साथीहरूले दबाब दिंदा के गर्ने?
अध्याय ९
साथीहरूले दबाब दिंदा के गर्ने?
करेन १४ वर्षकी हुँदा लागू पदार्थ सेवन गर्न थालिसकेकी थिइन् र अटुट रूपले यौनसम्बन्ध पनि राख्थिन्। जिम १७ वर्षको हुँदा त रक्सीबाज भइसकेका थिए र अनैतिक जीवन बिताउँथे। आफूले बिताइरहेको जीवन र गरिरहेको काम मन परेको चाहिं होइन भनी ती दुवै भन्थे। उसोभए मन नपरी नपरी पनि किन त्यसो गरेका त? साथीहरूको दबाब!
करेन भन्छिन्, “मेरा साथीहरू सबैले त्यसै गर्थे र त्यसले मलाई निकै असर गऱ्यो।” यो कुरामा सहमति जनाउँदै जिमले यसो भने, “अरूभन्दा बेग्लै भएर म आफ्ना साथीहरू गुमाउन चाहन्नथें।”
किन किशोरकिशोरीहरू साथीहरूले जे गऱ्यो त्यसै गर्छन्
कुनै कुनै केटाकेटीहरू हुर्कंदै गएपछि आफ्ना आमाबाबुको कुरा टेर्न छाड्छन्। तिनीहरू लोकप्रिय हुन चाहन्छन् र साथीभाइहरूले स्वीकारोस् भन्ने इच्छा झन् झन् बढ्दै जान्छ। अरू कतिपय भने आफ्नो कुरा “बुझिदिने” व्यक्तिसित कुरा गर्न चाहन्छन् वा कसैले माया गरेको, आफ्नो आवश्यकता महसुस गरेको चाहन्छन्। घरमा त्यस्तो वातावरण छैन भने तिनीहरू आफ्ना साथीभाइको आडभरोसा खोज्छन्। प्रायजसो त्यसै हुने गर्छ। साथै, आत्मविश्वासको कमी र असुरक्षाको भावनाले गर्दा साथीहरूले गरेजसो गर्न धेरै बेर लाग्दैन।
साथीहरूको दबाबले सधैं बेफाइदै गर्छ भन्ने छैन। एउटा हितोपदेश यसो भन्छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई उध्याउँछ।” (हितोपदेश २७:१७) धारिलो चक्कूले बोधो चक्कूलाई उध्याएझैं अरू युवाहरूसितको संगतले तपाईंको व्यक्तित्व ‘उध्याउँछ’ र तपाईं अझ राम्रो व्यक्ति बन्न सक्नुहुन्छ। तर कुरा यति हो, ती युवाहरूको परिपक्व तथा लाभदायी मनोवृत्ति हुनुपर्छ।
मत्ती १५:१४ तुलना गर्नुहोस्।) त्यसपछि परिणाम भयानक हुनसक्छ।
तर, प्रायजसो जवानहरू मानसिक तथा आध्यात्मिक कुरामा असाध्यै अपरिपक्व हुन्छन्। धेरैजसो जवानहरूका धारणा तथा दृष्टिकोणहरू हानिकारक, अपत्यारिलो र वाहियातसमेत हुन्छन्। सोच्दै नसोची अरूको लहैलहैमा लाग्न थाल्यो भने अन्धोले अन्धोलाई डोऱ्याएको जस्तै मात्र हुनेछ। (तपाईंका साथीहरूले तपाईंलाई जथाभावी गर्न नउस्काए तापनि तिनीहरूको दबाब असह्य लाग्नसक्छ। डेबी भन्छिन्, “अरूले नरुचाउलान् भनेर कस्तो पीर हुन्छ, भनेर साध्यै छैन। म १८ वर्षकी हुँदा अरूले मन नपराउलान् भनेर असाध्यै डर लाग्थ्यो किनभने त्यसो भयो भने जमघटहरूमा मलाई कसैले बोलाउनेथिएन। एक्लो हुँला भनेर मलाई असाध्यै पीर लाग्थ्यो।” साथीहरूले आफूलाई मन पराओस् भनेर डेबीले के मात्र गरिनन्।
के म साथीहरूको लहैलहैमा लाग्दैछु?
