अध्याय २२
के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?
१-३. (क) सुलेमानले दुई आमाबीचको विवाद सुल्झाएको तरिकामा तिनको अथाह बुद्धि कसरी झल्कियो? (ख) यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ र कस्ता प्रश्नहरू खडा हुन्छन्?
एउटा ठूलो समस्या खडा हुन्छ। दुई स्त्री एउटा बालकको लागि आपसमा बाझाबाझ गरिरहेका छन्। तिनीहरू दुवै जना एउटै घरमा बस्छन् र केही दिनको फरकमा बच्चा जन्माएका छन्। तर तिनीहरूमध्ये एक जनाको बच्चा मर्छ अनि दुवै जनाले जिउँदोचाहिँ आफ्नो हो भनेर दाबी गर्छन्। a त्यहाँ वास्तवमा के भएको थियो भनेर बताउन सक्ने कुनै साक्षी छैन। त्यो मामिला तल्लो अदालतमा लगिएको थियो तर कुनै समाधान निस्किएन। अन्तमा त्यो मामिला इस्राएलका राजा सुलेमानकहाँ लगिन्छ। के तिनले सत्यतथ्य पत्ता लगाउन सक्नेछन्?
२ ती दुई स्त्री बाझाबाझ गरिरहेको केहीबेर सुनेपछि सुलेमान आफ्नो सेवकलाई तरबार ल्याउन भन्छन्। त्यसपछि तिनले त्यस बच्चालाई दुई टुक्रा पारेर दुवै स्त्रीलाई आधा-आधा दिन आदेश दिन्छन्। यो सुन्नेबित्तिकै त्यस बच्चाकी आमाले आफ्नो प्यारो छोरा अर्की स्त्रीलाई दिन बिन्ती गर्छिन्। तर अर्की स्त्रीले भने त्यस बच्चालाई दुई टुक्रा पारियोस् भनेर जिद्दी गरिरहन्छिन्। अब भने सुलेमानले सबै सत्यतथ्य थाह पाउँछन्। सुलेमानलाई एउटी आमाको लागि आफूले नौ महिना गर्भमा हुर्काएको बच्चा कत्ति प्यारो हुन्छ भन्ने कुराको ज्ञान थियो र तिनले त्यही ज्ञान प्रयोग गरेर त्यो मामिला सुल्झाउँछन्। सुलेमानले “ऊ नै यसकी आमा हो” भन्दै उनलाई बच्चा फिर्ता गरिदिन्छन्। त्यतिबेला ती आमाले कत्ति राहत महसुस गरिन् होली, कल्पना गर्नुहोस् त!—१ राजा ३:१६-२७.
३ सुलेमान कत्ति बुद्धिमान् थिए नि, होइन र? तिनले त्यो मामिला कसरी सुल्झाए भनेर थाह पाएपछि मानिसहरू छक्क परे र तिनको भय मान्न थाले किनकि “परमेश्वरले [तिनलाई] बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।” हो, सुलेमानको बुद्धि यहोवाले दिनुभएको वरदान थियो। उहाँले तिनलाई “बुद्धि र समझले भरिएको हृदय” दिनुभएको थियो। (१ राजा ३:१२, २८) तर हामीबारे चाहिँ के भन्न सकिन्छ? के हामी पनि परमेश्वरको बुद्धि प्राप्त गर्न सक्छौँ? पक्कै सक्छौँ किनकि सुलेमानले परमेश्वरको प्रेरणा पाएर यस्तो लेखे: “बुद्धि दिने यहोवा नै हुनुहुन्छ।” (हितोपदेश २:६) बुद्धि भनेको ज्ञान र समझशक्तिलाई प्रयोगमा ल्याउने क्षमता हो। साँचो मनले त्यस्तो बुद्धि प्राप्त गर्न चाहनेहरूलाई यहोवाले बुद्धि दिने प्रतिज्ञा गर्नुभएको छ। हामी माथिबाट आउने बुद्धि कसरी हासिल गर्न सक्छौँ? अनि त्यसलाई कसरी आफ्नो जीवनमा काम गर्न दिन सक्छौँ?
“बुद्धि हासिल गर”—कसरी?
४-७. बुद्धि हासिल गर्न हामीले कुन चार कदम चाल्नुपर्छ?
