“सिकर्मी”
प्रथम शताब्दीका ख्रीष्टियनहरूको जीवन
“सिकर्मी”
“के यो त्यही सिकर्मीको छोरा होइन र?”—मत्ती १३:५५.
येशू “सिकर्मीको छोरा” मात्र होइन तर “सिकर्मी” भनेर पनि चिनिनुहुन्थ्यो। (मर्कूस ६:३) यो पेसा उहाँले पक्कै पनि आफ्नो धर्मपिता यूसुफबाट सिकेको हुनुपर्छ।
सिपालु सिकर्मी बन्न येशूसित कस्तो सीप हुनुपर्थ्यो अनि उहाँले कस्ता औजारहरू चलाउनुपर्थ्यो? नासरतका बासिन्दाहरूका लागि उहाँले कस्ता सामानहरू बनाइदिनुभयो अनि तिनीहरूका लागि काठको के-के काम गरिदिनुभयो होला? सानैदेखि काठको कारिगरको रूपमा पाएको तालिमले पछि उहाँको जीवनमा कस्तो असर गरेको हुन सक्छ?
पारिवारिक व्यवसाय तलको चित्रमा एक जना बुबाले आफ्नो जेठो छोरालाई छरितो र सुरक्षित तरिकामा बर्मा चलाउन सिकाउँदै छन्। तिनको सानो छोराचाहिं ध्यान दिएर सुन्दै र हेर्दै छ।
केटा मानिसहरूले अक्सर १२ देखि १५ वर्षको उमेरमा औपचारिक तालिम लिन सुरु गर्थे। प्रायजसो तिनीहरूले
आफ्नै बुबाबाट यो पेसा सिक्थे। तालिम वर्षौंसम्म चल्थ्यो र आफ्नो सीप अझै तिखारेर नाइके सिकर्मी बन्ने हो भने तिनीहरूले असाध्यै कडा परिश्रम गर्नुपर्थ्यो। वर्षौंसम्म सँगै काम गर्दै, कुराकानी गर्दै अनि आफूसित भएको सीप आफ्नो छोरालाई सिकाउँदै यूसुफले येशूसित बिताएका ती रमाइला क्षणहरू कल्पना गर्नुहोस् त। येशू आफ्नो काममा दक्ष हुँदै गएको देख्दा यूसुफलाई कत्ति गर्व महसुस हुन्थ्यो होला!ज्ञान, बल र सीप चाहिन्थ्यो सिकर्मीलाई आफूले काम गर्दै गरेको काठबारे ज्ञान हुनुपर्थ्यो। तिनले सल्ला, अग्राठ, देवदारु, अन्जीर र जैतुनजस्ता स्थानीय जातका काठहरू प्रयोग गर्न सक्थे। तथापि, प्रथम शताब्दीमा सिकर्मीहरू काठ गोदाममा वा निर्माण सामग्रीहरू पाइने ठाउँमा गएर पहिल्यै काटेर ठिक्क पारेको काठ ल्याउने चलन थिएन। तिनी आफै जङ्गल गएर आफूलाई चाहिएको जस्तो रूख छान्नुपर्थ्यो अनि त्यसलाई ढालेर ती गह्रौं मुढाहरू आफ्नो काम गर्ने ठाउँसम्म ल्याउनुपर्थ्यो।
आफूले जम्मा गरेको काठबाट सिकर्मीले के-के बनाउँथे? घर बनाउने बेला तिनले घण्टौंसम्म घरबाहिर काम गर्नुपर्थ्यो। तिनले घरको लागि चाहिने दलिन, भऱ्याङ अनि झ्याल-ढोका बनाउँथे।
सिकर्मीले फर्निचर पनि बनाउँथे। सँगैको चित्रमा त्यस्ता केही सामग्रीहरू देखाइएको छ—घर्रा, तखता र ढोकासहितको दराज (१); विभिन्न साइज र आकारका स्टुल (२), कुर्सी (३) र टेबल (४); अनि बच्चाहरू राख्ने कोक्रो। सजावटको लागि तिनले कुनै-कुनै फर्निचरमा मसिनो बुट्टा कुँदेको आकर्षक काठ टाँस्थे। ती सामग्रीहरू लामो समयसम्म टिकाउन र टिलिक्क टल्काउन तिनले मैन, बार्निस वा तेल दल्थे।
सिकर्मीले कडा खालको काठबाट जुवा (५) अनि दाँते, डल्लेंठो र बेल्चाजस्ता (६) किसानहरूलाई चाहिने औजार पनि बनाउँथे। तिनले बनाएको हलो (७) जब्बर हुनुपर्थ्यो किनकि त्यसमा जडान गरिएको फालीले ढुङ्गेनी जमिन जोत्नुपर्थ्यो। तिनले काठको गाडा (८) बनाउँथे अनि त्यसको लागि चाहिने पाङ्ग्रा पनि बनाउँथे। ती पाङ्ग्राहरू बीच-बीचमा काठको बिंड भएको वा पूरै भाग काठले बनेको हुन्थे। आफूले बनाएको फर्निचर, औजार र सवारीसाधनको मर्मत तथा स्याहारसम्भार पनि तिनले नै गर्नुपर्थ्यो।
