कथा १७
बेग्लै किसिमका जम्ल्याहा
यी दुई केटालाई हेर त। उनीहरू कत्ति फरक छन्, होइन र? के तिमीलाई उनीहरूको नाउँ थाह छ? त्यो सिकारी केटोको नाउँ एसाव हो अनि भेडाहरूको हेरचाह गरिरहेको केटोको नाउँचाहिं याकूब हो।
एसाव र याकूब रिबेका र इसहाकका जम्ल्याहा छोराहरू हुन्। इसहाक एसावलाई धेरै मन पराउँथ्यो किनभने एसाव सिकार खेल्नमा सिपालु थियो। उसले सिकार गरेर खानेकुराहरू ल्याउथ्यो। तर रिबेका भने याकूबलाई नै बढी माया गर्थी किनभने ऊ सोझो थियो।
याकूब र एसावको बाजे अब्राहाम त्यतिखेर जिउँदै थिए। अब्राहामले यहोवाको कुरा गर्दा याकूब ध्यान दिएर सुन्ने गर्थ्यो। अन्तमा १७५ वर्षको भएपछि अब्राहामको मृत्यु भयो। त्यतिबेला ती जम्ल्याहा दाजुभाइ १५ वर्षका थिए।
चालीस वर्षको भएपछि एसावले दुइटी कनानी केटीसित बिहे गऱ्यो। यसले गर्दा इसहाक र रिबेका धेरै दुःखी भए। किनभने कनानीहरू यहोवाको उपासना गर्दैनथे।
एकदिन एसाव आफ्नो भाइ याकूबसित असाध्यै रिसायो। इसहाकले आफ्नो जेठो छोरोलाई आशिष् दिने समय भएको थियो। जेठो भएकोले आफूले नै आशिष् पाउँछु भनेर एसावले आशा गरेको थियो। तर एसावले बुबाको आशिष् पाउने आफ्नो अधिकार भाइ याकूबलाई बेचिसकेको थियो। यसबाहेक, याकूबले नै आशिष् पाउनेछ भनेर यी दुई केटा जन्मने बेलामा परमेश्वरले भनिसक्नुभएको थियो। त्यस्तै भयो पनि। इसहाकले आफ्नो छोरो याकूबलाई नै आशिष् दियो।
यो कुरा थाह पाएपछि एसाव याकूबसित असाध्यै रिसायो। उसले याकूबलाई मार्ने विचार गऱ्यो। यो थाह पाएर रिबेका धेरै चिन्तित भई। त्यसकारण उसले आफ्नो पति इसहाकलाई यसो भनी: ‘याकूबले पनि कनानी केटीसित बिहे गऱ्यो भने, असाध्यै नराम्रो हुनेछ।’
त्यसपछि इसहाकले आफ्नो छोरो याकूबलाई बोलाएर भन्यो: ‘तिमीले कनानी केटीसित बिहे नगर्नू। बरु हारानमा तिम्रो बाजे बतूएलको घरमा जाऊ। अनि उनको छोरो लाबानकै छोरीसित बिहे गर।’
याकूबले आफ्नो बुबाको कुरा मान्यो। ऊ तुरुन्तै आफ्ना नातेदार भेट्न हारानतिर गयो।