मानिस र लाजरसको उदाहरण सुनेपछि तिनीहरूले सोच्नुपर्ने कुरा धेरै छन्।—लुका १५:२; १६:१४.
विरोधीहरूको आलोचना र खिल्ली येसुको दिमागमा सायद अझै ताजा छ। त्यसैले उहाँ चेलाहरूतर्फ ध्यान दिँदै पहिला आफूले गालिलमा सिकाएको केही कुराहरू फेरि दोहोऱ्याउनुहुन्छ।
उदाहरणको लागि, येसु भन्नुहुन्छ: “ठेस पुऱ्याउने कारणहरू अवश्य आउनेछन्। तर त्यस मानिसलाई धिक्कार छ, जसद्वारा ती आउँछन्! . . . आफ्नो विषयमा ध्यान देओ। तिम्रो भाइले पाप गऱ्यो भने उसलाई हप्काऊ र उसले पश्चात्ताप गऱ्यो भने उसलाई क्षमा देऊ। यदि उसले तिम्रो विरुद्धमा दिनको सात चोटि पाप गऱ्यो र सातै चोटि आएर ‘मलाई पछुतो लाग्यो’ भन्छ भने तिमीले उसलाई क्षमा दिनै पर्छ।” (लुका १७:१-४) येसुको यो कुरा सुनेपछि पत्रुसले सात पटकसम्म क्षमा दिनेबारे आफूले सोधेको प्रश्न सम्झेको हुनुपर्छ।—मत्ति १८:२१.
के चेलाहरू येसुले भन्नुभएअनुसार चल्न सक्षम हुनेछन्? तिनीहरूले “हाम्रो विश्वास बढाइदिनुहोस्” भनेर आग्रह गर्दा येसु तिनीहरूलाई यस्तो आश्वासन दिनुहुन्छ: “तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिमीहरूको कुरा मान्नेछ।” (लुका १७:५, ६) हो, थोरै मात्र विश्वास छ भने पनि ठूलठूला कुराहरू हासिल गर्न सकिन्छ।
नम्र हुँदै आफूबारे सन्तुलित दृष्टिकोण राख्नुपर्ने महत्त्वलाई जोड दिँदै येसु प्रेषितहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले आफ्नो दास हलो जोतेर वा भेडाबाख्रा चराएर खेतबाट फर्केपछि उसलाई यसो भन्छ: ‘तुरुन्तै यहाँ आएर खान बस’? बरु के उसले यसो भन्दैन र: ‘मेरो लागि बेलुकीको खाना तयार पार अनि मैले खानपिन नगरुन्जेल पटुका कसेर मेरो सेवा गर। त्यसपछि मात्र तिमीले खानपिन गर्नू’? दासले आफूलाई अह्राइएको काम पूरा गर्दा के मालिकले दासप्रति कृतज्ञ महसुस गर्छ र? त्यसैगरि तिमीहरू पनि जब आफूलाई अह्राइएको सबै काम पूरा गर्छौ, तब यसो भन्नू: ‘हामी निकम्मा दास हौँ। हामीले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेका हौँ।’”—लुका १७:७-१०.
यहोवाको प्रत्येक सेवकले परमेश्वरको इच्छालाई पहिलो स्थानमा राख्नुपर्ने महत्त्वलाई बुझ्नुपर्छ। साथै प्रत्येकले यहोवाको परिवारको सदस्यको रूपमा उहाँको उपासना गर्न पाएको सुअवसरलाई बिर्सनु हुँदैन।
सायद यसको लगत्तै मरियम र मार्थाले पठाएको सन्देशवाहक त्यहाँ आइपुग्छ। मरियम र मार्था लाजरसका दिदीहरू हुन् र उनीहरू यहुदियाको बेथानिमा बस्छन्। उक्त सन्देशवाहकले यस्तो खबर दिन्छ: “प्रभु, हेर्नुहोस्, जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनी बिरामी परेका छन्।”—युहन्ना ११:१-३.
आफ्नो मित्र लाजरस सिकिस्त बिरामी परेका छन् भनेर सुने तापनि येसु विचलित हुनुहुन्न। बरु यसो भन्नुहुन्छ: “यस बिमारीको अन्तिम परिणाम मृत्यु हुनेछैन तर यसले परमेश्वरको महिमा गर्नेछ ताकि यसद्वारा परमेश्वरको छोराको महिमा होस्।” उहाँ अझै दुई दिन त्यही ठाउँमा बस्नुहुन्छ। त्यसपछि चेलाहरूलाई यसो भन्नुहुन्छ: “आओ, हामी फेरि यहुदिया जाऔँ।” तर तिनीहरू येसुको कुरामा यसरी असहमति जनाउँछन्: “रब्बी, यहुदियाका मानिसहरूले केही समयअघि मात्र तपाईँलाई ढुङ्गा हान्न खोजेका थिए तैपनि तपाईँ फेरि त्यहीँ जाँदै हुनुहुन्छ?”—युहन्ना ११:४, ७, ८.
येसु भन्नुहुन्छ: “दिनमा १२ घण्टा उज्यालो हुन्छ, होइन? यदि कोही दिनको उज्यालोमा हिँड्छ भने उसले कुनै कुरामा ठेस खाँदैन किनकि उसले यस संसारको ज्योति देख्छ। तर यदि कोही राती हिँड्छ भने उसले ठेस खान्छ किनकि ऊसित ज्योति छैन।” (युहन्ना ११:९, १०) सायद उहाँ आफूले पृथ्वीमा गर्नुपर्ने सेवाको कामको लागि यहोवाले तोक्नुभएको समय अझै सिद्धिएको छैन भन्न खोज्दै हुनुहुन्छ। त्यतिन्जेल उहाँले बाँकी रहेको छोटो समयको पूरापूर सदुपयोग गर्नुपर्छ।
येसु अझै यसो भन्नुहुन्छ: “हाम्रा मित्र लाजरस सुतेका छन् तर म तिनलाई ब्युँझाउन त्यहाँ जाँदै छु।” चेलाहरूलाई लाजरस आराम गरिरहेका छन् र तिनी चाँडै निको हुनेछन् भन्ने लागेको हुनुपर्छ। त्यसैले यसो भन्छन्: “प्रभु, यदि तिनी सुतेका छन् भने त ठीक हुन्छन् होला।” तब येसु तिनीहरूलाई प्रस्टसित यसो भन्नुहुन्छ: “लाजरस मरिसकेका छन्। . . . आओ, हामी तिनीकहाँ जाऔँ।”—यहुदियामा येसुको हत्या हुन सक्ने कुरा थाह भए तापनि थोमा उहाँलाई साथ दिन चाहन्छन्। त्यसैले तिनी अरू चेलाहरूलाई यस्तो आग्रह गर्छन्: “लौ, हामी पनि जाऔँ अनि उहाँसितै मरौँ।”—युहन्ना ११:१६.