सिकर्मी काम गरेकोले येशू हेर्दामा कस्तो देखिनुहुन्थ्यो होला के तपाईं कल्पना गर्न सक्नुहुन्छ? मध्यपूर्वको चर्को घामले गर्दा डढेको उहाँको छाला, वर्षौंको कडा परिश्रमले गर्दा गठिलो भएको उहाँको शरीर अनि खस्रो काठ, बन्चरो, हतौडा र करौंती समाउँदा कडा भएका उहाँका हातहरू सम्झनुहोस्।
दृष्टान्तको स्रोत परमेश्वरसित सम्बन्धित गहिरा-गहिरा कुराहरू सिकाउन येशूले सिपालु ढङ्गमा साधारण र सबैलाई थाह भएका वस्तुहरू चलाउनुहुन्थ्यो। पहिला सिकर्मी भएकोले दृष्टान्तहरू बताउँदा उहाँले त्यससित सम्बन्धित केही कुरा चलाउनुभयो कि? केही सम्भाव्य दृष्टान्तहरू विचार गर्नुहोस्। उहाँले एक चोटि भीडलाई भन्नुभयो, “तिमी किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ तर आफ्नै आँखामा भएको मुढाचाहिं यादै गर्दैनौ?” मुढा कति ठूलो हुन्छ भनेर सिकर्मीलाई राम्ररी थाह हुन्छ। (मत्ती ७:३) फेरि अर्को चोटि येशूले भीडलाई भन्नुभयो, “आफ्नो हात हलोमा राखेर पछाडि फर्केर हेर्ने कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन।” उहाँले पक्कै पनि थुप्रै हलो बनाएको हुनुपर्छ। (लूका ९:६२) येशूले दिएको एउटा मायालु निमन्त्रणामा सिकर्मीले बनाउने एउटा सामानबारे उल्लेख गरिएको छ। येशूले भन्नुभयो, “मेरो जुवा बोक र मबाट सिक, . . . किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” (मत्ती ११:२९, ३०) गर्दन नपाछ्ने “सजिलो” जुवा कसरी बनाउने भनेर येशूलाई थाह थियो भन्ने कुरामा रत्तीभर शङ्का छैन।
येशूका विरोधीहरूले उहाँलाई हियाएर “सिकर्मीको छोरा” भनेका हुन सक्छन्। तैपनि पहिलेका यी नगण्य सिकर्मीको अनुयायी बन्नुलाई प्रथम शताब्दीमा जस्तै आज पनि ख्रीष्टियनहरू ठूलो सम्मानको कुरा ठान्छन्। (w10-E 08/01)
[पृष्ठ १६-मा भएको पेटी/चित्र]
सिकर्मीको औजार राख्ने बाकस
येशूजस्ता प्रथम शताब्दीका सिकर्मीहरूलाई यहाँ चित्रमा देखाइएका औजारहरू कसरी चलाउने थाह हुनुपर्थ्यो। तिनले चलाउने आरा (१) दाँती भएको फलामे ब्लेडलाई काठको फ्रेममा राखेर बनाइएको हुन्थ्यो र काठ काट्न त्यसलाई आफूतिर तान्नुपर्थ्यो। तिनले चिन्ह लगाउन बटम (२) र ठाडो परेको सतहलाई सम्म पार्न घण्टी (३) चलाउँथे। तिनको औजार राख्ने बाकसमा साहुल (४), फुट (५), खस्रो काठलाई चिल्याउन तल-माथि सार्न सकिने धारिलो ब्लेड भएको रन्डा (६) अनि रूखहरू ढाल्न बन्चरो (७) हुन्थ्यो।
काठ काटेर गोलो आकारका डन्डाहरू बनाउन सिकर्मीले खाराँड मेसिन (८) र गोलो रामो (९) प्रयोग गर्थे। फेसो हाल्न वा रामो ठोक्न प्रयोग गरिने मुङ्ग्रो (१०) तपाईं औजारहरू राख्ने बाकसको ढक्कनमा देख्न सक्नुहुन्छ। साथै, चित्रमा सानो करौंती (११), विभिन्न आकार दिन चलाइने रेती (१२) र केही कीला (१३) पनि देखाइएको छ। औजार राख्ने बाकसको अगाडिपट्टि फलामे हतौडा (१४) र काठ ताछ्न प्रयोग गरिने बसिला (१५) देख्न सकिन्छ। ढक्कनमा छुरी (१६) र विभिन्न साइजका रामो (१७) छन्। बाकसको छेउमा बर्मा (१८) पनि छ।