आयस्रोत पहिलेभन्दा कम हुँदा कसरी गर्जो टार्न सकिन्छ?
आयस्रोत पहिलेभन्दा कम हुँदा कसरी गर्जो टार्न सकिन्छ?
दुई भाइ छोराका बुबा ओबेदले अफ्रिकाको एउटा ठूलो सहरको पाँच तारे होटेलमा १० वर्षसम्म काम गरेका थिए र तिनलाई घर-व्यवहार चलाउन गाह्रो थिएन। तिनी छुट्टी मनाउन कहिलेकाहीं आफ्नो सम्पूर्ण परिवारसहित शिकार खेल्ने ठाउँमा जान्थे। तर होटेलले कर्मचारी कटौती गर्दा तिनको जागिर गुम्यो र तिनको जीवन पहिलाको जस्तो रहेन।
स्टेफन एउटा ठूलो बैङ्कमा जागिरे थिए। बैङ्कको २२ वर्षे लामो जागिरे जीवनमा तिनी माथिल्लो ओहदाका कर्मचारी नियुक्त भए। ठूलो घर, कार, नोकरचाकरका साथै तिनले छोराछोरीलाई नाम चलेको र महँगो स्कूलमा पढाउने सुविधा पनि पाएका थिए। तर बैङ्कले कर्मचारी व्यवस्थित गर्ने क्रममा तिनी बेरोजगार भए। आफू र परिवारले महसुस गरेको कुरा स्टेफन यसरी भन्छन्, “हामी त बर्बादै भयौं!, मेरो मन कुँडियो, म हताश भएँ, व्याकुल भएँ।”
यी त केही उदाहरण मात्र हुन्। आर्थिक मन्दीको कारण स्थायी जागिर खाइरहेकाहरूले समेत आफ्नो जागिर गुमाएका छन्। जागिर अक्सर पाइँदैन, पाइएकै खण्डमा पनि हातमुख जोड्न पुग्दैन। तैपनि अकासिंदो भाउबेसाहाले गर्दा थोरै तलबमै चित्त बुझाउनुपर्ने हुन्छ। देश गरिब होस् वा धनी, आर्थिक मन्दी छाउँदा सबैले त्यसको मार भोग्नुपर्छ।
व्यावहारिक बुद्धिको खाँचो
जागिर गुमाउँदा या तलब घट्दा हामीलाई नकारात्मक भावनाले सजिलै गाँज्छ। यस्तो अवस्थामा व्याकुलै नहुने त होइन। ‘सङ्कष्टको दिनमा लरखरायौं भने’ हामी झनै असहाय हुनेछौं भनी एक जना बुद्धिमान् मानिसले भने। (हितोपदेश २४:१०, NRV) आर्थिक सङ्कटको मारमा पर्दा रिस गर्नुभन्दा हामीले परमेश्वरको वचनले भनेझैं “व्यावहारिक बुद्धि”-को खोजी गर्नुपर्छ।—हितोपदेश २:७, NW.
हुन त बाइबल आर्थिक कामकुरासम्बन्धी निर्देशन दिने पुस्तक होइन। तर यस सन्दर्भमा बाइबलले दिने सल्लाह लाखौंको लागि मदतकारी साबित भएको छ। आउनुहोस्, हामी बाइबलले दिने केही आधारभूत सिद्धान्त जाँचौं।
खर्च हिसाब गर्नुहोस्। लूका १४:२८ मा येशूले बताएका शब्दहरू विचार गर्नुहोस्: “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र?” यो सिद्धान्त लागू गर्नु भनेको बजेट बनाएर त्यहीअनुसार चल्नु हो। तर यसो गर्नु गाह्रो छ भनेर ओबेदले स्वीकारे। तिनी भन्छन्, “जागिर गुमाउनुअगाडि सुपरमार्केट जाँदा अक्सर हामी थुप्रै अनावश्यक कुरा किनेर ल्याउँथ्यौं। हामीले कहिल्यै बजेट बनाएनौं किनकि हामीले चाहेको सबै कुरा किन्न हामीसित प्रशस्त पैसा हुन्थ्यो।” पहिल्यै योजना बनाउँदा कमाइ थोरै भए तापनि परिवारलाई नभई नहुने कुरा किन्न सकिन्छ।
जीवनशैली छाँटकाँट गर्नुहोस्। पहिलेको तुलनामा जीवनशैली सरल बनाउनु पक्कै पनि चुनौतीपूर्ण हुन्छ। तैपनि जीवनशैली सरल बनाउनै पर्छ। बाइबलको हितोपदेशको पुस्तक यसो भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) स्टेफन भन्छन्, “खर्च कम गर्न हामी भित्री सजावट नसिद्धिएको आफ्नै सानो घरमा सऱ्यौं। छोराछोरीलाई पढाइ राम्रो भएको साधारण र सस्तो स्कूलमा साऱ्यौं।”
बद्लिंदो जीवनशैलीमा सजिलै ढालिने हो भने परिवारमा खुलस्त कुराकानी हुनु आवश्यक छ। नौ वर्ष बैङ्कमा काम गरेका अस्टिनले जागिर गुमाएपछि यसो भने: “मेरी पत्नी र मैले हामीलाई साँच्चै चाहिने कुरा के-के हुन्, त्यसको सूची बनायौं। हामीले महँगो खानेकुरा किन्न, धेरै खर्च लाग्ने बिदा मनाउन अनि अनावश्यक रूपमा नयाँ-नयाँ लुगा किन्न छोड्यौं। मेरो परिवारले यस्तो छाँटकाँट गर्न साथ दिएकोमा मलाई धेरै खुसी लाग्यो।” हुन त साना केटाकेटीले यस्तो छाँटकाँट किन गर्नुपरेको हो, राम्ररी बुझ्दैनन् तर तपाईं आमाबाबुले तिनीहरूलाई बुझाउनुपर्छ।
