एक मात्र साँचो परमेश्वरको रूपमा यहोवाको महिमा गर्नुहोस्
अध्याय दुई
एक मात्र साँचो परमेश्वरको रूपमा यहोवाको महिमा गर्नुहोस्
१. एक मात्र साँचो परमेश्वर को हुनुहुन्छ?
देवीदेवता कहलिएका थुप्रै भए तापनि बाइबलले बताएअनुसार “हाम्रा निम्ति ता परमेश्वर एउटै हुनुहुन्छ।” (१ कोरिन्थी ८:५, ६) यहाँ उल्लिखित ‘एउटै परमेश्वर’ सबै थोकका सृजनहार यहोवा हुनुहुन्छ। (व्यवस्था ६:४; प्रकाश ४:११) येशूले उहाँलाई “मेरा परमेश्वर र तिमीहरूका परमेश्वर” भनी संकेत गर्नुभयो। (यूहन्ना २०:१७) यो कुरामा उहाँ मोशासित सहमत हुनुहुन्थ्यो जसले यसो भनेका थिए: “यहोवा साँचो परमेश्वर हुनुहुन्छ; उहाँबाहेक अरू कोही छैन।” (व्यवस्था ४:३५, NW) उपासनामा प्रयोग गरिने मूर्ति, देवता ठानिने मानव वा “यस संसारको देव,” उहाँको शत्रु अर्थात् दियाबलभन्दा यहोवा सर्वश्रेष्ठ हुनुहुन्छ। (२ कोरिन्थी ४:३, ४) यी सबै कुराहरू जस्तो नभएर येशूले भन्नुभएझैं यहोवा “एकमात्र सत्य परमेश्वर” हुनुहुन्छ।—यूहन्ना १७:३.
२. परमेश्वरबारे सिक्दै जाँदा हाम्रो जीवनमा कस्तो प्रभाव पर्नुपर्छ?
२ परमेश्वरका हृदयस्पर्शी गुणहरू, उहाँले हाम्रोलागि गर्नुभएका र भविष्यमा गर्नुहुने कुराबारे सिकेका कृतज्ञ मानिसहरू उहाँप्रति आकर्षित हुन्छन्। यहोवाप्रति तिनीहरूको प्रेम बढ्दै गएपछि तिनीहरू उहाँको महिमा गर्न उत्प्रेरित हुन्छन्। कसरी? एउटा त, अरूलाई उहाँबारे बताएर। रोमी १०:१० (नयाँ संशोधित संस्करण) यसो भन्छ: “उसले आफ्नो मुखले [जनसमक्ष] स्वीकार्छ र उद्धार पाउँछ।” अर्को तरिका, काम र वचनद्वारा उहाँको अनुकरण गरेर। एफिसी ५:१ यसो भन्छ: “तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ।” अझ राम्रोसित देखासिकी गर्न सक्ने हुन हामीलाई यहोवाको वास्तविक चिनारी थाह हुनुपर्छ।
३. परमेश्वरका प्रमुख गुण के-के हुन्?
३ सम्पूर्ण बाइबलमा परमेश्वरका उल्लेखनीय गुणहरू प्रकट गर्ने थुप्रै अभिव्यक्तिहरू पाइन्छन्। उहाँको चारवटा प्रमुख गुण बुद्धि, न्याय, शक्ति र प्रेम हुन्। “बुद्धि . . . उहाँकै हुन्।” (अय्यूब १२:१३) “उहाँका सबै काम न्यायसंगत छन्।” (व्यवस्था ३२:४) उहाँ “सामर्थ्यमा बलियो हुनुहुन्छ।” (यशैया ४०:२६) “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) तथापि, परमेश्वरका चारवटा प्रमुख गुणहरूमध्ये सबैभन्दा उल्लेखनीय अर्थात् परमेश्वरको स्वभावबारे राम्रो चिनारी दिने गुण कुन हो?
“परमेश्वर प्रेम हुनुहुन्छ”
४. ब्रह्माण्ड र सारा जीवित प्राणीहरू सृष्टि गर्न परमेश्वरलाई कुन गुणले उत्प्रेरित गऱ्यो?
