सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ९

हामी लोभमा फस्नु हुँदैन

हामी लोभमा फस्नु हुँदैन

के तिमीलाई कहिल्यै कसैले गलत काम गर्न भनेको छ?— उसले तिमीलाई ‘यो काम गर्ने आँट छ कि छैन, हेरौं त’ भनेको थियो कि?— अथवा तिमीलाई त्यो काम गर्दा एकदमै रमाइलो हुन्छ अनि त्यसो गर्दैमा केही पनि बिग्रिंदैन भनेको थियो कि?— यदि कसैले हामीलाई त्यसो भन्छ भने उसले हामीलाई गलत काम गर्न उक्साउन अर्थात्‌ लोभ्याउन खोजिरहेको हो।

कसैले लोभ्याउन खोज्दा हामीले के गर्नुपर्छ? तिनीहरूले भने-भनेझैं गरेर के हामीले गलत काम गर्नु हुन्छ?— यसो गऱ्‍यौं भने यहोवा परमेश्‍वर खुसी हुनुहुनेछैन। तर को खुसी हुनेछ, थाह छ?— हो, सैतान अर्थात्‌ दियाबल खुसी हुनेछ।

सैतान परमेश्‍वरको शत्रु हो र हाम्रो पनि। हामी त्यसलाई देख्न सक्दैनौं किनभने त्यो अदृश्‍य व्यक्‍ति हो। तर त्यसले भने हामीलाई देख्न सक्छ। एक दिनको कुरा हो, दियाबलले महान्‌ शिक्षक येशूसित कुराकानी गऱ्‍यो र उहाँलाई लोभ्याउन खोज्यो। त्यतिबेला येशूले के गर्नुभयो, पत्ता लगाऔं है! त्यसपछि, अरूले लोभ्याउन खोज्दा हामीले के गर्नुपर्छ, थाह पाउनेछौं।

बप्तिस्मा गरिसकेपछि येशूले कुन कुरा सम्झन थाल्नुभएको हुन सक्छ?

येशू सधैं परमेश्‍वरको इच्छाअनुसार गर्न चाहनुहुन्थ्यो। यर्दन नदीमा बप्तिस्मा गरेर उहाँले परमेश्‍वरले भन्‍नुभएअनुसार गर्न चाहेको कुरा स्पष्टै देखाउनुभयो। येशूले बप्तिस्मा गर्नेबित्तिकै सैतानले उहाँलाई लोभ्याउन खोज्यो। येशूको निम्ति “आकाश खुल्यो” भनी बाइबल बताउँछ। (मत्ती ३:१६) यसको मतलब उहाँले आफू स्वर्गमा परमेश्‍वरसित छँदा बिताएका सबै क्षणहरू सम्झन थाल्नुभएको हुन सक्छ।

बप्तिस्मा गरिसकेपछि उजाडस्थान अर्थात्‌ केही उब्जनी नहुने सुक्खा ठाउँमा गएर येशूले पहिले-पहिलेका कुराहरू सोच्न थाल्नुभयो। चालीस दिन र चालीस रात बित्यो। यतिन्जेल उहाँले केही पनि खानुभएको थिएन। त्यसैले उहाँलाई निकै भोक लागेको थियो। यतिखेर नै सैतानले येशूलाई लोभ्याउन खोज्यो।

येशूलाई लोभ्याउन दियाबलले ढुङ्‌गालाई कसरी प्रयोग गऱ्‍यो?

दियाबलले भन्यो: “यदि तपाईं परमेश्‍वरको छोरा हुनुहुन्छ भने यी ढुङ्‌गाहरू रोटी भइजाऊन्‌ भन्‍नुहोस्‌।” भोकाएको बेला दुई-तीनवटा रोटी खान पाएको भए कत्ति राम्रो हुन्थ्यो होला, हगि! तर के येशूले ढुङ्‌गालाई रोटी बनाउन सक्नुहुन्थ्यो?— अवश्‍य, सक्नुहुन्थ्यो। किन? किनभने परमेश्‍वरको छोरा येशूसित विशेष शक्‍ति थियो।