नयाँ काम स्वीकार्न इच्छुक हुनुहोस्। तपाईंको अफिसमा काम गर्ने बानी थियो भने शारीरिक श्रम पर्ने काममा खट्न तपाईंलाई अलि अत्यास लाग्न सक्छ। अस्टिन भन्छन्, “ठूलो अफिसमा म्यानेजरको पदमा काम गरेको मान्छेले निम्न तहको काम गर्नुपर्दा मलाई मान्छेले के भन्ला भन्ने डर लागेको थियो।” हितोपदेश २९:२५ लाई विचार गर्दा अस्टिनले जस्तो महसुस गरे, त्यो छक्कलाग्दो कुरो होइन। उक्त पदमा यस्तो लेखिएको छ: “मानिसको डर त्यसको निम्ति पासो हो।” त्यसैकारण अरूले के सोच्ला भनेर डराउँदा मुखमा माड लाउन सकिंदैन। यस्तो नकारात्मक सोचाइ हटाउन तपाईंलाई केले मदत गर्छ?
नम्रताले। ओबेदले होटेलको जागिर गुमाएपछि पहिला सँगै काम गरेको साथीले तिनलाई आफ्नो गाडी मर्मत गर्ने कारखानामा काम गर्न बोलाए। यो काम गर्दा गाडीको रङ्ग र सर-सामान खोज्न धुलाम्मे सडकमा कोसौं हिंड्नुपर्थ्यो। ओबेद भन्छन्, “योबाहेक अरू विकल्पै छैन। पहिला पाउने गरेको तलबको तुलनामा अहिले एक चौथाइभन्दा कम पैसा पाउने भए तापनि मेरो परिवारको आवश्यकता पूरा गर्न पर्याप्त छ। नम्रताले गर्दा मैले यो काम स्वीकार्न सकें।” तपाईंले पनि यस्तै दृष्टिकोण राखे कसो होला?
सन्तोकी हुनुहोस्। एउटा शब्दकोशले सन्तोकी व्यक्तिलाई यसरी परिभाषित गरेको छ: “जो भएकोमा चित्त बुझाउने वा खुसी हुने; सन्तोष गर्ने स्वभावको; सन्तुष्ट।” तर आर्थिक मार परेको व्यक्तिलाई भने यस्तो परिभाषा चित्त बुझ्दैन। तथापि खाँचोमा पर्नु भनेको के हो, त्यो राम्ररी बुझेका मिसनरी सेवक प्रेषित पावलले के भने विचार गर्नुहोस्: “प्रशस्ततामा होस् वा अभावमा, हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु।”—फिलिप्पी ४:११, १२.
होला, भोलि परिस्थिति सुध्रेला, तर भोलि कसले देखेको छ र? बद्लिंदो परिस्थितिले गर्दा अवस्था झनै नाजुक हुन सक्छ। पावलले प्रेरणा पाएर लेखेको सल्लाहलाई गम्भीरतासाथ लियौं भने साँच्चै लाभ उठाउन सक्छौं। तिनले यसो भने: “धेरै लाभ पाउन . . . आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्वरको भक्ति गर्नुपर्छ। त्यसैले, खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं।” यी शब्दद्वारा पावलले भौतिक आवश्यकतालाई कसरी उचित स्थानमा राख्ने, त्यो देखाइरहेका थिए; अल्छी हुन प्रोत्साहन दिइरहेका थिएनन्।—१ तिमोथी ६:६, ८.
साँचो आनन्दको स्रोत
आफूले चाहेको सम्पूर्ण कुरा हासिल गर्दैमा र आरामदायी जीवन बिताउँदैमा साँचो आनन्द पाइन्छ भन्ने होइन। येशू आफैले यसो भन्नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” हुन पनि हामीसित भएको कुरा अरूलाई दिंदा र तिनीहरूको लागि प्रोत्साहनको स्रोत हुँदा आनन्द र सन्तुष्टि पाउन सकिन्छ।—प्रेषित २०:३५.
हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वरलाई हाम्रा आवश्यकताहरूबारे राम्ररी थाह छ। उहाँले आफ्नो वचन बाइबलमार्फत व्यावहारिक सल्लाह दिनुभएको छ, जसबाट धेरैले आफ्नो जीवन सुधार्न र अनावश्यक चिन्ताबाट मुक्त हुन मदत पाएका छन्। त्यसो भन्दैमा हाम्रो आर्थिक अवस्था तुरुन्तै सुध्रिन्छ भन्ने होइन। जे होस्, येशूले आश्वासन दिनुभएझैं ‘परमेश्वरको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहनेहरूको’ दैनिक आवश्यकता पूरा गरिनेछ।—मत्ती ६:३३. (w12-E 06/01)