सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | असल मानिसहरूले दुःख पाउँछन्‌, किन?

असल मानिसहरूले दुःख पाउँछन्‌—किन?

असल मानिसहरूले दुःख पाउँछन्‌—किन?

सबै कुराको सृष्टिकर्ता यहोवा परमेश्‍वर * हुनुहुन्छ र उहाँ सर्वशक्‍तिमान्‌ पनि हुनुहुन्छ। त्यसैले मानिसहरूले दुष्टता र दुःखकष्टलगायत संसारमा भइरहेका सम्पूर्ण कुराहरूको लागि उहाँलाई नै जिम्मेवार ठहऱ्‍याउन सक्छन्‌। तर साँचो परमेश्‍वर यहोवाबारे बाइबलले के भन्छ, विचार गर्नुहोस्‌:

  • “परमप्रभु आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ।”—भजन १४५:१७.

  • ‘परमेश्‍वरका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।’—व्यवस्था ३२:४.

  • ‘यहोवा कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ।’—याकूब ५:११.

परमेश्‍वरले दुःखकष्ट ल्याउनुहुन्‍न। त्यसोभए के उहाँले अरूलाई दुष्ट काम गर्न उक्साउनुहुन्छ? अहँ, त्यसो त पटक्कै होइन। धर्मशास्त्रमा यस्तो लेखिएको छ: “परीक्षामा पर्दा कसैले पनि यसो नभनोस्‌: ‘परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।’” किन? किनभने “कुनै खराब मनसायले परमेश्‍वरको परीक्षा लिन सकिंदैन न त उहाँ आफैले कुनै खराब मनसायले कसैको परीक्षा लिनुहुन्छ।” (याकूब १:१३) परमेश्‍वरले खराब काम गर्न उक्साएर कसैको पनि परीक्षा गर्नुहुन्‍न। परमेश्‍वरले दुःखकष्ट ल्याउनुहुन्‍न न त उहाँले कसैलाई दुष्ट काम गर्न उक्साउनुहुन्छ। त्यसोभए दुःखकष्टको वास्तविक कारण के हो? कसलाई दोष दिन मिल्छ त?

गलत समयमा गलत ठाउँमा हुँदा

मानिसहरूले दुःख भोग्नुको एउटा कारणबारे बाइबल यसो भन्छ: “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।” (उपदेशक ९:११) सोच्दै नसोचेको परिस्थिति वा दुर्घटना हुँदा कोही व्यक्‍तिलाई क्षति पुग्छ कि पुग्दैन भन्‍ने कुरा त्यतिखेर तिनी कहाँ छन्‌, त्यसमा भर पर्छ। झन्डै २,००० वर्षअघि येशू ख्रीष्टले एउटा दुर्घटनाबारे बताउनुभएको थियो। त्यतिबेला एउटा धरहरा ढल्यो र त्यसले थिचेर १८ जना मानिसको मृत्यु भयो। (लूका १३:१-५) तिनीहरू दुष्ट भएकाले होइन, बरु धरहरा ढल्ने समयमा त्यहीं वरपर भएकाले तिनीहरूमाथि त्यस्तो आपत्‌ आइपरेको थियो। सन्‌ २०१० को जनवरीमा हाइटीमा एउटा ठूलो भूकम्प गयो। त्यहाँको सरकारको रिपोर्टअनुसार ३,००,००० भन्दा धेरै मानिसले आफ्नो ज्यान गुमाए। ती मानिसहरू विभिन्‍न पृष्ठभूमिका थिए। तैपनि भूकम्पले कसैलाई छोडेन। त्यसैगरि रोगबिमारले जुनसुकै समयमा जोकोहीलाई पनि आफ्नो सिकार बनाउन सक्छ।

आपत्‌ आइपर्दा परमेश्‍वरले असल मानिसहरूलाई किन जोगाउनुहुन्‍न?