अरूसित घुलमिल हुन के तपाईंको लवाइ, सोचाइ र गराइ तिनीहरूको जस्तै हुन थालेको छ? सत्र वर्षीया सुजी यसो भन्छिन्, “साथीले तपाईंको इच्छा विपरीत तपाईंलाई जबरजस्ती गराउन सक्दैन।” हो, तर चालै नपाउने गरी साथीहरूले तपाईंमाथि प्रभाव जमाइरहेका हुनसक्छन् र आफू कत्तिको बहकिएछु भनेर थाह पनि नहुनसक्छ। उदाहरणका लागि, प्रेरित पत्रुसलाई लिनुहोस्। तिनी दृढ आत्मबल भएका मानिस अनि मसीही धर्मको खाँबो थिए। सबै राष्ट्र तथा जातिका मानिसहरूले परमेश्वरको अनुग्रह पाउनसक्छन् भनी परमेश्वरले पत्रुसलाई प्रकट गर्नुभएको थियो। यसैअनुरूप गैरयहूदीमध्येबाट मसीही हुने प्रथम व्यक्तिहरूलाई मदत गर्ने पत्रुस नै थिए।—प्रेरित १०:२८.
तथापि, केही समय बितिसकेपछि पत्रुस एन्टिओकमा थिए र त्यो
शहरका थुप्रै गैरयहूदीहरू मसीही भए। मसीही धर्म स्वीकार्ने यी अन्यजातिहरूसित पत्रुसले पटक्कै धक नमानी हेलमेल गरे। तर एक दिन, गैरयहूदीहरूप्रति पूर्वाग्रह राख्ने केही यहूदी मसीहीहरू एन्टिओक आए। आफ्ना यहूदी दौंतरीहरू त्यहाँ हुँदा पत्रुसले कस्तो व्यवहार गरे?पत्रुस ती गैरयहूदी मसीहीहरूबाट अलग भए, तिनीहरूसित खानसमेत इन्कार गरे! किन? आफ्ना साथीहरूले मन नपराउलान् भन्ने डरले होला। तिनले मनमनै यसो भने होलान्, ‘अहिले तिनीहरूसित नमिलेजस्तो गरुँला र ती साथीहरू गएपछि गैरयहूदीहरूसितै बसेर खाउँला नि, के भो र। यस्तो सानोतिनो कुरामा पनि किन आफ्नो सम्बन्ध टुटाउने?’ यहाँ पत्रुसले आफूलाई गर्नै मन नलागेको कुरा गरेर आफ्नै सिद्धान्तहरूलाई लत्याउँदै ढोंग गरिरहेका थिए। (गलाती २:११-१४) त्यसकारण, स्पष्ट छ कि साथीहरूको दबाबबाट कोही पनि मुक्त छैनन्।
म त्यो ठाउँमा भएको भए के गर्नेथिएँ?
‘अरूले के भन्ला भनेर मलाई पटक्कै डर छैन!’ भन्न त सजिलो छ तर साथीहरूको दबाब आइपर्दा त्यसो गर्नु भने त्यति सजिलो छैन। उदाहरणका लागि, तल दिइएका परिस्थितिहरूमा तपाईं के गर्नुहुनेछ?
एक जना सहपाठीले तपाईंलाई अरू साथीहरूको अगाडि चुरोट दियो। तपाईंलाई थाह छ, चुरोट खानु गलत हो। तर तपाईंले के गर्नुहुनेछ भनी हेर्न सबै जना तपाईंलाई एक टक लाएर हेरिरहेका छन् . . .
स्कूलका केटीहरू आफ्ना प्रेमीसित यौनसम्बन्ध राख्नेबारे कुरा गरिरहेका छन्। एउटी तपाईंलाई यसो भन्छिन्: “तिमी अहिलेसम्म कुमारी नै छ्यौ कि कसो, होइन होला।”
तपाईं पनि अरू केटीहरूजस्तै लुगा लगाउन चाहनुहुन्छ तर आमा भन्नुहुन्छ, हुन्न त्यो असाध्यै छोटो छ। तपाईंको विचारमा आमाले भन्नुभएको लुगा लगाउँदा सानी बच्ची जस्तो देखिन्छ। तपाईंका साथीहरूले उल्लीबिल्ली गर्छन्। एउटीले भन्छिन्, “खाजा खाने पैसा जम्मा गरेर हाम्रोजस्तै लुगा किने भइहाल्यो नि। तिम्रो आमालाई भनिरहनु नै पर्दैन नि। त्यो लुगा कुनै साथीलाई राख्न दिए पनि भो।”
के यी सजिलै उम्कनसक्ने परिस्थितिहरू हुन्? होइनन् तर साथीहरूलाई नाइँ भन्न डराउनुहुन्छ भने तपाईंले आफू, आफ्ना स्तरहरू तथा
आफ्ना आमाबाबुलाई इन्कार गरिरहनुभएको हुनेछ। साथीहरूको दबाबलाई इन्कार गर्ने साहस तपाईं कसरी पाउन सक्नुहुन्छ?“विवेक”
साथीहरू सबैले चुरोट खान थालेको हुँदा १५ वर्षीया रबिनले पनि चुरोट खान थालिन् तर आफूलाई मन परेर चाहिं होइन। तिनी पछि यसो भन्छिन्: “मैले सोच्न थालें, ‘मलाई चुरोट खान मन परेको त होइन नि। तैपनि किन खान्छु?’ त्यसकारण अब मैले खान छाडें।” आफू के गर्दैछु भनी विचार गर्दा तिनले साथीहरूको लहैलहैमा नलाग्ने बल पाइन्!
