“तिनीहरू संसारका होइनन्”
अध्याय २१
“तिनीहरू संसारका होइनन्”
१. (क) आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो राती येशूले आफ्ना चेलाहरूका निम्ति के प्रार्थना गर्नुभयो? (ख) ‘संसारको नहुनु’ किन यतिको महत्त्वपूर्ण छ?
येशूलाई शूलीमा चढाउने अघिल्लो राती उहाँले आफ्ना चेलाहरूका निम्ति एकाग्रचित्तका साथ प्रार्थना गर्नुभयो। शैतानले तिनीहरूमाथि ठूलो दबाउ ल्याउनेछ भनी उहाँलाई थाह थियो। यसैकारण उहाँले आफ्ना पितालाई यसो भन्नुभयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टहरूबाट जोगाइराख्नुहोस्। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।” (यूह. १७:१५, १६) संसारबाट अलग हुनु किन यति महत्त्वपूर्ण छ? किनभने यसको शासक शैतान हो। संसारका सहभागीहुनेहरू त्यसैको अधीनमा हुन्छन्। (यूह. १४:३०; १ यूह. ५:१९) यसैकारण पनि “संसारको नहुनु” भनेको अर्थ के हो, सो बुझ्नु प्रत्येक मसीहीका लागि अत्यावश्यक छ। यो कुरा येशूले कसरी प्रदर्शित गर्नुभयो?
२. कुन कुन तरिकाहरूमा येशू ‘संसारको हुनुहुँदैन’ थियो?
२ येशूले आफूलाई अरूहरूबाट कदापि अलग्ग राख्नु भएन। उहाँले “संसारको नहुनु” भन्नु भएको अर्थ अरूहरूलाई प्रेम नगर्नु भन्नुभएको थिएन। यसको ठीक विपरीत, राज्यको सुसमाचार सुनाउनु हुँदै उहाँ शहर शहर जानुभयो। उहाँले रोगीहरूलाई निको पार्नुभयो, अन्धालाई दृष्टि दिनुभयो, मरेकालाई बिउँताउनु भयो र मानवजातिका निम्ति आफ्नो प्राण समेत दिनुभयो। तर संसारको आत्माले भरिपूर्ण भएकाहरूको भक्तिहीन प्रवृत्तिहरू र दुष्ट कार्यहरूलाई चाहिं उहाँले प्रेम गर्नु भएन। उहाँले अनैतिक इच्छाहरू, भौतिकवादी जीवनशैली, र व्यक्तिगत प्रमुखताका लागि स्वार्थपूर्ण ढङ्गमा अघि अघि लम्कने चाहनाहरू देखि सतर्क गराउनु भयो। (मत्ती ५:२७, २८; ६:१९-२१; लूका १२:१५-२१; २०:४६, ४७) परमेश्वरबाट अलग्गिएका मानिसहरूको जीवनशैली अनुकरण गर्नुको सट्टा येशू यहोवाका मार्गहरूमा हिड्नु हुन्थ्यो। (यूह. ८:२८, २९) रोम र यहूदीहरू बीचको राजनैतिक विवादमा येशू स्वयं यहूदी हुनु भएर पनि कसैको पक्ष लिनु भएन।
“मेरो राज्य यस संसारको होइन”
३. (क) पिलातसको सामुन्ने यहूदी धर्मगुरुहरूले येशूलाई कुन कुराको दोष लगाए र किन? (ख) एउटा मानव राजा हुनुमा येशूको कुनै चासो थिएन भनी केले देखाउँदछ?