कसै-कसैले यस्तो प्रश्‍न सोध्न सक्छन्‌: ‘परमेश्‍वरले त्यस्ता दुर्घटनाहरू रोक्न सक्नुहुन्‍न र? उहाँले असल व्यक्‍तिहरूलाई दुःखकष्टबाट जोगाउन सक्नुहुन्‍न र?’ तर यो कुरा विचार गर्नुहोस्‌, त्यस्ता दुःखद घटनाहरू हुनदेखि रोक्नको लागि परमेश्‍वरले ती घटनाहरूबारे पहिल्यै थाह पाउनुपर्छ नि, होइन र? हुन त हो, परमेश्‍वरसित भविष्यबारे थाह पाउन सक्ने क्षमता छ। तर के परमेश्‍वर सबै आपत्‌विपत्‌बारे पहिल्यै थाह पाउन आफूसँग भएको क्षमता चलाउनुहुन्छ?—यशैया ४२:९.

बाइबल यसो भन्छ: “हाम्रा परमेश्‍वर ता स्वर्गमा हुनुहुन्छ। आफ्नो इच्छा मुताबिक उहाँले गर्नुहुन्छ।” (भजन ११५:३) यहोवा परमेश्‍वर आफूले गर्न सक्ने सबै कुरा गर्नुहुन्‍न। बरु आफूले आवश्‍यक ठानेका कुराहरू मात्र गर्नुहुन्छ। भविष्यबारे पहिल्यै थाह पाउने आफ्नो क्षमता चलाउँदा पनि उहाँ त्यसै गर्नुहुन्छ। उदाहरणको लागि, प्राचीन समयको दुइटा सहर सदोम र गमोरामा दुष्टता अचाक्ली बढेपछि परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: “अब त्यही आवाजअनुसार तिनीहरूले यो काम गरेको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाह हुनेछ।” (उत्पत्ति १८:२०, २१) केही समयको लागि यहोवा परमेश्‍वरले ती सहरहरूमा दुष्टता कत्तिको बढेको छ भनेर नजाँच्ने निर्णय गर्नुभयो। हो, यहोवा परमेश्‍वर भविष्यबारे कुनै कुरा पहिल्यै थाह पाउने कि नपाउने भनेर छान्‍नुहुन्छ। (उत्पत्ति २२:१२) यसको मतलब उहाँमा त्रुटि छ भन्‍न खोजेको पटक्कै होइन। “उहाँको काम सिद्ध छ” अर्थात्‌ उहाँको काममा कुनै त्रुटि छैन। त्यसैले उहाँ आफ्नो उद्देश्‍यलाई ध्यानमा राख्दै भविष्यबारे थाह पाउने कि नपाउने भनेर विचार गर्नुहुन्छ। परमेश्‍वर मानिसहरूलाई उहाँको तरिकामा चल्न कहिल्यै जबरजस्ती गर्नुहुन्‍न। * (व्यवस्था ३२:४) यसबाट हामी के बुझ्न सक्छौं? यहोवा परमेश्‍वर भविष्यबारे थाह पाउने आफ्नो क्षमता कहिले चलाउने भनेर छान्‍नुहुन्छ।

परमेश्‍वरले असल मानिसहरूलाई अपराधको सिकार हुनदेखि किन जोगाउनुहुन्‍न?

के मानिसहरू दोषी छन्‌?

दुष्टताको लागि केही हदसम्म मानिसहरू पनि दोषी छन्‌। मानिसहरू कसरी दुष्ट काम गर्न पुग्छन्‌ भन्‍ने विषयमा बाइबल यसो भन्छ: “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप गरेपछि मृत्यु उत्पन्‍न हुन्छ।” (याकूब १:१४, १५) आफ्ना कुइच्छा पूरा गर्दा मानिसहरूले नराम्रो परिणाम भोग्छन्‌। (रोमी ७:२१-२३) मानिसहरूले विध्वंसकारी काम गरेका छन्‌ र यसले गर्दा धेरै मानिसले दुःख पाएका छन्‌। इतिहास यस कुराको साक्षी छ। त्यसमाथि दुष्ट मानिसहरूले अरूलाई पनि खराब काम गर्न उक्साउँछन्‌। फलस्वरूप दुष्टता बढ्‌दै जान्छ।—हितोपदेश १:१०-१६.

