सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२७

यहुदी न्यायपरिषद्‌ले पुर्पक्ष गर्छ, त्यसपछि पिलातसकहाँ पठाइन्छ

यहुदी न्यायपरिषद्‌ले पुर्पक्ष गर्छ, त्यसपछि पिलातसकहाँ पठाइन्छ

मत्ति २७:१-११ मर्कुस १५:१ लुका २२:६६–२३:३ युहन्‍ना १८:२८-३५

  • यहुदी न्यायपरिषद्‌सामु बिहान गरिएको पुर्पक्ष

  • यहुदा इस्करियोत रूखमा झुन्डिएर आत्महत्या गर्छन्‌

  • येसुलाई दोषी ठहराउन पिलातसकहाँ पठाइन्छ

पत्रुसले येसुलाई तेस्रो पटक तिरस्कार गर्दा रात बित्नै लागेको छ। यहुदी न्यायपरिषद्‌का सदस्यहरू तिनीहरूको नक्कली पुर्पक्ष सिद्ध्याएर आ-आफ्नो बाटो लागिसकेका छन्‌। शुक्रबार बिहान झिसमिसेमै तिनीहरू फेरि भेला हुन्छन्‌; राती गरिएको गैर-कानुनी पुर्पक्षलाई केही हदसम्म भए पनि कानुनी रूप दिन सायद तिनीहरू त्यसो गर्छन्‌। येसुलाई फेरि तिनीहरूको अगाडि उभ्याइन्छ।

तिनीहरू फेरि पनि येसुलाई यसो भन्छन्‌: “तँ ख्रिष्ट होस्‌ भने हामीलाई भन्‌।” येसु भन्‍नुहुन्छ: “मैले बताएँ भने पनि तपाईँहरूले पटक्कै पत्याउनुहुनेछैन। अनि मैले प्रश्‍न सोधेँ भने तपाईँहरूले त्यसको पटक्कै जवाफ दिनुहुनेछैन।” तर येसु साहसी हुँदै दानिएल ७:१३ मा भविष्यवाणी गरिएको आफ्नो चिनारी दिनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “अबउसो मानिसको छोरा परमेश्‍वरको शक्‍तिशाली दाहिने हाततर्फ बसिरहेको हुनेछ।”—लुका २२:६७-६९; मत्ति २६:६३.

तिनीहरू अझै भन्छन्‌: “त्यसोभए के तँ परमेश्‍वरको छोरा होस्‌?” येसु यस्तो जवाफ दिनुहुन्छ: “म हुँ भनेर तपाईँहरू आफै भन्दै हुनुहुन्छ।” येसुलाई ईश्‍वरनिन्दाको आरोपमा मृत्युदण्ड दिन यो प्रमाण नै काफी छ जस्तो देखिन्छ। तिनीहरू भन्छन्‌: “हामीलाई अरू साक्षी किन चाहियो र?” (लुका २२:७०, ७१; मर्कुस १४:६४) त्यसैले तिनीहरू येसुलाई बाँधेर रोमी राज्यपाल पन्तियस पिलातसकहाँ लैजान्छन्‌।

यहुदा इस्करियोतले येसुलाई पिलातसकहाँ लगिँदै गरेको देखेका हुन सक्छन्‌। येसुलाई दोषी ठहराइएको थाह पाएपछि तिनलाई केही हदसम्म पछुतो लाग्छ। तर साँचो पश्‍चात्ताप गरेर परमेश्‍वरतर्फ फर्कनुको साटो तिनी ३० टुक्रा चाँदी फिर्ता गर्न जान्छन्‌। यहुदा मुख्य पुजारीहरूलाई भन्छन्‌: “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेँ।” तर तिनीहरू तिनलाई यस्तो कठोर जवाफ दिन्छन्‌: “हामीलाई के मतलब? तिम्रो कुरा तिमी आफै जान!”—मत्ति २७:४.

यहुदा त्यो ३० टुक्रा चाँदी मन्दिरमा लगेर फ्याँक्छन्‌ अनि आत्महत्या गर्न खोजेर आफ्नो गल्तीमाथि गल्ती थप्छन्‌। तिनले रूखमा झुन्डिएर आत्महत्या गर्न लाग्दा सायद तिनले डोरी बाँधेको हाँगा भाँचिन्छ। तिनी भुईँमा खसेर चट्टानमा बजारिन्छन्‌ र तिनको भुँडी फुट्‌छ।—प्रेषित १:१७, १८.