३ तथापि, येशू राष्ट्रहितको विरुद्धमा काम गर्दै हुनुहुन्छ भन्ने दोष यहूदी धर्मगुरुहरूले लगाए। तिनीहरूले उहाँलाई पक्राउन लगाए र रोमी बडा हाकिम, पोन्तियस पिलातसकहाँ लगे। येशूका शिक्षाहरूद्वारा तिनीहरूको कापट्य उदाङ्ग भइरहेको थियो र यसले गर्दा तिनीहरू साँच्चै नै विचलित थिए। तर उहाँको विरुद्धमा बडा हाकिमलाई कारबाई गर्न उक्साउन तिनीहरूले यो दोष लगाए: “हाम्रो जातिलाई यसले बहकाउनलागेको, र सिजरलाई कर तिर्न रोकेको र आफैलाई चाहिं ‘म राजा हुँ’ भनेको हामीले फेला पाऱ्यौं।” (लूका २३:२) तर कुरा खासमा के थियो भने एक वर्षअघि मानिसहरूले उहाँलाई राजा बनाउँन खोज्दा येशूले इन्कार गर्नु भएको थियो। (यूह. ६:१५) उहाँ एउटा स्वर्गीय राजा हुनुहुनेछ तर उहाँ राजा हुने समय आइ पुगेको थिएन र कुनै प्रजातान्त्रिक वा जन-प्रिय तरिकाबाट उहाँ राजगद्दीमा बस्नु नभएर यहोवाद्वारा उहाँ शासक नियुक्त हुनुहुनेछ भन्ने कुरा उहाँलाई थाह थियो।
४. ‘सिजरलाई कर तिर्ने’ सम्बन्धमा येशूको दृष्टिकोण वास्तवमा के थियो?
४ जहाँसम्म कर तिर्ने कुरा थियो, येशूलाई पक्राउमा पार्नुभन्दा तीन दिन अघि मात्र यस विषयमा अभियोग लाउन सकिने किसिमको केही कुरा उहाँलाई भन्न लाउने प्रयास फरिसीहरूले गरेका थिए। तर तिनीहरूको धूर्त प्रश्नको जवाफमा येशूले यसो भन्नुभएको थियो: “मलाई एउटा दिनार [रोमी सिक्का] देखाओ। यसमा कसको मूर्ति र छाप छ?” तिनीहरूले “सिजरको” भनेपछि, उहाँले जवाफ दिनुभयो: “यसकारण जे सिजरका हुन् सिजरलाई, र जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।”—लूका २०:२०-२५.
५. (क) येशूले आफू पक्राउ पर्नु भएको बेलामा चेलाहरूलाई के शिक्षा दिनुभयो? (ख) आफूले गर्नु भएको काम-कुराको कारण येशूले पिलातसलाई कसरी बताउनु भयो?
५ येशूलाई पक्रिने बेला घटेको घटनाबाट पनि यो स्पष्ट भयो कि उहाँले मानिसहरूमा रोमको विरुद्ध विद्रोहको भावना भडकाउनु भएको थिएन। नता यो काम आफ्ना चेलाहरूले गरेको उहाँ देख्न चाहनु हुन्थ्यो। तरवारहरू र मुङ्गरो लिएर यहूदीहरूका साथ रोमी सिपाहीहरू येशूलाई पक्रन आए। (यूह. १८:३, १२; मर्कूस १४:४३) यो देखेर प्रेरित पत्रुसले तरवार झिकेर एकजना मानिसको दाहिने कान काटिदिए। तर येशूले पत्रुसलाई हप्काउँदै यसो भन्नुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्।” (मत्ती २६:५१, ५२) येशूले यसो किन गर्नुभयो, यसको कारण उहाँले भोलिपल्ट बिहान पिलातसको सामुन्ने बताउनु भयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनालाई मेरा चाकरहरूले लड़ाइँ गर्ने थिए, तर अब मेरो राज्य यहाँको होइन।”—यूह. १८:३६.
६. त्यस पुर्पक्षको परिणाम के भयो?
६ प्रस्तुत प्रमाण जाँच गरी सकेपछि पिलातसले येशूको विरुद्धमा “कुनै कसूर भेट्टाइनँ” भनेर घोषणा गरे। तापनि, तिनले भीडको सामना गर्न सकेनन्। तिनले येशूलाई शूलीमा झुन्ड्याउने आदेश दिए।—लूका २३:१३-१५; यूह. १९:१२-१६.
चेलाहरूले गुरुको अगुवाइको अनुसरण गर्दछन्
७. संसारको आत्माबाट अलग्ग रहे तापनि तिनीहरूले मानिसहरूलाई चाहिं प्रेम गर्थे भन्ने कुरा सुरु-सुरुका मसीहीहरूले कसरी देखाए?