४ के परमेश्वरको बुद्धि हासिल गर्न हामी धेरै विद्वान् वा शिक्षित हुनुपर्छ भन्ने हो? होइन। हाम्रो पृष्ठभूमि र शैक्षिक स्तर जस्तोसुकै भए पनि यहोवा हामीलाई आफ्नो बुद्धि दिन इच्छुक हुनुहुन्छ। (१ कोरिन्थी १:२६-२९) तर त्यसको लागि हामी आफै अग्रसर हुनुपर्छ किनकि बाइबल हामीलाई ‘बुद्धि हासिल गर्न’ प्रोत्साहन दिन्छ। (हितोपदेश ४:७) हामी कसरी त्यसो गर्न सक्छौँ?
५ पहिलो, हामीले परमेश्वरको डर मान्नुपर्छ। हितोपदेश ९:१० यसो भन्छ: “यहोवाको डर मान्नु बुद्धिको सुरुवात [“बुद्धिको प्रथम खुड्किलो,” संशोधित संस्करण] हो।” परमेश्वरको डर मान्नु साँचो बुद्धिको जग हो। किन? बुद्धि भनेको आफूसित भएको ज्ञान राम्ररी प्रयोग गर्ने क्षमता हो भनेर हामीले बुझिसक्यौँ। परमेश्वरको डर मान्नु भनेको त्रसित भएर थरथर काँप्नु नभई उहाँप्रति गहिरो श्रद्धाले भरिनु, उहाँको आदर गर्नु र उहाँमा भरोसा राख्नु हो। यस्तो किसिमको डर सधैँ फाइदाजनक हुन्छ र यसले हामीलाई असल काम गर्न जुरमुऱ्याउँछ। साथै यसले परमेश्वरको इच्छा र उहाँको तौरतरिकाबारे आफूले हासिल गरेको ज्ञानअनुसार जीवन बिताउन उत्प्रेरित गर्छ। यसो गर्नु नै सबैभन्दा बुद्धिमानी कुरा हो किनकि यहोवाको स्तरअनुसार चल्नेहरूको सधैँ भलो हुन्छ।
६ दोस्रो, हामी नम्र हुनुपर्छ र मर्यादामा रहनुपर्छ। हामीमा यी गुणहरू छैनन् भने परमेश्वरको बुद्धि हासिल गर्न सक्दैनौँ। (हितोपदेश ११:२) किन? हामी नम्र छौँ र मर्यादामा रहन्छौँ भने आफूलाई सबै कुरा थाह छैन भनेर स्विकार्छौँ, आफ्नै कुरामा जिद्दी गर्दैनौँ अनि जुनसुकै मामिलामा यहोवाको सोचाइ बुझ्नु जरुरी छ भनेर मानिलिन्छौँ। यहोवा “अहङ्कारीहरूको विरोध गर्नुहुन्छ” तर नम्रहरूलाई भने खुसीसाथ आफ्नो बुद्धि दिनुहुन्छ।—याकुब ४:६.
७ तेस्रो, हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्छ। यहोवाको वचनमा उहाँको बुद्धि पाइन्छ। गाडेको धन खोज्न मेहनत गर्नुपरेझैँ उहाँको वचनबाट बुद्धि हासिल गर्न पनि मेहनत गर्नुपर्छ। (हितोपदेश २:१-५) चौथो, हामीले प्रार्थना गर्नुपर्छ। प्रार्थनामा परमेश्वरसित बुद्धि माग्यौँ भने उहाँले हामीलाई उदारचित्तले त्यो दिनुहुन्छ। (याकुब १:५) हामीले पवित्र शक्तिको मदत माग्दा उहाँले अवश्य हाम्रो प्रार्थना सुन्नुहुन्छ। पवित्र शक्तिले हामीलाई उहाँको वचनबाट अनमोल धन भेट्टाउन मदत गर्छ, जसले गर्दा हामी समस्याहरूको समाधान गर्न, खतराबाट जोगिन र बुद्धिमानी निर्णयहरू गर्न सक्छौँ।—लुका ११:१३.
गाडेको धन खोज्न मेहनत गर्नुपरेझैँ परमेश्वरको बुद्धि हासिल गर्न पनि मेहनत गर्नुपर्छ
८. हामीले परमेश्वरको बुद्धि हासिल गरेको कुरा कसरी देखिन्छ?