४ यहोवालाई ब्रह्माण्ड र बुद्धिमान् आत्मिक तथा मानव प्राणीहरू सृष्टि गर्न कुन कुराले उत्प्रेरित गऱ्यो, विचार गर्नुहोस्। के त्यो उहाँको बुद्धि वा शक्ति थियो? थिएन। किनभने परमेश्वरले ती गुणहरूको प्रयोग गर्नुभए तापनि ती उत्प्रेरक तत्त्व भने थिएनन्। अनि उहाँको न्यायको मतलब अरूलाई जीवनको वरदान दिनै पर्ने बाध्यता थिएन। बरु, आफ्नो महान् प्रेमले गर्दा बौद्धिक क्षमता भएका प्राणीको रूपमा आनन्द उठाउने मौका अरूलाई पनि दिन परमेश्वर उत्प्रेरित हुनुभयो। प्रेमले गर्दा नै उहाँले आज्ञाकारी मानिसजाति प्रमोदवनमा सधैंभरि बाँच्न सक्ने उद्देश्य राख्नुभयो। (उत्पत्ति १:२८; २:१५) आदमले पाप गरेर मानिसजातिमाथि ल्याएको सजाय हटाउन प्रेमले गर्दा नै उहाँ उत्प्रेरित हुनुभयो।
५. बाइबलअनुसार यहोवा कुन गुणको मूर्त रूप हुनुहुन्छ र किन?
५ तसर्थ, परमेश्वरका गुणहरूमध्ये सबैभन्दा उल्लेखनीय प्रेम नै हो। यो उहाँको साँचो चिनारी वा स्वभाव हो। उहाँको बुद्धि, न्याय र शक्ति एकदमै महत्त्वपूर्ण भए तापनि बाइबलले तीमध्ये कुनै पनि गुण, यहोवा हुनुहुन्छ भनेको छैन। तर बाइबलमा उहाँ प्रेम हुनुहुन्छ भनिएको छ। हो, यहोवा प्रेमको मूर्त रूप हुनुहुन्छ। यो भावनामा बहने नभई सिद्धान्तअनुसार चल्ने प्रेम हो। परमेश्वरको प्रेमलाई सत्य र धार्मिकताको सिद्धान्तले डोऱ्याउँछ। यो यहोवा परमेश्वर स्वयम्ले देखाउनुभएको सर्वोत्कृष्ट प्रेम हो। त्यस्तो प्रेम निःस्वार्थताको अभिव्यक्ति हो र यो सधैं ठोस कार्यहरूद्वारा प्रकट हुन्छ।
६. परमेश्वर हामीभन्दा श्रेष्ठ हुनुभए तापनि उहाँको अनुकरण गर्न कसरी सम्भव भएको छ?
६ यही अद्भुत गुणले गर्दा हामी त्यस्तो परमेश्वरको अनुकरण गर्न सक्छौं। हामी तुच्छ, असिद्ध, गल्ती गरिरहने मानिसहरू भएकोले उहाँको अनुकरण गर्न कहिल्यै सफल हुन सक्दैनौं जस्तो लाग्न सक्छ। तर परमेश्वरको महान् प्रेमको अर्को उदाहरण हो: उहाँलाई हाम्रो सीमितताबारे थाह भएकोले हामीबाट सिद्धता माग गर्नुहुन्न। हामी सिद्धताबाट निकै पर पुगिसकेका छौं भनेर उहाँलाई थाह छ। (भजन ५१:५) त्यसैकारण, भजन १३०:३, ४ यसो भन्छ: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनसक्छ र? तर तपाईंको डर मान्न तपाईंसित क्षमा पनि छ।” हो यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३४:६) “हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न [तयार] हुनुहुन्छ।” (भजन ८६:५) कस्तो सान्त्वनादायी! यस्तो अद्भुत परमेश्वरको सेवा गर्नु र उहाँको मायालु, कृपालु हेरचाह पाउनु कस्तो स्फूर्तिदायी कुरा हो!
७. यहोवाको सृष्टिमा उहाँको प्रेम कसरी प्रकट हुन्छ?