७ येशूका चेलाहरूले “संसारको नहुन”-का लागि के के गर्न आवश्यक थियो, सो तिनीहरूले बुझेका थिए। यसलाई बाइबल र इतिहास दुवैमा प्राचीन मसीही धर्मबारे लेखिएका कुराहरूले देखाउँछ। संसारको प्रवृत्तिबाट बच्न तिनीहरूले उत्कट प्रयास गरे। हिंसात्मक र अनैतिक रोमी सर्कस र नाचहरूबाट आफूलाई टाढा राख्ने गरेका हुनाले तिनीहरू मानवजातिलाई घृणा गर्नेहरू हुन् भनेर तिनीहरूको गिल्ला गरिन्थ्यो। तथापि, आफ्ना सङ्गी मानिसहरूलाई घृणा गर्नुको सट्टा मुक्तिका निम्ति परमेश्वरको प्रबन्धबाट लाभ उठाउने काममा अरूहरूलाई मदत दिन तिनीहरूले आफ्नो जीवन बिताए।
८. (क) ‘संसारको नहुँदा’ ती सुरु-सुरुका मसीहीहरूले के अनुभव गरे? (ख) तर राजनैतिक शासकहरू र कर तिर्ने सम्बन्धमा तिनीहरूको के दृष्टिकोण थियो र किन?
८ तिनीहरूका गुरुले झैं तिनीहरूले पनि बारम्बार सरकारी कर्मचारीहरूको हातबाट कठिन सतावट भोग्नु पऱ्यो। (यूह. १५:१८-२०) तर येशूले दिनु भएको सल्लाहलाई अझ जोड दिंदै प्रेरित पावलले लगभग सा. यु. ५६-तिर रोममा बसोबास गर्ने आफ्ना सङ्गी मसीहीहरूलाई लेखे। “उच्च अख्तियारवालाहरू” अर्थात् राजनैतिक शासकहरूको “अधीनमा रहनु” भनेर पावलले तिनीहरूलाई आग्रह गरे किनकि “परमेश्वर बाहेक अरूको अख्तियार हुँदैन।” यसको अर्थ सांसारिक सरकारहरूलाई यहोवाले स्थापित गर्नुहुन्छ भनेको होइन। बरु उहाँले तिनीहरूलाई शासन गर्ने अनुमति दिनु भएको हो। पावलको व्याख्यानुसार तिनीहरू “परमेश्वरबाट खटिएका हुन्छन्,” किनभने सत्तामा तिनीहरू कुन क्रमानुसार आउनेछन् त्यसको अग्रदृष्टि परमेश्वरले गरी सक्नु भएको थियो। त्यसकारण, येशू ख्रीष्टको हातमा परमेश्वरको आफ्नै राज्य यस पृथ्वीलाई शासन गर्ने एक मात्र सरकार नहोउञ्जेल “उच्च अख्तियारवालाहरू” वर्तमानका निम्ति “परमेश्वरबाट खटिएका” हुन्। अतः सांसारिक कर्मचारीहरूलाई उचित आदर देखाउनु र तिनीहरूले लगाएका करहरू तिर्नु भनी पावलले मसीहीहरूलाई सल्लाह दिए।—रोमी १३:१-७; तित. ३:१, २.
९. (क) “उच्च अख्तियारवालाहरूका” अधीनमा बस्दा कुन कुरालाई चाहिं बिर्सिनु हुँदैन? (ख) सुरु-सुरुका मसीहीहरूले येशूको उदाहरणलाई सावधानीपूर्वक अनुसरण गर्थे भनी इतिहासले कसरी देखाउँदछ?