८ हामीले अध्याय १७ मा सिकेझैँ यहोवाको बुद्धि व्यावहारिक छ। त्यसैले हामीले उहाँको बुद्धि हासिल गरेका छौँ भने त्यो हाम्रो व्यवहारमा देखिन्छ। परमेश्वरको बुद्धिले हामीमा विकास गर्ने गुणहरूबारे चेला याकुबले यस्तो लेखे: “माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, व्यावहारिक, आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण, निष्पक्ष र निष्कपट हुन्छ।” (याकुब ३:१७) परमेश्वरको बुद्धिका यी पक्षहरूबारे छलफल गर्दा हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौँ, ‘के माथिबाट आउने बुद्धिले मेरो जीवनमा काम गर्दै छ?’
“शुद्ध . . . त्यसपछि शान्तिप्रिय”
९. शुद्ध हुनु भनेको के हो? बुद्धिले हामीमा विकास गर्ने गुणहरूको सूचीमा शुद्धतालाई सबैभन्दा सुरुमा राखिनु किन उपयुक्त छ?
९ “सर्वप्रथम शुद्ध।” शुद्ध हुनु भनेको बाहिरी रूपमा मात्र नभई भित्रैदेखि निष्खोट वा निष्कलङ्क हुनु हो। बाइबलले बुद्धि र हृदय एकअर्कासित सम्बन्धित छ भनेर बताउँछ। तर दुष्ट विचार, कुइच्छा र खराब मनसायले भरिएको हृदयमा परमेश्वरको बुद्धि पस्न सक्दैन। (हितोपदेश २:१०; मत्ति १५:१९, २०) त्रुटिपूर्ण भए पनि हामीले आफ्नो हृदयलाई शुद्ध राख्न सक्दो गर्छौँ भने ‘खराब काम त्याग्नेछौँ र जे असल छ, त्यो गर्नेछौँ।’ (भजन ३७:२७; हितोपदेश ३:७) साँच्चै, बुद्धिले हामीमा विकास गर्ने गुणहरूको सूचीमा शुद्धतालाई सबैभन्दा सुरुमा राखिनु उपयुक्त छ, होइन र? हुन पनि हामी नैतिक र आध्यात्मिक रूपमा शुद्ध नभएसम्म माथिबाट आउने बुद्धिले हामीमा विकास गर्ने बाँकी गुणहरू झल्काउन सक्दैनौँ।
१०, ११. (क) हामी शान्तिप्रिय व्यक्ति बन्नु किन महत्त्वपूर्ण छ? (ख) तपाईँको कारण कुनै भाइ वा बहिनीको चित्त दुखेको महसुस गर्नुभयो भने तपाईँले के गर्नुपर्छ?
१० “त्यसपछि शान्तिप्रिय।” माथिबाट आउने बुद्धिले हामीलाई शान्ति कायम गर्न उत्प्रेरित गर्छ, जुन पवित्र शक्तिको फलको एउटा पक्ष हो। (गलाती ५:२२) परमेश्वरका जनहरूलाई एकतामा बाँध्ने “शान्तिको बन्धन”-लाई हामी कुनै पनि हालतमा टुट्न दिनेछैनौँ। (एफिसी ४:३) कारणवश हामीमाझ भएको शान्ति खलबलियो भने फेरि शान्ति स्थापना गर्न सक्दो गर्नेछौँ। यसो गर्नु किन महत्त्वपूर्ण छ? बाइबल भन्छ: “शान्तिपूर्वक बाँचिरहो। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित रहनुहुनेछ।” (२ कोरिन्थी १३:११) त्यसैले जबसम्म हामीमाझ शान्ति छ, तबसम्म शान्तिका परमेश्वर हामीसित रहनुहुनेछ। हामीले भाइबहिनीसित गर्ने व्यवहारले यहोवासितको हाम्रो सम्बन्धलाई सीधै असर गर्छ। त्यसोभए हामी शान्ति कायम गर्ने व्यक्ति हौँ भनेर कसरी देखाउन सक्छौँ? एउटा उदाहरण विचार गरौँ।
११ तपाईँको कारण कुनै भाइ वा बहिनीको चित्त दुखेको महसुस गर्नुभयो भने के गर्नुपर्छ? येसुले यसो भन्नुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीँ वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।” (मत्ति ५:२३, २४) ती भाइ वा बहिनीलाई भेट्न आफै अग्रसर भएर तपाईँ यो सल्लाह लागू गर्न सक्नुहुन्छ। तिनीसित भेट्नुको उद्देश्य के हुनुपर्छ? ‘मिलाप गर्ने।’ तर त्यसको लागि तपाईँको कारण तिनको भावनामा चोट पुगेको छ भन्ने कुरा तपाईँले स्विकार्नुपर्ने हुन्छ। तपाईँ कुराकानीको अन्तसम्मै मिलाप गर्ने मनोवृत्ति कायम राख्नुहुन्छ भने कुनै पनि गलतफहमी सुल्झाउन सक्नुहुनेछ अनि आवश्यक छ भने क्षमा दिन र माग्न पनि सक्नुहुनेछ। तिनीसित मिलाप गर्न कदम चाल्नुभयो भने तपाईँ माथिबाट आउने बुद्धिअनुसार चलिरहनुभएको हुनेछ।
“व्यावहारिक, आज्ञाकारी”
१२, १३. (क) याकुब ३:१७ मा “व्यावहारिक” भनेर अनुवाद गरिएको शब्दको अर्थ के हो? (ख) हामी व्यावहारिक छौँ भनेर कसरी देखाउन सक्छौँ?