मानिसहरूले विध्वंसकारी काम गरेका छन्‌ र यसले गर्दा धेरै मानिसले दुःख पाएका छन्‌

के परमेश्‍वरले मानिसहरूलाई दुष्ट काम गर्नदेखि रोक्न मिल्छ? मानिसलाई कसरी सृष्टि गरिएको छ, विचार गर्नुहोस्‌। परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा अर्थात्‌ उहाँजस्तै बनाउनुभयो भनेर बाइबलमा बताइएको छ। त्यसैले मानिसहरू परमेश्‍वरको जस्तै गुणहरू देखाउन सक्षम छन्‌। (उत्पत्ति १:२६) परमेश्‍वरले मानिसहरूलाई छनौट गर्ने स्वतन्त्रता पनि दिनुभएको छ। त्यसैले मानिसहरू परमेश्‍वरलाई प्रेम गर्ने कि नगर्ने अनि उहाँको स्तरअनुरूप जीवन बिताएर उहाँप्रति वफादार हुने कि नहुने भनेर छनौट गर्न सक्छन्‌। (व्यवस्था ३०:१९, २०) परमेश्‍वरले मानिसहरूलाई उहाँको इच्छा अनुसार चल्न जबरजस्ती गर्नुभयो भने उहाँ आफैले मानिसहरूको छनौट गर्ने स्वतन्त्रताको हनन गरिरहनुभएको हुनेछ। अनि मानिसहरू चाहिं आफूलाई जुन कार्यको लागि प्रोग्राम गरिएको हुन्छ, त्यसबाहेक अरू केही गर्न नसक्ने मेसिनजस्तै हुनेछन्‌। हामीले गर्ने काम अथवा हामीमाथि आइपर्ने कुरा भाग्यको खेल हो भनेर कसै-कसैले भन्‍ने गर्छन्‌। तर यदि परमेश्‍वरले हाम्रो भाग्य कोर्नु भएको भए हामी त्यही मेसिनजस्तै हुने थिएनौं र? खुसीको कुरा परमेश्‍वरले त्यसो गर्नुभएको छैन। हामीलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएर उहाँले हाम्रो आदर गर्नुभएको छ। तर यसको मतलब मानिसहरूले सधैंभरि दुष्ट काम गरिरहन पाउँछन्‌ भन्‍ने चाहिं होइन। मानिसहरूको गलत कार्यले निम्त्याएको दुःखकष्टको एक दिन अन्त हुनेछ।

हामीले भोग्ने दुःखकष्ट कर्म अर्थात्‌ पूर्वजुनीको फल हो?

यस पत्रिकाको आवरणमा सोधिएको प्रश्‍न तपाईंले कुनै हिन्दू वा बौद्ध धर्मावलम्बीलाई सोध्नुभयो भने सायद तिनले यस्तो जवाफ दिनेछन्‌: “असल मानिसहरूले पाइरहेको दुःख कर्मको फल हो। पूर्वजुनीमा तिनीहरूले जे गरेका थिए, त्यसैको फल अहिले भोगिरहेका छन्‌।” *

के कर्मको शिक्षा सही हो? बाइबलले मृत्युको विषयमा भनेको कुरालाई विचार गर्दा यसको जवाफ पाउन सक्छौं। अदनको बगैंचामा सृष्टिकर्ताले पहिलो मानव आदमलाई यसो भन्‍नुभयो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) आदमले परमेश्‍वरको आज्ञा पालन गरेको भए तिनी सधैंभरि बाँच्न सक्थे। तर परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेकाले सजायस्वरूप तिनी मर्नुपऱ्‍यो। यसरी तिनका सबै सन्तान अर्थात्‌ मानिसजातिमा ‘मृत्यु व्याप्त भयो।’ (रोमी ५:१२) त्यसैले “पापले तिर्ने ज्याला मृत्यु हो” भन्‍न सकिन्छ। (रोमी ६:२३) बाइबलले यसो पनि भन्छ: “जो मर्छ, ऊ आफ्नो पापबाट मुक्‍त हुन्छ।” (रोमी ६:७) अर्को शब्दमा भन्‍ने हो भने, मृत्युपछि मानिसले आफूले गरेका पापहरूको सजाय भोग्नु पर्दैन।