९ तर, सम्पूर्ण तवर्मा तिनीहरूको अधीनमा बस्नु र परमेश्वर, उहाँको वचन र आफ्नो मसीही अन्तस्करणको कुनै ख्यालै नराख्नु चाहिं पावलले भनेको होइन। येशूले यहोवालाई मात्र उपासना गर्नुहुन्थ्यो। मानिसहरूले उहाँलाई राजा बनाउँन खोज्दा उहाँले इन्कार गर्नु भएको थियो। पत्रुसलाई आफ्नो तरवार नचलाउनु भन्नु भएको थियो, यी सबै कुरा तिनीहरूलाई थाह थियो। तिनीहरूले आफ्नो गुरुको अगुवाइलाई लगनशीलतका साथ पछ्याउने गरे। ओन द रोड टु सिभिलाइजेशन—अ वर्ल्ड हिस्ट्रि (हेकेल र सिगमनद्वारा प्रस्तुत, पाना २३७, २३८) भन्ने पुस्तकले यो जानकारी दिन्छ: “रोमी नागरिकका केही कर्तव्यहरू पूरा गर्न मसीहीहरूले इन्कार गरे। मसीही विचारअनुसार . . . सैनिक सेवामा भाग लिनु आफ्नो विश्वासलाई भङ्ग गर्नु थियो। तिनीहरू राजनैतिक ओहदा स्वीकार गर्दैन थिए। तिनीहरू सम्राटलाई उपासना गर्दैन थिए।”
१०. (क) सा. यु. ६६-मा यरूशलेमका मसीहीहरूले जे कदम उठाए सो किन उठाए? (ख) त्यो कसरी एउटा महत्त्वपूर्ण उदाहरण हो?
१० तिनीहरूको समयका राजनैतिक र सैनिक विवादहरूमा येशूका चेलाहरू बिल्कुलै तटस्थ रहन्थे। सा. यु. ६६-मा, रोमी प्रान्त यहूदियाका यहूदीहरूले सिजरको विरुद्ध विद्रोह गरे। रोमी फौजले तुरुन्तै यरूशलेमलाई चारैतिरबाट घेरे। शहरका मसीहीहरूले के गरे? तटस्थ रहनु र युद्ध गर्ने दुवै पक्षका फौजहरूको बीचबाट अलग्ग हुनु भनेर येशूले दिनु भएको सल्लाहलाई तिनीहरूले सम्झे। रोमी फौजहरू केही समयका लागि फर्केर गएको बेलामा, मसीहीहरूले मौका छोप्दै यर्दन नदी पार गरे र पेल्लाको पहाडी क्षेत्रतर्फ भागे। (लूका २१:२०-२४) तिनीहरूले आफ्नो तटस्थताद्वारा पछि आउने मसीहीहरूका निम्ति एउटा भरपर्दो उदाहरण कायम गरे।
अन्तको समयमा तटस्थ रहने मसीहीहरू
११. (क) कुन काममा यहोवाका साक्षीहरू व्यस्त रहन्छन्, र किन? (ख) कुन कुराबारे तिनीहरू तटस्थ छन्?
११ इतिहासअनुसार, सा. यु. १९१४-देखि यता, “अन्तको समयमा” पनि के कुनै समूहले ती प्राचीन मसीहीहरूको उदाहरण अनुसरण गर्दै मसीही तटस्थताको बाटो अपनाएका छन्? छन्, र त्यसो गर्ने यहोवाका साक्षीहरू हुन्। परमेश्वरको राज्यद्वारा मात्र धार्मिकताका प्रेमीहरूका निम्ति विश्वव्यापी शान्ति, सम्पन्नता र स्थायी आनन्द सम्भव हुन सक्छ भनेर पृथ्वीभरि प्रचार गर्ने काममा तिनीहरू व्यस्त छन्। (मत्ती २४:१४) तर राष्ट्रहरू बीचको विवादबारे चाहिं तिनीहरू बिल्कुलै तटस्थ रहेका छन्।
१२. (क) पादरीहरूले गरेका काम-कुरा र साक्षीहरूको तटस्थता कसरी अति नै भिन्न छ? (ख) राजनीतिबारे तटस्थ रहनुमा यहोवाका साक्षीहरूका लागि कुन कुन कुरा सम्मिलित छन्?