१२ “व्यावहारिक।” व्यावहारिक हुनु भनेको के हो? बाइबलविद्हरूअनुसार याकुब ३:१७ मा “व्यावहारिक” शब्दको लागि चलाइएको मौलिक ग्रीक शब्दलाई ठ्याक्कै अर्थ आउने गरी अनुवाद गर्न गाह्रो छ। यस शब्दले छाँटकाँट गर्न तयार हुनु भन्ने भाव दिन्छ। अनुवादकहरूले यस शब्दलाई “कोमल,” “सहनशील” र “विचारशील” भनेर अनुवाद गरेका छन्। माथिबाट आउने बुद्धिको यस पक्षले हामीमा काम गरिरहेको छ भनेर कसरी देखाउन सक्छौँ?
१३ फिलिप्पी ४:५ यसो भन्छ: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्।” अर्को बाइबल अनुवादमा यस्तो लेखिएको छ: “व्यावहारिक मानिस भन्ने नाम कमाओ।” (जे. बि. फिलिप्सको द न्यु टेस्टामेन्ट इन मोर्डन इङ्लिस अनुवाद) हामी आफूलाई कुन दृष्टिकोणले हेर्छौँ, त्यो महत्त्वपूर्ण छैन। बरु अरूले हामीलाई कुन दृष्टिकोणले हेर्छन् र हामीले कस्तो नाम कमाएका छौँ, त्योचाहिँ महत्त्वपूर्ण छ। व्यावहारिक व्यक्तिले सधैँ नियमलाई नै जोड दिने गर्दैनन् वा सबै कुरा आफ्नै तरिकाअनुसार हुनुपर्छ भनेर जिद्दी गर्दैनन्। बरु तिनी अरूको कुरा सुन्न इच्छुक हुन्छन् र उपयुक्त छ भने उनीहरूको इच्छाअनुसार गर्न तयार हुन्छन्। तिनी कोमल पनि हुन्छन्; अरूसित रुखो वा कठोर व्यवहार गर्दैनन्। हुनत यो गुण सबै ख्रिष्टियनमा हुनुपर्छ तर विशेषगरि एल्डरहरूले यो गुण विकास गर्नुपर्छ। एल्डरहरूले कोमल व्यवहार गर्दा भाइबहिनीले तिनीसित कुरा गर्न सजिलो मान्छन्। (१ थिस्सलोनिकी २:७, ८) हामीले आफूलाई यस्तो प्रश्न सोध्नुपर्छ, ‘के मैले विचारशील, छाँटकाँट गर्न तयार र कोमल व्यक्ति भन्ने नाम कमाएको छु?’
१४. हामी “आज्ञाकारी” छौँ भनेर कसरी देखाउन सक्छौँ?