त्यसैकारण, बाइबलले जवानहरूलाई “ज्ञान र विवेकले परिपूर्ण” हुँदै जाने आग्रह गर्छ। (हितोपदेश १:१-५) विवेकी व्यक्ति डोऱ्याइको लागि अपरिपक्व साथीहरूमा भर पर्नु पर्दैन। त्यसो भन्दैमा त्यस्तो व्यक्ति अभिमानी र अरूको कुरा सुन्दै नसुन्ने पनि हुँदैन। (हितोपदेश १४:१६) “बुद्धिमान” हुन तिनी ‘सल्लाह सुन्न र अर्ती ग्रहण गर्न’ इच्छुक हुन्छन्।—हितोपदेश १९:२०.
तर तपाईंले सोचविचार गरेर मात्र काम गर्नुहुँदा अरूले मन पराएन वा गिज्यायो भने छक्क नपर्नुहोस्। हितोपदेश १४:१७ यसो भन्छ, “अधीर-झोंकीले मूर्ख काम गर्छ।” तर वास्तवमा, आत्मबल भएको मानिस को हो, आफ्ना भावनाहरूमा बहकिएर आवेशमा जे पायो त्यो गर्ने वा अनुचित इच्छाहरूलाई इन्कार गर्ने? (हितोपदेश १६:३२ तुलना गर्नुहोस्।) तपाईंलाई गिज्याउनेहरूको हालत कस्तो छ? के तपाईं पनि त्यस्तै हालतमा पुग्न चाहनु हुन्छ? डाहले गर्दा तिनीहरूले यसरी गिज्याएर आफ्नो डरलाई ढाकछोप गर्न खोजिरहेका हुन् कि?
पासोबाट उम्किने
हितोपदेश २९:२५ यसो भन्छ, “मानिसको डर त्यसको निम्ति पासो हो।” बाइबलको समयमा लापरवाह जनावरलाई पासोमा पार्ने गरिन्थ्यो। अहिले वर्तमान समयमा साथीहरूले मन पराओस् भन्ने इच्छा पनि त्यस्तै एउटा बल्छीसरह हुनसक्छ। यसले तपाईंलाई ईश्वरीय स्तर भंग गर्ने पासोमा लोभ्याउनसक्छ। त्यसोभए कसरी तपाईं मानिसको डरको पासोबाट उम्कन वा जोगिन सक्नुहुन्छ?
