अध्याय २०
कानामा दोस्रो चमत्कार
मर्कुस १:१४, १५ लुका ४:१४, १५ युहन्ना ४:४३-५४
-
येसु “परमेश्वरको राज्य नजिकै आएको छ” भन्दै प्रचार गर्नुहुन्छ
-
उहाँ टाढैबाट एक जना केटोलाई निको पार्नुहुन्छ
सामरियामा दुई दिन बस्नुभएपछि येसु आफ्नो गृहनगरतर्फ लाग्नुहुन्छ। यहुदियामा विस्तृत रूपमा प्रचार गर्नुभएकोले उहाँ आराम गर्नको लागि गालिल फर्कन लाग्नुभएको होइन। बरु उहाँ आफू हुर्केको त्यस ठाउँमा अझ व्यापक रूपमा प्रचार गर्न सुरु गर्नुहुन्छ। त्यहाँका मानिसहरूले आफूलाई स्वागत गर्लान् भन्ने आस येसुले गर्नुभएको छैन किनकि उहाँ आफैले भन्नुभएझैँ “भविष्यवक्ताले आफ्नै इलाकामा आदर पाउँदैन।” (युहन्ना ४:४४) उहाँका चेलाहरू भने उहाँसितै बस्नुको सट्टा आ-आफ्नै घर फर्कन्छन् र पहिलाकै व्यवसायमा लाग्छन्।
येसु मानिसहरूलाई कस्तो सन्देश सुनाउन थाल्नुहुन्छ? उहाँको सन्देश यस्तो छ: “परमेश्वरको राज्य नजिकै आएको छ। पश्चात्ताप गर अनि सुसमाचारमा विश्वास गर।” (मर्कुस १:१५) मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्? वास्तवमा गालिलका थुप्रै मानिसले उहाँलाई न्यानो स्वागत गर्छन् र आदर पनि गर्छन्। तर उहाँको सन्देश सुनेर मात्र त होइन। गालिलका केही मानिसहरू निस्तार चाड मनाउन केही महिनाअघि यरुसलेम गएका थिए र त्यहाँ तिनीहरूले येसुले गर्नुभएका चमत्कारहरू देखेका थिए।—युहन्ना २:२३.
येसु गालिलको व्यापक प्रचारकार्य कहाँबाट सुरु गर्नुहुन्छ? सम्भवतः कानाबाट, जहाँ उहाँले एउटा विवाह-भोजमा पानीलाई दाखमद्यमा परिणत गर्नुभएको थियो। अहिले दोस्रो चोटि त्यहाँ जाँदा येसुले एक जना केटो सिकिस्त बिरामी परेर मर्नै लागेको छ भन्ने खबर पाउनुहुन्छ। ऊ हेरोद एन्टिपासको एक जना सेवकको छोरा हो। यिनै हेरोदले पछि बप्तिस्मा गराउने युहन्नाको टाउको काट्न लगाउँछन्। ती सेवकले येसु यहुदियाबाट काना आउनुभएको छ भनेर सुन्छन्। त्यसैले तिनी येसुलाई भेट्न कफर्नहुमबाट काना आउँछन्। अत्यन्तै दुःखित भएका ती सेवक येसुलाई यस्तो आग्रह गर्छन्: “हे प्रभु, मेरो सानो बाबु मर्नुअघि नै मसित आइदिनुहोस्।”—युहन्ना ४:४९.
येसुले यसो भन्नुहुँदा ती मानिस कत्ति छक्क पर्छन् होला: “आफ्नो बाटो लाग, तिम्रो छोरा बाँच्छ।” (युहन्ना ४:५०) हेरोदका ती सेवक येसुको कुरामा विश्वास गर्छन् र घर फर्कन आफ्नो बाटो लाग्छन्। तिनी बाटोमै छँदा तिनका दासहरू हतार-हतार गर्दै तिनलाई खुसीको खबर सुनाउन आउँछन्। हो, तिनको छोरा निको भएको छ! तीनछक पर्दै तिनी आफ्नो छोरा “कुन बेला निको भएको हो” भनी सोध्छन्।
दासहरू यस्तो जवाफ दिन्छन्: “हिजो सातौँ घडीमा उसलाई ज्वरोले छोड्यो।”—युहन्ना ४:५२.
येसुले “तिम्रो छोरा बाँच्छ” भन्नुभएकै बेला छोरा निको भएको रहेछ भनी ती सेवकले थाह पाउँछन्। त्यसपछि, दासहरू राख्न सक्ने हैसियत भएका ती सेवक र तिनको घरमा भएकाहरू सबै येसुको चेला बन्छन्।
यसरी येसुले कानामा दुई चोटि चमत्कार गर्नुहुन्छ। पहिलो, उहाँ पानीलाई दाखमद्यमा परिणत गर्नुहुन्छ। दोस्रो, एक जना केटोलाई लगभग २६ किलोमिटर टाढैबाट निको पार्नुहुन्छ। पक्कै पनि उहाँले यतिबेलासम्म यी दुइटा चमत्कार मात्र गर्नुभएको होइन। तर उहाँले त्यो केटोलाई निको पार्नुभएको कुरा उल्लेखनीय छ किनकि यसले उहाँ गालिल फर्कनुभएको कुरालाई सङ्केत गर्छ। हो, उहाँ परमेश्वरले नियुक्त गर्नुभएको भविष्यवक्ता हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ। तर के यी “भविष्यवक्ताले आफ्नै इलाकामा आदर” पाउनुहोला त?
येसु आफ्नो घर नासरत जानुहुँदा यो कुरा स्पष्ट हुन्छ। त्यहाँ उहाँलाई के हुन्छ?