१४ “आज्ञाकारी।” यहाँ “आज्ञाकारी” भनेर अनुवाद गरिएको ग्रीक शब्द ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा अन्त कतै पनि पाइँदैन। एक जना बाइबलविद्अनुसार यो शब्द “अक्सर सैन्य अनुशासनलाई बुझाउन प्रयोग गरिन्छ।” यसले “सजिलै मनाउन सकिने” र “अधीनमा बस्ने” भन्ने अर्थ दिन्छ। माथिबाट आउने बुद्धिअनुसार चल्ने व्यक्ति धर्मशास्त्रअनुसार चल्न सजिलै तयार हुन्छन्। तिनी एक चोटि निर्णय गरिसकेपछि आफ्नो निर्णय कुनै पनि हालतमा बदल्न नचाहने व्यक्ति भनेर चिनिँदैनन्। बरु तिनको निर्णय गलत छ वा तिनी गलत निष्कर्षमा पुगेका छन् भनेर कसैले धर्मशास्त्रबाट स्पष्ट प्रमाण देखाइदिँदा तिनी आफ्नो निर्णय बदल्न तुरुन्तै तयार हुन्छन्। के तपाईँ पनि त्यस्तै व्यक्ति भनेर चिनिनुहुन्छ?
“कृपा र असल फलहरूले भरिपूर्ण”
१५. कृपा के हो र याकुब ३:१७ मा “कृपा र असल फलहरू”-लाई सँगसँगै उल्लेख गरिनु किन उपयुक्त छ?
१५ “कृपा र असल फलहरूले भरिपूर्ण।” b कृपा भन्ने गुण माथिबाट आउने बुद्धिको महत्त्वपूर्ण भाग हो किनभने यस्तो बुद्धि ‘कृपाले भरिपूर्ण’ हुन्छ भनी बाइबल बताउँछ। यहाँ “कृपा र असल फलहरू”-लाई सँगसँगै उल्लेख गरिनु उपयुक्त छ किनभने बाइबलमा बताइएको कृपाले अक्सर कामद्वारा देखाइने चासोलाई बुझाउँछ। यो यस्तो करुणा हो, जसले भलाइको प्रशस्त फल फलाउँछ। एउटा स्रोतसामग्रीमा कृपालाई यसरी परिभाषित गरिएको छ, “कसैको नाजुक अवस्था देखेर दुःख महसुस गर्नु र तिनको अवस्था सुधार्न केही गरिदिनु।” परमेश्वरको बुद्धिअनुसार चल्ने मानिस दयालु र विचारशील हुन्छन्। तिनी तथ्य र ज्ञानमा मात्र नभई मानिसहरूमा गहिरो चासो राख्छन्। हामी कृपाले भरिपूर्ण भएको कसरी देखाउन सक्छौँ?
१६, १७. (क) परमेश्वरप्रतिको प्रेमका साथै अर्को कुन कुराले पनि हामीलाई साक्षीकार्यमा भाग लिन उत्प्रेरित गर्छ र किन? (ख) हामी कृपाले भरिपूर्ण भएको अरू कुन तरिकामा देखाउन सक्छौँ?
१६ एउटा महत्त्वपूर्ण तरिका भनेको अरूलाई परमेश्वरको राज्यबारे बताएर हो। हामीलाई यो काम गर्न केले जुरमुऱ्याउँछ? मुख्यतया परमेश्वरप्रतिको प्रेमले। साथै अरूप्रतिको कृपा वा करुणाले पनि हामीलाई यो काम गर्न उत्प्रेरित गर्छ। (मत्ति २२:३७-३९) आज थुप्रै मानिस “छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता” दयनीय अवस्थामा छन्। (मत्ति ९:३६) धर्मगुरुहरूले मानिसहरूको आध्यात्मिक आवश्यकताको बेवास्ता गरेका छन् र तिनीहरूलाई सत्य