७ यहोवाको प्रेम उहाँको सृष्टिमा पनि देख्न सकिन्छ। यहोवाले हाम्रो आनन्दको लागि प्रबन्ध गर्नुभएका सुन्दर पहाड, जंगल, ताल र समुद्रजस्ता थुप्रै राम्रा कुराहरूबारे विचार गर्नुहोस्। उहाँले हामीलाई खानाको आनन्द लिन तथा जीवन धान्न विभिन्न प्रकारका भोजनहरू दिनुभएको छ। साथै, यहोवाले विभिन्न प्रकारका सुन्दर तथा सुगन्धित फूललगायत रोमाञ्चकारी जीवजन्तुहरू प्रदान गर्नुभएको छ। उहाँ बाध्य नहुनुभए तापनि मानिसहरूलाई आनन्द प्रदान गर्ने थुप्रै चीजबीजहरू बनाउनुभएको छ। हुन त हो, आफ्नो वर्तमान असिद्ध अवस्थामा यस दुष्ट रीतिरिवाजमा बसेर हामी उहाँको सृष्टिको पूर्ण सदुपयोग गर्न सक्दैनौं। (रोमी ८:२२) तर यहोवाले प्रमोदवनमा हाम्रोलागि के-के गर्नुहुनेछ, कल्पना गर्नुहोस्। भजनहार हामीलाई यस्तो आश्वासन दिन्छन्: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको [उचित] इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भजन १४५:१६.
८. हामीप्रति यहोवाको प्रेमको सबैभन्दा उल्लेखनीय उदाहरण के हो?
८ मानिसजातिप्रति यहोवाको प्रेमको सबैभन्दा उल्लेखनीय उदाहरण के हो? बाइबल यस्तो जवाफ दिन्छ: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) के यो मानिसको भलाइले गर्दा यहोवाले गर्नुभएको हो? रोमी ५:८ यस्तो जवाफ दिन्छ: “परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” हो, हामीलाई पाप र मृत्युको दण्डबाट मुक्त गर्न परमेश्वरले छुटकाराको बलिदानको रूपमा आफ्नो सिद्ध पुत्रलाई पृथ्वीमा पठाउनुभयो। (मत्ती २०:२८) यसले गर्दा परमेश्वरलाई प्रेम गर्ने मानिसहरूसामु अनन्त जीवन प्राप्त गर्ने बाटो खुलेको छ। खुसीको कुरा, परमेश्वरको प्रेम उहाँको इच्छा गर्न चाहने सबैले उपभोग गर्न पाउनेछन् किनभने बाइबल हामीलाई यसो भन्छ: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
९. यहोवाले हाम्रो खातिर आफ्नो पुत्रमार्फत छुडौतीको बलिदानको प्रबन्ध गर्नुभएको हुँदा हामीमा कस्तो असर पर्नुपर्ने हो?
९ यहोवाले हाम्रोलागि छुडौतीको बलिदानस्वरूप आफ्नो पुत्र दिनुभएर अनन्त जीवनको बाटो खोलिदिनुहुँदा यसले हाम्रो जीवनमा कस्तो प्रभाव पार्नुपर्छ? यसले साँचो परमेश्वर, यहोवाप्रतिको हाम्रो प्रेमलाई अझ प्रगाढ बनाउनुपर्छ। साथै, परमेश्वरको प्रतिनिधित्व गर्नुहुने येशूको कुरा सुन्न लगाउनुपर्ने हो। “[येशू ] सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो।” (२ कोरिन्थी ५:१५) येशूको पाइला पछ्याउँदै हिंड्नु कस्तो आनन्दको कुरा हो किनभने उहाँ यहोवाको प्रेम र अनुकम्पा अनुकरण गर्न उदाहरणीय हुनुहुन्थ्यो! यो येशूले नम्र जनहरूलाई भन्नुभएको कुराबाट स्पष्ट हुन्छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.
अरूलाई प्रेम देखाउने
१०. हामीले सँगी मसीहीहरूलाई प्रेम देखाउन सक्ने केही तरिका के-के हुन्?
१० यहोवा र येशूले हामीलाई देखाउनुभएको जस्तै प्रेम आफ्ना सँगी मसीहीहरूप्रति छ भनेर हामी कसरी देखाउन सक्छौं? हामीले यसो गर्न सक्ने थुप्रै तरिका छन्, त्यसमा ध्यान दिनुहोस्: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन, आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन। अधर्ममा खुशी हुँदैन, तर सत्यमा खुशी हुन्छ। सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेम कहिल्यै टल्दैन।”—१ कोरिन्थी १३:४-८; १ यूहन्ना ३:१४-१८; ४:७-१२.
११. हामीले अरू कसलाई प्रेम देखाउनुपर्छ र कसरी?