सर्वप्रथम त, आफ्ना साथीहरू छान्दा होशियार हुनुहोस्! (हितोपदेश १३:२०) मसीही मान्यता तथा स्तरअनुरूप चल्ने व्यक्तिहरूसित संगत गर्नुहोस्। हो, यसो गर्दा तपाईंका साथीहरू थोरै हुनेछन्। एउटी किशोरीले यसो भनिन्: “लागू पदार्थ वा यौनसम्बन्धबारे कुरा गर्ने स्कूलका साथीहरूसित मेरो ठ्याकै मिल्दैनथियो। त्यसकारण तिनीहरूले मलाई वास्ता गर्न छाडे। यसो गर्दा तिनीहरूको पछि लाग्नुपर्ने दबाबबाट त मुक्त भएँ तर अलि एक्लो महसुस गरें।” साथीहरूको दबाबले आध्यात्मिक तथा नैतिक पतन भोग्नुभन्दा त अलिकता एक्लोपन सहनु नै बेस। त्यो शून्यतालाई आफ्नो परिवार तथा मसीही मण्डलीको सरसंगतिले पूरा गर्नसक्छ।
आमाबाबुको कुरा सुनेर पनि साथीहरूको दबाबलाई प्रतिरोध गर्न सकिन्छ। (हितोपदेश २३:२२) शायद तपाईंलाई सही मूल्य तथा मान्यताहरू सिकाउन उहाँहरूले कडा परिश्रम गरिरहनुभएको होला। एउटी युवतीले यसो भनिन्: “मेरा आमाबाबुहरूले असाध्यै कडिकडाउ गर्नुहुन्थ्यो। कहिलेकाहीं त साह्रै रीस उठ्थ्यो तर त्यसरी कडा भएर मेरो सरसंगति नियन्त्रण गर्नुभएकोमा म खुशी छु।” आमाबाबुबाट त्यस्तो मदत पाएकी हुँदा तिनले लागू पदार्थ सेवन गर्न वा यौनसम्बन्ध राख्न साथीहरूले दबाब दिंदा नाइँ भन्न सकिन्।
किशोरकिशोरीहरूका सल्लाहकार बेथ विन्शीपले यस्तो अवलोकन गरिन्: “किशोरकिशोरीहरूसित कुनै खुबी छ भने तिनीहरू आफ्नो गर्व गर्छन्। अरूको अगाडि हिरो देखिन साथीहरूको आड लिनुपर्दैन।” त्यसो हो २ तिमोथी २:१५.
भने स्कूल वा घरको कामकुरामा खप्पिस वा पोख्त हुन खोजे कसो होला? विशेषगरि यहोवाका जवान साक्षीहरू मसीही सेवकाईमा “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” हुन प्रयत्न गर्छन्।—मानिसहरूसित डराउने “पासो” विरुद्ध चेताउनी दिइसकेपछि हितोपदेश २९:२५ अझ यसो भन्छ: “परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।” साथीहरूको दबाब प्रतिरोध गर्न सबैभन्दा मदतकारी कुरा त, परमेश्वरसित तपाईंको सम्बन्ध हो। उदाहरणका लागि, डेबी (सुरुमा उल्लिखित) अरूको लहैलहैमा लाग्थिन्, अचाक्ली रक्सी पिउँथिन् र लागू पदार्थ सेवन गर्थिन्। तर पछि तिनले साँच्चै मन लगाएर बाइबल अध्ययन गर्न र यहोवामा भरोसा राख्न थालिन्। परिणाम के भयो? डेबीले भनिन्, “अरू केटाकेटीहरूको लहैलहैमा नलाग्ने अठोट गरें।” तिनले आफ्ना पहिलेका साथीहरूलाई यसो भनिन्: “तिमीहरू आफ्नो बाटो लाग, म आफ्नै बाटो लाग्नेछु। मेरो साथी हुन चाहन्छौ भने तिमीहरूले मेरा स्तरहरूको कदर गर्नुपर्छ। तिमीहरू जेसुकै भन, मलाई मतलब छैन। म त अब आफ्नो बाटो लागें।” डेबीका सबै साथीहरूले तिनको नयाँ विश्वासलाई कदर गरेनन्। तर डेबी भन्छिन्, “यस्तो निर्णय गरेपछि मेरो आत्मसम्मान भने पक्कै बढ्यो।”
साथीहरूको दबाबको पासोबाट उम्कनुभयो भने तपाईंको पनि ‘आत्मसम्मान बढ्नेछ’ र अनेकन् दुःखकष्टबाट जोगिनुहुनेछ!
छलफलका लागि प्रश्नहरू
◻ युवाहरू किन साथीहरूबाट सजिलै प्रभावित हुन्छन्? के यसले सधैं बेफाइदै गर्छ?
◻ साथीहरूको दबाबको सन्दर्भमा प्रेरित पत्रुसको अनुभवले के सिकाउँछ?
◻ नाइँ भन्न तपाईंले साहस बटुल्नुपर्ने केही परिस्थितिहरू (कुनै कुनै व्यक्तिगत उदाहरण पनि बताउन सक्नुहुन्छ) कस्ता हुनसक्छन्?
◻ हेरूँ तिम्रो कत्तिको आँट छ भनेर फूर्ति लगायो भने कुन कुन कुरालाई बिर्सनु हुँदैन?
◻ मानिसको डरको पासोबाट उम्कन मदत गर्नसक्ने केही कुराहरू के हुन्?