सिकाएका छैनन्। त्यसैले मानिसहरूलाई परमेश्वरको वचनमा पाइने बुद्धिमानी डोऱ्याइ वा परमेश्वरको राज्यले पृथ्वीमा ल्याउने आशिष्हरूबारे केही पनि थाह छैन। हामीले तिनीहरूको आध्यात्मिक आवश्यकताबारे विचार गऱ्यौँ भने हाम्रो हृदय करुणाले भरिन्छ र तिनीहरूलाई यहोवाको मायालु उद्देश्यबारे बताउन आफ्नो तर्फबाट सक्दो गर्न उत्प्रेरित हुन्छौँ।
१७ हामी कृपाले भरिपूर्ण भएको अरू कुन तरिकामा देखाउन सक्छौँ? येसुले असल सामरियालीबारे बताउनुभएको उदाहरण सम्झनुहोस्। लुटेर अधमरो छोडिएको एक यहुदीलाई उसले मदत गरेको थियो। ऊ त्यस यहुदीप्रति करुणाले भरियो। उसले त्यस घाइतेलाई मलहमपट्टी गरिदिएर अनि उसको स्याहारसुसार गरेर “कृपालु व्यवहार गऱ्यो।” (लुका १०:२९-३७) के यस उदाहरणले कृपा देखाउनुमा खाँचोमा परेकाहरूलाई व्यावहारिक मदत दिनु समावेश छ भनेर देखाउँदैन र? बाइबल यस्तो प्रोत्साहन दिन्छ: “हामी सबैको भलाइ गरौँ, अझ विशेषगरि एउटै विश्वास हुने हाम्रा भाइबहिनीको।” (गलाती ६:१०) केही अवस्था विचार गरौँ। एक वृद्ध ख्रिष्टियनलाई सभा आऊ-जाऊ गर्न मदत दिनुपर्ने हुन सक्छ। मण्डलीको एक विधवालाई तिनको घर मर्मतसम्भार गर्न मदत चाहिएको हुन सक्छ। (याकुब १:२७) निराश भएका भाइ वा बहिनीलाई “मीठो बोली”-को आवश्यकता हुन सक्छ, जसले गर्दा तिनले हौसला पाउन सक्छन्। (हितोपदेश १२:२५) हामीले अरूलाई यी तरिकाहरूमा करुणा देखाउँदा माथिबाट आउने बुद्धिले हामीमा काम गर्दै छ भन्ने प्रमाण दिइरहेका हुन्छौँ।
“निष्पक्ष र निष्कपट”
१८. हामी परमेश्वरको बुद्धिअनुसार चल्छौँ भने के गर्न हरप्रयास गर्छौँ र किन?
१८ “निष्पक्ष।” परमेश्वरको बुद्धिले हामीलाई जातीय पूर्वाग्रह राख्नदेखि र राष्ट्रियतामा घमन्ड गर्नदेखि जोगाउँछ। यदि हामी परमेश्वरको बुद्धिअनुसार चल्छौँ भने आफ्नो हृदयबाट भेदभावको भावना हटाउन हरप्रयास गर्छौँ। (याकुब २:९) हामी कसैको शैक्षिक पृष्ठभूमि, आर्थिक स्तर वा मण्डलीमा पाएको जिम्मेवारीको आधारमा तिनलाई बढ्तै महत्त्व दिने गर्दैनौँ। कुनै भाइ वा बहिनीको सामाजिक वा आर्थिक अवस्था कमजोर छ भने पनि हामी तिनलाई तुच्छ नजरले हेर्दैनौँ। यहोवा तिनलाई उहाँको प्रेम पाउन लायक सम्झनुहुन्छ भने तिनी हाम्रो पनि प्रेम पाउन लायकका छन्।
१९, २०. (क) “कपटी” भनेर अनुवाद गरिएको ग्रीक शब्द कसलाई बुझाउन प्रयोग गरिन्थ्यो? (ख) हामी कसरी “निष्कपट भ्रातृस्नेह” देखाउन सक्छौँ र यसो गर्नु किन महत्त्वपूर्ण छ?
