अध्याय १३३
येसुको शवलाई तयारी गरिन्छ र चिहानमा राखिन्छ
मत्ति २७:५७–२८:२ मर्कुस १५:४२–१६:४ लुका २३:५०–२४:३ युहन्ना १९:३१–२०:१
-
येसुको शवलाई खम्बाबाट तल झारिन्छ
-
उहाँको शवलाई चिहानमा राख्नको लागि तयारी गरिन्छ
-
स्त्रीहरू रित्तो चिहान भेट्टाउँछन्
अहिले नीसान १४ शुक्रबार, अपराह्नको समय हो र घाम डुब्नै लागेको छ। सूर्यास्तपछि नीसान १५ को विश्रामदिन सुरु हुनेछ। येसुको मृत्यु भइसकेको छ तर उहाँको छेउमा टाँगिएका दुई जना डाँकुहरू भने अझै पनि जिउँदै छन्। व्यवस्थाअनुसार मृतकको शवलाई ‘रातभरि खम्बामा छोड्नु हुँदैन,’ बरु “त्यही दिन” गाड्नुपर्छ।—व्यवस्था २१:२२, २३.
साथै शुक्रबार दिउँसोलाई तयारीको दिन भनिन्छ किनकि यो दिन मानिसहरू खाना पकाउने र विश्रामदिन सुरु हुनुअघि नै गर्नुपर्ने अन्य कामहरू सिद्ध्याउँछन्। सूर्यास्तपछि दोहोरो विश्रामदिन अर्थात् “महाविश्रामदिन” सुरु हुनेछ। (युहन्ना १९:३१) नीसान १५ सात दिनसम्म मनाइने अखमिरा रोटीको चाडको पहिलो दिन हुनेछ अनि यसको पहिलो दिनलाई हप्ताको जुनसुकै दिनमा परे पनि विश्रामदिनकै रूपमा मनाइन्छ। (लेवी २३:५, ६) यसपटक भने नीसान १५ र साप्ताहिक विश्रामदिन एकै दिनमा परेको छ। यसरी दुवै विश्रामदिन एकै दिनमा परेकोले यो “महाविश्रामदिन” हुनेछ।
त्यसैले येसु र उहाँसँगै टाँगिएका दुई जना डाँकुहरूलाई चाँडै मार्न यहुदीहरू पिलातसलाई आग्रह गर्छन्। तर कसरी चाँडै मार्ने? खुट्टा भाँचेर। यसरी खुट्टा भाँचिदिँदा येसु र ती डाँकुहरूले लामो सास फेर्नको लागि आफ्नो शरीर तन्काउन सक्दैनन्। अनि सैनिकहरू आएर ती दुई जना डाँकुहरूको खुट्टा भाँच्छन्। तर येसु मरिसकेको जस्तो लागेर तिनीहरू उहाँको खुट्टा भने भाँच्दैनन्। यसरी भजन ३४:२० को भविष्यवाणी पूरा हुन्छ: “उहाँले उसका सबै हड्डीको रक्षा गर्नुहुन्छ; उसको एउटै हड्डी भाँचिएको छैन।”
येसु साँच्चै मरिसक्नुभएको हो कि होइन भन्ने कुरा पक्का गर्न एक जना सैनिकले उहाँको कोखामा भाला घोप्छ। भालाले उहाँको मुटुलाई छेड्छ अनि ‘उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्कन्छ।’ (युहन्ना १९:३४) यसरी “जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्” भनेर गरिएको अर्को भविष्यवाणी पूरा हुन्छ।—जकरिया १२:१०.
