सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ५२

केही टुक्रा रोटी र माछाले हजारौँलाई खुवाउनुहुन्छ

केही टुक्रा रोटी र माछाले हजारौँलाई खुवाउनुहुन्छ

मत्ति १४:१३-२१ मर्कुस ६:३०-४४ लुका ९:१०-१७ युहन्‍ना ६:१-१३

  • येसु ५ हजार पुरुषलाई खुवाउनुहुन्छ

बाह्र जना प्रेषितले गालिलको प्रचार-यात्राबाट आनन्द उठाएका छन्‌ र तिनीहरू येसुलाई “आफूले गरेका सबै काम र आफूले सिकाएका सबै कुराको विषयमा” बताउँछन्‌। तिनीहरू पक्कै थाकेको हुनुपर्छ। आउने-जाने मानिसहरू धेरै भएकोले तिनीहरूले खाने फुर्सतसमेत पाउँदैनन्‌। त्यसैले येसु तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र केहीबेर आराम गर।”—मर्कुस ६:३०, ३१.

उहाँहरू सायद कफर्नहुम नजिकैबाट डुङ्‌गा चढ्‌नुहुन्छ अनि यर्दन नदीको पूर्वपट्टि बेथसेदाभन्दा पर एउटा एकान्त ठाउँमा जानुहुन्छ। तर धेरैले उहाँहरू जाँदै गरेको देख्छन्‌ र अरू कतिले भने यो कुरा अरूबाट सुन्छन्‌। तिनीहरू किनारा-किनारा हुँदै दौडेर जान्छन्‌ र उहाँहरूभन्दा अघि नै त्यस ठाउँमा पुग्छन्‌।

डुङ्‌गाबाट ओर्लेपछि येसु एउटा ठूलो जमात देख्नुहुन्छ र तिनीहरूलाई देखेर टिठाउनुहुन्छ किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता छन्‌। त्यसैले उहाँ परमेश्‍वरको राज्यबारे “धेरै कुरा सिकाउन” थाल्नुहुन्छ। (मर्कुस ६:३४) साथै उहाँले “उपचारको आवश्‍यकता भएकाहरूलाई निको” पार्नुहुन्छ। (लुका ९:११) साँझ परेपछि चेलाहरू उहाँलाई यसो भन्छन्‌: “यो ठाउँ अनकन्टार छ र दिन पनि निकै ढलिसक्यो। त्यसैले यो भीडलाई पठाइदिनुहोस्‌ र तिनीहरूले गाउँमा गएर आफ्नो निम्ति खानेकुरा किनून्‌।”—मत्ति १४:१५.

येसु यसो भन्‍नुहुन्छ: “उनीहरू जानु आवश्‍यक छैन, तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” (मत्ति १४:१६) येसुलाई आफूले के गर्दै छु भनेर थाह भए तापनि फिलिपको परीक्षा गर्न उहाँ तिनलाई यस्तो प्रश्‍न गर्नुहुन्छ: “यिनीहरूलाई खुवाउन हामी कहाँ रोटी किनौँ?” फिलिप बेथसेदानजिकैको भएकोले उहाँ फिलिपलाई नै यस्तो प्रश्‍न सोध्नुहुन्छ। तर सबैको लागि रोटी किन्‍न असम्भव छ किनभने त्यहाँ पुरुषहरू मात्र लगभग ५ हजार जना छन्‌। अझ स्त्री र केटाकेटी पनि गन्‍ने हो भने त मानिसहरूको कुल सङ्‌ख्या १० हजारभन्दा धेरै हुन सक्छ! फिलिप यस्तो जवाफ दिन्छन्‌: “यिनीहरूलाई अलि-अलि मात्र खुवाउने हो भने पनि २०० दिनारको [एक दिनार एक दिनको ज्याला हो] रोटीले समेत पुग्दैन।”—युहन्‍ना ६:५-७.

त्यहाँ जम्मा भएका सबैलाई खुवाउन असम्भव छ भनी बुझाउन अन्द्रियास यसो भन्छन्‌: “यहाँ एक जना केटोसित जौका पाँच वटा रोटी र दुई वटा साना माछा छन्‌। तर यत्तिका मानिसलाई यसले कसरी पुऱ्‍याउने?”—युहन्‍ना ६:९.

यो वसन्त ऋतुको समय हो र इस्वी संवत्‌ ३२ को निस्तार चाड नजिकै छ। डाँडाहरू हरियो घाँसले भरिएका छन्‌। मानिसहरूलाई ५०-५० र १००-१०० को समूह बनाएर बसाउनको लागि उहाँ चेलाहरूलाई भन्‍नुहुन्छ। उहाँ पाँच वटा रोटी र दुई वटा माछा लिएर परमेश्‍वरलाई धन्यवाद चढाउनुहुन्छ अनि रोटी भाँच्नुहुन्छ र माछा पनि भाग लगाउनुहुन्छ। त्यसपछि बाँड्‌नको लागि चेलाहरूलाई दिनुहुन्छ। कस्तो अचम्म, सबै मानिसले पेटभरि खान्छन्‌!

पछि येसु चेलाहरूलाई यसो भन्‍नुहुन्छ: “उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्‌।” (युहन्‍ना ६:१२) तिनीहरूले उब्रेको टुक्राटाक्री बटुल्दा १२ डाला भरिन्छ!