बाइबल प्रश्नहरूको जवाफ
मानवजातिको भविष्य कस्तो छ?
मानिसहरूले दिनप्रतिदिन वैज्ञानिक प्रगति गर्दै जानेछन् भन्ने कुरामा कुनै शङ्का छैन। तर के तिनीहरूले एक आपसमा गहिरो चासो राख्ने मानवसमाजको निर्माण गर्न सक्नेछन् त? छैनन्। यो संसार लोभ र स्वार्थमा चुर्लुम्म डुबेको छ। तर ईश्वरले मानिसहरूका लागि एउटा राम्रो उद्देश्य राख्नु भएको छ।—२ पत्रुस ३:१३ पढ्नुहोस्।
भविष्यमा विश्वभरिका मानिसहरूले एकअर्कालाई साँच्चै माया गर्ने समय आउनेछ भनेर ईश्वरको वचनमा उल्लेख गरिएको छ।मानिसहरू कुनै डरत्रासमा बाँच्नुपर्ने छैन, तिनीहरू पूर्ण रूपमा सुरक्षित हुनेछन्। साथै तिनीहरूलाई कसैले हानिनोक्सानी पुऱ्याउने छैन।—मीका ४:३, ४ पढ्नुहोस्।
स्वार्थी झुकावको अन्त कसरी गरिनेछ?
सुरुमा मानिसलाई सृष्टि गरिंदा तिनीहरूमा कुनै पनि स्वार्थी झुकाव थिएन। तर पहिलो मानव अनाज्ञाकारी भएकोले तिनले त्रुटिरहित जीवन गुमाउनु पऱ्यो। त्यसैले हामीमा पनि स्वार्थी झुकाव वंशानुगत रूपमा सऱ्यो। तर ईश्वरले येशूमार्फत मानिसहरूलाई फेरि त्रुटिरहित अवस्थामा पुऱ्याउनुहुनेछ।—रोमी ७:२१, २४, २५ पढ्नुहोस्।
ईश्वरको इच्छा अनुसारै येशूले फिरौतीको बलिदान दिनुभएर प्रथम मानिसको अनाज्ञाकारीताले ल्याएका असरहरूलाई अन्त गरिदिनुभएको छ। (रोमी ५:१९) यसरी येशूले मानिसजातिका लागि सुन्दर भविष्य सम्भव तुल्याइदिनुभयो। भविष्यमा यो सुन्दर पृथ्वीमा खराब काम गर्ने र स्वार्थी झुकाव भएका कोही पनि मानिस हुनेछैन।—भजन ३७:९-११ पढ्नुहोस्।