१२ त्यसको ठीक विपरीत, मसीहीजगतका पादरीहरू चाहिं संसारका राजनैतिक गतिविधिहरूमा धेरै नै बिथोलित भएका छन्। कुनै कुनै देशमा चुनावमा उठ्ने उम्मेदवारहरूका पक्ष वा विपक्षमा तिनीहरू सक्रिय रूपले प्रचार गर्ने गर्दछन्। कुनै कुनै पादरीहरू आफै पनि राजनैतिक ओहदामा छन्। अरूहरूले चाहिं राजनीतिज्ञहरूलाई पादरीहरूद्वारा अनुमोदित आयोजनहरूको पक्ष लिन लाउन ठूलो दबाउ दिन्छन्। अन्य ठाउँहरूमा चाहिं “हठ्वादी” पादरीहरू ओहदामा हुने मानिसहरूको घनिष्ठ मित्र बन्दछन् जबकि “प्रगतिशील” पादरीहरूले चाहिं तिनीहरूको सत्ता पल्टाउन गुरिल्ला गतिविधिलाई समर्थन गरिरहेका हुन सक्छन्। तथापि जुनसुकै देशमा बसे तापनि यहोवाका साक्षीहरू राजनीतिमा हात हाल्दैनन्। अरूहरू कुनै राजनैतिक दलका सदस्य भएर चुनावमा खडा हुन्छन् वा मत खसाल्छन् भने पनि यहोवाका साक्षीहरूले तिनीहरूलाई कुनै वाधा पुऱ्याउँदैनन्। तर येशूले उहाँका चेलाहरू “संसारका होइनन्” भन्नुभएको हुनाले यहोवाका साक्षीहरू कुनै प्रकारले पनि राजनैतिक गतिविधिमा भाग लिंदैनन्।
१३. युद्धमा भाग लिने सम्बन्धमा यहोवाका साक्षीहरूले वास्तवमा के अडान लिएका छन्?
१३ येशूले अग्रिमवाणी गर्नु भए झैं यस “अन्तको समयमा” राष्ट्रहरूले बारम्बार लडाइँ गरेका छन् र राष्ट्रहरू भित्रै पनि विभिन्न गुटहरूले एक अर्काका विरुद्धमा हतियार उठाएका छन्। (मत्ती २४:३, ६, ७) तर यी सबै कुरा हुँदाहुँदै पनि यहोवाका साक्षीहरूले के अडान लिएका छन्? यसप्रकारको द्वन्दमा तिनीहरूको तटस्थता संसारभरि सर्वविदित छ। येशू र पछि उहाँका सुरु-सुरुका चेलाहरूले लिएको अडान अनुरूप नवम्बर १, १९३९-को वाचटावर-ले यसो भनेको थियो: “प्रभुको पक्ष लिनेहरू युद्धरत् राष्ट्रहरूबीच तटस्थ रहनेछन् र पूर्णरूपले ईश्वरतन्त्रको महान शासक [यहोवा] र उहाँले नियुक्त गर्नु भएका राजाको [येशू ख्रीष्ट] पक्षमा हुनेछन्।” सबै राष्ट्रहरूमा र हर प्रकारका परिस्थितिहरूमा यहोवाका साक्षीहरूले यो अडान लिइरहेको कुरा वास्तविकताले देखाउँछ। यहोवाका उपासकहरूबीच रहेको अन्तर्राष्ट्रिय भ्रातृत्वलाई संसारको गुटबन्दीपूर्ण राजनीति र युद्धहरूले तोड्न सकेको छैन।—यशै. २:३, ४; २ कोरिन्थी १०:३, ४ सङ्ग तुलना गर्नुहोस्।
१४. (क) आफ्नो तटस्थ अडानको कारण साक्षीहरूले के समेत गर्न अस्वीकार गरेका छन्? (ख) यसका लागि तिनीहरूले के कारण प्रस्तुत गरेका छन्?
१४ ऐतिहासिक तथ्यहरूलाई जाँच गर्दा देखिन्छ कि यहोवाका साक्षीहरूले सैनिक पोशाक पहिरनु र हात-हतियार उठाउनु मात्र इन्कार गरेका होइनन्। सैनिक सेवाको सट्टामा तिनीहरूलाई अहिंसात्मक अथवा अन्य कुनै किसिमको काम गर्न दिएमा पनि तिनीहरूले अस्वीकार गरेका छन्। किन? किनभने तिनीहरूले परमेश्वरका नियमहरूको अध्ययन गरेर एउटा व्यक्तिगत निर्णय लिएका छन्। तिनीहरूले के गर्नु पर्दछ सो तिनीहरूलाई कसैले भन्नु पर्दैन। नता अरूहरूले गर्न चाहेको कुरामा तिनीहरूले बाधा दिन्छन्। तर आफ्नो अडानबारे कसैले सोधेको खण्डमा यहोवाका साक्षीहरूले स्पष्ट पारिदिन्छन् कि तिनीहरू परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्ने व्यक्तिहरू हुन्। अतः आफ्नो शरीर परमेश्वर कै सेवामा प्रयोग गर्ने बाध्यता तिनीहरूमाथि छ। तिनीहरूले आफ्नो शरीरलाई परमेश्वरको उद्देश्य विपरीत काम गर्ने पार्थिव मालिकहरूको जिम्मामा दिन सक्तैनन्।—रोमी ६:१२-१४; १२:१, २; मीका ४:३.
