पाठ १८
बलिरहेको झाडी
मोसा मिद्यानमा ४० वर्ष बसे। त्यहाँ तिनले बिहे गरे र तिनका छोराछोरी पनि भए। एकदिन सिनै डाँडानजिकै भेडा चराउँदै गर्दा तिनले एउटा अनौठो कुरा देखे। झाडी बलिरहेको थियो तर त्यो डढेको भने थिएन! के भएछ भनेर नजिकबाट हेर्न जाँदा मोसाले झाडीको बीचबाट एउटा यस्तो आवाज सुने: ‘मोसा! त्यहीँ उभिराख, नजिक नआऊ! तिम्रो जुत्ता फुकाल किनभने तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ।’ त्यो आवाज यहोवा परमेश्वरको थियो। उहाँ एक जना स्वर्गदूतमार्फत बोल्दै हुनुहुन्थ्यो।
मोसा डराए र तिनले अनुहार छोपे। परमेश्वरले यसो भन्नुभयो: ‘इस्राएलीहरूको दुःख मैले देखेको छु। म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर एउटा असल देशमा लैजानेछु। तिमीले मेरा मानिसहरूलाई मिश्रबाट छुटाएर ल्याउनेछौ।’ यो कुरा सुन्दा मोसा कत्ति छक्क परे होलान्!
तब मोसाले भने: ‘मानिसहरूले मलाई पठाउनुहुने को हो भनेर सोध्दा म के भनूँ?’ परमेश्वरले यस्तो जवाफ दिनुभयो: ‘मलाई अब्राहाम, इसहाक अनि याकुबका परमेश्वर यहोवाले पठाउनुभएको हो भनेर भन्नू।’ त्यसपछि मोसाले यसो भने: ‘तिनीहरूले मेरो कुरा पत्याएनन् भने के गर्ने?’ त्यसपछि यहोवा परमेश्वरले तिनलाई मदत गर्नेछु भनेर देखाउन एउटा प्रमाण दिनुभयो। उहाँले मोसालाई तिनको लौरो भुइँमा फाल्न भन्नुभयो र त्यो सर्प बन्यो! मोसाले त्यसको पुच्छरमा समात्दा त्यो फेरि लौरो बन्यो। यहोवा परमेश्वरले यसो भन्नुभयो: ‘यो देखेपछि मैले नै तिमीलाई पठाएको हुँ भनेर तिनीहरूले विश्वास गर्नेछन्।’
मोसाले भने: “म बोल्न सिपालु छैनँ।” त्यसपछि यहोवा परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभयो: ‘के बोल्ने भनेर म तिमीलाई सिकाउनेछु र तिम्रो दाइ हारुनले तिमीलाई सघाउनेछन्।’ यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर ढुक्क भएपछि मोसा आफ्नी पत्नी र छोराहरूलाई लिएर मिश्र फर्के।
“कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ।”—मत्ति १०:१९