पाठ ९२
येसु जलारीहरूसामु देखा पर्नुहुन्छ
येसु प्रेषितहरूसामु देखा पर्नुभएको केही समयपछि पत्रुस गालिल समुद्रमा माछा मार्न गए। थोमा, याकुब, युहन्ना र अरू केही चेला पनि तिनीसँगै गए। तिनीहरूले रातभरि जाल हाने तर जालमा एउटै माछा परेन।
बिहान हुनै लाग्दा तिनीहरूले एक जना मानिस किनारामा उभिरहेको देखे। ती मानिसले तिनीहरूलाई सोधे: ‘जालमा माछा पऱ्यो?’ तिनीहरूले भने: ‘अहँ, परेन।’ ती मानिसले तिनीहरूलाई भने: “डुङ्गाको दाहिनेतिर जाल हान।” तिनीहरूले त्यसो गर्दा जालमा यत्ति धेरै माछा पऱ्यो कि तिनीहरूले जाल तान्नै सकेनन्। तब युहन्नाले ती मानिस येसु हुनुहुँदो रहेछ भनेर थाह पाइहाले र भने: “उहाँ प्रभु हुनुहुन्छ!” पत्रुस तुरुन्तै समुद्रमा हामफाले अनि पौडिएर किनारामा गए। अरू चेलाचाहिँ डुङ्गा खियाएर किनारामा आए।
किनारामा आइपुग्दा तिनीहरूले कोइलाको भुङ्ग्रोमा रोटी र माछा देखे। येसुले तिनीहरूलाई खानको लागि भर्खरै समातेको केही माछा पनि ल्याउन भन्नुभयो। त्यसपछि उहाँले भन्नुभयो: “आओ, नास्ता गर।”
तिनीहरूले नास्ता गरिसकेपछि उहाँले पत्रुसलाई सोध्नुभयो: ‘के तिमी मलाई माछा मार्ने कामलाई भन्दा धेरै प्रेम गर्छौ?’ तिनले जवाफ दिए: ‘गर्छु प्रभु, तपाईँलाई थाहै छ नि।’ उहाँले भन्नुभयो: ‘त्यसो हो भने मेरा पाठाहरूलाई खुवाऊ।’ उहाँले तिनलाई फेरि सोध्नुभयो: ‘पत्रुस, के तिमी मलाई प्रेम गर्छौ?’ तिनले जवाफ दिए: ‘गर्छु भनेर तपाईँलाई थाहै छ नि।’ उहाँले भन्नुभयो: “मेरा साना भेडाहरूको हेरचाह गर।” उहाँले पत्रुसलाई तेस्रो चोटि पनि त्यही प्रश्न सोध्नुभयो। तिनी असाध्यै दुःखी भए। तिनले भने: ‘प्रभु, तपाईँलाई सबै कुरा थाह छ। म तपाईँलाई माया गर्छु भनेर पनि तपाईँलाई थाह छ।’ तब उहाँले तिनलाई भन्नुभयो: “मेरा साना भेडाहरूलाई खुवाऊ।” उहाँले पत्रुसलाई यसो पनि भन्नुभयो: “तिमी निरन्तर मेरो पछि लाग।”
“[येसुले] तिनीहरूलाई भन्नुभयो: ‘मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।’ उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।”—मत्ति ४:१९, २०