लाखौं मानिसहरू कर्ममा विश्‍वास गर्छन्‌। ती मानिसहरू आफूले वा अरूले दुःखकष्ट भोग्नु स्वाभाविकै हो भन्‍ने गर्छन्‌ र दुःखकष्ट आउँदा त्यसलाई सहजै स्वीकार्छन्‌। तर कर्मको शिक्षाले दुःखकष्टको अन्त हुने कुनै आशा दिंदैन। यस शिक्षाअनुसार मानिसले समाजमा राम्रो मानिने काम गरेर अनि विशेष किसिमको ज्ञान प्राप्त गरेर जन्म-मृत्यु-चक्रबाट मुक्‍ति पाउन सक्छ; मानिसजातिको लागि यो बाहेक अरू कुनै आशा छैन। तर बाइबलको शिक्षा भने कर्मको शिक्षाभन्दा निकै फरक छ। *

दुःखकष्टको मुख्य कारण!

दुःखकष्टको मुख्य कारण “यस संसारको शासक” सैतान अर्थात्‌ दियाबल हो भनेर के तपाईंलाई थाह थियो?—यूहन्‍ना १४:३०.

दुःखकष्टको मुख्य कारण मानिसहरू होइनन्‌। संसारमा पापको सुरुवात गर्ने व्यक्‍ति सैतान अर्थात्‌ दियाबल हो। त्यो सुरुमा परमेश्‍वरको एउटा वफादार स्वर्गदूत थियो। तर “त्यो सत्यमा अडिग रहेन।” (यूहन्‍ना ८:४४) अदनको बगैंचामा त्यसले आदम र हव्वालाई विद्रोह गर्न उक्सायो। (उत्पत्ति ३:१-५) येशू ख्रीष्टले त्यसलाई “दुष्ट” र “यस संसारको शासक” भन्‍नुभयो। (मत्ती ६:१३; यूहन्‍ना १४:३०) आज मानिसहरू यहोवाको स्तरलाई बेवास्ता गर्छन्‌। यसो गर्दा तिनीहरूले सैतानको कुरा सुनिरहेका हुन्छन्‌। (१ यूहन्‍ना २:१५, १६) “सारा संसार त्यस दुष्टको हातमा परेको छ” भनेर १ यूहन्‍ना ५:१९ मा बताइएको छ। सैतानको पछि लागेका अरू थुप्रै दुष्ट स्वर्गदूतहरू पनि छन्‌। सैतानले तिनीहरूसित मिलेर ‘सारा संसारलाई ठगिरहेको छ’ र यसले गर्दा ‘पृथ्वी धिक्कार’ भन्‍न लायकको अवस्थामा पुगेको छ भनेर बाइबल बताउँछ। (प्रकाश १२:९, १२) त्यसैले दुःखकष्टको वास्तविक कारण सैतान अर्थात्‌ दियाबल हो।

मानिसहरूले भोग्ने दुःखकष्टको लागि परमेश्‍वर जिम्मेवार हुनुहुन्‍न भन्‍ने कुरा स्पष्ट छ। बरु उहाँले सम्पूर्ण दुष्टता र दुःखकष्टलाई नामेट पार्ने प्रतिज्ञा गर्नुभएको छ। यसबारे थाह पाउन यसपछिको लेख पढ्‌नुहोस्‌।

^ अनु. 3 बाइबलमा बताइएअनुसार परमेश्‍वरको नाम यहोवा हो।

^ अनु. 11 परमेश्‍वरले किन दुष्टता हटाउनुभएको छैन भनेर बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्‌।

^ अनु. 16 कर्मको शिक्षाको सुरुवातको विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित मरेपछि हामीलाई के हुन्छ? भन्‍ने अङ्‌ग्रेजी पुस्तिकाको पृष्ठ ८-१२ हेर्नुहोस्‌।

^ अनु. 18 मरिसकेकाहरूको अवस्था अनि उनीहरूको लागि के आशा छ भन्‍ने विषयमा बाइबलको शिक्षाबारे बुझ्न बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ६ र हेर्नुहोस्‌।