तिमीलाई दियाबलले ‘ढुङ्‌गालाई रोटी बनाऊ’ भनेको भए के तिमीले त्यसको कुरा सुन्‍ने थियौ?— येशू भोकाउनुभएको थियो। त्यसैले एकचोटि मात्र त्यसको कुरा सुनेर त्यसो गर्नु सही हुँदैन थियो र?— आफ्नो शक्‍तिलाई त्यसरी प्रयोग गर्नु गलत हुनेछ भनेर येशूलाई थाह थियो। मानिसहरूलाई परमेश्‍वरतर्फ खिच्नको लागि परमेश्‍वरले येशूलाई त्यो शक्‍ति दिनुभएको थियो, येशूको आफ्नो स्वार्थ पूरा गर्नको लागि होइन।

त्यसैले, येशूले सैतानलाई बाइबलमा लेखिएको यो कुरा बताउनुभयो: “मानिस रोटीको भरमा मात्र बाँच्नुहुँदैन तर यहोवाको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।” खानेकुराभन्दा पनि यहोवालाई खुसी पार्ने कुरा गर्नु अझै महत्त्वपूर्ण छ भनेर येशूलाई थाह थियो।

तर दियाबलले फेरि पनि येशूलाई फसाउन खोज्यो। त्यसले उहाँलाई यरूशलेममा लग्यो र मन्दिरको पर्खालको टुप्पोमा राख्यो। त्यसपछि त्यसले भन्यो: ‘तपाईं परमेश्‍वरको छोरा हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्‌ किनभने यस्तो लेखिएको छ, स्वर्गदूतहरूले तपाईंलाई चोट पर्न दिनेछैनन्‌।’

सैतानले किन यसो भनेको?— किनभने सैतान येशूलाई मूर्ख काम गर्न लोभ्याउन चाहन्थ्यो। तर फेरि पनि येशूले सैतानको कुरा सुन्‍नुभएन। उहाँले सैतानलाई भन्‍नुभयो: “यस्तो लेखिएको छ, ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरको परीक्षा लिनुहुँदैन।’ ” आफ्नो जीवनलाई खतरामा पारेर यहोवाको परीक्षा गर्नु गलत हो भनेर येशूलाई थाह थियो।

त्यसपछि पनि सैतानले हार मानेन। त्यसले येशूलाई असाध्यै अग्लो पर्वतमा लग्यो। अनि संसारका सबै राज्य अर्थात्‌ मानिसहरूका सरकार र त्यसको गौरव देखायो। त्यसपछि येशूलाई त्यसले भन्यो: ‘यदि तपाईंले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईंलाई दिनेछु।’

दियाबलले येशूलाई के दिन्छु भन्यो, याद गर त! के ती सबै राज्य अर्थात्‌ मानिसहरूका सरकार सैतानका हुन्‌?— येशूले ती सब सैतानका होइनन्‌ भन्‍नुभएन। यदि ती सब सैतानका नहुँदा हुन्‌ त उहाँले सैतानलाई “ती तिम्रा होइनन्‌” भन्‍नुहुन्थ्यो होला। साँच्चै, सैतान संसारका सबै राज्यको शासक हो। बाइबलले त्यसलाई ‘संसारको शासकसमेत’ भनेको छ।—यूहन्‍ना १२:३१.

सैतानले किन येशूलाई सबै राज्य दिन्छु भन्‍न सक्यो?

दियाबलले तिमीलाई ‘मेरो उपासना गऱ्‍यौ भने केही दिन्छु’ भन्यो भने के गर्छौ?— त्यसले जेसुकै दिन्छु भने पनि त्यसको उपासना गर्नु गलत हो भनेर येशूलाई थाह थियो। त्यसैले येशूले यसो भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌! किनभने यस्तो लेखिएको छ, ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’ ”—मत्ती ४:१-१०; लूका ४:१-१३.

लोभमा पर्दा तिमी के गर्छौ?