११ हामीले अरू कसलाई प्रेम देखाउनुपर्छ र कसरी? येशूले यसो भन्नुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) यसमा अहिलेसम्म सँगी मसीहीहरू भई नसकेका व्यक्तिहरूलाई परमेश्वरको आउँदै गरेको नयाँ संसारको सुसमाचार सुनाउनु पनि समावेश छ। हाम्रो जस्तै विश्वास भएकाहरूलाई मात्र प्रेम देखाउनु पर्याप्त छैन भनेर स्पष्ट पार्दै येशूले यसो भन्नुभयो: “तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने, तिमीहरूलाई के इनाम छ? के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? औ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूले भन्दा बढ्ता के गऱ्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र?”—मत्ती ५:४६, ४७; २४:१४; गलाती ६:१०.
“यहोवाको नाउँमा हिंड्नुहोस्”
१२. परमेश्वरले मात्र किन उहाँको आफ्नो नाउँ वहन गर्न सक्नुहुन्छ?
१२ साँचो परमेश्वरलाई महिमा गर्ने अर्को महत्त्वपूर्ण पक्ष, यहोवाको अनुपम नाउँ थाह पाउनु, त्यो प्रयोग गर्नु र त्यसबारे अरूलाई सिकाउनु हो। भजन रचयिताले आफ्नो साँचो इच्छा यसरी प्रकट गरे: “तिनीहरूले जानून्, कि तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” (भजन ८३:१८) यहोवा नाउँको अर्थ हो, “उहाँले गराउनुहुन्छ।” उहाँ आफ्ना उद्देश्यहरू सबै पूरा गर्नुहुने महान् परमेश्वर हुनुहुन्छ। अनि साँचो परमेश्वरले मात्र त्यस्तो नाउँ वहन गर्न सक्नुहुन्छ किनभने मानिसहरू आफ्नो प्रयास सफल हुनेछ भनेर शत प्रतिशत पक्का हुन सक्दैनन्। (याकूब ४:१३, १४) यहोवाले मात्रै आफ्नो वचन जुन कामको लागि पठाइन्छ, त्यसमा त्यो “सफल हुनेछ” भन्न सक्नुहुन्छ। (यशैया ५५:११) थुप्रै मानिसहरू आफ्नो बाइबलमा पहिलो चोटि यहोवाको नाउँ देख्दा र त्यसको अर्थ बुझ्न पाउँदा हर्षविभोर हुन्छन्। (प्रस्थान ६:३) तर तिनीहरूले ‘यहोवाको नाउँमा हिंडेको’ खण्डमा मात्र लाभ उठाउने छन्।—मीका ४:५.
१३. यहोवाको नाउँ जान्नु र उहाँको नाउँमा हिंड्नुमा के-के समावेश छन्?
१३ परमेश्वरको नाउँबारे भजन ९:१० यसो भन्छ: “तपाईंको नाउँ जान्नेहरू जत्ति चाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्।” यसको मतलब यहोवाको नाउँ थाह पाउने बित्तिकै स्वतः उहाँमा भरोसा राख्न सकिन्छ भनेको होइन। परमेश्वरको नाउँ जान्नु भनेको यहोवा कस्तो प्रकारको परमेश्वर हुनुहुन्छ भनी बुझ्नु, उहाँको अख्तियारको आदर गर्नु, उहाँको आज्ञा पालन गर्नु अनि सबै कुरामा उहाँमा भरोसा राख्नु हो। (हितोपदेश ३:५, ६) त्यसरी नै, यहोवाको नाउँमा हिंड्नु भनेको उहाँमा समर्पित हुनु अनि उहाँको उपासक भनी चिनाउँदै परमेश्वरको इच्छाअनुसार आफ्नो जीवन बिताउनु हो। (लूका १०:२७) के तपाईंले त्यसो गरिरहनुभएको छ?
१४. हामी अनन्तसम्म यहोवाको सेवा गर्न चाहन्छौं भने कर्तव्यबोधको भावनाबाहेक अरू के चाहिन्छ?
