पाठ ३५
हन्ना एउटा छोराको लागि प्रार्थना गर्छिन्
एल्काना नाम गरेका एक इस्राएलीको हन्ना र पनिन्नाह नाम गरेका दुई पत्नी थिए। तर तिनी हन्नालाई धेरै माया गर्थे। हन्नाको छोराछोरी थिएन तर पनिन्नाहका भने थुप्रै छोराछोरी थिए। त्यसैले पनिन्नाह हन्नाको खिल्ली उडाउने गर्थिन्। एल्काना हरेक वर्ष परिवार लिएर वासस्थानमा यहोवा परमेश्वरको उपासना गर्न सिलो जान्थे। एकपटकको कुरा हो, तिनीहरू सिलोमै भएको बेला तिनले आफ्नी प्यारी पत्नी हन्नालाई निराश देखे। तिनले हन्नालाई भने: ‘नरोऊ हन्ना! म छँदै छु नि। म तिमीलाई धेरै माया गर्छु।’
पछि हन्ना एक्लै प्रार्थना गर्न मन्दिर गइन्। उनी धुरुधुरु रुँदै यहोवालाई बिन्ती गरिरहेकी थिइन्। उनले उहाँलाई यस्तो भाकल गरिन्: ‘हे यहोवा, तपाईँले मलाई एउटा छोरा दिनुभयो भने ऊ तपाईँको हुनेछ र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ।’
प्रधानपुजारी एलिले हन्ना रोइरहेकी देखे र उनी रक्सीले मात्तिएछिन् भन्ठाने। तर हन्नाले भनिन्: ‘होइन प्रभु, मैले रक्सी पिएकी छैनँ। मलाई ठूलो समस्या परेको छ। त्यसैले म यहोवा परमेश्वरसामु मनको बह पोखाउँदै छु।’ एलिले आफ्नो सोचाइ गलत भएको थाह पाए र यसो भने: “परमेश्वरले तिम्रो मनोकामना पूरा गरिदेऊन्।” त्यसपछि हन्नाले अलि हल्का महसुस गरिन् र त्यहाँबाट गइन्। एक वर्षभित्रै उनले एउटा छोरो जन्माइन् र उसको नाम समुएल राखियो। हन्ना कत्ति खुसी भइन् होला!
हन्नाले यहोवा परमेश्वरसित गरेको वाचा बिर्सिनन्। दूध छुटाउनेबित्तिकै उनी समुएललाई लिएर वासस्थानमा आइन्। उनले एलिलाई भनिन्: ‘मैले यही छोराको लागि प्रार्थना गरेकी थिएँ। बाँचुन्जेल ऊ यहोवा परमेश्वरकै हुनेछ।’ एल्काना र हन्ना हरेक वर्ष समुएललाई भेट्न जान्थे र उसको लागि चिटिक्क परेको नयाँ अलखा लगिदिन्थे। परमेश्वरले हन्नालाई अरू तीन छोरा र दुई छोरी दिनुभयो।
“मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ।”—मत्ति ७:७