[पृष्ठ ७४-मा भएको ठूलो अक्षरको क्याप्सन]
डेबी भन्छिन्, “अरूले नरुचाउलान् भनेर कस्तो पीर हुन्छ, भनेर साध्यै छैन। . . . अरूले मन नपराउलान् भनेर असाध्यै डर लाग्थ्यो . . . एक्लो हुँला भनेर असाध्यै पीर लाग्थ्यो”
[पृष्ठ ७५-मा भएको पेटी]
‘आँट छ भने हेरूँ त!’
लिसाका सहपाठीहरूले भनिरहे, “मिसको सास ठुस्स गनाउँछ!” भन्ने कत्तिको आँट रहेछ हेरूँ त। भनौं भने, शिक्षिकाको सास गनाएको पनि थिएन होला। लिसालाई उसका साथीहरूले बिनसित्ति उस्काइरहेका थिए र त्यो पनि असाध्यै खतरनाक कुरा गर्न। हो, केही युवाहरू अरूलाई सानातिना ख्यालठट्टादेखि लिएर आत्मघातीसमेत हुनसक्ने चुनौतीपूर्ण कार्यहरू गर्न लगाएर क्रूर आनन्द लिन खोज्छन्।
मूर्ख, निष्ठूर वा खतरनाक कार्य गर्न कसैले तपाईंलाई उस्काउँदा आँखा चिम्लेर त्यसको पछि नलाग्नुहोस्। एक बुद्धिमान् मानिसले यसो भने: “जसरी मरेका झिंगाहरूले अत्तर बनाउनेको सुगन्धित अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छ, त्यसरीनै थोरै मूर्खताले बुद्धिलाई बेकामको तुल्याइदिन्छ।” (उपदेशक १०:१) पुरातन समयमा अनमोल मलहम वा अत्तरलाई मरेको झिंगाजस्तो तुच्छ कुराले बिगार्नसक्थ्यो। त्यसरी नै, कडा मेहनत गरेर बल्लतल्ल कमाएको राम्रो नाउँलाई “थोरै मूर्खताले” रद्दी बनाउनसक्छ।
केटाकेटीहरूको उट्पट्याङले गर्दा प्रायजसो जाँचमा कम नम्बर आउने, स्कूलबाट निकालिने र कहिलेकाहीं त गिरफ्तारसमेत हुन्छन्! तर आफू फन्दामा परिंदैनजस्तो लाग्छ भने नि? आफैलाई सोध्नुहोस्, तिनीहरू मलाई जे गर्न उस्काइरहेका छन्, के त्यो व्यवहारिक छ? के त्यो मायालु कुरा हो? के यसले बाइबल वा मेरा आमाबाबुले सिकाउनुभएका स्तरहरू उल्लंघन गर्छ? यदि गर्छ भने के म खालि ख्यालठट्टा गर्ने केटाहरूको कठपुतली हुन चाहन्छु? मेरो जीवन र नाउँ खतरामा पार्न मलाई उस्काउने युवाहरू के मेरा साँचो मित्रहरू होलान् त?—हितोपदेश १८:२४.
त्यसो हो भने, तपाईंलाई सुऱ्याउन खोज्ने युवाहरूसित तर्क गर्न खोज्नुहोस्। अठाह्र वर्षीय टेरी यो प्रश्न सोधेर “सेख झार्न” मन पराउँछन्, ‘म किन गरूँ? गरें नै भने पनि के फाइदा?’ साथै, तपाईंका आफ्नै स्तरहरू छन् भनी थाह दिनुहोस्। एउटी केटीले एक जना केटोलाई अनैतिकतामा फसाउन खोज्दै यसो भनिन्, “तिमीले के गुमाइरहेका छौ, तिमीलाई के थाह।” केटोले जवाफ दिए, “भो, मलाई थाह छ। गनोरिया, भिरिंगीजस्ता यौनजन्य रोगहरू . . . ”
हो, साथीहरूको अगाडि नाइँ भन्ने आँट छ भने पछि गएर पछुताउनुपर्ने कार्यहरू गर्नु पर्नेछैन!
[पृष्ठ ७६-मा भएको चित्र]
युवाहरू सहाराको लागि प्रायजसो एकअर्काको आड लिने गर्छन्
[पृष्ठ ७७-मा भएको चित्र]
गलत कार्य गर्न के तपाईंलाई साथीहरूले कहिल्यै दबाब दिएका छन्?
[पृष्ठ ७८-मा भएको चित्र]
साथीहरूले दबाब दिंदा उनीहरूको लहैलहैमा नलाग्न साहसी हुनुहोस्!