येसुलाई मृत्युदण्ड दिइँदा अरिमथियाका युसुफ नाम गरेका “एक जना धनी मानिस” पनि उपस्थित भएका छन्। (मत्ति २७:५७) तिनी यहुदी न्यायपरिषद्को एक जना प्रतिष्ठित सदस्य पनि हुन्। तिनलाई “परमेश्वरको राज्यको बाटो हेरिरहेका” “भलादमी अनि धर्मी मानिस” भनेर वर्णन गरिएको छ। वास्तवमा भन्ने हो भने “यहुदीहरूको डरले गर्दा गुप्तमा येसुका चेला बनेका” युसुफले येसुबारे न्यायपरिषद्ले गरेको निर्णयमा सहमति जनाएका थिएनन्। (लुका २३:५०; मर्कुस १५:४३; युहन्ना १९:३८) युसुफ साहस जुटाउँछन् र पिलातससित येसुको शव माग्छन्। त्यसपछि पिलातस त्यहाँ खटिएका सैनिक अफिसरलाई बोलाउँछन् र येसु मरिसक्नुभएको कुरा निश्चित गरेपछि उहाँको शव युसुफलाई दिन अनुमति दिन्छन्।
युसुफ उच्च कोटिको मलमलको कपडा किन्छन् र येसुको शवलाई खम्बाबाट तल झार्छन्। तिनी शवलाई चिहानमा राख्नको लागि मलमलको कपडाले बेर्छन्। निकोदेमस, “जो पहिलो चोटि उहाँलाई भेट्न रातको बेला आएका थिए,” उनी पनि यो तयारीमा सघाउँछन्। (युहन्ना १९:३९) उनी लगभग ३० किलो मर्र अनि अगरुको महँगो मिश्रण ल्याउँछन्। शव गाड्ने यहुदी चलनअनुसार येसुको शवलाई यी मसलाहरू दलेर मलमलको कपडाले बेरिन्छ।
युसुफ येसुको शवलाई चट्टान खोपेर बनाइएको एउटा नयाँ चिहानमा राख्छन्, जहाँ त्यसअघि कसैको शव राखिएको थिएन। अनि त्यस चिहानको मुख बन्द गर्न एउटा ठूलो ढुङ्गा गुडाइन्छ। यो काम विश्रामदिन सुरु हुनुअघि नै हतार-हतार गरिन्छ। येसुको शव तयारी गर्ने काममा मरियम मग्दलिनी र सानो याकुबकी आमा मरियमले पनि मदत गरेका हुन सक्छन्। अब तिनीहरू विश्रामदिनपछि उहाँको शवमा फेरि लगाउनको लागि चाहिने “सुगन्धित मसला र तेल तयार पार्न” हतार-हतार घर फर्कन्छन्।—लुका २३:५६.
भोलिपल्ट विश्रामदिनमा मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गएर यसो भन्छन्: “त्यस ठगाहाले आफू जिउँदो छँदा ‘म तीन दिनपछि ब्युँतनेछु’ भनेको हामीलाई याद छ। त्यसैले तेस्रो दिनसम्म त्यसको चिहानमा पहरा दिने हुकुम गर्नुहोस्। नत्र त त्यसका चेलाहरू गएर त्यसको लास चोरेर लैजालान् र ‘उहाँ मृत्युबाट ब्युँतनुभयो’ भनेर मानिसहरूलाई भन्लान्। त्यसो भयो भने त्यसको पछिल्लो ठगीले पुऱ्याउने नोक्सानी पहिलोको भन्दा चर्को हुनेछ।” पिलातस तिनीहरूलाई भन्छन्: “तिमीहरू सिपाहीहरू लिएर जाओ र त्यसको सुरक्षा गर्न तिमीहरू जे गर्न सक्छौ, सो गर।”—मत्ति २७:६३-६५.
आइतबार बिहान सबेरै मरियम मग्दलिनी, याकुबकी आमा मरियम र अरू स्त्रीहरू येसुको शवमा दल्न मसलाहरू लिएर चिहानमा जान्छन्। तिनीहरू आपसमा यसो भन्छन्: “हाम्रो निम्ति कसले चिहानको मुखको ढुङ्गा गुडाइदिने होला?” (मर्कुस १६:३) तर भूकम्प गएको रहेछ। यसबाहेक यहोवाको दूतले ढुङ्गा गुडाइसकेका रहेछन्। चिहानमा सुरक्षा दिनेहरू पनि गइसकेका रहेछन् र चिहान रित्तै छ!