बाइबल प्रश्नहरूको जवाफ
के भगवान्ले सबै प्रार्थना सुन्नुहुन्छ?
भगवान्ले सबै राष्ट्रका मानिसको प्रार्थना सुन्नुहुन्छ। (भजन १४५:१८, १९) आफ्नो मनमा लागेको जुनसुकै विषयमा उहाँलाई प्रार्थना गर्न बाइबल हामीलाई प्रोत्साहन दिन्छ। (फिलिप्पी ४:६, ७) तर कुनै-कुनै प्रार्थना भगवान्लाई मन पर्दैन। उदाहरणको लागि, कण्ठ पारेको प्रार्थना दोहोऱ्याएको उहाँलाई मन पर्दैन।—मत्ती ६:७ पढ्नुहोस्।
साथै जानाजानी यहोवाको आज्ञा उल्लङ्घन गर्नेहरूको प्रार्थना उहाँलाई मन पर्दैन। (हितोपदेश २८:९) उदाहरणको लागि, प्राचीन समयमा भगवान्ले इस्राएलीहरूको प्रार्थना सुन्न इन्कार गर्नुभयो किनभने तिनीहरू हत्याका दोषी थिए। स्पष्ट छ, भगवान्ले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने उहाँको आज्ञा मान्नुपर्छ।—यशैया १:१५ पढ्नुहोस्।
भगवान्ले प्रार्थना सुनेको चाहन्छौं भने के गर्नुपर्छ?
विश्वास छैन भने हामीले गरेको प्रार्थना भगवान्सम्म पुग्दैन। (याकूब १:५, ६) उहाँको अस्तित्व छ र उहाँ हाम्रो चासो राख्नुहुन्छ भनेर पूरा विश्वास गर्नुपर्छ। बाइबलको अध्ययन गरेर आफ्नो विश्वास बलियो बनाउन सक्छौं किनभने साँचो विश्वास बाइबलमा पाइने प्रमाण र आश्वासनमा आधारित हुन्छ।—हिब्रू ११:१, ६ पढ्नुहोस्।
हामीले नम्र भई साँचो मनले प्रार्थना गर्नुपर्छ। भगवान्को छोरा भए तापनि येशू नम्र भई प्रार्थना गर्नुहुन्थ्यो। (लूका २२:४१, ४२) त्यसकारण यसो गरिदिनुस् उसो गरिदिनुस् भन्नुभन्दा भगवान् हामीले के गरेको चाहनुहुन्छ भनी बुझ्न बाइबल पढ्नुपर्छ। यसरी उहाँको इच्छा बुझेपछि उहाँलाई मन पर्ने तरिकामा प्रार्थना गर्न सक्छौं।—१ यूहन्ना ५:१४ पढ्नुहोस्। (w13-E 08/01)