१४ हामी अनन्तसम्म यहोवाको सेवा गर्न चाहन्छौं भने कर्तव्यबोधको भावनाले मात्र उत्प्रेरित हुनु पर्याप्त छैन। धेरै वर्षदेखि यहोवाको सेवा गरिरहेका तिमोथीलाई प्रेरित पावलले यस्तो आग्रह गरे: “आफैलाई [ईश्वरीय] भक्तितर्फ साधन गर।” (१ तिमोथी ४:७) जसलाई भक्ति गरिन्छ, त्यस व्यक्तिप्रति कृतज्ञताले भरिएको हृदयबाट भक्ति उत्पन्न हुन्छ। “ईश्वरीय भक्ति” भन्नाले व्यक्तिगत तवरमा यहोवाप्रति गहिरो श्रद्धा भन्ने अर्थ बुझाउँछ। यसले उहाँ र उहाँको तौरतरिकाप्रति असीम सम्मानले गर्दा उहाँसित मायालु र घनिष्ठ सम्बन्ध भन्ने अर्थ बुझाउँछ। यसले सबैलाई उहाँको नाउँको उच्च सम्मान गर्न लगाउँछ। हामी एक मात्र साँचो परमेश्वर, यहोवाको नाउँमा हिंड्न चाहन्छौं भने हामीले आफ्नो जीवनमा ईश्वरीय भक्ति विकास गर्नुपर्छ।—भजन ३७:४; २ पत्रुस ३:११.
१५. हामी परमेश्वरलाई कसरी ऐकान्तिक भक्ति चढाउन सक्छौं?
१५ परमेश्वरलाई ग्रहणयोग्य सेवा गर्न हामीले उहाँलाई मात्रै उपासना चढाउनुपर्छ किनभने उहाँ “ऐकान्तिक भक्ति चाहने परमेश्वर” हुनुहुन्छ। (प्रस्थान २०:५, NW) हामी एकातिर परमेश्वर अनि अर्कोतिर दुष्ट संसारलाई पनि प्रेम गर्न सक्दैनौं जसको देव शैतान हो। (याकूब ४:४; १ यूहन्ना २:१५-१७) हामी कस्तो प्रकारको मानिस हुन खोज्दैछौं भनेर यहोवालाई राम्ररी थाह छ। (यर्मिया १७:१०) हामी साँच्चै धार्मिकतालाई प्रेम गर्छौं भने, उहाँले त्यो अवश्य देख्नुहुनेछ र हामीले दिनहुँ सामना गर्ने परीक्षाहरू सहन मदत गर्नुहुनेछ। आफ्नो शक्तिशाली पवित्र आत्मा दिनुभएर उहाँले हामीलाई यस संसारमा व्याप्त दुष्टतामाथि विजयी हुन बल प्रदान गर्नुहुनेछ। (२ कोरिन्थी ४:७) उहाँले हामीलाई पार्थिव प्रमोदवनमा अनन्त जीवनको बलियो आशा पक्रिराख्न मदत गर्नुहुनेछ। त्यो कस्तो महिमित प्रत्याशा हो! यसको हामीले गहिरो मूल्यांकन गर्नुपर्छ अनि यो सम्भव तुल्याउनुहुने साँचो परमेश्वर, यहोवाको स्वेच्छाले सेवा गर्नुपर्छ।
१६. अरू लाखौं मानिसहरूसँगसँगै तपाईंको चाहना के हुनुपर्छ?
१६ संसारभरिका लाखौं मानिसहरूले भजनहारको यो निमन्त्रणा खुसीसाथ स्वीकारेका छन्: “मसँगसँगै परमप्रभुको बढ़ाइ गर, र हामी मिलेर उहाँको नाउँ उच्च पारौं।” (भजन ३४:३) सबै राष्ट्रबाट निस्केर यसो गरिरहेका विशाल जनसमुदायमा तपाईं पनि सामेल हुनुहोस् भनेर यहोवाले निमन्त्रणा दिनुहुन्छ।
पुनरावृत्ति छलफल
• यहोवा कस्तो परमेश्वर हुनुहुन्छ? उहाँका गुणहरूबारे राम्ररी बुझ्दा हामी कस्तो लाभ उठाउँछौं?
• हामी कसरी अरू मानिसहरूलाई प्रेम देखाउन सक्छौं?
• यहोवाको नाउँ जान्नु र उहाँको नाउँमा हिंड्नुमा के-के समावेश छन्?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १४-मा भएको चित्र]
यहोवाले आफ्नो प्रेमको खातिर ‘आफ्नो मुठी खोल्नुहुनेछ र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुनेछ’