अध्याय २१
के हामीले कुनै कुरामा घमन्ड गर्नु हुन्छ?
घमण्ड गर्नु अर्थात् धाक लाउनु भनेको के हो, तिमीलाई थाह छ?— एउटा उदाहरण विचार गर। आफूलाई राम्रोसँग नआउने कुनै कुरा तिमीले कहिल्यै गर्ने प्रयास गरेका छौ? तिमीले फुटबल खेल्न प्रयास गरेका छौ होला। अथवा डोरी खेल्न। कसैले ‘ह्या, कस्तो खेल्नै नआएको! तिमीलाई भन्दा त मलाई नै राम्ररी खेल्न आउँछ’ भनेको थियो कि?— त्यसो भनेको थियो भने उसले धाक लाएको हो।
अरूले त्यसरी धाक लाउँदा तिमीलाई कस्तो लाग्छ? तिमीलाई मनपर्छ र?— त्यसोभए तिमीले आफूबारे धाक लाउँदाचाहिं अरूलाई कस्तो लाग्छ होला?— अरूलाई “म तिमीभन्दा राम्रो छु” भन्नु ठीक हो र?— त्यस्ता मानिसहरूलाई के यहोवा मन पराउनुहुन्छ?—
अरूभन्दा आफू राम्रो छु भन्ठान्ने केही मानिसलाई महान् शिक्षक चिन्नुहुन्थ्यो। तिनीहरू आफूबारे धाक लाउँथे वा फुइँ देखाउँथे र अरू सबैलाई हेप्थे। त्यसैले आफूबारे धाक लाउनु कत्तिको गलत हो भनेर बुझाउन येशूले एक चोटि तिनीहरूलाई एउटा कथा भन्नुभयो। हामी त्यो कथा सुनौं है!
त्यो कथा एक जना फरिसी र कर उठाउने मानिसको हो। फरिसीहरू भनेका धर्मगुरुहरू हुन्, तिनीहरूले प्रायजसो आफू अरूभन्दा धर्मी वा पवित्र छु जस्तो व्यवहार गर्थे। येशूले बताएको कथामा एक जना फरिसी यरूशलेममा परमेश्वरको मन्दिरमा प्रार्थना गर्न गएको थियो।
कर उठाउने मानिस पनि मन्दिरमा प्रार्थना गर्न गयो भनी येशूले भन्नुभयो। धेरैजसोलाई कर उठाउने मानिसहरू मन पर्दैनथ्यो। ती कर उठाउनेहरूले ठग्ने प्रयास गरिरहेका छन् जस्तो मानिसहरूलाई लाग्थ्यो। अनि हुन पनि हो, कर उठाउने धेरै जना इमानदार थिएनन्।
मन्दिर पुगेपछि फरिसीले परमेश्वरलाई यसरी प्रार्थना गर्न थाल्यो: ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसहरूजस्तो पापी छैन। म अरूलाई ठग्दिनँ वा खराब काम गर्दिनँ। म यो कर उठाउने मानिसजस्तो पनि छैन। म एक धर्मी मानिस हुँ। तपाईंबारे सोच्न सकूँ भनेर म हप्ताको दुई दिन केही नखाई बस्छु। अनि आफ्नो सबै कमाइको दशौं भाग म मन्दिरलाई दिन्छु।’ फरिसीलाई आफू अरूभन्दा साँच्चिकै राम्रो छु जस्तो लाग्थ्यो, होइन र?— अनि उसले परमेश्वरसित पनि यही कुरा गऱ्यो।
तर कर उठाउने मानिस त्यस्ता थिएनन्। तिनले प्रार्थना गर्दा आफ्नो नजरसमेत स्वर्गतिर उचाल्ने आँट गरेनन्। आफ्नो शिर निहुराएर तिनी टाढै उभिरहे। तिनले आफ्नो छाती पिटीपिटी आफ्नो पापको कारण आफूलाई असाध्यै पछुतो लागेको कुरा बताए। आफू कत्तिको राम्रो छु भनेर तिनले परमेश्वरलाई बताउन खोजेनन्। बरु तिनले यसरी प्रार्थना गरे: ‘हे परमेश्वर, म पापीमाथि कृपा गर्नुहोस्।’
यी दुई जनामध्ये परमेश्वर कोसित खुसी हुनुभयो होला? आफू धेरै राम्रो छु भन्ठान्ने त्यो फरिसीसित? अथवा आफ्नो पापको कारण पछुताउने ती कर उठाउने मानिससित?—
ती कर उठाउने मानिससित परमेश्वर खुसी हुनुभयो भनी येशूले बताउनुभयो। किन? येशूले भन्नुभयो: ‘किनभने जसले आफूलाई अरूभन्दा राम्रो देखाउन खोज्छ, ऊ खसालिनेछ। तर जो आफ्नो नजरमा तुच्छ छ, ऊ उचालिनेछ।’—लूका १८:९-१४.
यो कथाबाट येशू के पाठ सिकाउँदै हुनुहुन्थ्यो?— अरूभन्दा
आफू राम्रो छु भन्ठान्नु गलत हो भनी उहाँ सिकाउँदै हुनुहुन्थ्यो। ‘म अरूभन्दा राम्रो छु’ भनेर हामी भन्दैनौं होला तर आफ्नो व्यवहारबाट भने देखाइरहेका हुन सक्छौं। के तिमीले कहिल्यै त्यस्तो व्यवहार गरेका छौ?— अब प्रेषित पत्रुसको उदाहरण विचार गरौं।आफू पक्राउ पर्दा सबै प्रेषितले उहाँलाई छोडी भाग्नेछन् भनी येशूले बताउनुहुँदा पत्रुसले यस्तो धाक लाए: ‘अरूले तपाईंलाई छोडेर भागे तापनि म तपाईंलाई कहिल्यै छोड्नेछैनँ!’ तर पत्रुस गलत थिए। तिनले आफूमा बढ्तै विश्वास गरे। तिनी येशूलाई छोडी भागे। तर तिनी फेरि फर्के र यसबारे हामी अध्याय ३० मा सिक्नेछौं।—मत्ती २६:३१-३३.
अब हाम्रो समयको एउटा उदाहरण विचार गरौं। कक्षामा तिमी र तिम्रो साथीलाई केही प्रश्न सोधियो रे! तिमीले तुरुन्तै जवाफ दिन सक्यौ तर अर्को विद्यार्थीले चाहिं सकेन भने नि? हुन त हो, तिमीलाई जवाफ थाह भएकोले खुसी लाग्छ। तर छिट्टै जवाफ दिन नसक्नेसित आफूलाई तुलना गर्नु के दयालु कुरा होला र?— अरूलाई होच्याएर आफूलाई राम्रो देखाउन खोज्नु ठीक हो र?—
फरिसीले ठीक त्यस्तै गऱ्यो। आफू कर उठाउनेभन्दा राम्रो छु भन्दै उसले धाक लायो। तर त्यो फरिसी गलत थियो भनी महान् शिक्षकले भन्नुभयो। यो कुरा साँचो हो, कोही मानिस कुनै-कुनै काममा अरूभन्दा राम्रो हुन सक्छ। तर त्यसको अर्थ त्यो मानिस नै अरूभन्दा राम्रो हो भन्ने होइन।
त्यसैले तिमीलाई अरूलाई भन्दा धेरै थाह छ भन्दैमा धाक लाउनुपर्छ र?— यसो सोच त! के हामी आफैले दिमाग बनाएका हौं?— होइन नि, हामी सबैलाई दिमाग परमेश्वरले दिनुभएको हो। अनि हामीलाई अहिले थाह भएको धेरैजसो कुरा हामीले अरूबाट सिकेका हौं। हुनसक्छ, हामीले ती कुराहरू कुनै किताबमा पढेर थाह लगायौं। अथवा अरू कसैले हामीलाई ती कुराहरू बतायो। हामीले कुनै कुरा आफै पत्ता लगाए तापनि ती कुरा हामीले कसरी पत्ता लगायौं?— हो, परमेश्वरले दिएको दिमाग प्रयोग गरेर।
कसैले मेहनतसाथ काम गर्दा हामीले उसलाई प्रोत्साहनदायी शब्दहरू भन्नु दयालु कार्य हुनेछ। तिमीलाई उसले गरेको काम मनपऱ्यो भन। तिमी उसलाई त्यो काम अझ राम्ररी गर्न मदतसमेत गर्न सक्छौ होला। अरूले पनि तिमीलाई त्यसै गरेको चाहन्छौ नि, होइन त?—
कोही-कोही मानिस अरूभन्दा बलिया हुन्छन्। तिमी आफ्नो दाजुभाइ वा दिदीबहिनीभन्दा बलियो छौ भने नि? के त्यो धाक लाउने कारण हो?— होइन नि! हामीले खाएको खानेकुराले पो हामीलाई बलियो हुन मदत गरेको हो! अनि खानेकुरा दिने बोटबिरुवाको लागि चाहिने घामपानी र अन्य सबै कुरा परमेश्वरले दिनुहुन्छ नि, होइन र?— त्यसैले बलियो छौं भने हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ!—प्रेषित १४:१६, १७.
हामी कसैलाई पनि अरूले धाक लाएको सुन्न मन पर्दैन नि, पर्छ र?— येशूका यी शब्द नबिर्सौं: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” त्यसो गर्छौं भने महान् शिक्षकले बताएको कथामा आफूबारे धाक लाउने फरिसीजस्तो हामी कहिल्यै हुनेछैनौं।—लूका ६:३१.
मर्कूस १०:१८) महान् शिक्षक कुनै गल्ती नगर्ने मानिस हुनुभए तापनि उहाँले धाक लाउनुभएन। बरु उहाँले आफ्नो बुबा यहोवाको प्रशंसा गर्नुभयो।
एकचोटिको कुरा हो, येशूलाई एक जना मानिसले असल गुरु भनेर बोलायो। के महान् शिक्षकले ‘हो, म असल छु’ भन्नुभयो र?— अहँ, उहाँले त्यसो भन्नुभएन। बरु उहाँले यसो भन्नुभयो: “असल त परमेश्वरबाहेक अरू कोही छैन।” (त्यसोभए के हामीले कसैको बारेमा घमन्ड गर्न अर्थात् धाक लाउन सक्छौं र?— हो, सक्छौं। हामी हाम्रा सृष्टिकर्ता यहोवा परमेश्वरबारे घमन्ड गर्न सक्छौं। सुन्दर सूर्यास्त वा सृष्टिको कुनै राम्रो कुरा देख्दा हामी अरूलाई यसो भन्न सक्छौं: ‘हाम्रा सर्वश्रेष्ठ परमेश्वर यहोवाले यो बनाउनुभएको हो!’ यहोवाले गरिसक्नुभएका र पछि गर्नुहुने महान् कार्यहरूबारे अरूलाई बताउन हामी सधैं तयार होऔं।
धाक लाउनु वा घमन्ड गर्नुबारे निम्न पदहरूले के भन्छ, पढौं अनि आफूबारे धाक नलाउन हामी के गर्न सक्छौं, सिकौं: हितोपदेश १६:५, १८; यर्मिया ९:२३, २४; १ कोरिन्थी ४:७ अनि १३:४