हामीले पनि लोभको सामना गर्नुपर्ने हुन्छ। ती के-के हुन्‌, के तिमी भन्‍न सक्छौ?— यहाँ एउटा उदाहरण दिइएको छ। तिम्रो आमाले खाना खाइसकेपछि खानको लागि भनेर मिठाई किनेर ल्याउनुभएको छ। अनि उहाँले त्यो मिठाई ‘खाना खाने समय नभएसम्म नखानू है’ भन्‍नुभएको छ। तर तिमीलाई एकदमै भोक लागेको छ र त्यो मिठाई खाऊँ-खाऊँ लाग्छ। के तिमी आमाको कुरा सुन्छौ?— तिमीले आमाको कुरा नसुनोस्‌ भन्‍ने सैतान चाहन्छ।

येशूलाई सम्झ! उहाँ पनि एकदमै भोकाउनुभएको थियो। तर खानुभन्दा परमेश्‍वरलाई खुसी पार्नु धेरै महत्त्वपूर्ण छ भनेर उहाँलाई थाह थियो। आमाले भन्‍नुभएझैं गर्दा आफू पनि येशूजस्तै छु भनेर तिमीले देखाइरहेका हुनेछौ।

अरू केटाकेटीले तिमीलाई ‘यो ट्याब्लेट खाऊ न’ भन्यो भने के गर्ने? यो औषधीले एकदमै मजा आउँछ भनेर तिनीहरूले भन्लान्‌। तर यो औषधी लागू पदार्थ हुन सक्छ। यस्तो औषधी खाँदा तिमी बिरामी पर्न र मर्न पनि सक्छौ। अथवा कसैले तिमीलाई चुरोट देला र ‘यो तान्‍न सक्छौ कि सक्दैनौ हेरौं त’ भन्यो भने तिमी के गर्छौ?—

येशूलाई सम्झ। सैतानले उहाँलाई मन्दिरको पर्खालबाट हाम फाल्न भनेको थियो। यसो भनेर सैतानले येशूलाई उहाँको ज्यान खतरामा पार्न लगाउन खोजेको थियो। तर येशूले त्यसो गर्न मान्‍नुभएन। कसैले तिमीलाई कुनै खतरनाक काम ‘गर्न सक्छौ कि सक्दैनौ हेरौं त’ भन्यो भने के गर्छौ?— येशूले सैतानको कुरा सुन्‍नुभएन। त्यसैगरि कसैले गलत काम गर्न लगाउन खोज्छ भने तिमीले पनि तिनीहरूको कुरा सुन्‍नु हुँदैन।

उपासना गर्दा मूर्तिको प्रयोग गर्नु किन गलत हो?

‘मूर्तिपूजा गर’ भनी कसैले तिमीलाई भन्‍न सक्छ। तर हामीले यसो गर्नै हुँदैन भनेर बाइबल बताउँछ। (प्रस्थान २०:४, ५) यसो गर्नु तिम्रो स्कूलको कार्यक्रमको भाग नै होला। यसमा भाग लिएनौ भने स्कूल नै नआउनू भनेर पनि तिमीलाई भनिएला। तिमी के गर्छौ?—

अरूले सही काम गर्दा आफूले पनि त्यसै गर्न सजिलो हुन्छ। तर अरू कसैले हामीलाई गलत काम गर्न लगाउन खोज्दा आफूले सही काम गर्न खोज्नु एकदमै गाह्रो हुन सक्छ। तिनीहरूले जे गरिरहेका छन्‌, ती त्यति खराब छैनन्‌ भनेर तिनीहरूले भन्लान्‌। तर महत्त्वपूर्ण प्रश्‍न हो, त्यसबारे परमेश्‍वर कस्तो सोच्नुहुन्छ? सबैभन्दा राम्रो के हो, त्यो उहाँलाई मात्र थाह छ।

त्यसैले अरूले जेसुकै भनुन्‌, परमेश्‍वरले गलत भनेका कुराहरू हामीले कहिल्यै गर्नु हुँदैन। यसरी हामी दियाबललाई होइन, तर सधैं परमेश्‍वरलाई खुसी बनाउनेछौं।

गलत काम गर्न लोभिंदा कसरी नाइँ भन्‍न सकिन्छ भन्‍नेबारे थप जानकारी हामी भजन १:१, २; हितोपदेश १:१०, ११; मत्ती २६:४१ अनि २ तिमोथी २:२२ मा पाउन सक्छौं।