कथा ११२
टापुमा जहाज दुर्घटना
हेर, जहाज त टुक्रा-टुक्रा भएर डुब्नै लागेछ। तिमीले पानीमा पौडी खेल्दै गरेका मान्छेहरू पनि देख्यौ कि? राम्ररी हेर त, कोही-कोही त किनारमा पुगिसकेछन्। किनारमा पुग्ने मान्छेहरूमध्ये एक जना त पावल जस्तो छ नि। यो सब कसरी भएछ हामी थाह लगाऔं है।
पावल दुई वर्ष सिजरियाको जेलमा थियो भनेर हामीले पढिसक्यौं। त्यसपछि ऊ र अरू केही कैदीहरूलाई जहाजमा हालेर रोम पठाइन्छ। क्रेटको टापु हुँदै गइरहेको बेला ठूलो आँधीबेहरी चल्छ। जोडसित हुरी चलिरहेकोले माझीहरू राम्ररी जहाज खियाउनै सक्दैनन्। आकाशमा बाक्लो कालो बादल लागेकोले उनीहरू दिउँसो न घाम लागेको देख्छन् न रातमा तारा उदाएकै देख्छन्। निकै दिन बितिसक्दा पनि आँधीबेहरी रोकिंदै नरोकिएकोले उनीहरूले बाँच्ने आशै मार्छन्।
त्यति नै खेर पावल जुरुक्क उठ्छ र यसो भन्छ: ‘तपाईंहरू कसैको ज्यानमा केही हानि हुनेछैन। किनभने हिजो राती परमेश्वरको दूतले मलाई यसो भने: “हे पावल नडराऊ, तिमी सिजरको सामु अवश्य खडा हुनुपर्छ र हेर, तिमीसँग जहाजमा चढ्ने सबै जनालाई परमेश्वरले बचाउनुहुनेछ।” ’
अब त आँधीबेहरी सुरु भएको पनि १४ दिन भइसक्यो। एकदिन आधा राततिरको कुरा हो, जहाज खियाउँदै गरेका माझीहरू पानीको गहिराइ कम हुन थालेको महसुस गर्छन्! पानी कम भएकोले राती अँध्यारोमा जहाज ठूलो ढुंगामा ठोक्किने हो कि भनेर उनीहरू डराउँछन् र हतार-हतार जहाजको लंगर खसाल्छन्। भोलि बिहान उनीहरू समुद्रको किनार देख्छन्। त्यसकारण उनीहरू जहाजलाई किनारसम्मै लैजाने विचार गर्छन्।
तर जहाज किनारनिर पुग्ने बित्तिकै बालुवाको थुप्रोमा ठोक्किएर अड्किन्छ र पानीको छालले बेस्सरी जहाजलाई हिर्काउन थाल्दा जहाज टुक्रिन थाल्छ। यो देखेर कैदीहरूको जिम्मा लिने कप्तानले यस्तो आदेश दिन्छ: ‘पौडन सक्ने जति सबै जहाजबाट हाम फालेर पाखा लाग्नू! र बाँकी रहेका जति कोही फल्याक र कोही जहाजका अरू चीज समातेर पौडनू।’ सबैले त्यसै गर्छन्। यसरी स्वर्गदूतले भनेझैं जहाजमा भएका सबै २७६ जना राम्रैसँग किनारमा पुग्छन्।
यो टापुको नाउँ माल्टा हो। यहाँका मान्छेहरू अति नै दयालु छन्। उनीहरूले जहाजमा आउने मान्छेहरूको हेरविचार गर्छन्। अन्तमा मौसम सुध्रिएपछि पावललाई अर्कै जहाजमा हालेर रोम लगिन्छ।