१५. (क) संसारबाट आफूलाई अलग्ग राख्दा यहोवाका साक्षीहरूले के अनुभव गरेका छन्? (ख) झ्यालखानमा परेको बेलामा पनि मसीही सिद्धान्तहरूले तिनीहरूलाई कसरी डोऱ्याएको छ?
१५ त्यसको प्रतिफल येशूले भन्नुभए जस्तै भएको छ: “तिमीहरू यस संसारका होइनौ . . . यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” (यूह. १५:१९) आफ्नो मसीही तटस्थतालाई भङ्ग नगर्दा धेरै यहोवाका साक्षीहरू झ्यालखानमा हालिएका छन्। कसै कसैले अति नै क्रूर व्यवहारको सामना गरेर मरेका पनि छन्। कतिले वर्षौंदेखिन् झ्यालखानमा बन्द रहेर पनि आफ्नो तटस्थता कायम राखेका छन्। भ्यालुज एण्ड वायोलेन्स इन औसविट्ज (लेखक अन्ना पावलेन्सका, पाना ८९) भन्ने पुस्तकमा रिपोर्ट पाउँछौं: “सबैलाई थाह थियो कि यहोवाका कुनै पनि साक्षीले [निरोधन शिविरमा] आफ्नो धार्मिक विश्वास र आस्थाको विपरीत हुने कुनै पनि आदेश पालन गर्नेछैन। नता एकजना हत्यारा वा नाट्सी अफसर अथवा कुनै व्यक्तिको विरुद्धमा केही कार्य गर्नेछन्। तर तिनको विचारमा आफ्नो तटस्थता भङ्ग नगर्ने अरू जुनसुकै काम, जति नै घिनलाग्दो भए तापनि, तिनी गर्न तयार हुन्थे।”
१६. (क) सबै राष्ट्रहरू कतातिर अघि बढिरहेका छन्, र त्यसकारण यहोवाका साक्षीहरू के गर्नदेखि अलग्ग बस्छन्? (ख) अतः संसारदेखि आफूलाई अलग राख्नु एउटा यति गम्भीर कुरा किन हो?
१६ सारा राष्ट्रहरू आर-मागेडोनमा “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँको निम्ति” अगाडि बढिरहेका छन्। सो कुरा यहोवाका साक्षीहरू जान्दछन्। एकताबद्ध भएर यहोवाका सेवकहरू उहाँको मसीही राज्यको पक्षमा उभिएका छन्। अतः त्यस राज्यको विरोध गर्ने स्थितिमा तिनीहरूले आफूलाई पर्न दिंदैनन्। (प्रकाश १६:१४, १६; १९:११-२१) आफ्ना सच्चा अनुयायीहरू “संसारका होइनन्” भनेर येशूले व्यक्त गर्नु भएको सिद्धान्तको महत्त्व तिनीहरू बुझ्दछन्। यो पुरानो संसार चाँडै नै बितिजानेछ र परमेश्वरको इच्छालाई साँचो हृदयका साथ गर्नेहरू मात्र सदा रहिरहनेछन् भनी तिनीहरू जान्दछन्।—१ यूह. २:१५-१७.
पुनरावलोकन एवं छलफल
• ‘संसारको नहुनु’-मा कुन कुन कुरा बिथोलित छ, सो येशूले कसरी देखाउनु भयो?
• (१) संसारको आत्माबारे (२) सांसारिक शासकहरू र कर तिर्ने सम्बन्धमा र (३) सैनिक सेवाबारे सुरु-सुरुका मसीहीहरूको दृष्टिकोण कुन कुराबाट बोध हुन्छ?
• वर्तमान समयमा आफ्नो मसीही तटस्थताबारे यहोवाका साक्षीहरूले के प्रमाण दिएका छन्?
[अध्ययनका लागि प्रश्नहरू]