यसै बिहान येसुलाई पन्तियस पिलातसको महलमा लगिन्छ तर उहाँलाई त्यहाँ लैजाने यहुदीहरू भने भित्र जान मान्दैनन्‌। उनीहरूको विचारमा यसरी अन्यजातिकहाँ जाँदा आफू अशुद्ध होइन्छ। अशुद्ध भएमा उनीहरू अखमिरा रोटीको चाडको पहिलो दिन, नीसान १५ मा भोजन गर्न अयोग्य हुन्छन्‌। अखमिरा रोटीको चाडलाई पनि निस्तार चाडकै भागको रूपमा लिइन्छ।

पिलातस बाहिर आएर सोध्छन्‌: “तिमीहरूले के आरोपमा यस मानिसलाई मकहाँ ल्यायौ?” उनीहरू जवाफ दिन्छन्‌: “यदि यस मानिसले केही गल्ती नगरेको भए हामी यसलाई तपाईँको हातमा सुम्पने नै थिएनौँ।” उनीहरूले दबाब दिन खोजेजस्तो पिलातसलाई लाग्छ। त्यसैले तिनी भन्छन्‌: “तिमीहरू आफै यसलाई लगेर आफ्नो व्यवस्थाबमोजिम न्याय गर।” यहुदीहरूको यस जवाफमा उनीहरू येसुलाई मार्न चाहन्छन्‌ भनेर देखिन्छ: “हामीसित कसैलाई मार्ने अधिकार छैन।”—युहन्‍ना १८:२९-३१.

वास्तवमा उनीहरूले निस्तार चाडको समयमा येसुको हत्या गरेमा आम जनतामा ठूलो खलबल मच्चिन सक्छ। तर येसुलाई रोमी सरकारविरुद्ध अपराध गरेको आरोपमा तिनीहरूकै हातबाट मृत्युदण्ड दिन सकिएमा ती यहुदीहरू मानिसहरूसामु जिम्मेवार हुनेछैनन्‌। अनि रोमीहरूसँग त्यस्तो अपराध गर्ने व्यक्‍तिलाई मृत्युदण्ड दिने अधिकार पनि छ।

यहुदी धर्मगुरुहरू येसुलाई ईश्‍वरनिन्दाको आरोपमा दोषी ठहराइएको हो भनेर पिलातसलाई बताउँदैनन्‌। बरु उनीहरू येसुलाई अरू नै आरोप लगाउँछन्‌: “यस मानिसले [१] हाम्रो जातिलाई भड्‌काइरहेको, [२] सिजरलाई कर तिर्न रोकिरहेको अनि [३] आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको हामीले फेला पाऱ्‍यौँ।”—लुका २३:२.

पिलातस रोमको प्रतिनिधि भएकोले तिनलाई येसुले आफू राजा हुँ भन्‍नुभयो भनी यहुदीहरूले लगाएको आरोपमा चासो छ। त्यसैले पिलातस महलभित्र जान्छन्‌ अनि येसुलाई बोलाएर सोध्छन्‌: “के तिमी यहुदीहरूका राजा हौ?” अर्को शब्दमा भन्‍ने हो भने ‘सिजर हुँदाहुँदै आफैलाई राजा घोषणा गरेर तिमीले यो साम्राज्यको कानुन त तोडिरहेका छैनौँ?’ येसु पिलातसले आफ्नो विषयमा कतिसम्म सुनेका रहेछन्‌ भनेर थाह पाउन तिनलाई यसरी सोध्नुहुन्छ: “तपाईँ आफैलाई त्यस्तो लागेर सोध्नुभएको हो वा अरूले मेरो विषयमा भनेको कुरा सुन्‍नुभएर?”—युहन्‍ना १८:३३, ३४.

पिलातस येसुबारे आफूलाई केही थाह नभएको तर तथ्य कुरा थाह पाउन चाहेको कुरा बताउँछन्‌। तिनी भन्छन्‌: “के म यहुदी हुँ र?” तिनी यसो पनि भन्छन्‌: “तिम्रो आफ्नै जाति अनि मुख्य पुजारीहरूले तिमीलाई मेरो हातमा सुम्पेका हुन्‌। भन, तिमीले के गऱ्‍यौ?”—युहन्‍ना १८:३५.

येसु विवादको मुख्य विषय—राज्यशासनलाई पन्छ्याउन खोज्नुहुन्‍न। उहाँले दिनुभएको जवाफ सुनेर राज्यपाल पिलातस पक्कै पनि छक्क पर्छन्‌।