पाठ ६२
ठूलो रूखजस्तै एउटा राज्य
एक रात नबुकद्नेजरले एकदमै डरलाग्दो सपना देखे। तिनले सपनाको अर्थ खोलिदिन आफ्ना बुद्धिमान् मानिसहरूलाई बोलाए। तर कसैले तिनको सपनाको अर्थ खोलिदिन सकेन। अन्तमा राजाले दानिएललाई आफूले देखेको सपना बताए।
नबुकद्नेजरले दानिएललाई भने: ‘मैले सपनामा एउटा रूख देखेँ। त्यो रूख यत्ति धेरै बढ्यो कि त्यसको टुप्पोले आकाश छोयो। पृथ्वीको हरेक कुनाबाट त्यो रूख देखिन्थ्यो। त्यसका पातहरू सुन्दर थिए र त्यसमा प्रशस्त फल फलेको थियो। त्यसको छहारीमा पशुहरू आएर बस्थे अनि हाँगाहरूमा चराचुरुङ्गीहरू बस्थे। त्यसपछि एक स्वर्गदूत स्वर्गबाट तल ओर्लिरहेको मैले देखेँ। तिनले ठूलो स्वरमा भने: “त्यस रूखलाई काटिदेओ, त्यसका हाँगाहरू पनि काटिदेओ। तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको पट्टाले कस्नू। त्यस रूखको मन बदलिएर पशुको जस्तो हुनेछ। यसरी सात काल बित्नेछ। तब सर्वोच्च परमेश्वर नै मानिसजातिको शासक हुनुहुन्छ र शासन गर्ने अधिकार उहाँले जसलाई चाहनुहुन्छ, त्यसैलाई दिनुहुन्छ भनेर सबै मानिसले जान्नेछन्।”’
यहोवाले त्यो सपनाको अर्थ दानिएललाई बताउनुभयो। अर्थ बुझेपछि दानिएल डराए। तिनले भने: ‘हे मेरा प्रभु, यो सपना हजुरका शत्रुहरूबारे भए हुन्थ्यो तर यो हजुरबारे हो। त्यो काटिएको रूख हजुर नै हुनुहुन्छ। हजुरले आफ्नो राज्य गुमाउनुहुनेछ र पशुहरूले जस्तै घाँस खानुहुनेछ। तर स्वर्गदूतले रूखको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू भनेकोले हजुर फेरि राजा हुनुहुनेछ।’
सपना देखेको एक वर्षपछि नबुकद्नेजर बेबिलोन सहरको बखान गर्दै राजदरबारको कौसीमा टहलिरहेका थिए। तिनले भने: ‘मैले निर्माण गरेको यो भव्य सहरलाई हेर। म कत्ति महान् छु!’ तिनले यो कुरा बोल्न नपाउँदै स्वर्गबाट एउटा यस्तो आवाज आयो: ‘ए नबुकद्नेजर, तिम्रो हातबाट राज्य खोसिएको छ।’
त्यति नै बेला नबुकद्नेजर बौलाहा भए र जङ्गली जनावरजस्तै भए। तिनलाई राजदरबारबाट निकालियो अनि तिनी पशुहरूसँग बस्न थाले। तिनको कपाल चीलको प्वाँखजस्तै लामो भयो र नङ पनि चराको नङ्ग्राजस्तै भयो।
सात वर्ष बितेपछि नबुकद्नेजरको होस फर्कियो अनि यहोवाले तिनलाई फेरि बेबिलोनको राजा बनाउनुभयो। तिनले भने: ‘म स्वर्गका राजा यहोवा परमेश्वरको प्रशंसा गर्छु। अब मलाई थाह भयो कि उहाँ शासक हुनुहुन्छ। उहाँ घमन्डीहरूलाई नम्र तुल्याउनुहुन्छ र जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ।’
“नाशको अघि घमन्ड अनि पतनको अघि अहङ्कार आउँछ।”—हितोपदेश १६:१८