१९ “निष्कपट।” “कपटी” भनेर अनुवाद गरिएको ग्रीक शब्द “नाटकमा कुनै भूमिका निर्वाह गर्ने कलाकारलाई” बुझाउन प्रयोग गरिन्थ्यो। प्राचीन समयमा ग्रीक र रोमी कलाकारहरूले अभिनय गर्दा ठूलठूला मुखौटा लगाउने गर्थे। त्यसैले “कपटी” भनेर अनुवाद गरिएको ग्रीक शब्द ढोङ वा देखावटी व्यवहार गर्ने व्यक्तिको लागि चलाउन थालियो। परमेश्वरको बुद्धिको यस पक्षले हामी भाइबहिनीसित कस्तो व्यवहार गर्छौँ, त्यसमा मात्र नभई तिनीहरूप्रति कस्तो महसुस गर्छौँ, त्यसमा पनि प्रभाव पार्नुपर्छ।
२० हामीले “सत्यको वचन पालन” गर्ने भएकोले हामीमाझ “निष्कपट भ्रातृस्नेह” छ भनेर प्रेषित पत्रुसले बताए। (१ पत्रुस १:२२) हो, भाइबहिनीप्रतिको हाम्रो स्नेह देखावटी हुनु हुँदैन। हामीले मुखौटा लगाएको जस्तो देखावटी व्यवहार गरेर अरूलाई धोका दिनु हुँदैन बरु मनैदेखि साँचो स्नेह देखाउनुपर्छ। यसो गऱ्यौँ भने भाइबहिनीले हाम्रो बाहिरी व्यक्तित्व जस्तो छ, भित्री व्यक्तित्व पनि त्यस्तै छ भनेर बुझ्नेछन् अनि हामीलाई भरोसा गर्नेछन्। यसरी सबै जना इमानदार हुँदा हामी कुनै सङ्कोच नमानी एकअर्कासित सङ्गत गर्न र आपसमा सुमधुर सम्बन्ध गाँस्न सक्छौँ। फलस्वरूप मण्डलीमा सबैले एकअर्कालाई भरोसा गर्न सक्ने वातावरण सृजना हुन्छ।
“बुद्धि . . . जोगाइराख”
२१, २२. (क) सुलेमानले किन बुद्धि जोगाइराख्न सकेनन्? (ख) हामी कसरी बुद्धि जोगाइराख्न सक्छौँ र यसो गर्दा हामीलाई कस्तो फाइदा हुन्छ?
२१ यहोवाले दिनुहुने बुद्धि उहाँको वरदान हो र हामीले यसलाई जोगाइराख्नुपर्छ। सुलेमानले यसो भने: “हे मेरो छोरा, ती नभुल। बुद्धि र सोच्ने क्षमता जोगाइराख।” (हितोपदेश ३:२१) दुःखको कुरा, सुलेमान आफै भने त्यसो गर्नदेखि चुके। तिनी यहोवाप्रति आज्ञाकारी रहुन्जेल बुद्धिमान् हुन सके। तर अन्तमा तिनका थुप्रै विदेशी पत्नीले तिनलाई यहोवाको शुद्ध उपासनाबाट तर्काइदिए। (१ राजा ११:१-८) सुलेमानले भोगेको दुःखद नतिजाबाट हामीले ज्ञानलाई सही तरिकामा प्रयोग गरेनौँ भने त्यसको कुनै मोल हुँदैन भन्ने कुरा प्रस्ट हुन्छ।
२२ हामी कसरी बुद्धि जोगाइराख्न सक्छौँ? हामीले नियमित रूपमा बाइबल अनि “विश्वासी र बुद्धिमान् दास”-ले उपलब्ध गराएका बाइबलआधारित प्रकाशनहरू पढ्नुका साथै सिकेको कुरा लागू गर्न सक्दो गर्नुपर्छ। (मत्ति २४:४५) हामीले आफ्नो जीवनमा परमेश्वरको बुद्धि लागू गर्नुपर्ने हर कारण छ। यसले हामीलाई अहिल्यै अर्थपूर्ण जीवन बिताउन अनि भविष्यमा नयाँ संसारमा पाइने “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” मदत गर्छ। (१ तिमोथि ६:१९) सबैभन्दा महत्त्वपूर्ण कुरा, माथिबाट आउने बुद्धिअनुसार चल्दा सारा बुद्धिका स्रोत यहोवा परमेश्वरसित नजिक हुन सक्नेछौँ।
a पहिलो राजा ३:१६ अनुसार ती दुई स्त्री वेश्या थिए। धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्ग्रेजी) किताबमा यस्तो लेखिएको छ: “यी दुवै स्त्री वेश्या थिए तर सायद तिनीहरू व्यावसायिक रूपमै वेश्यावृत्तिमा लागेका भने थिएनन्। बरु तिनीहरू यहुदी वा विदेशी स्त्री हुन सक्छन्, जसले अवैध यौनसम्बन्ध राखेका थिए।”—यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
b अर्को बाइबल अनुवादमा यी अभिव्यक्तिहरूलाई “करुणा र असल कामले भरिपूर्ण” भनिएको छ।—चार्ल्स बि. विलियम्सको अ ट्रान्सलेसन इन द ल्याङ्वेज अफ द पिपल अनुवाद।